म मरेपछि मलाई एक सहयोगी समाजसेवी साहसी महिला भनेर सम्झिदिए हुन्छ

रमिला

मेरो मिडिया साथी नेपालनाम्चाले सुरु गरेको तपाईं, हामी र हामीजस्तै आम मानिसको स्तम्भ ‘म’ मा म हेटौंडा ९, मकवानपुरकी रमिला सापकोटा

१. मेरो पेशा व्यवसाय ?
सामाजिक सेवा र राजनीति ।

२. म सानोमा म कस्ती थिएँ ?
एकदम जिज्ञासु र निडर स्वभावकी थिएँ ।

३. सानोमा मेरा सपना कस्ता थिए ?
सानोमा मैले बुवाआमाको दुख देखेको बुझेको थिएँ । त्यसैले जीवनमा केही गर्छु र बुवाआमालाई खुसी र सुखी बनाउछु धेरै पढेर ठुलो मान्छे होइन, असल आदर्श व्यक्ति बन्छु भन्ने थियो ।

४. भविष्यप्रति मेरो सोच के थियो ?
भविष्यवाणी त गरेकी थिइन तर पनि किसान परिवारमा जन्मेकी ५ औं सन्तान । दुख धेरै थियो घरमा । त्यहि पनि म जति दुख गरेर भए पनि पढ्छु र केही गरेर देखाउँछु, परिवार र समाजको लागि भन्ने थियो ।

५. मलाई मनपर्ने खाना ?
सामान्य दाल, भात, तरकारी, अचार अनि तरकारीमा आलु असाध्य मनपर्छ ।

६ मलाई मनपर्ने ठाउँ ? किन ?
मलाई मनपर्ने ठाउँ काठमाडौं हो किनकि मेरो जीवनको मार्गनिर्देशन गराउने र मलाई सहि बाटो देखाउने ठाउँ त्यहि थियो ।

७. मलाई मनपर्ने किताब ? किन ?
मलाई मनपर्ने पुस्तक मुनामदन । किनभने, त्यहाँ माया के हो ? जिम्मेवारी के हो ? सन्तान के हो ? श्रीमतीको भुमिका अनि श्रीमानको कर्तव्यदेखि असाध्य मन छुने भावहरु छ्न् ।

८. मेरो अविस्मरणीय क्षण ?
धेरै छ्न तर कहिले बिर्सन सक्दिन म ७ कक्षामा पढ्दाको कुरा । मेरो घरमा सारै दुख थियो । ६ जना सन्तानलाई शिक्षादीक्षा दिनुपर्ने धेरै कठिन अवस्था थियो आमाबाबालाई । त्यो दुख देख्न नसकेर ‘म अब पैसा कमाउन जान्छु, बुवाआमालाई सहयोग गर्छु’ भने घरबाट भागेर काठमाडौं गएर तीन महिना गलैंचा बुन्ने काम गरेको कहिले बिर्सन सक्दिनँ ।

९. म सबभन्दा खुशी भएको क्षण ?
एसएलसी पास भएको दिन ।

१०. सबैभन्दा दुख लागेको क्षण ?
बुवाले संसार छोडेको दिन ।

११. म के सम्झन चाहन्न ?
बुवाले छोडेर गएको कालो दिन जेठ ३ सम्झन सक्दिनँ ।

१२. मलार्ई के कुरामा पछुतो छ ?
राजनीतिमा लागेको अहिले पछुतो छ मलाई ।

१३. मेरा गल्तीहरु ?
मेरो पढाई राम्रो थियो तर म राजनीतितिर लागेँ । पढाई र जागीरलाई प्राथमिकता नदिएर गलत गरेँ भन्ने लाग्छ ।

१४. मेरा कमजोरी ?
म छिटो विश्वास गर्छु सबैलाई ।

१५. मेरा राम्रा पक्ष ?
कसैको दुख देख्न सक्दिनँ । अन्याय सहन्नँ । निडर छु । साहसी छु । आत्मनिर्भर छु । सक्षम छु ।

१६. मेरा छिमेकीहरु कस्ता छन् ?
छिमेकी आफुमा भर पर्ने कुरा हो । समग्रमा मेरा छिमेकी असल छन् ।

१७. म किन रिसाउँछु ?
कसैले हेपेर बोल्दा, गएको ठाउँमा वास्ता नगर्दा अनि भोक लाग्दा ।

१८. म केमा खुशी हुन्छु ?
अन्यायमा परेकालाई न्याय दिलाउन सहयोग गर्दा र आफुले तय गरेको बाटो सजिलोसँग पार गर्दा ।

१९. मेरा साथी कस्ता छन् ?
मेरा साथी खास छैनन्, जति छन् मजस्तै छन् ।

२०. मलाई को मनपर्छ ?
मलाई म आफै मनपर्छ ।

२१ म कस्तो मानिस हुँ ?
म साहसी/निडर/कुशल सामाजिक अभियन्ता हुँ ।

२२. म मरेपछि मानिसले मलाई कसरी सम्झिउँन् ?
एक सहयोगी समाजसेवी साहसी महिला भनेर सम्झिदिए हुन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button