धिक्कार ! ती बाबुआमालाई जसले छोरी जन्माए

मनका कुरा

सुप्रिया खनाल

अब त म आफ्नै घरमा बस्न पनि डराउँछु । छि: अब त छोरी भएर जन्मिनु नै पाप जस्तो लाग्छ ।

३ वर्षकी छोरी आफ्नै बाबुद्वारा बलात्कृत, एउटी किशोरी हराएको १० दिनपछि लाश कुहिएको अवस्थामा झाडीमा फेला, दाइजो थोरै ल्याएको निहुँमा आफ्नै परिवारद्वारा एउटी नारीको हत्या आदि इत्यादी । जब सामाजिक सञ्जाल खोलिन्छ, यस्तै समाचारहरु मात्र देखिन्छ । मुटु काँप्न थाल्छ । अब आफ्नो पालो कति खेर ? यही सोच आउँछ दिमागमा ।

तिमीले लगाउने हाप पेन्ट र हामीले लगाउने स्कटमा के फरक छ ? दुवैको देखिने खुट्टा नै त हो अनि किन हामीलाई लुगाको आधारमा फरक नजरले हेर्छौ ? तिम्रो बहिनी र हाम्रो शारीरिक बनावट एउटै होइन र ? हामी पनि कसैको बहिनी हो नि । त्यही नारीको शरीरमा जमेको रगतको डल्लोबाट निस्किएर त्यही नारीको शरीरसँग कसरी खेल्न सक्छौं तिमीहरू ? त्यही नारीको बदन चुसेर हुर्केकाहरु त्यही नारीको बदनलाई गलत नजरले कसरी छुन सक्छौ ? जिउँदो लक्ष्मीको सुरक्षा नहुने देशमा ढुङ्गाको मुर्तिलाई लक्ष्मी मानी पूजा गरिन्छ । वा रे वा ।

आखिर कहिलेसम्म हामीहरु यसरी डराएर बाँच्नुपर्ने ? साँझ-बिहान एक्लै बाहिर निस्कन सक्ने वातावरण रहेन अब । जुन देशमा महिला राष्ट्रपति छिन्, त्यही देशमा दिनानुदिन यस्ता घटनाहरू दोहोरिएका छन् । एक दुई जनालाई बीच सडकमा जलाएर त हेर सरकार फेरि पटक पटक मैनबती जलाइराख्नु पर्दैन । तर कहाँ यस्तो गर्न सक्छ ? यहाँ माथिल्लो तहमा हुनेलाई त कुर्सी तानातान गर्दैमा फुर्सद छैन । पैसा र पावरको आडमा अपराधिक कार्य गर्नेहरू समाजमा खुलेआम हिँडिरहेका छन् ।

आमाको गर्भमा हुँदा गर्भमै तुहाइन्छ कि भन्ने डर । बिहे गरेर गयो, दाइजो थोरै ल्याएको निहुँमा मारिदिन्छन कि भन्ने डर । हुर्कदै गर्दा परपुरुषबाट बन्द कोठामा बलात्कृत हुन्छु कि भन्ने डर । सुनसान सडकमा मेरो लाश भेटिन्छ कि भन्ने डर । के नारीले स्वतन्त्र भएर बाँच्न नपाउने नै हो त ? एउटा कुनै ठाउँ त देखाइदेउन, हामी छोरीहरूले आफूलाई कहाँ गएर बचाउने ? एउटै बिन्ती छ सरकार, एउटा यस्तो कानुन बनाइदेऊ जहा नारीलाई गलत नजरले छुने त कहाँ हो कहाँ गलत नजरले हेर्नसम्म १० पटक सोच्ने गरून् ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button