
‘मनका कुरा’मा मन-महात्म्य
समावेशी मन
सुशीला चौरेल
के लेख्नु खै ? लेखेर नसकिने । वर्णन गरेर नसकिने । तपाईं हामी सबैको मन त हो । सबैको मन फरक फरक हुन्छ रे अनि कोही भन्छन्, कसैको मन उस्तै पनि हुन्छ रे । मलाई त लाग्छ, आफ्नो अनुभवले जे भन्छ, त्यही मन हो ।
मनले नै त हो रहेछ जिन्दगी डोहोर्याउने अनि भन्नै पर्यो, मन जिन्दगी डोर्याउने अनुभव हो ।
मन, मान्छे भित्रको मन अनि थरिथरिको मन । विचित्रको । देख्न नसकिने मन । मात्र आफूले अनुभव गर्यो अनि मनकै बखान गर्यो ।
मनका नाम पनि थरी थरीका । राम्रो, नराम्रो, कोमल, निष्ठुरी, के के नाम राखिदिन्छन् यो मनको मान्छेहरु ।
अझै मनका गुणहरु । यसको जस्तो उसको जस्तो, मन भए पो रे अझै ।
मन त छ नि गाली स्याबासी खाँदै बसेको तपाईं हामी सबैको अनि थरिथरिको समावेशी मन ।
कसैको अगाडि श्रेष्ठ बन्न खोज्ने मन नै हो । तैपनि कसैको मनलाई दुखाउन नपरोस् जस्तो लाग्ने पनि त हो मन तैपनि ती अरु मनले यताको मनलाई दुःख दिन कहाँ छोड्छ र ।
मनले नचाहेका काम पनि त हुन्छन् ।
हुन त एकनासको जिन्दगी कसको पो छ र मन एकनासको खोज्नु । अस्थिर मन अनि अस्थिर जिन्दगी, रात दिन घाम पानीजस्तो ।
सधै सुख देखुँ, अनुभव गरुँ अनि झुक्किएर पनि अरूको मन नदुःखोस् जस्तो लाग्छ नि लाग्न त तर परिवर्तनशील मन सधै एकनास नहुने ।
मन त हो जिन्दगीलाई मोड मोडमा ठोकाउने । केही गर्छु, गरुँला भन्दाभन्दै समय कता पुग्छ अनि फेरि मनलाई पछुतो ।
मन कति आशावादी र लोभी छ भने आफ्नो गुणगानको भोको मन । सबैको स्याबासी खोज्ने मन । लाग्छ, मन त जिन्दगीको पहरेदार हो । आखिर जे भन्छ मनले त्यही गरिन्छ ।
मन त ठाउँ परिस्थिति अनुसार परिवर्तन हुने पो रहेछ ।
बस् मन जिन्दगी हो । सबको मन उमंग खुसी र मायाले भरियोस् । इर्ष्या, डाह, आरिस र छलकपटको मन नहोस् । यही हो मेरो जिन्दगीको काइदा ।
…
(नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ मनका कुरामा तपाई पनि आफ्ना मनका कुनै पनि प्रकारका भोगाई र भावना लेखेर nepalnamchaha@gmail.com मा पठाउनुस् । नेपालनाम्चा तपाईंकै साथी त हो । सम्पादक)



