अष्ट्रेलियासँग जोडिएको एउटा नेपालीको ‘कोभिड’ कथा

कोभिडअघि र पछि जुटेका अवसरहरु

डा. विष्णुबहादुर जिसी

यो लेखमा उर्वर स्थान र समयको जोडमा प्रफुल्लित मनमा उम्लिएको खुसीलाई सम्हाल्दै स्मृतिका केही अविस्मरणीय क्षणहरु आत्मसात गर्ने प्रयास गरिएको छ । आफूलाई कुनै लेखक वा साहित्यकार नभनेर फगत मनका कुराहरु आलेख गर्न सक्नुलाई पङ्क्तिकारको सफलता संझिएको छु । मनका कुराहरुलाई छरपष्ट गर्दा पनि मलाई यो क्षणमा कहिलेकाहिँ आत्मशान्ति र जिम्मेवारी हस्तान्तरण गरेजस्तै महशुस भएको छ ।

पीडा र खुसी जीवनका दुई पाटाहरु हुन् । पीडाको अनुभव नगरेको मान्छेले सायद सुखको अनुभव नगर्न सक्छ । झमक घिमिरेले जीवन काँडा कि फूल पुस्तकमा प्रस्तुत गर्न खोजेको परिकल्पना पनि यही हो जस्तो लाग्दछ । प्रस्तुत लेखमा पनि काँडालाई पन्छाउँदै फूलको वासनामा रमाउने प्रयास भएको छ । संयोग नै भनौ, यो लेखको अन्तरकथा तथा परिवेश अष्ट्रेलियाबाट शुरु भै अष्ट्रेलियामा नै अन्त भएको छ ।

कोभिड १९ को समाचारले संसारभर ठूलो सन्त्रास मात्र ल्याएन, यसले मानव जातिको तहसनहस पनि गर्यो । शुरु शुरुमा यसलाई सामान्य रुपमा लिनेहरु पनि पछिल्ला दिनहरुमा रोगको भयावह स्थिति देखेर आफूलाई आत्मसमर्पण गर्न बाध्य भए । संसारका धेरै मानिसहरुलाई जस्तै कोभिडको मारबाट म र मेरी श्रीमती विमला पनि अछुत रहन सकेनौं । यो लेखमा यही अनुभूति र यसैसँग जोडिएका आत्मकथा तथा प्रसङ्गहरुलाई संक्षिप्तरुपमा पाठकहरु समक्ष पस्कने जमर्को भएको छ ।

सन् २०२० फेब्रुअरीमा म र मेरी श्रीमती विमला कान्छो छोरा विशेषको इन्जिनियरिङ ग्रयाजुएसन सेरेमोनीमा सामेल हुन अष्ट्रेलिया आयौँ । अत्यन्तै उत्साह तथा रमाइलो माहौलमा कार्यक्रम सम्पन्न भयो । ग्रयाजुएसन सेरेमोनी समापन भएकै दिन साँझ, छोराछोरीहरु एवं हाम्रा केही साथीहरु भेला भई सानो भोज गरी खुसीयाली पनि बाड्यौँ । तर खुसीयाली सँगै कोभिडको हल्ला र अन्यौल पनि बढ्न थाल्यो । उक्त अन्यौलमा मलाई मेरो स्कुलको कामको व्यस्तताका कारणले काठमाडौं फर्कनु राम्रो विकल्प लाग्यो । सोहीअनुसार मैले केही दिनअघि अष्ट्रेलिया छाडेंँ भने विमला करिब १५ दिनपछि छोरा बुहारीसँग बिदा भएर काठ्रमाडौं आइन् । उक्त ग्रयाजुएसन सेरेमोनीमा सामेल हुन आएका केही अभिभावकहरु भने लामो समयपछि मात्र काठमाडौं फर्कन सफल भए ।

अष्ट्रेलियाबाट काठमाडौं पुग्दा रुघा खोकिले च्याप्दै लगेकोले मलाई कोभिडको शंका लागे पनि घरेलु उपचार गरेर बसेको थिंए । बिमला फर्केपछि डाक्टरको सल्लाह अनुसार कोभिड नभएको पाएपछि ढुक्क भएँं । केही दिनको आरामपछि म स्कुल जान थालेँ भने कोभिडले दिन परदिन उग्र महामारीको रुप लिन थाल्यो । स्कुल, कार्यालय, बजार बन्द हुँदै जान थाले । समयमा उपचार नपाएर ज्यान गुमाउने मानिसहरुको सङ्ख्या बढदै जान लाग्यो । स्कुलहरुले अनलाइन शिक्षण सेवा दिन थाले, धेरै सेवाहरु अनलाइनबाट दिन थालियो र यसलाई सामान्य दैनिक जीवन पद्धति अर्थात न्यु नर्मल लाइफको रुपमा लिन थालियो । अहिले पनि अनलाइनबाट धेरै सेवाहरु प्रदान हुँदै आएका छन् । हाल प्रचलित वर्क फ्रम होम कोभिडको बेला व्यापक भयो । विद्यालय, शिक्षण संस्थाहरुमा आजभोलि धेरै कामहरु अनलाइनमार्फत गर्ने गरिन्छ । भोलिका दिनहरुमा यो प्रविधिमा थप अन्वेषण र विकास हुने कुरामा पनि विश्वास लिन सकिन्छ ।

कोभिडको पहिलो लहर घरभित्र आयो वा आएन थाहा भएन । सायद मौसमी रुघाखोकीको रुपमा विदा भएको पनि हुन सक्छ । तर पनि संसारभरका धेरै मानिसहरुले भोगेको दुख, कष्ट र वेदनाहरुको अवस्थाले मनमा दुःख, डर त्रास भने भई नै रहयो ।

हामी दुबै जना अष्ट्रेलियाबाट फर्केपछि घर छिमेकमा कोभिड परीक्षण गर्ने विषयमा हल्ला चल्यो । मुलक बाहिरबाट आएकाहरु माथि शंका हुनु स्वभाविक थियो । हामी पनि भर्खर अष्ट्रेलियाबाट फर्केकाले हामीलाई वडा कार्यालयबाट कोभिड परक्षिणको लागि फोन आयो । हामीहरुलाई पनि कतै पोजीटिभ त देखिने होईन, देखियो भने के गर्ने होला भनेर डराउँदै मीनभवन टेस्ट सेन्टरमा पुग्यौं । त्यँहाको अव्यवस्थित अवस्था र दृश्य देख्दा हामीलाई झन् नैराश्य लाग्यो । केही क्षणपछि चिनजानको मानिससँग कुराकानी भएसङ्गै हाम्रो सामान्य विवरणको आधारमा कोभिड परक्षिण गर्न नपर्ने भयो र हामीलाई ठुलो राहत मिलेको महशुस भयो ।

दोश्रो कोभिड महामारीले अझ उग्र रुप लिएर सम्पूर्ण मानव जातीलाई नै तहस नहस गर्ने अवस्थामा आइपुग्दा हामीहरु पनि यस्को शिकार बन्यौँ । २०७८ साल जेष्ठ ८ गते बिमलालाई अकस्मात १०४ डिग्री ज्वरो आयो, सहन नसक्ने गरी शरीर दुख्ने लगायत अन्य कोभिडका लक्षणहरु पनि देखिए । ज्वरो घट्रदै घटेन र खोकी पनि बढदै गएकोले कोभिड परक्षिणका लागि नजिकको कान्तिपुर अस्पतालमा पुग्यौँ । कोभिड परिक्षणको नतिजा फरक–फरक आयो । नजिता बिमलाको पोजेटिभ र मेरो नेगेटिभ थियो । यो अवस्था हामी दुबैका लागि सहज थिएन र स्वभाविक जस्तो पनि लागेन । दुई दिनपछि मेरो पुनः परक्षिण गर्दा अपेक्षा बमोजिम नतिजा पोजेटिभ नै आयो । बिमलाको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अष्ट्रेलियामा भएका छोराछोरीहरु, काठमाडौंमा भाइहरु, भान्जाहरु एवं आफन्तहरुको सरसल्लाह तथा सहयोगमा हामी अस्पताल जाने निश्चय गर्यौं ।

२०७८ जेष्ठ १३ गते एम्बुलेन्स मगाई हामीहरु सशस्त्र प्रहरी अस्पताल, बलम्बुका लागि प्रस्थान गर्दा हामी दुई जना बिरामीहरु आआफनो झोला गुडाउँदै एम्बुलेन्ससम्म पुग्दाको अवस्था निकै कठिन थियो । साथै घर र गेटमा ताला मारी, फेर फर्कने हो होईन भन्दै घरबाट बिदा हुँदा हाम्रो मन भक्कानिएर आयो । चार बजे अस्पताल पुगेका हामीहरु लामो पर्खाइपछि बल्ल ७ बजे जेनेरल वार्डमा भर्ना भयौँ । बिमलालाई रोगले झन च्याप्दै लगेको थियो भने मेरो अवस्था ठिकै थियो । तर अस्पतालमा भर्ना भएको कारणले बिमलाले लिने र मैले लिने औषधीको किसिम र मात्रा भने एउटै हुने भयो । औषधीको बाबजुद पनि बिमलाको स्वास्थ्यमा कुनै सुधार भएन, त्यसैले शुरुका ६–७ दिन अत्यन्तै कठिन अनुभव गर्दै बिते । हामीमा कतै निको होला नहोला कि भन्ने चिन्ता पनि प्रबल थियो । यसैबिच जेष्ठ १८, २०७८ को दिन उज्ज्व्ल थापा, जो राजनैतिक क्षेत्रमा नेपालमा उदयमान ताराका रुपमा देखिदै थिए उनको कोभिडबाट मृत्यु भएको खबर सुनियो । यस्तै बिभिन्न खालका खबरहरुले मनमा त्रास झन बढदै गईरहेको थियो । देशभरि फैलदै गइरहेको कोभिडको अस्तव्यस्तता दिनदिनै बढिरहेको थियो । हेलिकोप्टरबाट अस्पताल प्राङ्गणमा ओरालिएका बिरामीहरु र सुधार हुन नसकेर मृत्यु भएको बारेमा सुन्दा र त्यसको प्रत्यक्ष साक्षी बन्नुपर्दाको पीडा त यो लेखमा उल्लेख गर्न नै सकिदैँन ।

समय बित्दै जाँदा बिमलाको स्वास्थ्यमा केही सुधार हुँदै आयो । केही दिन अघिमात्र उपलब्ध हुन सकेको क्यावीन फराकिलो र उज्यालो पनि थियो । विहानै उदाउने सूर्य सर्वप्रथम हाम्रै कोठाको झयालबाट चियाउन आइपुग्थे र हामीहरुलाई आशाका किरणहरु प्रवाह गर्दै सुख र शान्तिको अनुभूत गराउँथे । मैले यी क्षणहरुलाई कैद गर्दै परिवार एवं आफन्तहरुबिच संचार गर्ने गर्थे । यो संचारको वेग मैले सोचेभन्दा बढी तिब्र रुपमा फेरि थप उर्जा भरेर मसमक्ष आइपुग्थ्यो र मैले यो हौसला बिमला समक्ष संचार गर्दथे । डाक्टर र नर्सहरुले पनि राम्रो ख्याल गर्दा हामीहरुमा उत्साह र खुसी बढदै गयो । विशेषगरी बिमलालाई मृत्यु ढोकाबाट छुटाएर ल्याउन सफल भए जस्तो लाग्यो । यसका लागि अस्पतालका डा। रोशन पराजुली र डा. रोशन झालाई मनबाट कहिले पनि नमेटिनेगरि विशिष्ट स्थान दिएको छु । छोरा छोरीहरुको आपसी सल्लाह अनुसार जेठो छोरा विविध अष्ट्रेलियामा आफ्नो काम छाडेर हाम्रो हेरबिचारको लागि काठमाडौं आउने तयारी गर्नु, भाइ सहायक रथी कृष्ण, भान्जा डा। सागरलगायत आफन्तहरुले हामीप्रति लगाएको हर किसिमको सद्धभाव एवं गुन पनि हामीलाई बिर्सिनसक्नु भएको छ ।

यसरी सम्पूर्ण परिवार, आफन्तहरु, साथीभाइहरु र शुभेच्छुकहरुको शुभकामना तथा आशीर्वादले हामीलाई दिनपर दिन थप शक्ति र ऊर्जा प्रदान गरेकाले हामीहरु छिटो छिटो तङ्रिन सक्यौं । तङ्रिनु सँगै जीवन झन महत्वपूर्ण भएजस्तै लाग्दै गयो । वास्तवमा प्रकृतिका हरेक सृिष्टले मानिसलाई रोमाञ्चित बनाउन सफल छ । त्यसैले पनि मानिस यो लोकबाट मुक्ति लिन नचाहनु स्वाभाविक हो । जोन ग्रिनले द फल्ट इन आवर स्टार्स् पुस्तकमा शेक्सपियरलगायतका लेख एवं कविता उद्दृत गर्दै भनेका छन्, ‘यु ह्विल डाई एन्ड नन् ह्विल रिमेम्बर यु ।’ यो साश्वत सत्य किन पनि हो भने, मृत्यु भइसकेका सबै मानिसहरुलाई सम्झिरहन पनि सकिदैन र त्यो व्यवहारिक पनि हुँदैन । मान्छेलाई आफनो वरिपरि उपलब्ध वातावरण, समय, मानिसहरुसँगको मायापे्रम, लेनदेन, संचार, समझदारी गर्नै समेत यथेष्ट फुर्सद मिलिरहेको हुँदैन । त्यसैले मरणोपरान्त मानिसहरुसँगको भौतिक अस्तित्व समाप्त हुन्छ , यद्घपी उसका कृितहरु अमर बन्न सक्छन् । त्यस्तै खालको अनुभूति बिमला र मलाई पनि भइरहेको थियो ।

अस्पतालबाट फर्केसँगै म स्कुलको प्रधानाध्यापकको कारण जिम्मेवारी वहन गर्नका लागि स्कुल जान बेचैन भइरहेको थिएँ । तर संयोग नै भनौं, मेरो अगाडि एउटा राम्रो प्रस्ताव आयो । मैले स्कुल व्यवस्थापन समितिको अध्यक्षता गर्ने र प्रिन्सिपलको काम अरु कसैलाई जिम्मा दिने । यो अवसरलाई सहर्ष स्वीकार गर्नु मेरो लागि राम्रो विकल्पका रुपमा रोजेँ ।

स्कुलको जिम्मेवारीबाट फुर्सदिलो भएपछि उपलब्ध समयमा रमाउने, जीवनलाई रोमाञ्चक र सुखद बनाउने आकांक्षा बड्दै जानु स्वभाविक नै थियो र आज जे भैरहेको छ, त्यसैको परिणाम हो । आजको अवस्था, यो खुसीको अभिव्यक्ति पनि त्यसकै एउटा उपज हो । भाद्र ३, २०७९ मा हाम्रो अष्ट्रेलियाको यात्रा शुरुभएर भाद्र ४ का दिन सिड्नी र डुब्बोमा छोराछोरीहरु भेटेपछि सम्पन्न भएको छ । यहाँ हामीहरुका अपेक्षा, दायित्व, कर्तव्य र खुसीहरु जुरमुराएका छन् । खुसीले आकाश चुमेको यो अवसरमा प्रकृति, ब्रमाण्ड र सम्पूर्णतालाई मुरीमुरी धन्यवाद ।

जीवनको भोगाइसँगै मैले सांसारिक परिवेशबाट धेरै कुरा लिएको छु, सिकेको छु भन्ने लागेको छ । त्यसैगरी मैले अरुलाई जानेर वा नजानेर दुख पनि दिएको छु । तेश्रो पटकसम्म अष्ट्रेलिया आइपुग्दाका भ्रमणहरु र सोसँग जोडिएका विषयहरु हाम्रो सिकाइ हो । खोलामा पानी बगिरहेजस्तै हाम्रो समय पनि अविरल नै छ । खोलामा बगेको पानी न त फर्कन सक्छ न त हाम्रो समय नै । हाम्रो प्रत्येक क्षण र अनुभवहरु फरक–फरक छन् ।

पहिलो पटकको भ्रमणमा जेठो छोराको मास्टर्स् डिग्रीको ग्रयाजुएसन कार्यक्रमको साक्षी बन्ने हुट्हुटीले उत्प्रेरित र उत्साहित थिएँ । यो मेरो अष्ट्रेलियाको पहिलो भ्रमण पनि थियो । छोटो समयको बसाईमा पनि विविधले हामीहरुलाई धेरै ठाउँहरुको भ्रमण गरायो । दोश्रो पटकको भ्रमण कान्छो छोरा, बिशेसको ग्रयाजुएसन सेरोमोनी कार्यक्रमका लागि केन्द्रित थियो । त्यसताका स्कुलको प्रध्यानाध्यापक पनि भएकोले अष्ट्रेलियामा स्कुलहरु भ्रमण गर्ने रहर थियो र संयोगले छोटो समयमा पनि पोर्टारलिङ्टनमा एउटा स्कुलको भ्रमण गरी त्यहाका प्रध्यानाध्यापकसंग धैरै कुराहरु जानकारी पाउने अवसर मिल्यो । म अहिले सम्झन्छु,स्कुलको प्रध्यानाध्यापकको जिम्मेवारीमा भइरहँदा स्कुल र त्यहाँका विद्यार्थीहरु मेरो जीवनको अभिन्न अङ्गको रुपमा रहन्थे । वास्तवमा स्कुल एक पवित्र स्थल हो भने विद्यार्थीहरु ईश्वरका प्रतिमूर्ति हुन् । त्यस्तो ठाउँमा काम गर्न पाउनु मेरो लागि स्वर्णिम अवसर थियो र अन्य कसैको लागि पनि हुन सक्छ ।

मेरो तेश्रो पटक र विमलाको चौथो पटकको अष्ट्रेलियाको यो भ्रमण छोराछोरीहरुसँग राम्रो समय बिताउने र कान्छो छोराको बिबाहको लागि केन्द्रित छ । पहिलो र दोश्रो पटक घर छोड्दा घरमा के कसो होला भन्ने थियो भने कोभिड हुँदा घरको माया मारिसकेको अवस्थाको स्मरण गर्दा अहिले ४–५ महिनाका लागि घर छोड्रदा खासै असहजता बोध भएन र अहिले पनि भएको छैन । निर्धक्कताका साथ छोराछोरीहरुसँग अष्ट्रेलियामा रमाइलो गरी दिनहरु बिताइरहेका छौँ साथै, अष्ट्रेलियाको थप बसाइसँग हाम्रा केही आशातित आकांक्षाहरु पूरा हुने अपेक्षा पनि गरेका छौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button