
अब त वीरेन्द्र सम्झँदै रुने टीकाप्रसाद पनि छैनन्
ब्राह्मणपुत्र लकडाउन डायरी–३५
भरत शर्मा
‘प्रिय वचन बोल्नेको कोही शत्रु हुदैंनन्’,
जेष्ठ १९, नेपाली इतिहासकैं काहालीलाग्दो दिन,
स्वर्गीय राजा श्री ५ वीरेन्द्रप्रति हार्दिक श्रद्धासुमन !
देशको अवस्था तिम्रो अनुपस्थिती !
नेपाली सेनाबाट अवकास प्राप्त कर्णेल (प्रमुख सेनानी) सम्पद अर्यालले सेनाको पोशाकमा स्वं वीरेन्द्रबाट केही निर्देशन सुनिरहेको फोटो बुधबार विहान सामाजिक सञ्जालमा पोष्ट गरे ।
‘प्रिय वचन बोल्नेको कोही शत्रु हुँदैनन्’ भन्ने भनाई राजा वीरेन्द्रले आफ्नो कार्यालयका राखेका थिए । त्यो वचन उनलाई अध्यायै मन पर्ने भएकाले कुर्चीमा बस्दा प्रष्ट देखिने गरिराखेका थिए । प्रमुख सेनानीले सम्पदले सोही भनाईलाई सम्झेका थिए ।
बेलाबखत भेट हुँदा भूराजनीति, कूटनीति र देशमा सेनामा योगदान, पछिल्लो राजनीतिक घटनाक्रमबारे संवाद हुने गर्छ । उनी केही दिन अघिमात्र देशमा नेपाली सेनाको योगदानको बारेमा चर्चा गर्दै थिए, ‘हेर्नुस्, सेनाको जिम्मेवारी ! महामारीको बेला मृतकको अन्तिम दाहसंस्कार गर्ने सेना, देशमा कुनै महामारी आउँदा अघि बढ्ने सेना, देशको हितमा काम गर्ने एउटै संस्था मात्र हो सेना । मेरो संस्थाप्रति मलाई गर्व छ ।’
उनले सेनाको योगदानको चर्चा गरिरहँदा म सोच्दै थिएँ, ‘तर, दुर्भाग्य सेनाको घेराभित्र रहेका वीरेन्द्रको वंशनाश हुँदा सेनाले बचाउन सकेन ।’ यो प्रश्न मलाई सोध्न मन लागेको थियो तर सोध्न सकिनँ ।
आजै उनले भनेका थिए, ‘मेरा प्रिय राजा गुमाएको आज २० बर्ष भयो, मेरो अभिभावक जस्तै हुन् उनी । मैले वीरेन्द्रबाट जीवनमा धेरै कुरा सिकेँ । प्रिय वचन, मधुरवाणी र त्यति सरल व्यक्तित्व मैले अहिलेसम्म अरु कसैमा पनि भेटेको छैन । यो भन्दा के भनौं ?’
‘आजको दिन मेरो जीवनको सबैभन्दा शोकको दिन हो । अर्को कुनै दिन कुरा बसेर कुरा गरौंला है’, त्यति भनेर सम्पदले टेलिफोन काटे । सायद कर्णेल सम्पदसँग वीरेन्द्रसँग भेट भएका अनेक अनुभूति छन् । सेनामा काम गरेका मानिस । प्रष्ट र स्पष्ट कुरा गर्छन् ।
मैले पनि स्मृति स्मरणका लागि करकाप गरिनँ ।
वीरेन्द्रको व्यक्तित्वबारे मैले मेरा मावलतिरका हजुरबाट टीकाप्रसाद पाण्डेबाट धेरै सुनेको थिएँ । हजुरबाले राजप्रसाद सेवामा करिव ३० बर्ष बिताउँदाका अनेक किस्साकहानी सुनाउनु हुन्थ्यो । सेवाबाट अवकास लिएपछि जन्मस्थान धादिङ सल्याल्टारमा पुरोहित काम गर्ने हजुरबा हरेक भेटमा विषयको उठान सनातनशास्त्र र बैठानचाहिँ दरबार र राजा बीरेन्द्रको प्रसंगबाट गर्नु हुन्थ्यो । त्यो बानी नै थियो ।
संस्कृत भाषा अध्ययन गरेको र शास्त्र चर्चा गर्न मन पराउने हुनाले हजुरबाले मलाई माया गर्नु हुन्थ्यो । गाउँघरतिर जाँदा हजुरबालाई भेट्नै पर्ने । यदि भेट नगरे दोस्रो भेटमा गाली खाने गरेको थिएँ ।
भेटमा सबैभन्दा पहिले श्रीमद्भगवतगीताबाट गफ शुरु हुन्थ्यो । गीताको अध्याय ५, श्लोकसंख्या ८ र ९ उच्चारण गर्न लगाउनु हुन्थ्यो । गीताका सात सय श्लोकमध्ये उच्चारण गर्न यी कठिन श्लोक हुन् ।
त्यसपछि शास्त्र चर्चा । त्यसपछि हजुरबा वीरेन्द्र सरकारको बयानतिर बहकिनु हुन्थ्यो, ‘हेर्, नाति हामीले वीरेन्द्र जस्तो राजा गुमायौं । हामी त राजाको सेवा गरेर आएको, अहिले पनि सेवा गरेवापत पेन्सन खाँदै छौं । सरकारको सवारी गराउँदाको दिन झल्झिली याद आउँछ । मैले कयौं पटक मोटर चलाएर सरकारलाई घुमाएँ ।’ हजुरबा राजप्रसाद सेवामा मोटर चलाउने जिम्मेवारीमा हुनुहुन्थ्यो ।
२०५९ सालदेखि हजुरबाले हरेक दिन बिहान स्नान गरिसकेपछि पहिले राजालाई जल चढाउनु हुन्थ्यो । त्यसपछि पूजापाठमा राजाको स्मरण र हरेक दिन कुनै कर्मकाण्ड गराउन जाँदा श्राद्व कर्मका सङ्कल्प र तर्पण दिदाँ राजाको नाम र गोत्र उच्चारण गरिहाल्ने हजुरबाको बानी थियो ।
एकपटकको भेटमा सङ्कल्प सुनाउन लगाउनु भयो । त्यहाँ राजाको नाम छुट्यो । ‘नाति राजाको नाम छुट्यो’, तत्कालै हजुरबाले भन्नुभयो । संकल्पमा ‘पशुपतिनाथ र राजा’लाई छुटायो भने त्यो अपुरो हुन्छ भन्ने हजुरबाले सिकाएको शिक्षा अहिलेसम्म पालन गर्दै आएको छु । वीरेन्द्रका कुरा गर्दा हजुरबाको आँखा रसाउँथे ।
‘सरकारले मलाई त यति माया गरिबक्सन्थ्यो, त्यसको कुनै व्याख्या गर्न सक्दिनँ । कतै जानु परेको बेला मेरै नाम आउँथे । धर्म, आचरण र राष्ट्रियताबारे हामीलाई राजाबाट बेलाबेलामा बक्स हुने निर्देशनले हामीलाई यति उर्जा मिल्थो कि के भन्नु !’, उहाँ भन्नु हुन्थ्यो ।
राजा वीरेन्द्रको वंशनाश भएको खबर सुरेर मुर्छित् भएको दिन सम्झँदै त्यसपछि केशमुण्डन गरेर सरकारका नाममा जल अर्पण गर्न थालेपछि मन शान्त भएको आत्मकथन पनि हजुरबाले सुनाउनु भएको थियो ।
‘राजा सबैका प्यारा । यस्ता राजाको हत्या कसरी भयो ? नाति बाबु ! तिमी त शहरमा बस्ने, पत्रकार पनि । तिमीलाई थाहा छ, मेरो राजाको हत्या कसरी भयो होला ? मेरो ब्रम्हले भन्छ, सरकारको नियोजित हत्या हुनसक्छ’, प्रश्न र प्रश्नसँगै आफनो कुरा अलि बढी गर्ने हजुरबाको बानी थियो ।
‘राजप्रसादका तेत्रा सैनिकहरुले पनि बचाउन सकेनन् है मेरो सरकारलाई’ भन्दै विलौना गर्नुहुने हजुरबाको पनि दुई बर्ष अगाडि स्वर्गबास भयो ।
‘राजाको सम्झनामा केही लेख्दै छु नाति । पछि तिमीले छापिदिनु पर्छ है’ भनेर हजुरबाले वीरेन्द्रको बारेमा लेखेको केही कवितात्मक पंक्ति पनि सुनाउनुभएको थियो ।
यतिबेला ती पंक्तिहरु याद गर्न सकिनँ । कवितामा वीरेन्द्रको सरल जीवनशैली, आफ्ना सहयोगीहरुलाई गर्ने माया, उनका परिवारभित्रको प्रेम, प्रकृति, धर्मप्रति राजाको आस्थाका बारेमा लयात्मक भावसार थियो । हजुरबाले वीरेन्द्रलाई भन्न रुचाउने शब्द चाहिँ ‘मौसुफ सरकार’ हो ।
‘मौसुफबाट आज्ञा भयो’, उहाँ त्यसरी वीरेन्द्रको कुरा गर्नु हुन्थ्यो प्राय ।
‘राजा सबका साझा हुन् । राजा नभएको देशमा उदण्ड मात्र हुन्छ’, गत गाउँपालिकाको चुनावमा हजुरबासँग भेट हुँदा उहाँ भन्दै हुनुहुन्थ्यो, ‘राजा नभएको देशमा केही हुँदैन । पापीहरु मात्र भए । भोट त दिनै प-यो तर पापीहरुले देश खतम बनाए ।’
मतदान गर्दागर्दै पनि उहाँ राजालाई सम्झँदै हुनुहुन्थ्यो । राजावादी भए पनि हजुरबाले मतदान गर्नुभयो तर भोट केमा दिनुभयो भनेर हामी कसैले पनि सोधेनौं ।
‘हाम्रो लय मात्र हो, तिमीहरुले जस्तो धेरै पढ्न पाइएन । नाति ! यसलाई साफी गरेर छापाखानामा छाप्ने हो । लागेको खर्च म नातिलाई दिन्छु नि !’, उहाँले भन्नुभएको थियो ।
सिरानीमाथि सेतो रुमालमा मोरेर राखेको वीरेन्द्रको सम्झनामा हजुरबाले लेखेको कविता खोजी गर्ने मन छ । तीन बर्ष भयो सल्यानटारस्थित हजुरबाको घर जान नपाएको । मामाले सायद सुरक्षित राख्नुभएको होला हजुरबाको कविताहरु । मामा हजुरबाको पथमा पुरोहित काम गर्नुहुन्छ ।
अर्को बर्षसम्म हजुरबाले राजा ‘वीरेन्द्र’को सम्झनामा लेखेको कवितालाई साफी गरेर छापाखानाबाट छापिदिन पाए कैलाशबाट हजुरबाले आशीर्वाद दिनु हुने थियो होला । हेरौं, समयले के गर्छ, अहिले त केही भन्न सकिन्न । समय नैं ‘दुर्दिन’ भएको बेला छ ।
शान्तिप्रिय, देश र जनताको माया गर्ने राजा वीरेन्द्रको वंशनाश भएको कालो दिन । आजसम्म पनि कसले, कसरी, किन, के का लागि हत्या भएको भन्ने अड्कल मात्र गरिएको छ । नेपालको इतिहासमा जनताका प्रिय राजाको हत्या भएको दिनमा के लेख्ने, शब्दहरु मुर्छित हुन्छन् ।
उनै कर्णेल सम्पदले उल्लेख गरे झैं प्रिय वचन बोल्नेको कोही शत्रु हुँदैनन् भनेजस्तो कुनै शत्रु नभएका वीरेन्द्रको वंशनाश ‘शत्रुमित्र’बाट भयो कि क्या हो ? कुरा पुरानो भए पनि सबै नेपालीले गर्ने प्रश्न यही हो ?
अहिले पनि हरेक बर्ष घरमा हुने पितृउद्वार तिथिको दिनमा राजा वीरेन्द्रको नाममा तर्पण दिने काम गर्दै आएको पनि २० बर्ष भएछ । हिजो जस्तो लाग्छ, समय र उमेर उकालो लागेको पत्तो हुँदैन रहेछ ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)