मुक्तिनाथपछि मरुभूमिः नेपाली गाइडसँग दुवई घुम्दा देखिएको उल्का-आश्चर्य

दुर्गाप्रसाद शर्मा आचार्य
बुटवल ४, लक्ष्मीनगर, रुपन्देही

मुक्तिनाथ यात्रा लगतै हाम्रो यात्रा दुवई जाने कुराको तय हुन थाल्यो । मुक्तिनाथ जानुअगाडि ठूलो छोरा दिपकले दुवई जाने कि भन्ने कुराको जानकारी गराएका थिए तर निधो भैसकेको थिएन ।

हामी दुवई जानु भन्दा ३ हप्ता अगाडि साथी रघुले दुवई सँगै जाउँ भन्नु भएको थियो र त्यस समय दुवई जाने मन पनि थियो तर सोच बनेको थिएन । वहाँहरु जानु भयो हामीहरु गएनौ । साथी रघु जीले जाउँ भनेको कुरा छोरा दीपकलाई र छोरी सीरालाई सुनाएका थियौं । उनिहरुको के विचार भयो थाहा भएन । पछि एकैचोटी दिपकले आफ्नो परिवार सहित हामी बुढाबुढी पनि दुवई घुम्न जाने भन्ने खवर गरे औधि खुसी भयौं । हामी दुबै जनाको पासपोर्ट केहि वर्र्ष अगाडी बनाई सकेका थियौं । बुहारी रचना र नाती आश्विनको पनि पासपोर्ट बनिसकेको रहेछ । छोरा दिपकको त पासपोर्ट र मल्टीपल भिषा थियो नै । हामी सबैले दुवई दुतवासमा एकैचोटी भिषाको माग गरियो सबैको एकै पटकमा स्वकृत भै आयो खुसी पनि भयौं ।

हामी सबै यात्राको लागि जान तयार भै जहाजको टिकट, यात्रा तालिका र अन्य बन्दोवस्तका लागि ट्राभल एजेण्ट संग प्याकेजमा घुम्न जानेकुरा तय गरी २०७६ साल कार्तिक ६ गते रातीको १०ः३० वजे नेपाल एयरलाइन्सको टिकट लिने काम सबै दिपकले सम्पन्न गरे । हामी बुटवल घरमा थियौं । खवर प्राप्त पछि २०७६ साल कार्तिक ४ गते नै बुटवलबाट काठमाण्डौ रवना भयौं । २०७६ कार्तिक ५ गतेका दिन मेरो मेडिसिटि अस्पतालमा स्वास्थ्य फलोअप थियो । बिहानै अस्पताल गएँ । स्वास्थ्य परिक्षण गराएँ । यता धोविघाटको घरमा छोरा, बुहारी र तुलसीले यात्राको लागि चाहिने सामानहरु तयार गर्न थाले । कार्तिक ६ गते दिनभर बन्दोवस्तीका सामान प्याक गर्ने काम भयो । साँझको खाना पछि राती ८ वजे त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा गयौं । चेक पास, वोर्डिंग पास गराई भित्र गयौं र जहाजको प्रतिक्षामा बसियो । आपसमा भलाकुसारी गर्दै समय कटाउन थालियो । तेस्रो मुलुकमा तुलसी, रचना र नाती आश्विन गएका थिएनन् । दुवई जान हामी आतुर भएका थियौं । कौतुहल भैरहेको थियो । मेरो पनि दुवई यात्रा पहिलो पटक थियो । छोरा दिपक धेरै पटक ओहरदोहर गरिरहेका थिए । रातीको १०ः३० को उडान समय भएतापनि विमानले ढिला गर्यो । मध्य राती १२.३० वजे पछि मात्र विमान चढ्न अनुमती पाइयो । केहि मिनट पछि विमानले काठमाण्डौको धर्ती छोड्यो, हामी एकै चोटी मातृभूमिको आकाशमा तैरियौं । वोइङ्ग विमानमा उड्दै माथीमाथी गयौं । उड्दै जाँदा कुनै कुनै ठाँउबाट तल हेर्दा बिजुली बत्तीका चमकचुमुक उज्याला धर्साहरु देखापर्थे । नेपाल क्रमशः भारत, पाकिस्थानको आकाश हुँदै २०७६ साल कार्तिक ७ गते विहान ४.०० वजे दुवईको विमानस्थलमा अवतरण गरियो ।

राती १.३० वजे भारतीय आकाशमा उड्दै गर्दा त्यो आकाश यो धर्ति,वायू, बादल, त्यो पानी, त्यो सूर्य कसैको विर्ता त हैननी भन्ने कुरा झल्याँस्स गरायो । यो पृथ्वी न कसैको विर्ता न कसैको पेवा तर पनि तेरो र मेरो भन्नाको कारणले यो चराचरमा निस्फीक्रीसँग कहाँ घुम्न र उड्न पाईन्छ र ?

दुवईको आकाशमा पुगेपछि विमान तलतल आउने क्रममा दुवईको झिलिमिलि देख्दा मन यति आनन्दित भयो के भनुँ । सारा देश झकमक्क, रातीमा पनि दिउँसै जस्तो देखिने । विमानको एकोहोरो घनननन्, घनननन्, स्याह्याङ्ग स्याह्याङ्ग आवाजको तालैतालमा ३.३० घण्टा आकाशमा सरर उड्दै बिहान ४.०० वजे दुवईको एयरपोर्टमा अवतरण गरियो । आवश्यक चेकजाँच पछि एयरपोर्ट बाहिर पुगियो । हाम्रो यो यात्रा ५ दिनको प्याकेज रहेकोले र सबै व्यवस्था हाम्रो ट्राभल एजेण्टले गर्ने हुँदा हामीलाई लिन बुक भएको गेटवे होटेलबाट गाडी आइपुगेको रहेछ सो मा चढि नेपाली समयनुसार४.३० वजे वर दुवईको गेटवे होटेलमा गयौं । होटेल थ्री स्टारको रहेछ । राम्रो व्यवस्थापन पायौ । नेपाल र दुवईको समय पौने २ घण्टाको फरक रहेछ । नेपालको भन्दा ढिलो समय । टूरिष्ट प्याकेज भएकोले आंशिक खाना र बस्न, पर्यटन स्थलहरु घुमाउन टूरिष्ट गाईड। चालक सहित विभिन्न मोडेलका सुविधायूक्त गाडीहरु उपलव्ध गराईएको थियो ।

राती अनीदो भएको हुनाले मलाई त्यती छ्यांग भएको थिएन । होटेलमा सुत्ने मौका मिले पनि निदाउन सकिन । विहानको नास्ता पछि करिव नौ वजे वरदुवईको सामुन्द्रीक क्यानल र कृष्ण मन्दीरको अवलोकन गर्न होटेलबाट पैदलै बजार तर्फ लागियो । छोरा दिपकलाई त्यस ठाँउको राम्रै ज्ञान भएकोले बाटो छीचोल्न र गन्तव्यमा पुग्न कठिन भएन । सामुन्द्रीक क्यानल र तटिय क्षेत्र औधी रमणिय लाग्यो । हाम्रो लागि जता हेर्यो त्यतै राम्रो । ससाना पानी जहाज, मोटर वोट, फेरी, नौका आदी हेर्दै क्यानलको किनाराकिनारै बंगाली, भारती र पाकिस्थानीहरुको दोकान, पसल हेर्दै रमाउदै हिन्दुहरुको कृष्ण मन्दीरको अवलोकन गरियो । मन्दीरको अवलोकन क्रममा एक जना चिनेका नेपाली नाताले भान्जा पर्ने बाबु संग भेट भयो । केहिवेर भलाकुसारी पछि वजार घुम्न लागियो । यूएइ घुम्दा भारतमा घुमेजस्तै भान भयो किनकि जताततै हिन्दी भाषिहरुको वाहुल्य रहेको देखिन्छ तर विकास निमार्ण र तकनिकीमा विश्वको नम्बर एकमा पर्दो रहेछ दुवई । त्यहाँका रैथाने वा आदिवासीको आवादी १५ प्रतिशत मात्र रहेको जानकारी मिल्यो अन्य आप्रवासी व्यापार विजिनेसको लागि मात्र अनुमति प्राप्त गरेका, यूएइ को नागरिकता नभएका रहेछन् । अधिकांश दैनिक उपभोग गर्ने बस्तुहरुको वन्दव्यापार भारती, पाकिस्थानी र बंगालीहरुको हातमा रहेछ । रैथाने मुस्लिमहरुको आवादी थोरै भए पनि मुस्लिम राष्ट्र भएकोले पूर्ण कानुनी राज्य र विधिको शासनबाट चल्ने निकै अनुशासित र मानवताको देश रहेछ ।

हामीसँग अमेरीकन डलर रहेकोले त्यहाँको मुंद्रा दिराम साट्ने काम गरियो । वजारमा केहि घरायसी सामान खरिद गरी क्यानलको किनारामा रहेको चिया कर्नरमा मिठो चिया पिई होटेलमा आयौं । हाम्रो कार्यक्रम र समय तालिका अनुसार डेजर्ट सफारीमा जानु थियो । तोकिएको समयमा हामीलाई लिन एउटा राम्रो एयर कन्डीसनयूक्त गाडी लिएर पाकिस्थानी गाडी चालक। गाईड होटेलमा आउनु भयो । हामी पाँचै जना गाडीमा चढियो र करिव २ घण्टाको यात्रा गन्तव्य तर्फ लागियो । फराकिलो, चिल्लो सरररर बग्ने बाटोमा १०० कि.मि. प्रति घण्टाको रफ्तारमा गाडी कुदाएउँदै सोधेको कुरा र नौलो कुरा भए बताउदै हिडे गाडी चालक । गाडी अगाडी बढ्दै गयो, बाटोको वरिपरि खजुरका बगैचा, कहिकहि उजाड मरुभूमी, रातोपहेंलो किसिमको ठूलठूला बालुवाका ढिस्काहरु, ठूलोभाग ओगटी निमार्णधिन सहर,कलकारखाना, मानव निर्मित वनजंगल, हेर्दाहेर्दै कहाँ हो कहाँ अनन्त यात्रामा हिंडे जस्तै भान भयो । यात्रा बढ्दै रह्यो,हामी जस्तै अन्य धेरै पर्यटकका गाडीहरुको लस्कर देख्दा धेरै लामो रेल नागवेली किसिमबाट ठूलो रफ्तारमा कुदे जस्तै देखिन्थ्यो । ठाँउ ठाँउमा यात्रीको लागि विश्राम स्थल, ताडी र खजुरका पत्ताले छाएका छाप्राहरु जस्तै टहरा तर सफा र सुविधा सम्पन्न थिए । बालुवाको कण सहितको वेजोडको सुखाहावा वहँदा गाडीबाट बाहिर निस्कन पनि अलि कठिन । तर पनि त्यो मरुभूमीमा ठूलठूला पार्क, सफारी जंगल, हरियाली सहर कसरि बनाउन सके हुनन् रु समुन्द्रको नूनीलो पानी शिवाय अन्य खोलानाला, मुल पानी, पोखरी नभएको ठाउँमा त्यो बिचीत्र विकास देख्दा छक्क पर्नु बाहेक अरु के छ र रु समुन्द्रको पानीलाई शुद्धिकरण गरी पिउने पानी, नुहाउने पानी, भाँडा माझ्ने र कपडा धुने लगाएत कलकारखाना, उद्यागेधन्दा आदिमा प्रयोग गरी सारा सहर बजारमा सप्लाई गर्ने र विसर्जित पानीलाई सुद्धिकरण गरी सानाठूला पानी पाइपबाट प्रत्येक बोटबिरुवा, फूल, घाँसलगायत बनष्पतीमा थोपा सिंचाई प्रणालीबाट सिंचित गर्ने रहेछन् ।

विविध कुराहरु सोच्दै, बुझ्दै र गफ गर्दै निर्दिष्ट ठाँउ डेजर्ट सफारीमा पुगियो । त्यहाँ पुग्दा घाम पनि मधुरो हुँदै थियो । फोक्सो रंगको बालुवाका ढिस्का, उखाडवाखड जमिन, बालुवै बालुवाको उजाड जरजर आँखाले नभेट्ने मरुभूमीमा पाईला टेक्दा मन ढुकढुक भएर आयो । बालुवामा गाडी दौडाउन गाडीको टायरमा हावा कम चाहिने भएकोले ड्राईवरले हावा कम गरेर बालुवाबालुवा तलमाथी, यताउता गर्दै गाडी दौडाउन सुरु गरे । गाडी घरी बाँया घरी दाँया पल्टीन्छ कि गरी दौडाउँदा मुटूले ठाँउ छोड्ला जस्तै भयो तर पनि विस्तारै सम्भालियौं र खुवै मनोरन्जन तर्फ लाग्यौ.। कतिपय पर्यटकहरु त सातो जाने गरी डराउँदा रहेछन् ।

आहा कुनै बस्ती नदेखिने, जंगल नदेखिने चारै दिशातिर बालुवाबालुवाको मैदान,कुनै ठाँउमा ठूलाठूला थुम्का,कुनै ठाँउमा सोतो परेको ठाँउ,अस्ताउन लागेको सूर्य किरण,गोधुली साँझ,कति मनमोहक दृश्य । लस्करै गाडी कुदेको दृश्य के बयान गरौं । करिव एक घण्टाको मरुभूमीको चक्कर पछि गाडि रोकी त्यहि मरुभूमीमा बिश्राम गर्न गाडीबाट ओर्लियो । मरुभूमीमा लडिबुडि गर्दै, दौडदै दृश्यहरुको फोटो कैंद, भिडियो लिदै करिव २० मिनेटको पर्खाइ पछि पुनः गाडीका चढि केहिपरको मरुभूमीमा बनाएको अस्थायी किसिमको दुवई डेजर्ट सफारी रिसोर्ट वा ढावामा गयौं । हाम्रो लागि साँझको खाना र मनोरन्जन खातिर ठाँउ अगाडीनै बुक भएको रहेछ । हामीहरु जस्तै अरु धेरै पर्यटकहरुले त्यो रिसोर्ट भरिभराउ थियो । हामीहरुले पनि स्थानिय पोशाक पहिरन गरी फोटो खिचाउने, खाना खादै, स्थानिय वेली डान्स, पगरा डान्स, फायर डान्स नजर गर्ने, हेर्ने र त्यहाँको राष्ट्रिय गीत श्रवण गर्ने काम गरियो । त्यहाँ उँटको सफारी गर्न पनि सकिदो रहेछ समय छोटो भएकोले हामीले त्यो मौका गुमायौं । त्यस्तो उजाड मरुभूमीमा बाहिरी देशका पर्यटकहरुलाई आकर्षण गराई सेवा दिनु कति राम्रो सोंच होला । भरपुर रमाईलो,आनन्द र मनोरन्जन साँझ, अति हर्षले गदगद भयौं र आफैमा भाग्यमानी ठानियो । खानाखाने कार्यक्रम चल्दै थियो मनोरन्जनका कार्यक्रम अन्त्य हुन लाग्दा हामीहरु गाडीमा चढि त्यहाँको समयनुसार रातीको १०.०० वजे होटेलमा फर्कियो र रातभर होटेलमा सुस्तायौं ।

भोली पल्ट मिति २०७६ साल कार्तिक ८ गते बिहानको हेभि नास्ता (खाना सरह) खाईसकेपछि ९.३० वजे दुवईको मुटु मुख्य सहर हेर्ने र अवलोकन गर्ने कार्यक्रम तय भएकोले सोहि अनुसार हामीलाई लिन चमचमकाउदो आधुनिक किसिमको गाडी लिएर ड्राईवर। गाइड आउनु भयो । हामी अगाडी गयौं र त्यस दिनको पहिलो अवलोकन स्थल विश्वको अग्लो र आश्चर्यको टावर वुर्ज खालिफा, दुवई मल, अण्डरग्राउण्ड वाटर जू, दुवई अकोरियम, वाटर फाउन्टेन, वाटरफल आदीको प्रतक्ष्य अवलोकन गरियो । दुवईको क्षेत्रफल ४,११४ वर्ग कि.मि.मा फैलिएको रहेछ । सन् २०१९ मा त्यहाँको जनसंख्या ३.३३१ मिलियन रहेछ । दुवईलाई त्यो स्तर सम्म ल्याइपुर्याउने दुवईका फाउन्डर (पीता) मोहम्मद वीन रशिद अल माकटोमको देन उल्लेख्य छ । वुर्ज खालिफा को भूँइको क्षेत्रफल ३०,,९४७३ वर्ग मिटर रहेछ । वुर्ज खालिफाको अग्लाई ८३० मिटर र १६३ तला रहेछ । सबै तला पैदल हिंड् परे २,९०९ वटा सिंढी चढ्नु पर्दो रहेछ । यो टावर निर्माण गर्दा २२ विलियन म्यान आवोर लागेको रहेछ । ६ वर्षमा निर्माण भएको रहेछ । कति छोटो र कति राम्रो प्रविधिले बनाएको होला कल्पना गरौं । विश्वकै आकर्षक टावर । सुन्दर, उच्च प्रविधि, झिलिमिलि के वयान गर्नु अचम्मको टावर ।

यो बनाउन सन् २००४ मा सुरु गरी २०१० मा पूरा गरेका रहेछन् । यो टावरको तौल ५,००,००० टन रहेछ । यस्को मालिक इमार हुनुहुदो रहेछ । सुविधायूक्त गाडीमा विश्वको अग्लो टावर हेर्न जानु हाम्रो लागि खुसिको कुरा थियो । छोरा दिपकले प्रवेश टिकटको बन्दोवस्त गरेकोले सजिलै प्रवेश अनुमति पायौं । गेट भित्र प्रवेश पछि लिफ्टबाट १२५ तला सम्म गयौ. । जान अनुमति त्यति मात्र पाएका थियौं । पहिले १२५ तलामा गै दुवईको वजार वा सहर धितमर्ने गरि हेरियो र दुवईको चित्र मनमा कोरियो । १२५ तलाको वरिपरि घुमि वाहिरी दृश्यको अवलोकनका साथ त्यहाँ व्यापारको लागि राखिएको विभिन्न सामान हेरी केहि सामान किनीसके पछि तल १२४ तलामा सींढिबाट ओर्ली पुनः वरिपरि पारदर्शि भित्तोबाट दुवई सहर हेर्दै रमाउदै गरियो । माथिबाट तल सहर हेर्दा विचित्रको देखिदो रहेछ । टाढा टाढा समुन्द्रको निलो पानी, सहरको ठाँउटाँउमा समुन्द्रको हागा सहरमा घुसाएको र सररर पानी जहाज चलेका, विभिन्न आकारका ठूलठूला निर्माणधिन घर कलकारखाना आदी देख्दा अचम्म लाग्दो देखिन्थ्यो । आकासबाट तल पृथ्वीमा हेरे जस्तै भान हुन्थ्यो । चिनोको लागि केहि सामान खरिद गरी त्यहि रहेको पिंग जस्तो झुलरमा झुल्ली खेल्दै दुवई सहर हेर्दै खुव रमायौं । मिनि मार्केट, सुपरमार्केट, स्टडियो, पाँच तारे होटेल, कर्पोरेट अफिसहरु, आवासको लागि अपार्टमेण्ट, डिपार्टमेण्ट स्टोर, ठूलाठूला अफिसहरु आदी त्यहि टावर भित्र संचालनमा आएका रहेछन् । लाग्थ्यो हाम्रो त कल्पना भन्दा बाहिरको कुरा हो । करिव एक घण्टाको अवलोकन पछि लिफ्टबाट तल ग्राउण्ड फ्ल्वरमाझरी वुर्ज खालिफाको संरचानाको नमुना र त्यो बनाउन खटिएको मूख्य प्राविधिक र प्रशासनिक कर्मचारीहरुको फोटोग्राफ समेत सजाई राखिएका फ्रेमहरु हेर्ने मौका मिल्यो । वुर्ज खालिफाको सेरोफेरोमा अन्डरग्राउण्ड वाटरजू विभिन्न प्रकारका सामुन्द्रीक माछाहरु र विभिन्न प्रजातीका चराचुरुंगी,दुवई एकोरियम हेर्दै आनन्द लिदै त्यहि भित्रै कुनै भागमा रहेको कृतिम वाटरफल्स हेर्दै वाहिरी भागमाआई, त्यहाँको राष्ट्रिय गित सहितको बडो मनोरम वाटर फाउण्टेन समेत हेरियो । अनेक आकृतिबाट पानीको फोहरा गितको तालमा तलमाथि यताउता गरेको देख्दा आश्चर्य चकित र मन्त्रमुग्ध भयौं । उफ, त्यो दुवईमल हेर्दा संसार त्यहि अटेजस्तै देखिन्छ । सायद म कवि भै दिएकोभए कति दिन लाग्थ्यो होला शव्दमा उतारी छन्दमा गाउदा । यहाका सबै क्षेत्र वुर्ज खालिफाकै क्षेत्र भित्र पर्दो रहेछ । मानव निर्मित त्यो सानो देशको तरक्की हेर्दा हामी नेपालीले आफैले आफैलाई कोपर्न मन लाग्छ । शासकमा अनुशासन, आँट, ईच्क्षाशक्ति र दुरदर्शिता भए के पो हुनसक्दैन र रु

बालुवाले समुन्द्र पुरी बनाएका टापुहरुको विकास हाम्रो कल्पना भन्दा बाहिर हो । तरपनि हो त्यो मानिसकै कल्पनालाई सजिव बनाई उतारेको प्रतिफल । हामीहरु हाम्रो गाईड । ड्राइभरलाई बोलाई गाडीमा चढि दुवई फ्रेम, ठूलठूला आमीर भवन, अग्लाअग्ला ट्रेड हाउस हेर्दै होटेलमा आयौं । दिउँसको ४ वजे तीर कृष्ण मन्दीर र दुवई क्यानलको तिरमा गै चिया खायौं र नजिकैको पार्क हेर्न तर्फ लागियो । हाम्रो प्याकेज कार्यक्रम अन्तरगत रातीको ८ वजे मेरीना धौ क्रुजमा गै डिनर खान समुन्द्रको किनारमा जानु थियो सोहि अनुसार टुरिष्ट बस हामीलाई लिन आयो र बसमा चढि समुन्द्रमा गयौ । त्यो बसमा अन्य देशका टुरिष्ट पनि हुनुहुन्थ्यो सगै गयौं ।

मेरीना धौ समुन्द्रको तटमा गै पर्खि बसेको क्रुजमा चढियो । नाचगान सुरु भयो । खाना खाने सूचना का साथमा कु्रज बिस्तारै समुन्द्रमा हिड्न थाल्यो । रातीको झिलिमिलि, समुन्द्रको सतहमा छोटो यात्रा र मिठो खानाका साथमा नाचगान हेर्दै आनन्द लिदै दुवईको राष्ट्रिय चरा फाल्कन साथमा राख्दै क्रुजमा डुल्दै गर्दाको रमणिय क्षण कस्तो अचम्मको । समुन्द्र किनारमा ५० औं तलाका डूंगा आकारका र विभिन्न डिजाईनका अग्लाअग्ला घरहरु र ठूलो चक्का वाला घुम्ने फ्रेमको दृश्य हेर्दा त्यो ठाँउ किन छोड्न सकिन्छ र जस्तो भान भयो तर वाध्यता हामी राती होटेलमा फर्कनै पर्यो ।

मिति २०७६ साल कार्तिक ९ गतेका दिन प्याकेज भन्दा बाहिर रहेकोले हाम्रो सेडुयल फ्रि थियो र ईच्छा भएको ठाँउमा आफ्नो पैसाखर्च गरी जान सकिन्थ्यो । यूएई ७ वटा ससाना देशहरु मिलेर बनेको देश हो जस्मा १. आवुधावी २. दुवई ३. अजमन ४. शारजहाँ ५. फुजैरह ६.रास अल खाइमाह ७. अम अल क्वाइन । एउटै भिषाले ७ वटै क्षेत्रमा जान सकिने भएकोले यूएईको राजधानी आवुधावी जाने निधो गरियो । एउटा गाडी भाडामा लिई विहानको हेभि नास्ता पछि ९ वजे सेख जावेद राजमार्ग हुँदै एच क्यू टावर, गोलो घर हुँदै आवुधावी तर्फ लागियो । सफा र चिल्लो बाटो, १०० कि.मी. प्रति घण्टाको रफ्तारमा बाटो दायाँवायाँ बन्दै गरेका ठूलठूला पार्कहरु,मरुभूमीलाई हरियाली बनाउन सुरुगरेका क्षेत्रहरु, बाघ, उँट, चराचुरुंगी र अन्य बन्यजन्तुहरुको लागि तारले बारेका ठूलठूला जंगल आदी हेर्दै गफमा रमाउदै अगाडी बढियो । बाटोमा रहेको ढावामा चिया पिउन गाडी रोकि कागज वाला चियाका कपमा चिया राखि गाडीमा चढि अगाडी हिंडियो र मजाले कुदेको गाडीमा चिया पिउँदै १०० कि.मीं प्रति घण्टाको रफ्तारमा अगाडी बढियो । हेर्नु धेरै थियो र समयको सदुपयोग गरियो । कुदेको गाडीमा चिया पिउँदै गर्दा कस्तो बाटोको स्तरहोला आँफै कल्पना गरौं । एक थोपा पनि चिया छचल्केन ।

कहाँकहाँ जाने हामीलाई त्यती ज्ञान थिएन । गाडी वाला गाइडको सल्लाहा अनुसार हामी हिड्नु थियो । हेर्नु पर्ने,अवलोकन गर्नुपर्ने त धेरै ठाँउ थिए होला तर पनि केही हेर्नै पर्ने ऐतिहासिक कुराहरुमा हाम्रो रुटतय गरियो । साँझपूनः दुवई फर्कनु थियो नै । समय धेरै थिएन । आवुधावीको शेख जावेद ग्राण्ड मस्क्यू सेण्टरको अवलोकन गर्ने सिलसिलामा महिलाहरुले बुर्कालगाउनु पर्ने भएकोले जमिन मुनिको वजारमा पछि फर्काउने गरी बुर्का मिल्यो त्यहि लगाई अन्डरग्राउण्ड बाटोहुँदै सुताएर बनाएको कन्भेयर रोलर बेल्ट माथि टेक्दै अगाडी बढ्दै र कुनै कुनै ठाँउका हिड्दै गरी जमिन माथिको सतहमा रहेको मस्क्यू नजिक पुगियो । खुला आकाश मुनि ठूलो क्षेत्र ओगटी तयार गरिएको मस्क्यू हेर्दा स्वर्ग गए जस्तै भान भयो । बयान कसरी गरुँ म आँफै रनभूलमा परें । त्यति सुन्दर, सफा, त्यती आकर्षक त्यो दक्षता, त्यो लगनशिलता, मार्वल मार्वलले बनाएको संरचना, ठूलाठूला सुनौला झुल्लर, चारैतीर फूल बगैचा, हरियो कार्पेट बिछाए जस्तो दुबैदुवाले ढाकेका,े आँखाले नभेट्ने चौर, पर्यटकहरुको घुँईचो व्ववस्थित र राम्रो व्वस्थापन भएको प्रशासन, हेर्दाहेर्र्दै अचम्म लाग्दो । मस्क्यूको अवलोकन पछि पुनः उहि बाटो हुँदै हाम्रो गाडी भएको ठाउँमा आयौ र अर्को गन्तव्य तर्फ लागियो । बाटोमा विभिन्न आकृतीका ठूला, अग्ला घरहरु, टावरहरु हेर्र्दै यूएई हेरिटेज भिलेज हेर्न गयौं । उक्त ठाँउ समुन्द्रको एउटा हाँगाको किनारामा रहेछ । आवुधावीका पूराना ऐतिहासिक र पूरात्वात्तीक सामाग्रीहरु र त्यहाँको रहनसहन आदीको चिनारी गराउँदा रहेछन् । समुन्द्रको किनारामा पूराना डुँगाहरु (एउटै मुढाबाट बनेको), आधुनिक डुँगाहरु, फेरीहरु, पानी जहाजहरु आदी हेर्ने मौका मिल्यो ।

हेरिटेजको अवलोकन पछि आवुदावी कर्नेवा विचमा गै केहिवेर समुन्द्रको गतिविधि संग रमायौं । भित्र पसेको समुन्द्रको एउटा हाँगाको दुई किनारामा एकापट्टी त्यहाँका राजाको पूरानो राजदरवार र आर्को पट्टीको अलि टाढाको किनारामा नयाँ राजदरवार रहेछ । नयाँ राजदरवार टाढैबाट देखियो तर पूरानो दरवारमा भित्रै पस्ने मौका मिल्यो । यि दुबै भव्य महल के बयान गर्नु । पूरानो राज महल हाल पाँचतारे होटेलको रुपमा प्रयोग गरेका रहेछन् । हामीहरु त्यो राज महलको ग्राउण्ड प्mलवर सम्म जान अनुमति पायौ । राजा बस्ने महल हेर्ने मौका पाएकोले औधि खुसि लाग्यो । महलको पूरा भागमा सुनौलो र चमक हेर्दा सुनैसुनको लेपन जडान गरी बनाएको जस्तो लाग्यो । त्यहाँ रहेका सोफा, बिजुली झुल्लर, विभिन्न किसिमका उपहार सामाग्री देख्दा जो कोहीको मन किन नपग्ला र रु महल बाहिर पानीको फोहरा ,आसपासमा फूलका बगैंचा कस्तो सुन्दरता । हामी दुवई फर्कने क्रममा बाटोमा फेरारी वल्र्ड र यस्को मल अवलोकन गर्ने मौका पायौं र त्यस पछि साँझ दुवईको गेट वे होटेलमा आयौं र राती त्यहि सुस्ताइयो ।

हाम्रो यात्रा अब एक दिन मात्र बाँकि थियो । अगाडीको योजनानुसार मिति २०७६ साल कार्तिक १० गतेका दिन हाम्रो ट्राभल एजेण्टले अन्य देशका पर्यटक समेत एउटै बसमा बिहान ९.३० वजे दुवईका अन्य पर्यटन क्षेत्र हेर्न जाने कार्यक्रम तयार गरेकोले हामीहरुले पनि अलि हेभि नास्ता खाई घुम्न जान बाहिर रोकी राखेको बसमा चढियो । एक जना गाईड र १२(१५ जना जति विभिन्न देशका पर्यटकहरु बसमा चढि सकेका रहेछन् । हामी बसमा बसिसके पछि बस अगाडी गुड्न थाल्यो । हामीहरु समुन्द्रमा रहेको ब्रुज अल अरव होटेल हेर्न गयौं । समुन्द्रपुरी समुन्द्रकै तटमा बनाएको पाँच भन्दा धेरै तारे होटेल रहेछ जस्को माथिल्लो छतमा हेलिप्याड समेत बनाएका रहेछन् । अलिवरैबाट हेर्ने, फोटा खिच्ने काम भयो । भव्य होटेल विश्वका सेलिब्रेटीहरु रमाउने ठाँउ । कति महँगो होला ? समुन्द्रको लहरिलो छाल,कन्चन निलो पानी पर्यटकहरु छाल संगको लडिबुडि र घामतपाइ दृश्य निकै सुन्दर थियो । हामी त्यसै रमायौ.। त्यो होटेल ५० औं तला अग्लो, भिन्दै आकारमा निर्माण भएकाले मनमोहक देखिन्छ । बाटोको वरिपरि धेरै होटेल , सेलिब्रेटी घुम्न जाँदा बस्ने ठाँउ । कुनैकुनै फिल्म दुनियाका गनेमाने नायकनायिकाहरुको घर रहेकोक्षेत्र हेर्दै आँखाको धितमार्दै अगाडी बढियो । अगाडी बाटोबाट केहिपर त्यहाँका प्रधान मन्त्रीको रोयल प्यालेस रहेछ त्यहाँ पनि अवलोकन गर्न गयौं । ठूलो क्षेत्र ओगटेको चारैतिर हरियाली सुन्दर पार्क आदी हेरी सकेपछि हामी अगाडी बढ्यौ । हाम्रो यात्रा पाल्म जुमेरियामा जानु थियो सोहि अनुसार अगाडी गयौं । बसले हामीलाई मोनोरेल स्टेसनमा छोडी अगाडी समुन्द्रको तिरमा पाल्म जुमेरीया तर्फ गयो भने हामीहरु मोनोरेल चढ्ने धोकोले मोनोरेलको टिकट लिई आकाशको बाटो पाल्मजुमेरीया तर्फ लागियो । खजुरको बोटको आकारमा समुन्द्रको माथि बनाएको सहर हेर्ने मौका मिल्यो । समुन्द्रको तटमा ठूलठूला होटेल, एपार्टमेण्ट, डिपार्टमेण्ट स्टोरआदी अचम्म लाग्दो देखियो ।

समुन्द्रमा टाढाटाढा पानी जहाज, अनन्त पारीसम्म निलो समुन्द्र सोको उर्लंदो र लहराउदो छाल,निश्चल र कन्चन पानी हेर्दा स्वर्गानुभूति हुने रहेछ । आखिर आँट, जागर, ईच्छाशक्ति र कानूनी राज्य रहे के पो हुन नसक्ने रहेछ र रु पाल्म जुमेरिया क्षेत्रको अवलोकन पछि समुन्द्रको पानी (एउटा हाँगा) मुनि अण्डरग्राउण्डको बाटो कल्पनामा डुब्दै हामी बस्ने होटेलमा फर्कियो । होटेलमा केहि समय आराम गरिसके पछि घरायसी सामान किन्न वरदुवईको समुन्द्री क्यानल तर्फ गयौं । किनारामा रोकि राखेको मोटरवोटको टिकटलिई सो मा चढि क्यानलको वारीपारी हेर्दै देरादुवई गयौं । सुनैसुनको वजार, झिलीमिली, जताहेर्यो उतै रमाईलो । खुव मजाले अवोलोकन गरि सुनको वजारको स्वाद लिने काम भयो तर सुन भने किनेनौ । एउटा ठूलो सुन दोकानमा ६० के.जि. को सुनको औठी हेर्ने, देख्ने, छुने र फोटो खिच्ने काम समेत भयो । त्यहाँको भनाइ अनुसार विश्वमा सस्तो र गुण स्तरिय एक नम्वरको सुन त्यहि पाईन्छ । विश्वका १६ वटा आश्चर्य बस्तु मध्य दुवई एक नम्वरमा आउँछ गरे । दुवईको चाहना र अठोट, विश्वमा सधै एक नम्वरमा आउने । कडा कानुन भएर पनि होला त्यहाँ नक्कली वा वदमासी धेरै कम हुन्छ गरे । देरादुवईको अवलोकन पछि पुनः मोटरवोट चढि अरबियन देशमा सामान लग्ने मालबाहक पानी जहाज हेर्दै वरदुवई फर्कियो ।

त्यस पछि वरदुवईमा रहेको जमिनमुनिको संग्रहालय हेर्न गयौं । संग्रहालयको अवलोकन पछि नजिकै रहेको सपिंग मलमा गै गुणस्तरिय चकलेट, खजुर, छोडा, टि सर्ट, आदी सामान खरिद गरीयो । सपिंग मल पनि कति ठूलाहुनन् ,हेर्दा बस स्टेसन भन्दा ठूला । अनेक किसीमका ताजा फलफूल, तरकारी आदीका पसलहरु हेर्दा त छक्कै परियो । अचम्म लाथ्यो केहि पसलमा सामान किन्न जाँदा त बिक्रेताले नेपाली बोल्छ बा तपाई कहाँको हो भन्दा बंगलादेशी हो भन्छ । यि सबै नेपालीहरुको आवतजावत र सामान किन्नेको उठबसको कारणले नेपाली भाषा सिक्ने मौका पाएका रहेछन् । वजार गरिसके पछि होटेलमा आई आआफ्ना सामान प्याकिंग गर्न थालियो । रातिको खाना बाहिरबाट ल्याई सबैले संगै खायौं र केहिबेर आराम गर्न लागियो र निद्रा भने लागेन किनकि त्यहाँको रातीको १२.३० वजे नेपाल फर्कन एयरपोर्ट जानु थियो । हामीलाई लिन गाडी आयो । गाडीमा चढि एयरपोर्ट तर्फ लागियो ।

मिति २०७६ साल कार्तिक ११ गते त्यहाँको समयनुसार बिहान ४ वजे र नेपालको समय बिहान ६ वजे हाम्रो फिर्ती टिकट थियो सोहि अनुसार विमान स्थलमा आई डिउटी फ्री सपमा केहि सामान खरीदगरी विमानलाई पर्खि बसियो । भोली पल्ट तिहार परेकोले नेपाली यात्रुको त्यति खचिखचाउ थिइन तापनि उल्लेख्य संख्या भने थियो नै । नेपालको समय अनुसार विहानको ६ वजे जहाज आयो र त्यसैमा बसि दुवईबाट नेपाल तर्फ लागियो । करिव ३.३० घण्टाको यात्रा पछि बिहान ९.३० वजे नेपालको धर्तिमा पाइला टेकियो । टेक्सी लिई ललितपुर, धोविघाटको घरमा आयौं । नुहाइधुवाई पछि हामी बुढाबुढी र छोरा दिपक बुटवल आउनु पर्ने थियो भने बुहारी रचना र नाती आश्विन त्यहि.बसे । हामी ३ जना आआफ्नो सामान लिई सानेपा साला भाई बलराम पौडेल र बैनी मन्जु ज्ञवालीपौडेलको घरमा गै खाना खायौं र बलराम पनि बुटवल आउनेभएकोले उनैको गाडीमा बिहान ११.५५ वजे बुटवल तर्फ लागियो । १२ कार्तिक २०७६ का दिन भाई टीका (दीपावली) परेकोले साँझ ७.०० वजे बुटवल घरमाआई सामान राखि छोरा दिपक मंगलापुर आफ्नो भाई होम किरणको गए भने म, तुलसी र बलु कपिलबस्तु गजेहडा दिदीकोमा गयौ. । बलु र तुलसी मलाई छोडी बलुको घर सालझण्डी फर्के । १२ कार्तिक २०७६का दिन आआफ्नो ठाँउमा भाई टीका लगाई दीपावली मनाइयो । यसरि हाम्रो ५ दिनको दुवई यात्रा सम्पन्न गरियो ।

यू.ए.ई.मा ७ वटा इमिरेट छन् यि ७ वटा इमिरेट मिलेर यू.ए.ई. बनेको रहेछ एउटै राज्यसरि । यस भन्दा अगाडी यि इमिरेटहरु आआफ्नो अस्तित्वमा रहेका थिए । कोहि साना कोहि अलि ठूला । यू.ए.ई.को लामो ईतिहास छैन तापनि इरिमेटहरुको आफ्नै इतिहास रहेको छ । मुस्लिम समुदायको राज रहेको देश स्थानिय जनआवादी कम रहेपनि आप्रवासीहरु धेरै छन् र पनि त्यहाँको कानूनले आप्रवासीलाई नागरिकता दिन बन्देज लगाएको रहेछ । कुनै एउटा इमिरेटको लागि भिषा मिले ७ वटै इमिरेट घुम्न पाइदो रहेछ । पेट्रोलियम पदार्थ, खजुर, मोती आदी उत्पादन हुने हुँदा सबै इमिरेट सम्पन्नशालि छन् तर विकासको क्रममा दुवईलाई अन्य इमिरेटले भेट्न सक्दैनन् । दुवइृ र आवुधावी विकासको उत्कर्षमा पुगेका छन् । क्षेत्रफल र जनसंख्याको हिसावले आवुधावी ठूलो छ र राजधानी पनि त्यहिं छ । शेख, राजा वा राष्ट्रपतिको आवाश र राजमहल पनि त्यंिह छ । दुवईको इतिहास त्यति लामो छैन करिव १०० वर्ष अगाडी आवुधाविका आमिर वा शेख परिवार बढ्दैजाँदा केहि परिवार मूल घरबाट अलग भै उँटबाट मरुभूमिको बाटो हुँदै ७ दिन लगाएर समुन्द्रको किनारैकिनार वरदुवई आई त्यहि बसेको इतिहास रहेछ । समुन्द्रमा माछा मार्ने, गहिरो समुन्द्रमा गै सिपि, मोती बटुल्ने र एउटै काठबाट बनेको डुंगामा चढि टाढा टाढा गै व्यापार गर्ने रहेछन् । राष्ट्रिय पन्छि फाल्कन (वाज) लाई प्रयोग गरी चराचुरुंगीको शिकार गराई आफ्नो खाना तयार गर्ने गर्दा रहेछन् त्यहाँको आदिवासीहरुले । त्यहाँको इतिहासले यहि भन्दोरहेछ ।

एक दिन हामी र अन्य देशका पर्यटकहरु संगै घुम्ज जाने क्रममा त्यहाँको टुरिष्ट गाईडले दुवईको इतिहास र यस्को विकास वारे प्रकाश पार्ने कुरामा धेरै कुराहरुको जानकारी गराएका थिए । घरी अंग्रेजी, घरी हिन्दी, घरी पाकिस्तानी बोल्दै हाम्रो यात्रा उल्लासमय बनाउने ति गाइड पाकिस्तानी जस्तै देखिन्थे र उन्को प्रतिभा देख्दा अचम्म लाग्यो । त्यो वाक पटुता, त्यो ज्ञान, अनुशासन, त्यो मिलेको सरीर देख्दा जो कोहीलाई लोभ लाग्दो देखिन्थ्यो । उनको भनाइनुसार त्यहाँको सबै जनसंख्याको ४० प्रतिशत भारतिय मुलका मानिसको आवादी रहेछ । सन् १९६० को दशक सम्म दुवईमा भारतीय पैसा प्रयोग गर्दा रहेछन् । नेपाली, बंगाली, पाकिस्तानी गर्दा त झण्डै ७०-८० प्रतिशत हिन्दी बुझ्ने मानिस बस्दा रहेछन् । दुवई विश्वको नम्वर एक देश बन्न कसीइराखेको जानकारी समेत पायौ ।

समुन्द्रको एक भागलाई माटो, बालुवा ढुंगाले पुरी विश्व मानचित्र झल्कने सहर बनाउँदै गरेको छ दुवईले र हाल भैरहेको वुर्ज खालिफा टावर भन्दा धेरै अग्लो विश्वमै नभएको टावर पनि पाईप लाईनमा राखि काम अगाडी बढाइएको कुरा समेत प्रकाशमा आएको छ । भारत, नेपाल, बंगलादेशको तुलनामा सुन, स्वादिलो कालो खजुर र इलोक्ट्रोनिक्स सामान अलि सस्तो मूल्यमा पाइदो रहेछ । सामान सबै उच्चकोटीको मिल्दो रहेछ । २०० भन्दा बढि दिरामको सामानहरु खरिद गरी भ्याट् बिल साथमा राखेमा बिदेशी पर्यटकले आफ्नो देशमा फर्कने क्रममा एयर पोर्टको कष्टम अफिसमा भ्याट वापत तिरेको पैसा फिर्ता पाइने समेत व्यवस्था रहेको जानकारी पायौ. ।

हामीलाई अन्तिम दिनमा डुलाउन लगेका गाइड हेर्दा पाकिस्तानी जस्तै देखिएतापनि बिच बाटोमा गाडी रोकी सुस्ताएको समयमा कुराकानी गर्दा थाहा भयो, त्यो योग्य र सुन्दर केटा अरु कोहि नभई नेपालको झापाका बासिन्दा अधिकारी थरका रहेछन् । हामीलाई गौरव लाग्यो दुवईमा त्यो बावु जस्तै टुरिष्ट गाईड अन्य ६ जना रहेछन् । दुवईमा काम गर्ने ३ लाख नेपाली मध्ये एक जना नेपालीले दुवईको मोनोरेल चलाउँदा रहेछन् । सुनिन्थ्यो, पारिश्रकिम निकै राम्रो छ रे । टुरिष्ट गाईड त्यो नेपाली केटा बहुभाषामा दखल भएको । यू.ए.इ. का विषयमा जानकारी भएका ती प्रतिभाशालि, शालिन व्याक्तित्वलाई हाम्रोतर्फबाट सलाम छ ।

के गर्ने स्वर्ग जस्तो प्राकृतिक सुन्दरतम, विविधताले भरिपूर्ण हाम्रो देश नेपालले ती प्रतिभाहरुलाई चिन्न सकेन र हामीहरुले पनि जर्जर मरुभूमिको विकास हेर्दा लोभिनु पर्दो रहेछ । हाम्रो बानी प्राकृतिक सुन्दरताभन्दा कृतिम सुन्दरताप्रति मोह हुनु पनि विडम्वना नै हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button