गोवा पर्यटकलाई मनोरञ्जन दिएर पैसा कमाउँछ, सिक्किम आफै मनोरञ्जनको साधन बनेर दुनियाँ हसाउँछ

राजनैतिक दर्शन र आजको राजनीति।

सरमान सुब्बा ‘रसिक’
सिक्किम, भारत

साहित्यमा विचार र दर्शन जस्तै राजनीतिमा पनि विचार र दर्शन आवश्यक हुन्छ ।

साहित्य समाजको दर्पण भने झैं राजनीति समाजको धड्कन हो । साहित्यले समाजलाई परोक्ष रुपमा प्रभाव पारेको हुन्छ भने राजनीतिले प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । त्यसकारण समाजलाई सही दिशामा हिँडाउन राजनीतिमा दर्शन र विचार आवश्यक पर्दछ । बिना दर्शन, बिना चिन्तन-मनन र अध्यनबिनाकाो राजनीतिले देशलाई अवनतिको बाटोतर्फ धकेल्दछ । त्यसैले राजनीति गर्ने मान्छेले साहित्य पढेको हुनुपर्छ अनि साहित्यिक मान्छे दार्शनिक र चिन्तक हुनु पर्छ । राजनीतिमा दार्शनिक र चिन्तक मान्छेको आवश्यक हुन्छ ।

हान्रो देश भारत चिन्तन, मनन र दर्शनमा चल्ने राजनीतिभन्दा पनि बाहुबली र पैसाको सेलो खेलोमा चल्ने राजनैतिक दल हो । एकाध राजनैतिक दलहरुलाई छाडेर प्राय सबै राजनैतिक दलहरु र त्यसका नाइके बिना दर्शन र बिना चिन्तन मै देश हाँकी रहेको छ । देशमा महंगााई बढ्दो छ तर त्यसलाई नियन्त्रण गर्ने ठोस उपाय उनीहरुसित छैन । बढ्दो महँगाईलाई नियन्त्रण गर्नका साटो उल्टै अनावश्यक कार्यक्रमहरु र अनावश्यक ठाउँमा पैसा फालेर देशको अर्थतन्त्रमा घाटा पुर्याई रहेको देखिँदैछ । कुनै पनि धार्मिक संगठन होस चाहे जात विशेषको संगठन र कार्यक्रमहरु होस त्यस्ता कार्यक्रमहरुमा सरकारले अनियन्त्रित खर्च गर्नबाट जोगिनु पर्छ । अहिले सिक्किम राज्यको प्रायः पाठशालाहरुमा वार्षिक कार्यक्रम र रजत जयन्ती, काश्य जयन्ती तथा स्वर्ण जयन्ती मनाउने एक प्रकारको होड नै चलिरहेको छ । हुन त यसभन्दा अघिका सरकारमा पनि यस्ता जयन्तीहरु मनाइने गर्दथ्यो तर अहिले जस्तो भव्य र यति धेरै समयसम्मको लागि कार्यक्रमहरु आयोजना गरिएको र देखिएको र सुनिएको थिएन । अहिले एउटा पाठशालामा स्वर्ण जयन्ती कार्यक्रम मनाउनुको निम्ति शुरुको दिनदेखि २५ या त्यो भन्दा धेर महिनौ दिनसम्म लगातार समय खर्च गरिरहेको देखिन्छ । अनि महिनौ दिनसम्म गरिएको लामो कार्यक्रममा के कति उपलब्धि भयो र कति प्रगति भयो भनेर समीक्षा गर्नु पर्यो भने हामीले पाउने छौं प्रगति र उपलब्धि दुवैमा शुन्य परिणाम । कुनै पनि पाठशालाहरुमा यस्ता यी माथि उल्लेखित कार्यक्रमहरु आयोजना गर्नु हो भने दुई दिन या त्यो भन्दा लामो समयसम्म गर्नु हुँदैन ।

अर्को कुरा, महिनौ दिनसम्म गरिएको लामो कार्यक्रम गोजीको खर्चले भ्याउने कुरै आउँदैन । अहिले जताततै गाउँ बस्ती तथा पाठशालाहरुतिर वार्षिक कार्यक्रम, हिरक जयन्ती, रजत जयन्ती तथा विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गरेर सरकारको पैसाहरु थुती खाने होडबाजी चलिरहेको छ । यता उताबाट सुनेको कुरा कोनी कुन कुन पाठशालाहरुलाई रजत जयन्ती तथा वार्षिक कार्यक्रम आयोजनाको निम्ति २०- २० लाख सहयोग राशी सरकारले दिँदैछ अरे । यदि पाँच वटा पाठशालालाई मात्रै २० लाखको हिसाबले कार्यक्रमको निम्ति सहयोग राशी दिनु हो भने एक करोड धन राशी पाँचवटा पाठशालाहरुको रजत जयन्ती कार्यक्रमको निम्ति एक करोड धन राशी खर्च हुँदैछ । त्यस्तै हिसाबले दशवटा पाठशालाहरुमा दुई करोड रुपैयाँ खर्च हुन्छ । यो जात विशेष, धर्म विशेष र पाठशालाहरुमा गरिने यस्ता अनेक किसिमका कार्यक्रमहरुले समाजलाई कुनै उपलब्धि दिलाएको भने देखिएको छैन । जहाँ अशिक्षितहरुलाई शिक्षित तथा असभ्यहरुलाई सभ्य बनाइने तालिमहरु दिलाइने शिक्षण केन्द्रहरु खोलिएको हुन्छ त्यही नै अनावश्यक कार्यक्रमहरु र ढर्रा देखाएर राज्यको अर्थतन्त्रलाई धराशायी बनाइने कार्यहरु गरिन्छ भने अबको पुस्ताले त्यस्ता पाठशालाहरुबाट के सिक्ला र !

आम जनताले यो राजनैतिक दलले भन्दा त्यो राजनैतिक दलको नेतृत्वले धेरै राम्रो काम गर्ने छ भन्ने आशाले व्यवस्था परिवर्तन गरेको हुन्छ तर एउटा समाजिक विसंगति देखि अझ अर्को विसंगतिहरु थपिँदै गए पछि व्यवस्था परिवर्तन गरेकोनै के अर्थ रहला र ? रजत जयन्ती आयोजना गरिने बीस लाख पैसाले त्यो पाठशालामा अन्य धेरै आवश्यक सरसमानहरु ल्याउन सकिन्छ । बीस लाख पैसाले पाठशालाको खेलमैदान मर्मत गर्न सकिन्छ । बीस लाख पैसाले पाठशालामा कम्प्युटरहरु ल्याउन सकिन्छ । अनि बीस लाख पैसाले पाठशालालाई व्यवस्थित ढंगमा सुन्दरीकरण गर्न सकिन्छ ।

त्यति धेरै धन राशी खर्च गरेर अनि बीस पच्चीस दिन लामो कार्यक्रम गर्नु अनावश्यक ढर्रा बाहेक अरु केही होइन। यस्ता किसिमका कार्यक्रमहरुले समाजलाई सकारात्मक नभएर नकारात्मक सन्देश बढी दिन्छ । जहाँ बौद्धिकता विनाको शिक्षित जमात धेरै छ त्यहाँ यस प्रकारको अनावश्यक कार्यक्रमहरु भई रहन्छ । अबको राजनीति भनेको शिक्षित जमातले मात्रै चल्दैन तर बौद्धिक जकातको पनि ठुलो भुमिका हुनु आवश्यक छ । साहित्यमा जस्तै राजनीतिमा पनि चिन्तन, मनन र दर्शनको आवश्यक छ । दार्शनिक चिन्तन बिनाको राजनीतिले देशलाई प्रगतितर्फ बढाउँदैन ।

हुन त डा. महेन्द्र पी लामा जस्ता प्रख्यात विद्वान तथा आर्थिक सल्लाहकार पनि सिक्किमसित छ तर उहाँबाट त्यस्तो के सुझाव, सल्लाह र सहयोग पाईरहेको छ ? बुझ्न सकिएको छैन । यसरी अनावश्यक कार्यक्रमहरुमा अनावश्यक खर्च गरिनुमा आम जनता पनि त्यतिकै उत्तरदायी छ । गाउँ गाउँमा गरिने कुनै पनि प्रकारको कार्यक्रमहरु सिर्जनात्मक र कल्याणकारी नभएर व्यवसाय मात्र भई रहेको छ। आउने दिन 2023 को फरवरी -मार्च महिनाभित्र दशौं र बाह्रौं श्रेणीको विधार्थीहरुको बोर्ड परीक्षा हुँदैछ भने कार्यक्रम आयोजकहरुले विध्यार्थीहरुको पढाईको पनि ख्याल राख्नु पर्छ ।

बीस पच्चीस दिनसम्मको लामो कार्यक्रमले के बोर्ड परीक्षा दिन गईरहेको विध्यार्थीहरुको पढाईमा वाधा पर्दैन र ? विकसित देशहरूमा हेर्नु हो भने यता यता जस्तो अनावश्यक कार्यक्रमहरुमा सरकारी धनराशि दुरुपयोग गर्दैनन् । त्यसैले अमेरिका, जापान, सिङ्गापुर देशहरु विकसित भएको हो । हाम्रो देशको गुवा राज्यमा हेर्नु हो भने झण्डै सत्तरी प्रतिशत सरकारी धनराशि पर्यटन व्यवसायमा लगाउँछन् । गुवाको मुख्य पर्यटकीय केन्द्र मानिएको बागा बिच, कालुङगुट बीचतिर रात दिन मेला लाग्छ, पर्यटकहरुको भीड लाग्छ तर पनि बिहान गएर हेर्दा त्यो समुन्द्र किनार तथा बजारहरु यति सफा सुग्घर पाइन्छ कि जसको प्रशंसा गरेर साध्य छैन । गुवाको पर्यटन केन्द्रहरुमा धुम्रपान सेवन गर्नु प्रतिबन्ध लगाइएको छ । त्यहाँको राज्य सरकार दुरदर्शी, त्यहाँको आम जनतानै दुरदर्शी ।

सिक्किमले गुवाबाट सिक्नुपर्ने धेरै छ । गुवा यस्तो राज्य हो जहाँ पर्यटकहरुलाई नचाएर, मनोरञ्जन गराएर आफु पैसा कमाउँछन् । यता हामीहरु आफै मनोरञ्जनको साधन बनेर दुनियाँलाई हसाउँछौ र मुर्खको बिल्ला भिर्छौं । चाहेयौं भने हामीले पनि सिक्किममा पर्यटन विकास गरेर यहाँको स्थानीयहरुलाई आत्मनिर्भर बनाउन सक्छौं । अनावश्यक कार्यक्रमहरु गरेर धन राशि दुरुपयोग गर्नु भन्दा त्यो खर्चले गाउँ गाउँमा पर्यटन पुर्वाधार तयार पार्न सकिन्छ । प्रत्येक पञ्चायत वार्डमा सामुदायिक भवन तथा खेलकुद पुर्वधारहरु निर्माण गर्ने लक्ष्य राख्नु सक्नु पर्छ ।

यी कुराहरुमा सत्तारुढ दलले मात्र होइन तर विपक्षमा रहेका नेताहरुले पनि ध्यान दिनुपर्ने हुन्छ। विभिन्न दलका कार्यकर्ताहरुले अनि आम जनताले पनि यस्तो सकारात्मक विषयहरुमा ध्यान दिनुपर्ने हुन्छ । गोठाला ठिक हुनुपर्छ गाई वस्तु लाइनमा आइहाल्छ । मतदाता सकारात्मक हुनुपर्छ, नेताहरु सही बाटोमा आइहाल्छ । हामी आम जनता नै गलत छौं भने नेतृत्वले पनि गलत मान्छेहरुकै स्वार्थपूर्तिको निम्ति काम गर्न वाध्य बन्छ । तर यी गहन विषयहरु बुझ्न दार्शनिक विचार चाहिन्छ ।

साहित्यमा दर्शन आवश्यक भए जस्तै राजनीतिमा पनि दर्शन आवश्यक छ । दर्शन बिनाको राजनीति empty mind devil workshop भने जस्तै हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button