पुरूषोत्तम नामले मलाई कम्युनिष्ट बनायो
संस्कृत पढ्नभन्दा गाई गोठालो जान बढी रमाइलो
पुरूषोत्तम पौडेल
मेरो जन्म २०२१ चैत्रमा भएको हो । चैत्र महिना मलमास परेको रहेछ । मलमासलाई पुरूषोत्तम महिना पनि भनिन्छ । पुरूषोत्तम महिनामा जन्मेकोले मेरो नाम पुरूषोत्तम राखिएको हो । पुरूषोत्तम राशी र नक्षत्र अनुसार जुरेको नाम होइन । आफै जुटेको नाम हो । नाम पुरूषोत्तम भएकोले पढाई पनि उत्तम थियो । आफ्नो कक्षामा कहिल्यै दोश्रो हुनु परेन । पहिलो विद्यार्थी भएकाले गुरूहरूले पनि नामसँग जोडेर प्रशंसा गर्नु हुन्थ्यो । नाम अनुसारको परिणाम भएकोले सबैले माया गर्नु स्वभाविक थियो । माया गरेर हुनुपर्छ, गुरूहरूले पुरूष मध्येको उत्तम, पुरूषोत्तम भनेर धाप मार्नु हुन्थ्यो । त्यसले मलाई पनि गर्व अनभूति हुन्थ्यो । बुवालाई पनि ज्यादै मनपरेको नाम हो पुरूषोत्तम ।
म सर्वथा आध्यात्मिक परिवारबाट हुर्केको हुँ । मेरो वुवा आफ्नो क्षेत्रमा श्रीमद्भागवत पुराण वाचन गर्ने नामुद पण्डित हुनु हुन्थ्यो । उहाँलाई पुराणमा गएर फुर्सद हुदैनथ्यो । पण्डित टंकनाथ उपाध्याय पौडेल अर्थात समकालीन काभ्रेलीहरूबीच परिचित नाम । उहाँलाई धेरैले साना पण्डित भनेर पनि चिन्दा रहेछन् । अहिले पनि काभ्रे जिल्ला घुम्न जाँदा मलाई धेरैले टंकनाथ पण्डित अर्थात साना पण्डितका छोरा भनेर चिनाउने गर्दछन् । बुवाको नामले चिनिनु मेरो लागि पनि गर्वको विषय हो ।
वुवा नित्य कर्म सकेर श्रीमद्भागवत पाठ गर्नु हुन्थ्यो । वुवाले रुद्री, चण्डी, लौ आदी पाठ गरेको सुनेर आमाले समेत धेरै श्लोकहरू कण्ठ गर्नु भएको थियो । अक्षर नचिने पनि आमा घण्टौ पुराना श्लोकहरू कण्ठाग्र सुनाउन सक्नु हुन्छ । मलाई पनि त्यस्ता श्लोक र ऋचाहररू कण्ठाग्र आउँछ । वुवा मलाई पनि संस्कृत पढाएर असल पण्डित बनाउन चाहनु हुन्थ्यो । सानैदेखि संस्कृत पढ्न प्रेरित गरिरहनु भएको थियो । चाडपर्वहरूमा आफ्ना जजमानहरूकहाँ लाने र मलाई संस्कृत पढाएर आफ्नो उत्तराधिकारी बनाउने अभ्यास गर्नु हुन्थ्यो । घर नजिकै रहेको भुवनेश्वर गुरूको घरमा संस्कृत पढाउन पठाउनु हुन्थ्यो । भुवनेश्वर गुरू संस्कृतको धुरन्धर ज्ञाता र स्थानिय प्राविको शिक्षक हुनु हुन्थ्यो ।
बिहान बिहान संस्कृत पढ्न जान्थेँ । सबै गाउँले साथीहरू सरकारी स्कुलमा पढ्ने भएकोले मलाई पनि स्कुल जान मन लाग्यो । वुवालाई अंग्रेजी शिक्षाप्रति लगाव थिएन । गाई खाने विद्या भन्नु हुन्थ्यो । त्यसैले उहाँको मनसाय बुझेर संस्कृत पढिरहेको थिएँ । सावा अक्षर पनि चिन्दै थिएँ । सुनेको भरमा संस्कृतका अनेकौ श्लोकहरू कण्ठ गरेको थिएँ । रुद्रीका धेरै अंशहरू, चण्डीका अगाडीका श्लोकहरू, लौ-कौमदीका श्लोकहरू कण्ठाग्र थियो । फेरि पनि मन खुलिरहेको थिएन । मलाई संस्कृत पढ्नभन्दा गाई गोठालो जान बढी रमाइलो लाग्थ्यो ।
२०३० सालतिरको कुरा हो । मज्जाले बिडीँ, चुरोट, र तमाखुको लत बसिसकेको थियो । खास सन्दर्भमा चुखा मामाघर गएको थिएँ । त्यहाँ पुग्नासाथ निस्लोट जरो आयो । ओछ्यानको ओछ्यान परेँ । दुई, तीन दिन बितिसकेको थियो । बिडीँ, चुरोट, केही खान पाईएन । मलाई ज्वरोको भन्दा बिडीँ खान नपाएकोमा पिडा भइरहेको थियो । छटपटी भइरहेको थियो । केशव मामा आउनु भएछ । उहाँले निकै फकाइफुल्याई गर्नुभयो । घण्टौ सम्झाउनु भयो । बिडीँ, चुरोट र तमाखु छोडेर स्कुल पढ्न प्रेरणा दिनु भयो । एउटा वाह्रखरीको किताब थमाएर वुवालाई पनि सम्झाई दिने कुरा गर्नुभयो । म पुरापुर कन्भीन्स भएर घर गएँ । त्यस उपरान्त सरकारी स्कुलको पढाइ सुरू भयो । मेरो पढाइमा कुनै किसिमको वाधा आएन ।
२०४३ सालमा व्याचलर गरिरहेको थिएँ । निजगढमा थोरै परिचित थिए । जनपक्षिय उम्मेदवार भएर चुनाव लड्ने प्रस्ताव आयो । गाउँभरी चर्चा सुरू भयो, निजगढमा भरखरको केटो चुनाव लड्दैछ अरे । गाउँ घुम्न जाँदा अनेक थरी सोधखोज हुन्थ्यो । कतिपय व्यक्ति घरमा आएर सोधीखोजी गरेर अन्तर्वार्ता लिन्थे ।
पहाड घर कहाँ हो ?
कस्को छोरा हौ ?
किन चुनाव लड्न आयौ ?
यस्ता प्रश्नहरूको ओइरो । काभ्रे भनेपछि फेरि, कुन गाउँ हो ? कता पर्छ ? भन्ने प्रश्न छदै थियो । कानपुर भनेपछि कतिपयले साना पण्डितको प्रसंग ल्याउँथे । अर्थात कानपुरका टंकनाथ पण्डित चिन्छौ, भनेर बुवाको प्रसंग ल्याउँथे । काभ्रेको पण्डितको छोरा हुनुले मलाई चुनाव जित्न काफी मद्धत गरेको थियो । निजगढका धेरै पाका पुराना काभ्रेली आमावाहरूको लागि म भित्रभित्रै आफ्नै उम्मेदवार भइसकेको थिएँ ।
पहिलो पटक २०३६ सालमा आफ्नो स्कुलमा सर्वसम्मत स्ववियुको सभापति चुनिँए । २०३७ सालमा चुनाव लडेर दोश्रो पटक निर्वाचित भएर काम गरेँ । यसले मेरो राजनितीको आधार तयार भएछ । २०३१ सालमा काभ्रे जिल्लाबाट झरेर रौतहट पुगेको केटो दुई वर्ष रौतहटको दुधिअवा स्कुलमा पढेर २०३३ सालमा निजगढ आएको हो । निजगढमा ७ कक्षादेखि पढ्दा पढ्दै रैथाने भइसकेको रहेछु । २०४३ को जनपक्षिय अभियानमा युवा विद्यार्थीहरूको व्यापक साथसहयोग अनि साठी नाघेका वुवाहरूको वात्सल्यले अरू वलियो भएको रहेछु । २०४३ सालमा पुरै निजगढले विश्वास गरेर चुनाव जिताएपछि झन आत्मविश्वास थपियो । ती दिनहरू सम्झँदा अहिले पनि गर्व लाग्छ ।
म मामाघर निजगढमा बसेर पढेको हो । निजगढमा मामाहरू केशव वडाल, पुष्प वडाल, उध्दव वडाल, माधव वडाल र मुकुन्द वडालसहित पुरै वडाल परिवार कम्युनिष्ट पार्टीसँग आवद्ध हुनु हुँदोरहेछ । उहाँहरू कलकत्ता गएको समयमा कम्युनिष्ट विचारबाट प्रशिक्षित भएर आउनुभएको रहेछ । मामा घरमा सधै जस्तो साथीहरू जुटेर कम्युनिष्ट पार्टीका कार्यक्रमहरू भईरहने अवस्था थियो । म पनि कुनै न कुनै रूपले मार्क्सवादी विचार र कार्यक्रमहरूसँग जोडिन थालेँ । कम्युनिष्ट पार्टीको सम्पर्क र शिक्षाले मलाई मार्क्सवाद पढ्न र त्यतातिर अघि बढ्न प्रेरणा दिइरहेको थियो । मार्क्सको जीवनी, लेनीनको जीवनी, मार्क्सवादका अनेक पुस्तकसहित थुप्रै मार्क्सवादी साहित्यहरू पढ्न पाइयो । यस्ता पुस्तकहरूको अध्ययन, निजगढ स्कुलको वातावरण र शिक्षकहरूको प्रेरणाले पनि कम्युनिष्ट विचारतर्फ आकर्षण गर्यो ।
आफै दुखबाट हुर्किएर आएको मान्छे । संघर्षबाट अघि वढिरहेको जिन्दगी । दुखीहरूको लागि काम गर्ने कसम खाएका घनघोर कम्युनिष्टहरूको संगतमा बेरिदै गएपछि के बाँकी रह्यो र ? आफु त आफु विस्तारै आफैसँग थुप्रै साथीहरूलाई पनि संगठित गरेर हिड्न थालिसकिएछ । क्लासको पहिलो विद्यार्थी भएकोले वरिपरि साथीहरू झुम्मिनु स्वभाविक हो । त्यसमा पनि निजगढ आफैमा नयाँ वस्ती थियो । कम्युनिष्ट सिद्धान्त र विचारको लागि उर्वर भूमि पनि । २०३५ सालको माघ महिना हुनु पर्छ । नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएर शपथ लिएँ । शपथसँगै मार्क्सवाद लेनिनवाद जिन्दावाद र नेपाल कम्युनिष्ट पार्टी जिन्दावादको नारा लगाएँ । मलाई नेपाल मजदुर किसान संगठनले सदस्यता दिएको हो ।
वुवा समाज सेवामा पनि संलग्न हुनु हुन्थ्यो । उहाँ पाप र धर्मको परिभाषा गर्दा परोपकार गर्नु नै पुण्य हो । अरूको उपकार गर्नु नै धर्म हो । अरूलाई दुख दिनु, अन्याय गर्नु पाप हो । त्यसैले पुण्य गर, धर्म कमाऊ भनेर सबैलाई अर्ति उपदेश दिनु हुन्थ्यो । परोपकाराय चः पुण्यायः । पापाय चः परपिडनम् । मलाई वुवाको अर्ति र दुखीगरिवको सेवा गरेर दुख मुक्तिको लागि काम गर्ने कम्युनिष्ट विचार उस्तै लाग्थ्यो । यस्तैमा २०३५, ३६ साले विद्यार्थी आन्दोलन सुरू भयो । आन्दोलनको नेतृत्व गर्दै रातो झण्डा लिएर सडकमा उत्रिनु पर्यो । यसले मलाई युवा विद्यार्थीहरूको विचमा दरोसँग काम गर्न झक्झक्यायो । अनेरास्ववियुको जिल्ला सचिव बनायो । स्कुलबाट जिल्ला र जिल्लावाट केन्द्रसम्म पुर्यायो । अन्ततः पार्टी र संगठनवाट फुर्सद लिन कठिन हुँदै गयो ।
२०३७ साल चैत्र १४ गते अनेरास्ववियुले शैक्षिक समस्या समाधान र राजबन्दी रिहाईको लागी नेपाल वन्द गर्ने भयो । वारामा नेपाल वन्दको नेतृत्व गर्दै चैत्र १४ गते कोल्हवीमा भव्य कार्यक्रम भयो । हजारौ मान्छेहरू जम्मा गरेर राजाको विरोध गरेको भन्दै पक्राऊ गरियो । सरकारले हामीलाई अनाहक राजकाज अपराध मुद्दामा जेलमा कोची दियो । यो मुद्दा र ९ महिनाको जेल वसाईले मलाई साचो अर्थमा राजनितीतिर तानेर लग्यो । यसपछि साथीभाई सबैले राजनितिक नेताको रूपमा बुझ्न थाले । पंचायती शासकहरूको पनि छड्के ऑखा पर्न थाल्यो । पार्टीले पनि संगठनको काममा लगाउन थाल्यो । अनेरास्ववियुको केन्द्रीय सदस्य हुदै नारायणी-जनकपुर अंचलको तल्लो भेगको इन्चार्जको रूपमा काममा जुट्न थालियो ।
गरिव किसान परिवारवाट आएको मान्छे । आफ्नै पाखुरीको कमाईले बाँचेको परिवार । विज्ञान पढिरहेको विद्यार्थीलाई २०३९ सालमा पिताजीले छोडेर जानु भयो । पिताजीको अभावमा पढाई संकटमा परिहाल्यो । घर परिवारको हेरविचार र राजनितिक संगठनको काम प्रमुख हुन गयो । घरको आर्थिक स्थितीले वाहिर बस्न पाउने स्थिती रहेन । वुवाको संरक्षण नहुँदा कलेज गएर साइन्स पढ्ने र डाक्टर वन्ने इच्छा पनि तुहिन पुग्यो । रौतहट दुधिअवाको घरवास पनि मेरो लागि निकै टाढा भयो । २०४२ सालमा रौतहट छोढेर निजगढमा वसाई सरेपछि पार्टी काममा हराउन थालियो । यसैको परिणाम २०४३ सालमा निजगढको जनपक्षिय प्रधानपंच भएर जनताको सेवा गर्ने अवसर जुर्यो ।
ईन्साफ, विकास र प्रगतिको निम्ती जनपक्षिय उम्मेदवारको नारा दिएर चुनाव लडेकाले प्रधानपंच भएर जनताको सेवा गर्नु, गरिव दुखीहरूलाई न्याय दिनु अनि सकेसम्म विकासको काम गर्नु मेरो कर्तव्य थियो । निजगढका किसानहरूको जग्गा दर्ता, स्थानीयवासीहरूको नागरिकताको काम, बकैया नदी नियन्त्रणसहित गाउँमा टेलिफोन र विजुली पुर्याउने काम सम्पन्न गरेँ । पार्टीको जनपक्षिय मञ्चको जिल्ला सचिव र प्रजातान्त्रिक राष्ट्रीय एकता मञ्चको संयोजन गरिरहेको थिएँ । २०४५, ४६ को जनआन्दोलनको लागि पार्टीको तर्फबाट संयोजन गरिरहेको थिएँ । त्यसै क्रममा २०४५ माघ २३ गते निजगढवाट तेश्रो पटक पक्राउ परेँ । जनआन्दोलनको सफलतापछि रिहाई भएर २०४८ सालमा बारा क्षेत्र नम्बर ३ बाट प्रतिनीधी सभामा चुनाव लडेँ । अब त पुराका पुरा कम्युनिष्ट पार्टीको परिचयसँग जोडिइसकेको थिएँ ।
यस बीचमा २०५१ र २०७० मा प्रतिनिधिसभा र संविधानसभामा निर्वाचित भएर काम गरेँ । विद्यालयको सभापतिदेखि वडाध्यक्षसम्म र प्रतिनिधीसभा सदस्य र मन्त्रीसम्म भएँ । पार्टीको वडा कमिटीदेखि जिल्ला सचिव हुदै केन्द्रीय कमिटी सदस्य भएर काम गरेँ । अनेरास्ववियुको विद्यालय प्राकदेखि केन्द्रीय कमिटी सदस्यसम्मको जिम्वेवारी पुरा गरेँ । जहाँ बसेर काम गरेँ, उत्तम काम गरेँ । निस्वार्थ काम गरेँ । स्वच्छ चरित्र र सटिक परिणामलाई महत्व दिएर काम गरेँ । मातृभूमि र जनताको निम्ती वलिदान गर्न तयार हुने कम्युनिष्ट संस्कार अनुसार काम गरेँ । तर अहिले देशमा प्रकट भइरहेको दिशाहिन, विचारहिन तथा व्यक्तिवादी र स्वार्थी परिपाटीले हामीलाई अप्ठेरो बनाइरहेको छ । आशा एवम विश्वास छ, फेरि एक पटक स्वच्छ तथा निस्कपट राजनितीले स्थान बनाउने छ । निस्काम कर्मले स्थान पाउने छ ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)