भान्सा एक भव्यता, एक अनिवार्य सभ्यता

(साथी सुशीलाले नेपालनाम्चामा कोरोना डायरी सुरु गरेकी छिन् । यहाँ उनले सामान्य लाग्ने जीवनका सत्यहरु लेख्नेछिन् । र, लेख्नेछिन्, जीवनका गीत, आशाको संगीत र आम मानिसका स्वरहरु । उनको डायरी एक प्रतिनिधी डायरी हो । सम्पादक )

डायरी ६ः भान्साको कुरा
सुशीला शर्मा

घरका कोठाहरुमध्ये भान्सा कोठा या कतै ठाउँ नपुगेर एडजस्ट गरिएको कुनो, जहाँ खाना पकाईन्छ, सबैभन्दा महत्वपूर्ण र ध्यान दिएर समय खर्चिने ठाउँ पनि हो भान्सा । मेरो पनि घरमा बस्दा धेरै समय अल्झिने ठाउँ नै भान्सा हो ।

भान्सा भोक निवारणको भरोसा केन्द्र हो । तर, यसो भन्दैमा मलाई मानिसहरुले लैङ्गिक हिसाबले गर्ने कुरा ‘चुरा बजाउँदै फलानोको हातले पकाएको खानाको स्वादको के बयान गर्नु’ भन्ने जस्ता उक्ति मन पर्दैनन् । भ्याउँदा भान्सामा जो गएर खाना पकाए पनि हुन्छ– श्रीमान, छोरा, छोरी र अन्य जो सुकै परिवारका सदस्य । कामको जिम्मेवारीको वाँडफाँडमा महिला नै दिनभर घरको काम गर्ने हुनाले भान्सामा पनि महिला नै बढी जिम्मेवार भएको अभ्यास देखिन्छ ।

मलाई भान्सामा बनाईने साधारण खाना नै बनाउन आउँछ र यो कार्य ५–६ वर्षको उमेरदेखि नै शुरु गरेकी हूँ । आमा अस्वस्थ, भाईबैनी साना, यस्तो अवस्थामा आमाले सुझाएको आधारमा भुसेचुलोमा विस्तारै भात बसालेको अनि विस्तारै दाल बसालेको धमिलो याद छ मलाई । यस्तै गर्दै गर्दै आजको दिनसम्म पनि म बाहिरको काममा भन्दा भान्साकै काममा व्यस्त हुने आदत जस्तो भइसक्यो ।

हाम्रो भान्सामा मरमसला, हरिया तरकारीलगायत सम्पूर्ण आवश्यक कुराहरु तयारी हुन्छन् । अहिले कोरोना अवधिमा धेरै सुनिएको भान्साघर नै मानिसको पहिलो अस्पताल हो र गृहिणी नै डाक्टर भन्ने उक्ति छ । त्यो भन्न खोजेको चाँहि भान्साघरमा पाक्ने खानेकुरा, प्रयोग गरिने मरमसला, सरसफाई पकाउने तौरतरिका आदि होलान् । जसले भान्सामा खाना तयार गर्छन्, तिनले उपयुक्त खाना बनाउने भएकोले प्रतिकको रुपमा ‘डाक्टर’ भन्न पाइयो । गृहिणी डाक्टर भन्दै महिलालाई भान्सामै लिसो जस्तो बनाएर राख्नु भने भएन । एउटा हिन्दी छोटो फिल्म छ ‘जुस’, जसमा यथार्थमा भान्साको लैङ्गिक भूमिका चित्रण गरिएको छ । युटुवमा हेर्न सकिन्छ ।

मभन्दा पनि मेरो श्रीमान खानपानमा विशेष सतर्कता अप्नाउन खोज्ने भएकोले हामी एकदम सादा तरिकाले दाल भात, तरकारी, सादा रोटीलगायत फापर, मकै, कोदो, जौको ढिँडोलाई पनि खानामा समावेश गर्ने गछौं । हामी बस्ने घरको भान्साको वेसिन भने केही साँघुरो भएकोले सरसफाई गर्दा एकदम देखिने गरी टिलिक्क बनाउन सकेका छैनौं । तैपनि डिटोल, सरफपानीले पुछ्ने भने गरिरहन्छौं । भान्सामा फलफूल, सलाद पनि समावेश गराउने चलन चलाएका छौं ।

यति भनिरहँदा दाल भातले मात्रै वा नून भात या ढिडोले मात्रै दैनिक गुजारा चलाउनेहरुलाई पनि बिर्सनु हुँदैन् । तर, उनीहरु पनि अँगेनाको वरिपरि बसेर सपरिवार भान्सामा पाकेका खानेकुरा खान्छन् । भान्सा परिवार एकजुट हुने समन्वयात्मक थलो पनि हो । भान्साकै कुरा गरिरहँदा सबैको भान्सामा खानेकुरा होस् र ती खाना खाएर सबै मानिस स्वस्थ र बलियो हुन् भन्न पनि नबिर्सौ ।

बिहान उठेपछि तुरुन्त पानी उमालेर पिउने, अरु गुर्जो, बेसार, मरिच, दालचिनीजस्ता जडिबुटी मसलायुक्त पानी पिउनेबाट भान्साको दैनिकी शुरु हुन्छ । यो चाँहि हाम्रो रुटिन नै भएको छ । बिहान तातो पानी पिउने सल्लाहचाँहि हामी जो कोहीलाई दिई नै हाल्छौ । साँच्चै निरन्तर यस्तो विधिले पेटलाई आराम भएको महसुस हुने रहेछ । अर्को कुरा, भान्सामा खाना बनाउँदा जेष्ठ नागरिक र बालबालिकामैत्री खाना बन्नुपर्ने हुन्छ । धेरै थरी बनाईरहन समय र जाँगर अनि सामान नहुँदा भएकै सामाग्रीलाई सादा तरिकाले सबैको स्वास्थ्यमा अनुकूल हुने खाना बनाउँदा झन् राम्रो हुन्छ । अनि अर्को कुरा, एकजना खाना बनाइरहँदा अर्कोले भाँडा माझिदिने, तरकारी काटिदिने, रोटी बेलिदिने गर्दा झन् भान्साको काम सहज हुन जान्छ । त्यो काम घरमा बसिरहेका जो सुकैले गर्न सक्छन् । हामी हाम्रो परिवारमा त्यो अभ्यास गर्छौ । यसो गर्दा एकजनालाई मात्रै सबै कामको बोझ पर्न जाँदैन् ।

भान्सामा बसेर एक्लै खीर, पुलाउ, चिकेन या मटन, आलु केराउको अचार बनाएर अनि साथीहरु, आफन्तहरुसँग बसेर खान खुवाउन मलाई मनपर्ने विषय हुन् । साथीहरुले भने अनुसार खीर र पुलाउ म मीठो पकाउँछु रे । यो सीप मैले मेरो आमाबाट सिकेको हुँ । मलाई सेल पकाउन रमाइलो र मीठो पनि लाग्छ तर त्यति राम्ररी पकाउन आउँदैन ।

मैले एक महिनाभरी कोभिड भएर आईसोलेसनमा बस्दा अनुभव गरेको कुरा, भान्साको पनि खुब सम्झना आउने रहेछ । तर श्रीमानजी पनि भान्सामा परिचित नै भएकोले भान्सामा पाक्ने या मैले पकाउने सबै खानेकुरा पकाउँदै भनेकै बेलामा हामीसामु ल्याईदिनुहुन्थ्यो । तर एकहाते भनेको जस्तो हो या त्यतिखेर मुख नै नमिठो भएर, छोरा र मैले केही न केही खोट नलगाई खाएनौं । दुःख सुख गरेर मनैदेखि पकाएर दिएको खानालाई पनि अवजस दिने बानी पो रहेछ हाम्रो भन्ने लाग्छ, मनमनै आफ्नै बारेमा । भान्सामा घरका सबै परिचित हुनुपर्ने, पकाउने सरसार्दाम हुनुपर्ने र खाँना पकाउँदा शरीरलाई पच्ने खाना पकाउनुपर्ने भान्साको नियम हो भन्दा गलत हुँदैन् । अनि भान्सा र भाँडाकुँडाहरु सफा हुनुपर्ने त अनिवार्य नै भइहाल्यो । खाना पकाउनेहरुको समन्वयले भान्सालाई मैत्रीकोठा बनाउन सहयोग गर्दछ ।

भान्सामा बनेका खानेकुरालाई सबैले हाँसी खुसी मीठो मानेर खाँदा खानाको आनन्दै छुट्टै ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button