हात्ती दिदीले लगाइदिइन् भाइटीकामा माला
अशोक सिलवाल / बाघमारा, सौराहा, चितवन ।
‘मिस यु कान्छो !’ दिउँसो मेसेन्जरमा जनक दाईको मेसेज ।
ठुल्दाइको फोन पनि कत्तिकत्ति ! भर्खर कान्छीले फोन गरेकी थिई ।
बिहानै सीता, भगवती, भैरवी र साबित्री दिदीहरुले पनि फोन गरेका थिए । र, अरु दाइहरुले पनि । भाइटीका आज ।
दशैंलगत्तै हिँडेका हामी तर घर फर्केका छैनौं । श्रीअन्तुसम्म पुगेर काठमाडौं पुग्न अझै रात ९ र दिन १० बाँकी छ । हामी नेपाल साइकल उत्सवमा छौं । महाकालीदेखि मेचीसम्मको यो पश्चिम–पूर्व यात्राको १५ औं साँझ हो । हामी चितवनको सौराहा (बाघमारा) आइपुगेका छौं ।
साँझतिर सहयात्री नीरा बरालको साइकल लिएर एक छिन घुमें । साइकलमा सरर सुन्दर सौराहामा साँझ विशेष ! तर, दिदीहरुसँग नबसेको यो पहिलो भाइटीका साँझ हो । बुवा र दाई बितेको बर्षबाहेक सम्भवत निधारमा संप्तरंगी टिका नलाएको यो पहिलो भाइटीका साँझ हो । र, सौराहामा आइपुगेको यो पहिलो भाइटीका साँझ पनि हो ।
नझुक्किनु होला, सौराहामै आइपुगेको पहिलो साँझ भने होइन । सौराहासँग मेरा कयौं साँझहरुको क्या मज्जाको साइनो छ । तर, यसपटक साइकलले जुराएको सौराहासँगको हाम्रो साइनो झनै मीठो !
यो साँझ विशेष ! त्यसभन्दा बढी यो भाइटीका झनै विशेष । हामी सबै साइकल साथीलाई हात्तीदिदीले माला लगाइदिई ।
साँझ गहिरो अध्याँरोमा गयो । तर, बत्तीहरुले गार्डेन झिलिमिली ! तिहार हो नि यो । उज्यालोको पर्व । र, यो देशमा आफुले सकेको उज्यालो फैलाउने हाम्रो आकाँक्षा ! त्यसैको सानो प्रयास हो, कोमामै पुगेको नेपाली पर्यटनलाई आन्तरिक पर्यटनमार्फत ब्युँझाउन नेपाल साइकल उत्सव यात्रा–२०७७ ।
बीचमा आगो बलिरहेको छ । वरिपरि साइकल साथीहरु छन् । चिस्सिदै गरेको सौराहा आगोको रापले न्यानो भइसकेको छ ।
‘अशोकजी ! आउनोस्’, एक छेउको कुर्सीबाट सीएन पान्डेले बोलाए । सीएनसंगैको सीटमा बसेका साइकले एक्सपान्सन दाहालले कुर्सीं छाडिदिए ।
‘ल सर ! अब इन्फरमलै कुरा हो तर रेकर्ड सुरु गरें है’, एक छिनको व्यक्तिगत बातपछि मैले सीएनलाई भनेँ ।
‘ठिक छ’, उनले भने ।
‘तपाईंको होटलअगाडि हामी नेपाल साइकल उत्सव टोलीलाई हात्ती दिदीहरुले फूलको माला पहिराएर स्वागत गरिन् । त्यसका लागि तपाईंहरुलाई धन्यवाद !’
‘यो स्वागत यहाँको क्षेत्रिय होटल संघ (हान), रेस्टुरेन्ट एशोसिएसन (रेबान), स्थानीय बाघमारा सामुदायिक जंगल प्लस ल्यान्डमार्कको संयुक्त पहलमा भएको हो । विशेष गरी यसको कोअर्डिनेसनचाहिँ यहाँको हानले गर्या‘ हो ।’
‘भाइटीकाको दिन हात्ती दिदीहरुबाट माला लगाइदिने कन्सेप्टचाहिँ कहाँबाट आयो ?’
‘कसरी आयो भने, उहाँहरुले स्वागत गर्ने भन्ने कुरा हामीसँग कम्युनिकेशन भइरहेको थियो । मैले के भनें भने, चितवनको आइकोन भनेको दुईटा हो, एक सिङे गैंडा हो र हात्ती । त्यसैले हात्तीले नै आतिथ्य गर्नुपर्छ । त्यसमाथि भाइटीकाको दिन । यत्रो पर्व छाडेर हिंडेका साइकल यात्रीहरुलाई गौरव पनि महसुस होस् । अर्को चाहिँ यहाँको पर्यटन, पर्यावरण र एक्टिभिटी भनेकै यहाँको हात्ती वा गैंडासँग केन्द्रीत भएको हुँदा हात्तीले नै स्वागत गर्नुपर्छ । र, हात्तीले माला लगाइदिनु एक विशिष्ट सोच हो । र, नयाँनयाँ कृयाकलाप गर्नुपर्छ भनेर यो गरिएको हो ।’
‘भाइटीकाको दिन हात्तीले मान्छेलाई माला लगाइदिएको सम्भवत् यो पहिलो घटना हो । र, त्यसमाथि साइकलमा चढेर आउनेहरुलाई ।’
‘साइकलमा चढेर आउनेलाई यो त्यसै पहिलो । दोस्रो कुरा, विशिष्ट कार्यक्रमहरुमा प्रमुख अतिथीलाई हात्तीद्धारा माला लगाइदिने हाम्रो प्रचलन छ पनि यहाँ । तर, भाइटीकाको दिन गरिएको यो पहिलो हो । मलाई लाग्छ, यो इतिहासमै आजसम्मको पहिलो हो ।’
‘यो सौराहाको इतिहासमा मात्र नभएर नेपालकै इतिहासमा …’
‘यो नेपालकै इतिहासमा र मलाई लाग्छ, संसारकै इतिहासमा पहिलो हुनसक्छ ।’
‘आज त इतिहासमा एउटा नयाँ घटना भयो ।’
‘इतिहासमा नयाँ घटना ! झट्ट हेर्दा यो सामान्य लाग्नसक्छ तर कुरो त्यतिमात्र होइन । हात्ती सौराहाको प्रतिक हो ।’
‘हो । यो चितवनकै प्रतिक हो ।’
‘हात्ती भनेको हात्तीमात्र होइन, यो त प्राणी र प्रकृतिको प्रतिक पनि हो । र, प्रकृति र मानवबीचको हार्दिकताको स्वरुप तपाईको ल्यान्डमार्क गेटमा देखियो ।’
‘हात्ती अत्यन्तै तीक्ष्ण बुद्धि भएको अत्यन्तै सरल प्राणी हो । अति नै रिसायो भने मात्र उसले उधुम मच्चाउने हो । नत्र भने ऊ अत्यन्त सहयोगी प्राणी पनि हो । र, यहाँ हाम्रो चितवन नेशनल पार्कको पर्यावरण भनेकै गैंडा र हात्ती हो । गैंडामार्फत त हामी स्वागत गर्न सक्दैनौं । किनभने, उनीहरु त तुलनात्मक रुपमा हात्तीभन्दा वाइल्ड नै छन् । यी हात्तीहरुचाहिँ यही क्षेत्रबाट संरक्षित । जस्तो, यहाँ हामी हात्तीपोलो गराउँछौं । कहिले हात्तीदौड गराउँछौं । कहिले हात्तीलाई आतिथ्यतामा लगाउँछौं । त्यसैले यसपटक पनि किन नगर्ने ? त्यसमाथि पर्वको बेला पनि । साइक्लिस्टहरु महाकाली–मेची हिंड्नुभएको छ र यहाँको हाम्रो सुकिरहेको पर्यटनलाई साइकलमार्फत प्रवद्र्धन गर्दै हुनुहुन्छ भने चितवनको के त ? चितवनको चाहिँ हात्ती । हात्तीले स्वागत गर्नुपर्छ भन्ने कन्सेप्टले यसो गरेका हौं ।’
‘तपाईं नाटाका निर्वतमान अध्यक्ष तर आज मैले तपाईंको साइकल व्यक्तित्व पनि देखेँ । नारायणघाटसम्मै तपाईं हामीलाई लिन आउनुभएको थियो । र, फर्किंदा हाम्रा साथी राजेन्द्र सापकोटाको साइकल चलाएर बीसहजारी ताल हुँदै होटलसम्म आउनुभयो । तपाईं हात्ती स्वागतको आयोजकमध्येको तर तपाई हामीसँगै मिसिएर आउनुभएकोले आगन्तुकजस्तो पनि । तपाईंलाई पनि अरुले जस्तै हात्तीहरुले स्वागत गरे । र, फूलमाला लगाइदिए । अरु साइक्लिस्टहरुमाझ आफु पनि साइक्लिस्ट भइरहेको बेलामा हात्तीको स्वागत पाउँदा तपाईंलाई कस्तो अनुभुति भइरहेको थियो ?’
‘यो एउटा गौरवको कुरा हो । यो ऐतिहासिक काम हो । जस्तो, यो साइकल उत्सवमा यात्रा गरिरहेका मित्रहरुले नयाँ रेकर्ड कायम गर्दै हुनुहुन्छ । त्यसरी नै हामीले पनि नयाँ किसिमको पन दिउँ र नयाँ किसिमले स्वागत गरौं भनेर यसो गरिएको हो । र, यो विशेष समयमा आयोजना गरिएको हुँदा स्वभाविक रुपमा मलाई पनि गौरव महसुस भयो ।’
‘हात्ती थिए । माउते थिए । पृष्ठभुमिमा यहाँको हरियाली र पहेँलो तोरीबारी थियो । र, मैले होटलअगाडिको हरियो चौरबाट हिमाल छर्लङ्ग देखेँ । र, चितवनबाट मैले पहिलो पटक यति प्रष्ट गरी पहिलो पटक हिमाल देखें । कोभिड–१९ को यो एउटा नेगेटिभ्ली पोजेभिट पक्ष पनि होला । अर्को कुरा, यी ३ संयोगले पोथी हात्ती परेछन् । यी हात्तीहरुबारे तपाईंलाई केही जानकारी छ ?’
‘यी पोथी हात्तीहरु यहाँ भएका कार्यक्रमहरुमा उत्कृष्ट भएका हात्तीहरु पनि हुन् । र, यी संरक्षित हात्ती हुन् । र, यी यहाँको होटल व्यवसायको गहना पनि हुन् । र, यहाँ हात्ती पाल्नु वा संरक्षित गर्नु भनेको अािर्थक रुपमा निकै खर्चिलो पनि हुन्छ । तर, पनि यो चितवनको गौरव भएकोले केही ननहोटलवाला साथीहरुले पनि राख्नुभएको छ । तर, धेरैजसो हात्ती होटलहरुका छन् ।
‘यी तीनवटा हात्ती होटलहरुकै हुन् । एउटा ल्यान्डमार्ककै हो । दुईटा अरु साथी होटलका हुन् । र, हात्ती र गैंडा छुट्यो भने चितवनको पर्यटन प्रवद्र्धन हुन सक्दैन । त्यसैले यसलाई सँगसँगै लानुपर्छ भन्ने सोच भयो । खासमा म के भनिरहेको थिएँ भने, म आफ्नै हात्तीलेमात्र स्वागत गर्छु । तर, यहाँका साथीहरुले होइन, हामी गर्छौं भन्नुभयो । त्यो असाध्यै राम्रो हो । किनभने, यहाँ हान, रेबान र बाघमारा सामुदयिकमा युवा साथीहरु हुनहुन्छ । सबैलाई नयाँनयाँ काम गरौं, यहाँको पर्यटन प्रवद्र्धनमा काम गरौं भन्ने सोच छ । यही सोचमार्फत सौराहाको पर्यटन यो साइकल उत्सवसँग जोडिएको छ ।’
‘अघि तपाईंले हात्ती खर्चालु छ भन्नुभएको थियो । यसको मासिक खर्च कति जति लाग्छ ?’
‘सरदर हात्तीको कस्ट १ करोड प्लस हो । र, मासिक रुपमा अपडेट राख्न १ लाख रुपियाँ खर्च हुन्छ ।
‘हात्तीमाथि यति खर्च ! र, यसको रिर्टन ?’
‘सबैचीज नाफाघाटासँग जाडिदैन । यो एउटा गहना हो । जसरी सगरमाथा नेपालको गहना हो, त्यसैगरी चितवनको गहना हात्ती हो । यसलाई होटलहरुले सेवा वा आइकोनको रुपमा प्रयोग गर्छन् ।’
‘अघि भन्नुभयो, आजको स्वागतार्थ ३ मध्ये एउटा हात्ती ल्यान्डमार्ककी हुन् । उनको नाम के हो ?’
‘अनारकली ।’
‘माला लगाउने अर्की हात्तीको नामचाहिँ ब्युटीकली हो’, अलि छेउका कुर्सीहरुमा बसेकाले भने ।
‘अनारकली कति बर्षकी भइन् ?’
‘४० प्लस ।’
‘अरु दुईको उमेर ?’
‘उनीहरु पनि ४० प्लस नै हुन् ।’
…
गफिदै गर्दा अर्का एकजना स्थानीयसँग परिचय गराए सीएनले ।
‘म दीपेन्द्र खतिवडा, अध्यक्ष रेबान सौराह र म एउटा हात्ती व्यवसायी पनि’, उनले भने ।
‘ध्रुवे हात्तीको खबर के छ ? कहाँ छ त्यो ?’, मैले बहुचर्चित धु्रवेबारे अनायास सोधें ।
‘धेरै समयदेखि त्यो यहाँ देखिएको छैन । केही समयअगाडि त्यो माडी साइडमा देखिएको थियो ।’
‘तपाईंसँग कतिवटा हाती छन् ?’
‘एउटा ।’
‘उसको नाम ?’
‘चञ्चलकली ।’
‘ऊ पनि ‘उनी’ हुन् ।’
‘हो (हाँस्दै) । सौराहामा व्यवसायिक प्रयोजनका लागि जति पनि हात्तीहरु राखिएका छन्, पोथी हात्तीहरु नै छन् । पोथी हात्ती पाल्न र सवारी चलाउन पनि सजिला हुन्छन् । भाले हात्तीहरु अलि एग्रेसिभ पनि हुन्छन्’, उनले भने ।
उनले ध्रुवे हात्तीमात्र होइन, रोनाल्डो र उनीहरुको सौराहासँगको साइनाबारे पनि निकै रोचक कुरा सुनाए । रोनाल्डो यताको ब्याडे रहेछ । उसका सन्तान कतिकति !
…
छेउमा आइपुगे, स्थानीय सुमन घिमिरे ।
‘तपाईं त लेखक पनि । तर, तपाईंले हात्तीलाई चाहिँ लेख्नु भएको छ कि छैन ? कविता वा किताबमा ।’
उनले उत्तर दिन नपाउँदै आइपुगे, साथी केशव पान्डे ।
‘नमस्कार ! तपाईंको ठाउँमा मलाई स्वागत छ’, एक्कासी गार्डेनमा आइपुगेका विमान बंगला दुर्घटनाका साक्षी समेत रहेका पान्डेलाई मैले साथीत्वको स्वरमा भनें । उनी सौराहाको ग्रीनपार्क होटलका संचालक पनि हुन् ।
‘हाउ आर यु ?’, उनले हार्दिकता मिसाएर सोधे ।
‘भेरी गुड ।’
‘टोटल यात्रा हो सबै ?’
‘टोटल यात्राको आज १५ औं दिन ।’
‘चलाएको हो कि गाडीमा बस्या ?’
‘एक दिन ४० किलोमिटर चलाएँ ।’
‘ल । गुड गुड !’
‘ओके । तपाईंहरु कन्टिन्यु गर्नुस्’, त्यति भनेर पान्डे आगो ताप्दै हाम्रा अन्य साइकल साथीहरुसँग गफिन थाले । म सुमनसँग आएँ फेरि ।
‘हात्तीका विषयमा र यिनका महत्वबारे आलेखहरु त लेखेको छु । तर, हात्तीलाई बिम्ब बनाएर कथा-कविताचाहिँ लेख्या छैन’, सुमनले भने, ‘माउते र हात्तीको सम्बन्ध मलाई एकदमै अजीव लाग्छ । म त्यो लेख्छु भनेर बसिरहेको छु । त्यो विशेष सम्बन्धलाई नजिकबाट बुझेर त्यसबारे मलाई लेख्न मन छ ।’
‘लेख्नोस् । लेख्नोस्’, मैले शुभकामना दिएँ, ‘हात्ती र माउतेको हार्मोनीलाई हामीले तपाईंको कलममा चाँडै पढ्न पाउनेछौं ।’
साइकल सहयात्रीहरु महेन्द्र अधिकारी, मुक्ति पान्डे, सुभाष केसी, माधव नेपाल, सम्राट पान्डे र शंकर अधिकारीहरु गार्डेनमा गार्डेनजस्तै रमाइला गफसप गर्दै–सुन्दैछन् । हिम गुरुङ अलि अघि नै रुम गइसकेछन् । उनलाई हल्का चीसो लागेजस्तो छ । तर, यता माहौल तातो छ । छेउमा पुष्कर शाहको जोक्स एन्ड हसिकमजाकले बेला बेला जोडजोडले हँसाइरहेकै छ ।
उनले त दिउँसै मुग्लिन नारायणघाट खण्डमा पर्ने दासढुँगाछेउकी एकजना बहिनीसँग टीका लगाइमागेछन् । र, राजमार्ग छेउबाट भोर्लाका पात टन्नै टिपेछन् । हामीले दासढुँगाकै मदन–आश्रित पार्कमा पानी परेको बेला ओढ्ने घुम बनाउन समेत प्रयोग गरिने त्यही नाङ्लो जत्रो भोर्लाको पातमा फ्राई राइस विथ ग्रेभी चिकेन खाएका थियौं ।
यता यो ल्यान्डमार्क गार्डेनमा हाँसको छोइला जिब्रोमै झुन्डिने खालको छ ।
…
‘हाम्रो सेवा कस्तो रह्यो सर ? केही कम्प्लेन छ कि ?’ वासरुमाट बाहिरदै गर्दा एकजना सुटेडबुटेडले सोधे, जसले गार्डेनबारमा अघि मेरो गिलासमा दुई पटक बियर बडो कलात्मक ढंगले खन्याइदिएका थिए ।
उनी रहेछन्, धर्मभक्त तिवारी । उनकै अनुसार उनी हाल ल्यान्डमार्क फरेस्ट पार्कका अपरेसन म्यानेजर हुन् ।
मैले भने, ‘नो कम्प्लेन । वी आर ह्याप्पी ।’
म साँच्चै ह्याप्पी थिएँ । मलाई हात्ती दिदीले फूलमाला लगाइदिई यसपाली । भाइटीका गरिदिई यसपाली । आहा !