अपराध यो थियो, ऊ केटा थियो, म केटी थिएँँ

ममीले रुँदै भन्नुभो, 'नानी इज्जत नफाल है ।'

मनको कुरा

अम्बिका घिमिरे

एक जना छिमेकी बहिनी । कुनै बैङ्कमा काम गर्दिरहिछन् । अफिस जाँदाआँउदा एउटा केटाले ल्याउने पुर्याउने गर्दोरहेछ । मैले पनि दुईचार चोटी उनीहरुलाई सँगै उस्तै अफिस ड्रेसमा देखेकोले सँगै अफिसमा काम गर्छन् भन्ने अनुमान गरेकी थिएँ । एकदिन दुई जना आन्टीहरु बाटोमा ती बहिनीको कुरा गर्दै रहेछन् ।

‘छोरीले राम्रो पढ्छे भनेर त्यसकी आमा कत्रो फुर्ती गर्थी । अझ बैङ्कमा नाम निकाली भनेर त पार्टी नै गरेका हुन् क्यारे । मेरा छोराछोरी धेरै संस्कारी छन् भन्ने बाउचाँहीको घमण्ड थियो । छोरी केटा नलिई हिँड्नै नसक्ने निक्ली । ठिक्क गरी’, भनेको सुनेँ । म पनि कुरा सुन्नकै लागि विस्तारै हिँडेकी थिएँ ।

भोलिपल्ट तरकारी पसलमा, किराना पसलमा, दुधडेरीमा, दोबाटोमा ती बहिनीकै चर्चा सुनेँ ।

एउटा अफिसमा सँगै काम गर्थे । केटासँग साधन थियो । बाटो त्यही पर्थ्यो । सँगै आउनेजाने गरे त अरुलाई टाउको दुख्नुपर्ने, जिउ नै चिलाउनु पर्ने कारण केही थियो र ?

पछि सुनेँ, ती बहिनीले जागीर नै छोडिछन् । निकै नरमाइलो लाग्यो । यो समाजले कसैलाई गरिखान दिदैन । ती बहिनीसँग घटनालाई मैले मेरै जीवनमा भएको घटनासँग जोडेर हेरेँ ।

एसएलसी प्रथम श्रेणीमा पास गरेकी थिएँ । प्लस टु पढ्न गाउँमा नजिक कलेज थिएन । एक डेड घण्टा लाग्ने अलि टाढा एउटा कलेज खुलेको थियो । बुवाले त्यहिँ पढे हुन्छ भन्नु भो । गाउँमै बसेर पढ्नको लागि अरु वैकल्पिक कलेज थिएनन् । बिहानको कलेज । एक डेड घन्टाको जंगलको बाटो । चार ओटा रुख एकै ठाँउमा भेला भएको देख्दा नि डर लाग्ने मेरो बानीसँग तालमेल पटक्कै थिएन । घरबाट आधा घण्टा जति जंगल हिँडेपछि एउटा गाउँ आउँथ्यो र त्यति जंगलको बाटो ममीले सधें पुर्याउन जाने कुरा भयो । म सोच्थेँ, ‘ममीलाई किन डर लाग्दैन ? ममीलाई किन थकाई लाग्दैन ? ममीलाई किन भोक लाग्दैन ?’ टाउको दुख्यो त भन्नुहुन्थ्यो बेलाबेलामा तर टाउको दुख्दा काम छोडेर किन सुत्नुहुन्न ? हो, मेरी ममी महान नारी हुनुहुन्छ । आफ्नो सन्तानको लागि धेरै त्याग गर्नुभएको छ । कलेज आउने जाने क्रममा एक जना साथीसँग चिनजान भयो, जहाँसम्म ममीले पुर्याउनु हुन्थ्यो, उसको घर नजिकै पुगिन्थ्यो ।

ऊ एकदमै सरल थियो, एकदमै मिलनसार अनि एकदमै सुन्दर पनि । हामी हरेक दिन सँगै कलेज जाने आउने गर्न थाल्यौं । बाटोमा हामी घर परिवारको बिषयमा कुरा गर्थ्यौ । कलेजका साथीहरुको बारेमा कुरा गर्थ्यौ । पढाइको बिषयमा कुरा गर्थ्यौ । सायद बाटोको कुरा गर्थ्यौ । घामको कुरा गर्थ्यौ । झरीको कुरा गर्थ्यौ । अझ भनौँ न हामी रमाइलो गफ गर्थ्यौ ।

मलाई जंगलदेखि डर लाग्छ भन्ने उसले बुझेको थियो । त्यसैले कहिलेकाहिँ घरसम्म पुर्याउन जान्छु भन्थ्यो । कहिलेकाँही म कर गरेरै लैजान्थेँ । उसलाई बाटोमा भेटिएकाहरुले हामीलाई आँखा तानेर हेर्थे । कुनै अपराधीलाई हेरेझैँ हेर्थे । हाम्रो अपराध यो थियो कि ऊ केटा थियो, म केटी थिएँ । न उसले मलाई केटापन देखायो न मैले उसलाई केटीपन । मात्र हामीमा निस्वार्थ मित्रता थियो ।

प्लस टु सकियो, मित्रता सकिएन ।

ब्याचलरसम्मको पढाई गाउँमा थिएन । उसको दाईको घर काठमाडौँमा भएको र उतै बसेर ब्याचलर पढ्ने कुरा उसले भनेको थियो । काठमाडौँ आयौ भने फोन गर्नु भनेर उसले फोन नम्बर दिएको थियो । म पनि काठमाडौँ बसेर ब्याचलर पढ्ने भएँ । एक दिन मैले उसको घरको नम्बरमा फोन गरेँ । फोन उसैले उठायो । हामीले केहीबेर कुरा गर्यौ । ऊ कोटेश्वर बस्दोरहेछ । मैले गोंगबु बस्छु भनेँ । उसले भेटौँ भन्यो ।

उसलाई भेट्न मलाई कुनै आपत्ति थिएन । हामी बाइसधारा घुम्न गयौँ । गाउँको एउटा भाउजु काठमाडौँ बस्नुहुन्थ्यो । बच्चा लिएर बाइसधारा घुम्न आउनुभाको रहेछ । मैले नै देखेर बोलाएँ । मलाई मन नपर्ने हेराईले हेर्नुभो । बोल्नै खोज्नुभएन । सायद मेरो अपराध थियो, केटासँग घुम्न जानु्र ।

काठमाडौँ बसेको केहि दिनपछि मोबाइल किनेँ । घरमा फोन थिएन । नजिकैको पसलमा फोन थियो । फोन गरेँ । ममीलाई बोलाइदिनु भनेँ । ममीले फोन उठाएर रँदै भन्नुभो, ‘नानी इज्जत नफाल है ।’

गाउँमा नराम्रो हल्ला चलेको रहेछ । हामी बाइसधारा घुम्न गएको कुराले गाउँनै हल्लाएछ । ममीलाई फोन गरेपछि थाहा पाएँ । एकदमै रुन मन लाग्यो । फोन राखेर रोएँ । मैले जति खोजे पनि आफ्नो गल्ती भेटिनँ । तर, नगरेको गल्तीले आगोले भन्दा धेरै पोल्यो । एक दिन बिहानै गाउँको एउटा भाइले फोन गर्यो । फोन उठाएँ । उसले हालखबर नै नसोधी बधाई छ है, तैंले पल्लो गाउँको राजसँग बिहे गरिस् भन्ने हल्ला सुनेर फोन गरेको भन्यो । म झसंग भएँ । घरमा फोन गर्ने आँट आएन । त्यस दिन गाउँतिरबाट दसओटा जति त्यस्तै कल आयो ।

कसैले बधाई दिए । कसैले बाउआमाको नाक काटिस भनेर गाली गरे । कसैले जिस्क्याए । कसैले सत्य असत्य बुझ्न फोन गरे । मैले सफाई दिएर विश्वास गर्ने कोही भेटिनँ । बुवाममीले यस्तो सुन्नु भयो भने के गर्ने भन्ने एकदमै डर लाग्यो । आत्महत्या गर्न मन लाग्यो । कुनै गाडीले किचेर मार्दे नि हुन्थ्यो भन्ने लाग्यो । मृत्युबाहेक भगवानसँग केही मागिनँ । आत्महत्या गर्ने उत्तम तरिका सोच्दै थिएँ, गाउँको नम्बरबाट फोन आयो । जेसुकै होस् भनेर उठाएँ, फोन बुवाले गर्नुभएको रहेछ । बुवाले भोलि नै घर आइहाल भनेर फोन राख्नुभयो । यो हल्ला बुवाले सुन्नु भएछ भन्ने थाहा पाएँ । बुवाले हल्लामा विश्वास गर्नुभएन । मेरो विश्वास गर्नुभयो भन्ने बुझेँ ।

आत्महत्या गर्ने निर्णय बदलेर घर गएँ ।

(नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ मनको कुरामा तपाई पनि आफ्ना मनका कुनै पनि प्रकारका भोगाई र भावना लेखेर nepalnamchaha@gmail.com मा पठाउनुस् । नेपालनाम्चा तपाईंकै साथी त हो । सम्पादक)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button