मलाई पनि आत्महत्याको सोच नआएको होइन

सुप्रिया खनाल

मनमा पीडा हुन्छ अनि बस् शब्दसँग खेल्न मन लाग्छ । अरूले जस्तो भावनासँग खेल्न कहिल्यै जानिएन ।

एउटा गीत छ नि, दुखीलाई कहिलेकाहीं ठग्दा रैछन देउता पनि भन्ने । हो, त्यस्तै भएको छ मेरो जिन्दगी । भाग्य लेख्ने विधाताले नै सायद दुख मात्र लेखे । खुसी लेख्ने बेला कलमको मसी सकियो होला ।

केही गर्न सकिएन आजसम्म । बस् भावनामा बहकिएर शब्द कोर्नभन्दा । पीडा सुनिदिने कोहि छैन न मलाई बुझ्ने नै कोहि छ । त्यही भएर नै शब्दमार्फत आफ्ना पीडाहरू पोख्ने गर्छु । जिन्दगीले नमज्जासँग खेल खेलिरहेको मसँग कहिलेकाही त लाग्छ डिप्रेसनमै पुर्याउँछ । हुन त आजभोलि सबैजना डिप्रेसनमा हुन्छन् । चाहे पारिवारिक समस्या, साथीभाइसँगको ठाकठुक या आफ्नो व्यक्तिगत सम्बन्ध, हरेक कुरामा समस्या देखिरहेको हुन्छ । हो, मलाई पनि यस्तै भएको छ ।

मलाई आजभोलि केही कुरा सही लाग्दैन न त कुनै कुरा नै गलत लाग्छ । सायद सबैलाई यस्तै हुन्छ । त्यहि भएर त कतिले आत्महत्या गर्छन् किनकि यी कुराले सबैभन्दा बढी असर दिमागमा पारेको हुन्छ । मलाई पनि आत्महत्याको सोच नआउने होइन, नआएको पनि होइन । साँच्चै भन्ने हो भने एकदुई पटक त प्रयास पनि गरेँ । तर, मेरो दुख सकिएको थिएन सायद । त्यसैले असफल भएँ । एक्लो हुनुपर्छ, के के सोच्छ यो दिमागले अनि केही गर्न सक्दिन । आफै भित्रभित्र गल्दै गइरहेको हुन्छु । देख्नेले भने यसलाई त के भएको छ र ह्या भने जस्तो गर्छन् । एक्कासी शारीरिक र मानसिक पीडाले सताउँछ ।

खोइ किन हो, आजकाल मान्छेहरूको भीडमा भन्दा एकान्तमा रमाउन मन लाग्छ । दिमागमा अनेकथरी सोच आउँछन् । कसैको जिन्दगीमा म बोझ भए जस्तो लाग्छ । मैले गर्दा नै कसैको जिन्दगीमा उतारचढाब आए झै लाग्छ । चाहेर पनि घरमा आजसम्म कसैलाई खुसी राख्न सकिएन, यी कुराले पिरोल्छ ।

म खराब छु या मेरो भाग्य ? बस् कसैको राम्रो बन्न सकिन । आजसम्म जति सम्बन्ध बनाएँ, ती सबै बिस्तारै बिस्तारै टुट्दै गइरहेका छन् । म आफै आफ्नै जिन्दगीसँग हारेको भान हुन थालेको छ । कोहि नजिक मसँग कुरा गरिरहेको हुन्छ, सुनिराखेकी पनि हुन्छु । तर, त्यसको प्रतिउत्तरमा के दिने आफैलाई थाहा हुन्न । सोच्छु, रात पर्ला, मिठो निन्द्रा आउला अनि सबै कुरा भुलिएला तर जब बिस्तारामा पुग्छु बस् राती सुतेपछि बिहान उठन नै नपाए हुन्थ्यो जस्तो सोच आउँछ ।

मान्छेले मप्रति गरेको व्यवहार, मनमा चोट पुग्ने गरी बोलेका तितामीठा वचन सम्झदा लाग्छ, थुक्क मेरो जिन्दगी । दिनभरि दुनियाँको अगाडि हाँस्न बाध्य म राती रुदाँरुदाँ थाक्दैनन् यी आँखाहरू । यत्तिकैमा बिहानको कोठामा आइपुगेको घामको झुल्कोले उठ्न बाध्य हुन्छु । फेरि नयाँ दिनको सुरुवात हुन्छ । फेरि उही कुरा, उही दैनिकी । जिन्दगीसँग हारेको मान्छे, हरेश खाएको दिल अनि टुटेको मनसँगै आँखामा आशु लुकाई हाँस्न बाध्य एक एकल यात्री म ।

(नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ मनका कुरामा तपाई पनि आफ्ना मनका कुनै पनि प्रकारका भोगाई र भावना लेखेर nepalnamchaha@gmail.com मा पठाउनुस् । नेपालनाम्चा तपाईंकै साथी त हो । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button