घमन्ड चढिहाल्यो भने आकाशतिर हेर

कमल ढकाल

घमन्डले आफुलाई खाने नै हो । त्यो थाहा पाउँदापाउँदै मान्छे नाम, दाम, इनाम, पद र प्रतिष्ठा पाएर के के न भएँ भनी भुईं न भाडाका बन्छन् ।

त्यस्ता घमन्डीहरुलाई भन्नु होला, ‘कृपया ! एकपल्ट आकाशतिर हेर्नुस् त महोदय । यो विशाल ब्रम्हाण्डमा चन्द्रमा सुर्य र तारा कत्रो देखिन्छ ? तिनीहरु त ब्रम्हाण्डमा यति सानो देखिन्छ भने हजुर त यो सानो पृथ्वीको यो सानो देशको, यो सानो जिल्लाको , यो सानो शहरको वा गाउँको एक सानो टोलमा २,४ टुक्रा ईट्टा जोडेर १,२ वटा घर बनाउँदैमा, चढ्ने एक गाडी राम्रो किन्दैमा, केही मान्छेलाई आवश्यक पर्ने चीजको व्यापार गर्दैमा, प्रकृतिले दिएको फ्रि हावा पानी घाम चन्द्रमाको शीतलता लिएर त्यसैलाई हेरेर केही थोरै पाना लेख्दैमा, दुई चार वटा फूलको माला र प्रसंशापत्र अरुले दिँदैमा, केही थोरै किताब पढ्दैमा, भोलि रिटायर्ड हुने पदलाई म त यो पोष्टको, मेरो बाबु बाजे त यो पोष्टको थिए भनेर भनिरहनु, केही समयपछि चाउरी परेरै छाड्ने रुपलाई मेरो त यस्तो रुप त भनी भनी घमन्ड गरेर दुख नबेसाउ मित्र ।’

अहम् भनेर कुर्लेका सारा मान्छे यहि आकाशमुनि धुँवा भएर गएका छन् । एक खोलाले लाखौं मान्छे जलाएको खरानी पखालिसकेको छ । कत्ति खोलाहरुले कत्ति बगायो होला । मित्र आफूसँग भएको कुरालाई सदुपयोग गरेर अरुलाई सहयोग गर । गर्व गर्ने बन, जसरी हामी सुर्य चन्द्र र पृथ्वीप्रति गर्व गर्छौ । घमन्ड गरिरहने हो भने फेरि आकाशतिर हेर अनि भन, के तिमी सुर्य चन्द्रमा र तारा भन्दा ठुलो हौ ? तिम्रो नाम, दाम, इनाम, पद र प्रतिष्ठा यी भन्दा पनि ठुला हुन् ?

त्यसैले असल कर्म गर । गर्व गर्ने बन । घमन्ड गर्ने नबन ल । घमन्ड चढिहाल्यो भने जहाँ छौ, त्यहाँबाट आकाशतिर हेर ल ।

म पनि कहिलेकाहीँ घमण्ड चढिहाल्यो भने यसो आकाशतिर हेर्दछु र आफूलाई कीरा झै सम्झन्छु । आफू यो धर्तीको पानीको फोका झै लाग्दछ मलाई । अनि घमण्ड गरेको मान्छेलाई भन्छु, ‘सरी ल, अघिको कुराले मन दुखाएको भए ।’

यत्ति गर्न सके मन क्या शान्त हुने रहेछ !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button