
मलाई माफ गर, तिमी ढिला भयौ
मोडिएको माया
सुशीला चौरेल
‘ओ ! त्यो कानको ठेडी निकाल’, ठूलो स्वरमा सुजन करायो ।
यता सुन्दै थिएँ, अन्जु पन्तको स्वरमा नयाँ गीत ‘धेरै माया नदेऊ मलाई ।’
मेरो यो इयर फोन नै नजिकको साथी म दुबई बस्दाको । साँच्चै छोड्नै नसक्ने पो भएछु म त । बिस्तारै निकालेँ इयर फोन । र, ‘के भनेको’ भन्दै सुजनछेउ पुगेँ ।
‘हैन, तेरो प्रियसीलाई भेट्न बोला’को हैन ? खै कुन बेला आउँछे ? पानी पर्ला जस्तो छ । कसरी जानु !’, ऊ कराउँदै थियो ।
हुन पनि हामीलाई धेरै बेर कुर्नु पर्यो । ऊ ‘अलि टाढा छु । एक छिन भेट्न आउँछु’ मात्र भनेकी थिई । भेटेरै सबै मन फुकाउने धोको थियो । ‘मात्र हिजो मन पराउँछु मात्र भनेँ,
मन परेको त पहिले हो नि । भन्न पो नसकोको । अब भन्न सक्ने पनि भएछु त भनेँ पनि । अनि आज त धेरै कुरा गरिन्छ भेटेर । के भन्छे होला’, मनमा तर्कना बढिरहे ।
मलाई कता कता लागि रहयो, ‘ऊ त्यही रोशनी । त्यस्तै रोशनी, जस्तै मैले ५ वर्ष अगाडि घोडेचौर जाँदा उकालोमा बात मारेकी रोशनी ।’
भन्थी, ‘नर्स बन्ने अनि गाउँमै काम गर्ने ।’ त्यति बेला ‘ए हो, मलाई नि नर्स मन पर्छ’ चै भनेको थिएँ ।
‘कता काम गर्दी होला ? त्यो पातली केटी पो थिई । कस्ती होली ?’, म सोंच्दै थिएँ । ऊ आई । बिस्तारै आई । छेउमा बसी । मलाई पुलुक्क हेरी र भनी, ‘माफ गर ! तिमी ढिला भयौ ।’
‘हैन, म कसरी ढिला ? म ढिला छैन । रोशनी ! म अघिदेखि तिमीलाई कुर्दै छु त ।’
फेरि जबर्जस्ती त्यही दोहोर्याई, ‘तिमी ढिला भयौ । मलाई माफ गर ।’
र, खाली जस्तो देखिने सेतो कागज दिई । त्यो खाली देखिने सेतो कागजको कुनामा कहिल्यै नमेटिने गरी लेखेकी रहिछः
पहिले हुनुपर्ने भेट अहिले किन भयो ?
माया गर्न नसकिने यो विवशता रहयो ।
स्वाटै तिम्रो प्रेम प्रस्ताव म त स्वीकारदिन
गल्ती बाटो रोजी रोजी आफूलाई धिकार्दिन ।
म अर्कैको मायामा छु तिमी नसोच
टिकाउ हुन्न आफ्नो दिलमा राख्न नखोज ।
म त भए अर्कैको अब फर्किन्न
न आऊ प्रिय मेरो पछि, म त पर्खिन्न ।
मैले उसलाई हेरिरहेँ । उसका अक्षर पढिरहेँ । ऊ लाजले झै चुपचाप आफ्नो शिरको घुम्टो मिलाउँदै थिई । त्यो उसको सिउँदोको रातो सिन्दुर पुरै देखिने गरी उसको घुम्टोलाई हावाले हल्लाउँदै थियो ।
‘जान्छु है’, उसले भनी ।
र, बिस्तारै मोडिएको बाटोतिर लागी ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)