भियतनामको क्याफे सेभेन्टिनबाट सही मार्गमा लागेको एउटा अल्लारे नेपाली केटो सम्झँदा

सरिता शर्मा

फेरि cafe 17 मा आइपुगेको छु ।

2018 देखि बस्दै आएकोे भियतनाम को HCM city अर्थात् Saigon city मा covid 19 र अन्य बिबिध कारणले गर्दा केहि समय आउन सकेको थिइनँ । Saigon city को Quan 12 अर्थात् District 12 मा अवस्थित एक भवनको सत्रौ तल्लमा रहेको यो Cafe 17 मा बसेर भियतनामको स्थानीय स्वादको चिसो कफि पिउदै गर्दा केहि अनुहारहरू सम्झदैछु । याद आइरहेका ती अनुहारहरू मध्ये कसैसँग रक्त सम्बन्ध थियो, कसैसँग भावनात्मक सम्बन्ध अनि कसैसँग पेशागत र ब्यपारिक सम्बन्ध । यस्तै अनुहारहरू मध्येको एक अनुहार थियो नीरज ।

“ममी, आज Cafe 17 जाने है !”, खाना खाने बेलामा नीरज बोल्यो ।

“अस्ति मात्र गएको त हो । कति जाने त्यस्तो महङ्गो ठाँउमा !”, मैले हल्का रीस देखाउदै भने । ऊ चुपचाप खान थाल्यो ।

साझ पर्दै थियो । मैले भने, “नीरज हिंड् अब जाने ।”

“कहाँ जाने ?” उसले सोध्यो ।

“Cafe 17” सुन्ने बित्तिकै “साच्चै” भनेर दङ्ग पर्दै ऊ तयार हुन लाग्यो, लुगा फेरेर कपालमा जेल लगाएर ।

त्यो साझ ऊ निक्कै रमायो अनि ऊ रमाएको देखेर म पनि रमाए ।

फेरि अर्को दिन सोधेँ, “नीरज केक खाने हो ?”

पैसा छैन होला, ऊ बिस्तारै बोल्यो ।

“आइज हामी दुबै जना खाने”, हामीले केक खायौं, फोटो खिच्यौ । उसले facebook मा पोस्ट पनि गर्‍यो ।

नीरज मेरै apartment मा बस्थ्यो Saigon मा । मलाई नेपाली बोल्ने साथी भएको थियोे । काम गर्न खासै मन नगर्ने तर खान र घुम्नमा असाध्यै रमाउने केटो । म उसलाई पढ्नमा जोड दिन्थे । किनकि अङ्ग्रेजी भाशामा ऊ निकै कमजोर थियो । बिदेशी भुमिमा टेकेपछी अङ्ग्रेजी भाशा कति महत्वपूर्ण हुन्छ भन्ने बुझाउदै पढ्न अल्छि नगर्न भन्थे । कहिलेकाही घुम्ने र खानेकुराको प्रलोभन समेत दिने गर्थे । अनि ऊ आवाज निकालेर मैले सुन्नेगरि पढ्न थाल्थ्यो ।

उमेरले 20 कटे पनि स्वभावले केटाकेटी जस्तै थियो ऊ । ससानो कुरामा खुसी वा दुखी हुने, भावुक र जिद्दी पनि । शिक्षण पेशाका क्रममा यो उमेरका केटाकेटीसङ्ग धेरै वर्ष बिताएकोले होला म उसको मनोविज्ञान बुझ्न सक्थे । साथी जस्तो बनेर उसका मनका कुरा, उसले पहिले पहिले गरेका बदमासी, उसका चाहना र विचार, शक्ति र कमजोरी सबै पत्ता लगाउन सक्थे । ऊ कहिलेकाही भन्थ्यो, मेरा अभिभावकले पनि यसरी बुझिदिएको भए त मेरो जीवन अहिले अर्कै हुने थियो, म कुलतमा लाग्ने थिइनँ होला ।

उसको आदत र स्वभावमा आएको सकारात्मक परिवर्तन देखेर म मनमनै खुशी थिए । उसको सुधारको लागि मैले गरेको मेहनत देखेर कसैकसैलाइ हल्का ईष्र्या पनि लाग्थ्यो होला कहिलेकाही त । तर म भने … ।

दशै नजिकै आउदैथियो । ऊ बेला बेलामा घर र दशै सम्झन्थ्यो । मेरा लागि दशै, तिहार र अन्य दिन एक समान भएपनि उसका लागि मनाउने बिचार गरे । हामीले टीका लगाएर, मासु भात खाएर दशै मनायौ । बेलुकीपख बस चडेर District 1 गयौं, Saigon centre घुम्यौ । ऊ निकै खुशी भयो अनि म पनि ।

नीरज धेरैजसो मोबाइल फोनमा व्यस्त रहन्थ्यो । कहिलेकाही उसका साथीहरूको बारेमा मलाई बताउँथ्यो, फोटो देखाउँथ्यो । उसकी एक नयाँ केटी साथी बनेकी थिइ, माया ।

“ममी हजुर नेपाल जादा मायालाई पनि संगै लिएर आउनु न है अनि हामी काम गर्छौ र हजुरको सेवा गर्छौ”, कहिले भन्थ्यो, “भोलिपर्सी मेरो छोराछोरीलाई पनि हजुरले नै पढाउनु न है । मैले नजन्माएको छोराको कुरा सुनेर म दङ्ग पर्थे । खराव संगतमा परेर कुलतमा फसेको केटो, परिवारले सुधार्न नसकेर हरेस खाएपछि मेरो साथमा आइपुगेको थियो । रहदा बस्दा उसमा धेरै सकारात्मक परिवर्तन आएको देख्दा मलाई खुशी तथा सन्तुष्टि मिल्ने गर्थ्यो ।

केहि दिनपछि उसले भन्यो, “मलाई मायाले नेपाल बोलाएकी छ, म जान्छु है “।

“दुई बर्षपछि मात्र जाने भनेको होइन ?”, मैले सोधे ।

“अब दुई हप्तामा जान्छु”, उसले निर्णय सुनायो ।

“हजुर राम्रोसँग बस्नुहोला, आफ्नो हेरविचार गर्नुहोला । म कहिलेकाही फोन गर्छु है”, मेरो मनले त के के भन्दै थियोे तर मुखबाट निस्कियो “हुन्छ” ।

म नेपाल गएको बेलामा ऊ मलाई भेट्न आयो आफ्नी मायालाई लिएर, हामीलाई आशिर्वाद दिनुहोस् भन्दै । पछी उसको आमाले भन्दै थिइन्, कान्छो अहिले त काममा लागेर कमाउने भएको छ ।

एउटा अल्लारे केटोको जीवन सहि मार्गमा लागेको थाहा पाउदा आफ्नो मेहनत सफल भएको र सन्तोषको अनुभुति भयो ।

ओहो ! समय निकै बितिसकेछ, झमक्क साझ परिसकेको रहेछ । cafe को झ्यालबाट तल सडकतर्फ हेरे । नेपालको भन्दा ठिक बिपरित लेनमा कमिलाको ताती झैं मोटरहरु गुडिरहेका थिए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. “मैले नजन्माएको छोराको कुरा सुनेर म दङ्ग पर्थे ……. “सुन्दर सुरुचिपुर्ण लेखन ! बधाई यति मिठो लेखका लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button