म ‘नट्टी’ साइकल रिपोर्टर !

‘तपाई कागजमा काम गरेको मान्छे र म कागजमा जीवनको अर्थ र स्वयम जीवन नै खोज्ने मान्छे । सरकार ! तपाईंको लागि कागज के हो ?’

अशोक सिलवाल / जनकपुर, धनुषा ।

‘हेलो !’

तर, उसले मतिर हेरेन । अलि चर्को स्वरमा फेरि भनेँ, ‘हेलो सर !’

‘हजुर !’ बल्ल ऊ बोल्यो अर्को टेबलबाट । त्यहाँ ऊ आइपुगेको २ सेकेन्ड भएको थियो । र, सोफामै टुसुक्क बसेर थकाई मारिहरहेको थियो । हेर्दा खाँटी जनकपुरिया देखिने उसलाई मैले अघि होटलको पछाडितिर पनि देखेको थिएँ । होटलको एउटा सामान्य कर्मचारीजस्तो देखिने ऊ उत्तिकै भलाद्मी पनि देखिन्थ्यो ।

‘तपाईं यहीँको होइन ?’

‘हो ।’

‘तपाईं यहाँको के हो ?’

‘साहुजी ।’

‘अरे साहुजी ! यहाँ आउनुस् । मेरो नजिक । हामी गफ गरौं । यहाँको बारे । यो ‘बाबाको ढाबा’बारे । अनि जनकपुरबारे ।’

उनी मनजिक आए । सामुन्नेको सोफामा बसे ।

‘मसँगै आउनोस्’, मैले भनेँ ।

उनी म भएतिरको सोफामा आए । म ल्यापटपमा उनले बोलेको टाइप गर्दैछु । हेरिरहेका छन् उनी मेरो ल्यापटप स्क्रिन र किबोर्ड, जहाँ म जनकपुर कोरिरहेछु । जहाँ म जनकपुरसम्मको पश्चिम दोधाराचाँदनीबाट सुरु भएको साइकल यात्रालाई जोडिरहेको छु ।

आजको मात्र कुरा गर्ने हो भने बिहान हिंडेका थियौं हामी सिन्धुलीको सिन्धुलीमाडीबाट । त्यसअघिको अघिल्लो साँझ बिताएका थियौं, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झन्झनेमा । अस्ति झन्झनेबाट हिंडेपछि मरिणको लञ्च स्टेसनमा स्थानीयले हामीलाई स्वागत गरेका थिए, कमलजंग राईलगायतले । त्यहाँ नेपाल साइकल उत्सवका हामी सबैले पालैपालो आफ्नो परिचय पोखेका थियौँ ।

त्यहाँ मैले म लाङटाङ् सद्भावना दूत भनिनँ । त्यहाँ मैले म कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियन्स्को उपाध्यक्ष पनि भनिनँ । न त मैले त्यहाँ म ट्रेकिङ इन्स्टक्टर, टुर गाइड वा ट्रेकिङ गाइड नै हुँ भनेँ । न त मैले म कलम, लेखक दुनियाँ वा श्रीलंका स्मृतिको लेखक हुँ नै भनेँ । भर्खरैमात्र सुरु गरिएको र प्रारम्भिक रुपमै रहेको नेपालनाम्चा डटकमको सम्पादक हुँ पनि भनिनँ त्यहाँ मैले ।

मरिण नदीछेऊ परिपक्व हुन अझै बाँकी रहेको मदन भण्डारी लोकमार्गसँगै टाँसिएको जमिनमा उभिएर भनेँ, ‘नमस्कार ! सबैलाई । म साइकल रिपोर्टर अशोक सिलवाल ।’ एक्कासी मेरो मुखबाट निस्केको थियो त्यो शब्द । साइकल सम्वाददाता !

नेपाल साइकल उत्सव यात्रा जारी छ र यात्राको यो १९ औं दिन हो । हामी जनकपुर आइपुगेका छौं । अहिले म ‘बाबाको ढाबा’मा छु ।

मैले एकाध पटकबाहेक यो १९ दिनसम्मको यात्रामा साइकल चलाएको छैन । तर, म दीपक नेपाली कन्ट्रोल्ड एन्ड ड्राइभ्ड रेस्क्यु कोस्टर ‘१५७८’ मा घरी हाम्रा साइकल साथीहरुका साइकलअघि र घरी पछि र घरी सँगसँगै छु । हाम्रा टेन्टहरु एउटै चौरमा रातभर र दिनभर सुवास ढुँगाना कन्ट्रोल्ड एन्ड ड्राइभ्ड हाम्रो अर्को कोस्टर ‘१६०३’ मा सँगसँगै छन्, जसले हाम्रो किचेन सामाग्री र टेन्टहरु बोक्छ ।

किचेनकर्मी गेलु र शेरा शेर्पा पनि हरसाँझ हामीसँगै । हाम्रा गाडी, हाम्रा टेन्ट, हाम्रा साइकल र हाम्रा साइकल साथीहरु यात्राका एकिकृत पुर्जा हुन् । र, बाटाबाटामा भेटिने सुवास देवकोटा, सौरभ ढकाल र हरिकृष्ण श्रेष्ठहरु, लजिक श्रेष्ठ, एचबि बर्मा र यमलाल रसाइलीहरु, गगन राना र गगन थापाहरु, आशिष पान्डे र आशिष लामिछानेहरु, करनसिंह पाल, भरतविक्रम शाहहरु, सतिश र केवि दाइहरु, सारु राना मगरहरु । यी सब हाम्रा यात्राका सुनमाथि सुगन्ध । नेपाल पर्यटन वोर्ड (एनटीवी), ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को लोगो पनि यात्राभर हामीसँगै छन् ।

विश्व साइकलयात्री पुष्कर शाहसहित राजेन्द्र सापकोटा, मुक्ति पान्डे, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, माधव नेपाल, शंकर अधिकारी, लक्ष्मी श्रेष्ठ, नीरा बराल, हिम गुरुङमात्र होइन, सिन्धुलीमाडीमा थपिएका काठमाडौंका पासाहरु अजित श्रेष्ठ, संतोष श्रेष्ठ र सुनील पासा आदि सबैका एक समानका थकान र उत्साहहरुमा हामी सँगै छौं । उनीहरु थाकेका क्षणहरु र लञ्च टाइममा लञ्च लिनुअघि नै हतारिएर उनीहरुले सुकाएको पसिनाले निथ्रुक्क भिजेका गञ्जीहरु र लञ्च खाइसकेपछि हतारिएर टिपेका अझै सुकिनसकेका ती गञ्जीहरु, म सब सम्झिरहेको छु । । सम्झिरहेको छु, घुँडा दुख्दादुख्दै पनि साइकल प्याडलिङ गर्दै रातो र चन्द्र सूर्यअंकित नेपालको झन्डा साइकलशीरमा फरफराईरहेका सम्राटहरु ।

आहा ! यी दृश्य । आहा ती दृश्य । म अनेक राजमार्ग र राजमार्ग छेउछाउका जीवनहरु चलचित्रमा झैं वा अझ त्यसभन्दा बढी अनुभव गरिरहेको छु ।

अहो ! मेरो भाग्य । अहो ! म साइकल रिपोर्टरको भाग्य ।

कोभिड–१९ ले पर्यटन कोमामै पुगेको यो बेला झन्डै १८ सय किलोमिटरको यो अथकित महाकाली–मेची साइकल यात्रामार्फत पर्यटनलाई व्युँझाउन, आफु स्वस्थ रहन र पृथ्वीलाई स्वस्थ राख्न, देश डुल्दै देश बुझन् र आफैभित्र देश व्युँझाउन शहर, गाउँ र वस्तीहरुको सुगन्ध पछ्याइरहेका छौं । र, हामीलाई देशले अभिषेक गरिहरहेको छ । फूलमालाले । खादाहरुले । अबिरहरुले । त्यसभन्दा बढी नागरिकका आँखा र मुस्कानहरुले । उनीहरुको आर्शिवाद र प्रेमले ।

म धन्य साइकल रिपार्टर ! र, सबै साइकल साथी धन्य !

लक्ष्मिनियाँ गाउँपालिका । जनकपुरको बोर्डर । जनकपुरको प्रवेशद्धार भनुनँ । यहाँ छु म । र, म यी अक्षरहरु लेखिरहेको छु ।

अघि भर्खर १७ महिने छोरा त्रिशानले फोन गरेको थियो, ज्योतीको काखमा बसेर । उसका मुस्कान म कत्ति मीस गरिरहेको छु । र, मीस गरिरहेको छु छोरी अदितिलाई । मलाई थाहा छ, ऊ मलाई कति मीस गरिरहेकी छे । र, आमासँग बिहान अलिकति कुरा भएको थियो । उहाँको आर्शिवाद मसँग छ र नेपाल साइकल उत्सवसँग छ । र, सबै साइकल साथीहरुका आमाहरुको आार्शिवादले यो यात्रा अझ पवित्र भइरहेको छ ।

‘यहाँबाट कति किलोमिटर दक्षिणमा छ जानकी मन्दिर ?’, मैले सोफामा सगैँ रहेका बाबाको ढाबाका साहुजी प्रकाश मिश्रलाई सोधें ।

‘यहाँबाट ४ किलोमिटर’, त्यति भन्दै उमेरले सम्भवत मेरो ठुल्दाई उमेरका उनले एक्कासी थपे, ‘दाई ! माइन्ड नगर्नु ल ।’

‘किन ?’

‘म रजनीगन्धा खान्छु’, प्याकेट खोलेर त्यसको टुक्रा छेउको एस्ट्रेमा हाल्दै उनले भने ।

‘अरे यार ! खानुस् । म माइन्ड गर्दिन । म टेवलको एस्ट्रे देखेर खुशी छु । म पनि चुरोट खान्छु । एक छिनमा मैले चुरोट खाए बरु तपाईं माइन्ड नगर्नु होला’, मैले सोधेँ, ‘यो ढाबा पुरानो हो ?’

‘परार असार ५ गते उद्घाटन गरेको हो । पहिले रेस्टुरेन्टमात्र थियो, अहिले रेस्टुरेन्टपछाडि मिटिङ हल, पार्टी प्यालेस, गाडीवास् झन्डैझन्डै तयारी अवस्थामा छ’, त्यति भन्दै उनले एक्कासी आतिथ्यता देखाए, ‘चिया खाउँ ? ।’

‘हुन्छ । ल्याउनुहोस् । चियाले गफ झनै मीठो बनाउँछ’, मैले भनेँ ।

‘सरकार !’, तत्क्षण ढाबाको भित्री गेटबाट नछिर्दै एकजनाले भने । उनले सुन्तला रँगको कुर्ता र सेतो पाइजामा लगाएका थिए । र, आँखामा सादा चश्मा उनलाई निकै सुहाएको थियो ।

मिश्रजीलाई ‘सरकार !’ भन्ने महाशय हाम्रो सोफाको सामुन्ने सोफामा बसिसकेका छन् । एक निमेषमै हामी अनौपचारिक भइसकेका छौं ।

उनले मेरो छोटो परिचय मागे ।

‘म साइकल सम्वाददाता अशोक सिलवाल’, नेपाल साइकल उत्सवको सन्दर्भ सुनाउँदै भनेँ ।

‘तपाई नट्टी !’, उनले हाँस्दै एक्कासी भनेको सुनेँ । म खुश ! मेरो दिल खुश ! कति चाँडै साथी भएका हँ यी मधेशी मनुवा ! ,

उनी रहेछन् संजीव झा ।

‘मेरो घर यहीँ हो । लक्ष्मिनियाँको ७ नम्बर । म एभरेस्ट पेपर मिल्स्को निर्वतमान प्रबन्धक ।’

‘के मिल्स् ?’

‘नेपालकै सबैभन्दा ठुलो कागज कारखाना । एभरेस्ट पेपर मिल्स् ।’

‘ए … ए … । कहाँ छ यो ?’

‘सखुवा, महेन्द्रनगर, धनुषामा छ ।’

‘अहिले चाहिँ के गर्दै हुनुहुन्छ ?’

‘आफ्नै व्यवसाय गर्दैछु । मेरो स्पेयर्स्पार्ट्सलगायतको व्यवसाय छ ।’

‘तपाई कागज कारखानामा कति बर्ष रहनुभयो ?’

‘१० बर्ष ।’

‘तपाई कागजमा काम गरेको मान्छे र म कागजमा जीवनको अर्थ र स्वयम जीवन नै खोज्ने मान्छे । सरकार ! तपाईंको लागि कागज के हो ?’

‘मेरो लागि पनि कागज जीवन नै हो । सवौपरि नै हो । मेरो जीवनको १० बर्ष त्यो जीउने आधार थियो । त्यसअघि म त्यहाँ जान सक्ने बनाउने पनि कागजै थियो । र, मेरो भविष्य पनि कागजै हो । र, मेरो सन्ततिहरुको लागि कागज कमाउनकै लागि यो सब गर्दैछु’, काँग्रेस नेता गगन थापा त्रिचन्द्र कलेजको स्ववियु सचिव हुँदा त्यहाँ विद्यार्थी रहेका ‘बीएस्सी’ संजीव झाले बडो विशेष जवाफ दिए ।

‘झा जीले भने झैं तपाईं पनि सन्ततिहरुकै लागि कागज कमाउन यो सब गर्दै हुनहुन्छ’, यो सब सुनिरहेका बाबाको ढाबाका ‘बाबा’लाई सोधें, ‘होइन त ?’

‘सही भन्नुभयो, दाई ! एकदम सही’, दाई उमेरका शिवभक्त मिश्रले फेरि मलाई दाई भन्दै भने, ‘यहाँ शिवलाई हामी बाबा भन्छौं ।’

‘उहाँसँग हाम्रो अर्को पनि रिलेसन छ’, उनले थपे ।

‘भन्नोस् ।’

‘कुरा बहुत इन्टेस्ट्रिङ छ ।’

‘भन्नोस् सरकार !’

‘काठमाडौंमा तपाईं माघलाई के भन्नु हुन्छ ?’

‘माघ नै भन्छु ।’

‘माघमा हामी बाबाधाम जान्छौं । १ सय १ किलोमिटर हिंडेँर ।’

‘बाबाधाम कहाँ पर्छ ?’

‘भारतको झारखन्डमा । तपाईंहरु जस्तै त्यहाँ जाँदा हामी पनि कसैको घरमा बस्दैनौं । बाहिर चौरमा सुत्छौं । लसुन प्याज खाँदैनौं । पुरै शाकाहारी रहन्छौं । बिहारको सुल्तानगञ्ज हुँदै झारखन्डरहको बाबाधाममा हामी श्रीपञ्चमीको दिन पुग्छौं’, साइकल साथीहरुका टेन्टहरुतिर हेर्दै उनले भने ।

‘कति पटक जानुभयो ?’

‘१७ पटक । १७ बर्षदेखि रेगुलर । बाबासँग मागे मनइच्छा पुरा हुन्छ ।’

‘तपाईंको ब्याकग्राउन्ड ?’

‘पहिले राजनीति पनि गर्थे । रामानन्द युवा क्लवको अध्यक्ष पनि थिएँ ।’

जनकपुर र आसपासको क्षेत्र दिउँसैदेखि ‘वाफरेवाफ’ भएको छ । बाबाको ढाबा मानिसका भीडले भरिन थालिसकेको छ । मिश्रजीलाई ग्राहकरुपी हाम्रा लागि मानिस र उनका लागि भगवानको सेवा गर्नु छ । त्यसैले उनी त्यता लागे । हुन पनि आज विशेषै छ । छठ हो नि आज ।

मसँग भेटिएदेखि सँगै छन्, सामुन्नेको सोफामा झा जी ।

‘जनकपुर । यसबारे भन्नुहोस्’, मैले भनेँ ।

‘हेर्नोस्’, उनले सुरु गरे, ‘यो साधुको ठाउँ हो । मठमन्दिरको ठाउँ हो । माता जानकीको जन्मस्थल हो । अर्को शब्दमा भन्दा जनकपुर मठ–मन्दिर, साधु–सन्त र गुठीको ठाउँ हो । जनकपुरको नब्बे प्रतिशत क्षेत्रफल त गुठीकै छ ।’

‘रामसागर रामस्वरुप बहुमुखी क्याम्पस’, उनले थपे, ‘रामस्वरुप साहुसँग १७ सय बिघाहा जमिन थियो । उहाँले आफ्नै जग्गामा यो क्याम्पस स्थापना गर्नुभएको हो । त्यति बेला नेपाल सरकारको बजेट आउँदैन थियो । उहाँले आफ्नै पैसाले गाउँघरका इनार र पुलपुलेसा बनाउनु भयो ।’

‘को हुन् रामस्वरुप साहु ?’, सोधिनँ । तर, उनका बारे कुनै दिन रिसर्च गर्नुपर्ला । त्योचाहिँ सोचेँ ।

‘यहाँ छुटाउनै नहुने’, जान्न चाहेँ ।

‘माछ, (माछा), पान र मखान’, व्यस्तताबीच एक छिन निकालेर हामीछेऊ आएका साहु मिश्रले भने ।

‘मिथिलाको भोजन । दाल, भात, तरकारी चट्नी, घि, दही तरुवा’, झाले थपे, ‘अतिथी सत्कार जनकुपुरको गहना हो । अतिथी देवो भव !’

‘ठाउँ ?’

‘धनुषाधाम । राजा रामचन्द्रले धुनुष भाँचेको ठाउँ’, फोनको स्क्रिनमा निकै बेर लाएर खोजेको फोटो देखाउँदै झाले भने । भाँचिएको धनुषको टुक्रा देखिने गरी श्रीमतीसहित खिचेको सेल्फीवाला फोटो थियो त्यो । श्रीमती अञ्जना जानकी मेडिकल कलेजमा स्टाफ नर्स रहिछिन् ।

‘जानकी दरबार । अहिले जानकी मन्दिर पनि भन्छन् । मन्दिर त पछि भएको हो । भक्तहरुले बनाएको’, उनले भने ।

‘जनकपुर तालतलैको शहर हो’, थपे, ‘पञ्चकोषीमा मात्रै ५६ वटा पोखरी छन् ।’

जनकपुरको रिंगरोडलाई पञ्चकोषी वा पञ्चकोष पनि भनिदो रहेछ । ३ किलोमिटर बराबर १ कोष रे ।

‘आज छठ । र, छठ पर्व पोखरीमै हुने पर्व हो ।’

‘छठको अर्थ ?’

‘अस्ताउँदो सूयँलाई अर्घ दिएर फेरि उदाउँदो सूर्यलाई पनि अर्घ दिने । यो सृष्टिमा जीवित देउता भनेको सूर्य हुन् । यो एउटा अनुभति हो, जसलाई हामी प्रत्यक्ष महसुस गर्छौं ।’

‘अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिने यो पर्वलाई अझ विस्तारमा बुझौं नँ ।’

‘अस्ताउँदो सूर्यको पूजा गर्नु भनेको अपेक्षा बिनाको निस्वार्थ पूजा हो । कृतज्ञताको पूजा हो ।’

‘वाह रे वाह !’

‘छठमा अस्ताउँदो सूर्यलाई पुजा गरिन्छ, जुन मानव संस्कृतिमा दुर्लभ मानिन्छ । ओराली लागेको हरिणको चाल भो भन्ने गीत जस्तै ओराली लागेकोलाई साथ कसैले दिदैन । तर, हेर्नोस, यो ठिक विपरित छ ।’

‘छठ पर्वमा शुद्ध मनले यदि तपाई केही चिताउनु हुन्छ भने, त्यो पुरा हुन्छ । र, मलाई कयौंपटक त्यस्तो भएको छ । म त्यसको एक जीउँदो प्रमाण हुँ ।’

‘साइकल र जनकपुर । यसबारे ?’, म फेरि साइकल सम्वाददाता भएँ ।

‘साइकल त हाम्रो जीवन हो हजुर ! जनकपुरको पुरा जनसँख्यामध्ये २५ प्रतिशतको जीविकोपार्जनको साधन हो साइकल । यहाँ साइकल चलाउन नजान्नेको संख्या नगन्य छ । प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको लागि लाखौंको संख्यामा साइकल वितरण गरिएको छ । साइकल त यो अभियानको एम्बेसेडर नै भएको छ । नयाँ साइकल दिएर स्कुल जान प्रेरित गरिएको छ’, थपे, ‘हेर्नोस्, बाबाको ढाबाको हाम्रो प्रकाश सरले पनि साइकलकै प्रमोट गर्दै हुनुहन्छ ।’

रजनीगन्धा मुखमा खेलाइरहेका साहुजी प्रकाशजीले खुशी हुँदै ‘अँअँ’ भने ।

बाबाको ढाबामा आज नेपाल साइकल उत्सवको क्याम्प खडा छ । ढाबाको चौरमा दर्जन बढी टेन्टहरु छन् । तिनैलाई देखाउँदै झाले त्यसो भनेका थिए ।

त्यत्तिकैमा टुप्लिकिए, पुष्कर । मैले भनेँ, ‘उहाँ नै हो, विश्व साइकल यात्री पुष्कर शाह ।’

पुष्कर मलाई जानकी मन्दिर जाउँ भन्न आएका थिए । झाले एकै सासमा पुष्करलाई भने, ‘म त तपाईंको फलोअर नै हो । यस्तो पनि समय थियो, मानिस साइकल चढ्छु भन्न समेत लजाउँथे तर अहिले तपाईंहरुको अभियानस्वरुप यसको इजज्त बढेको छ । मोटरसाइकल छाडेर मानिस साइकल चलाउन थालेका छन् ।’

हामीलाई जनकपुर जान हतार भइसकेको थियो । हामीलाई जानकी दरबार जान हतार भइसकेको थियो । जगमजग जनकपुर हेर्न र जगमग जानकी दरबार जान ढिला भइसकेको थियो ।

‘म नट्टी छु । अब तपाईंको कुरा नसुनी हिँडे’, मैले झा जीलाई भनें ।

‘तपाईं किन नट्टी ?’, उनले आश्चर्यचहित झैँ भएर भने ।

म नट्टी छु । अघि सुरुमै तपाईंले मलाई नट्टी भन्या’ होइन र ?’, मैले भनेँ ।

‘मैले तपाईंलाई किन नट्टी भन्ने ?’

‘अघि भनेको होइन त ?’

‘कहाँ भन्नु ?’

‘सुरुमा भेटिँदा नभेटिँदै ।’

‘ओहो ! मैले त तपाईंले सानामसिना सबै कुरा तत्कालै नोटिस गरेको देखेर तपाई ‘नोटेबल’ पो भनेको त । नेपालीमा त्यसको मतलब तीक्ष्ण’, उनले कुरा क्लियर गरे ।

म फेरि खुशी ! अघि उनले ‘नोटेबल’ भन्दाभन्दै तर मैले ‘नट्टी’ सुन्दाजस्तै । ‘नोटेबल’ र ‘नट्टी’ सायद मेरा दुई अभिन्न विशेषता होलान् । र, मलाई ती प्रिय ! म असल कहाँ छु र ! मेरी बुढी मलाई कत्ति मीस गर्दी हो । र, म पनि । आई मीस् यु बुढी !

हामी जानकी मन्दिर पुग्यौं । यो मेरो जीवनकै पहिलो हो । र, आमाले भन्नुभएको थियो, ‘त्यहाँको फोटो ल्याइदेऊ है ।’ मैले बाबाको ढाबा आइपुग्दा फोटो ल्याउनै बिर्सेछु । फोटो किन्नै बिर्सेछु ।

तर, आमा म जानकी माताको आर्शिवाद लिएर आएको छु । आएको छु, तपाईंको सुस्वास्थ्यको आर्शिवाद लिएर । फोटो त म काठमाडौंमा पनि किन्न सकिहाल्छु नि ।

तर, किन्न सक्दिन, जानकी मन्दिरको उज्यालो । त्यहाँको दिव्यता । त्यहाँको झिलिमिली । त्यहाँको एउटा अद्भुत लय, जहाँ रामायणकालीन पदचापहरु मैले हजारौं मानिस र हल्लाहरुबीच सुनेँ । लक्ष्मी दिदीले भने झैँ, मलाई अति आनन्द भयो त्यहाँ र उनले भने झैं बर्षकै सबैभन्दा विशेष दिन हामी त्यहाँ थियौंं र यो सम्भव भएको थियो, साइकल सम्वाददाताको हैसियतमा ।

हामी आर्शिवादको असँख्य भाइब्रेसन लिएर बाबाको ढाबामा आइसकेका छौं । म टेन्टछेउ ल्यापटप चलाइरहेकै छु । छेउमा साथीहरु क्याम्पफायरको गजज्ब मजा लुट्दै छन् । मभित्र पनि जनकपुर जगमगाइरहेकै छ ।

एक्कासी एउटा जनकपुरिया परिवार मेरो ल्यापटप वरिपरि आइपुगेका छन् । उनी रहेछन् डा. कृष्ण झा । अर्थोपेडिक सर्जन । रौतहट गरुडाको हेल्थ ल्यान्ड हस्टिलमा कार्यरत रहेछन् ।

हल्का भलाकुुारीपछि मैले सोधेँ, ‘छठको मतलब के हो ?’

‘हमरा ज्यादे नही मालुम’, उनले भने, ‘यो सूर्यको पुजा हो । ३ दिन उपवास राखेर मनाउँछन्, पानी पनि नखाएर । आजचाहिँ अस्ताउने सूर्यलाई नमस्कार गर्छन् । भोलि बिहान उदाउने सूर्यलाई श्रद्धासाथ नमस्कार गर्छन् । पूजा गर्छन् । महिलापुुरुष सबैले । तर, हामीचाहिँ रेस्टुरेन्टमा खाना खान आएका ।’

रौतहटमै सेटल भएका उनी छठ मनाउन मात्रै आफ्नो गाउँ जनकपुरको मुरलीचोक आएका रहेछन् ।

जाँदाजाँदै मैले अर्थोपेडिक सर्जनको पारिवारिक फोटो लिएँ । र, चाँडै नै अर्थोपेडिक सर्जनसम्बन्धी विस्तृत अन्तरवार्ता गरौंला है भनेर विदाई अनुमति लिएँ ।

त्यसपछि यो लेखलाई यति बेलासम्म इडिट गर्दैछु । रातको १२ बजेर १२ मिनेट गइसकेको छ ।

केही मिनेटअघि कानैछेऊ आइपुगेको थियो एउटा आवाज, ‘दाई !’

उनै साहुजी प्रकाश मिश्र रहेछन् । होटल सुनसान भएपछि उनी मसम्म आएका थिए । र, भने, ‘मलाई, तपाईंलाई भेटेर खुशी लाग्यो ।’ सुनाए आफ्ना जीवनका केही रोचक र मार्मिक प्रसंगहरु । र, नातिको फोटो पनि देखाए । मलाई ‘दाई’ भन्ने उनी जन्मेका रहेछन् २०२९ सालमा । र, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग उनको विशेष डायरी नै रहेछ, धेरै बर्षअघिको । त्यसबारे अर्को कुनै दिन लेखौंला ।

साइकलहरु मेरै वरिपरि छन् । र, साइकल साथीहरु निदाइरहेका छन्, टेन्टहरुमा । तर, कति साथीको घुराई जनकपुरको आकाशैसम्म फैलिएको छ ।

म साइकल रिपोर्टर पनि ल्यापटप बन्द गरेर टेन्टतिर छिरे है ।

गुडनाइट ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. Ma vakkhar 5,6 mahina vo cycle chalauna thaleko. Ravi shakya. Patan
    Ma cycle bata katai overnight gayeko chaina. Tara jana man lagcha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button