
पहिलो पटक पाइन्ट लगाउँदा बुवाले मुसुक्क हाँसेर भन्नुभयो, ‘राम्री देखियौ’
मनको कुरा
अम्बिका घिमिरे
थाहा थिएन, पाइन्ट केटाको लागि हो कि केटीको लागि हो या दुवैको लागि हो ? यो पनि थाहा थिएन, पाइन्ट सुन्दरताको लागि हो कि होइन ? तर, पनि पाइन्ट लगाउने रहर थियो ।
२०६३ सालतिर गाउँमा प्लस टु सकेर ब्याचलर पढ्न काठमाडौँ आँए । मेरो उमेरका धेरै साथीहरुले पाइन्ट लगाउँथे अनि मेरो रहर झन् बढ्दै गयो, हुर्कदै गयो । घरमा आर्थिक अभाव त थिएन तर अर्थको मामिलामा बुवा सधैँ किचकिचे । बुवाले दिनुभएको थोरै पैसाले काठमाडौंमा जिविका चलाउनै नपुग्ने । त्यसैले साथीको सहयोगमा मैले एउटा सहकारीमा पैसा उठाउने काम सुरु गरेर एउटा टिसर्ट र एउटा पाइन्ट किन्ने हैसियत बनाएँ ।
दशैं नजिकिदै थियो । दशैंमा एकजोर नयाँ टिसर्ट र पाइन्ट किन्ने सपना पुरा हुने दिन पनि नजिकिदै थियो । कलेज छुट्टी भयो । अफिस पनि छुट्टी भयो । दशैँको लागि गाउँ जाने दिन नजिकिदै गयो अनि मैले गोँगबुस्थित नयाँ बसपार्कको फुटपाथमा एउटा बेलिबटन जिन्स पाइन्ट र एउटा सेतो टिसर्ट किनेँ ।
किन्न त गाउँ जाँदा लगाउन किनेको तर घरमा पाइन्ट लगाएर जान बुवाको डर लाग्यो । केहि भन्नुहुन्छ कि भनेर पाइन्ट झोलामा हालेर पुरानै कुर्ता सुरुवाल लगाएर घर गएँ । घर गएको दुइ चार दिनपछि पाइन्ट किनेको कुरा हजुरआमालाई सुनाएँ । मेरो फुपूहरु काठमाडौँ बस्नुहुन्थ्यो । हजुरआमा पटक पटक काठमाडौँ आउने जाने गर्नुहुन्थ्यो । फुपूको छोरीले पाइन्ट लगाउने हुनाले हजुरआमाले यसलाई सहज रुपमा लिनुभो । त्यसपछि बल्ल ममीलाई सुनाउने आँट आयो । ममीले पनि सहज नै मान्नु भो । अब डर बुवाको मात्र थियो । ‘टिकाको दिनमा लगाउन त, बुवाले केही भने म भनौंला’ भन्नुभएको थियो, हजुरआमाले ।
डराईडराई टिकाको दिन बिहान नुवाईधुवाई गरेर नयाँ टिसर्ट पाइन्ट लगाएँ । टिकाको साइत भएपछि मात्र बुवाको अगाडि गएँ । बुवाले मलाई एकछिन एकटकले हेर्नुभो । मेरो डरको सिमा नै रहेन । म डराएको बुवाले नि बुझ्नुभएछ क्यारे !
बुवाले मुसुक्क हाँसेर ‘राम्रो देखिएको छ’ भन्नुभयो । मेरो खुशीको सिमा नै रहेन ।
(नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ मनको कुरामा तपाई पनि आफ्ना मनका कुनै पनि प्रकारका भोगाई र भावना लेखेर nepalnamchaha@gmail.com मा पठाउनुस् । नेपालनाम्चा तपाईंकै साथी त हो । सम्पादक)
व्यवहारिक पाटो र वास्तविकता