याम्पाफाँटकी गीता आमाजस्तै मेरी आमा पनि ल्याप्चे
पर्यटन व्युँझाउने उद्धेश्यले यो यात्रा जारी छ । तर, हामीले अम्बकुमारी र गीता ढकालजस्ता आमाहरु यो यात्रामा देशैभरि पाइरहेका छौं, जसले हामीभित्रकोे देशलाई व्युँझाइरहेको छ ।
अशोक सिलवाल/याम्पाफाँट, तनहुँ
आहा ! याम्पाफाँट । र, यही सुन्दर फाँटमा हामी नेपाल साइकल उत्सव टीमले क्याम्प खडा गरेका छौं । हाम्रा रंगीन टेन्टहरुले फाँटछेउको रंगीन घरआँगन र करेसा झनै रंगीन भएका छन् । करेसामा गएर आफ्नै हातले भर्खरै टिपेको रायोको हरियो साग किचेनकर्मी गेलु र शेरा शेर्पा ओइरिरहेका छन् । स्थानीय आमा अम्बकुरमारी पाण्डेको त्यही पिँढीमा टोलीले अघि भर्खर एउटा सामुहिक तस्विर पनि खिच्यो ।
आहा ! धौलागिरी ।
आहा ! अन्नपूर्ण ।
आहा ! मनास्लु ।
र, आहा ! गणेश हिमालसमेत ।
यो फाँट यी हिमालहरुको मुस्कान हेरेर आफै मुस्कितमुस्कित छ । र, फाँटमा अनेक जातिप्रजातिका तरकारी हुर्कदै छन् । यी महान हिमालयलाई हेरेर हुर्केको यी तरकारी कति भाग्यमानी ! र, हामी झनै भाग्यमानी ! हामी हिमाललाई हेरेर हुर्केका हरियो साग खाँदैछौं ।
तनुहँको बन्दीपुर गाउँपालिकाको वडा नम्बर ५ मा रहेको यो सम्म मैदानी यम्पाफाँटबारे एकजना स्थानीय युवालाई ल्याटप अगाडि राखेर प्रश्न गर्दैछु, ‘तपाईं यहीँको होइन ?’
‘हो ।’
‘तपाईंको नाम के हो ?’
‘अनिश ढकाल ।’
‘यो तल डुम्रेबाट कति दुरीमा छ ?’
‘५ किलोमिटर ।’
‘मुग्लिनबाट त ?’
‘१८ किलोमिटर ।’
‘यहाँको मुख्य आकर्षण के के हुन् ?’
‘आँधीमुल मन्दिर अनि बन्दीपुर ।’
‘बन्दीपुर यहाँबाट कति दुरीमा छ ?’
‘लगभग ५ किलोमिटर ।’
‘अरु ?’
‘कोरीखामा बाक्लो गुरुङ बस्ती छ । त्यहाँ होमस्टे पनि छ । पर्यटकीय हिसाबले त्यो पनि महत्वपूर्ण छ । यहाँबाट ४ किलोमिटर आसपास दुरीमा कोरीखा छ ।’
‘अरु भन्नुपर्ने केही छ ?’, अम्बकुरमारी आमाकै छिमेकीघरको पिंढीमा बाहिरैपट्टिको बिजुली प्लकमा जोडिएको ल्यापटपको किबार्ड चलाउँदै मैले सोधें । यो अनिशकै घर हो ।
‘यहाँका मानिस कृषिमा निर्भर छन्’, अनिशले फाँटरितर आँखा तन्काउँदै उभिएर भने, ‘तरकारी उत्पादनका हिसाबले तनहुँकै प्रख्यात फाँट हो यो ।’ ‘तरकारीमा त पुरस्कारै पाएको फाँट हो । दुध उत्पादनको लागि पनि नाम चलेको छ यो गाउँको’, आँगनमुन्तिरको गाइगोठ सफा गर्दै अनिशकी आमा गीता ढकालले भनिन् ।
टेन्टवरिपरि हाम्रा साथीहरुका साइकल छन् । यी साइकल हाम्रा यात्राका माध्यममात्र हैनन्, हरेक उकालीओरीली र सम्मका साथी हुन् । यी साइकल देशको पश्चिम महाकाली हुँदै यहाँ आइपुगेका हुन् र यी देशकै पूर्व मेची पुग्नेछन् । र, देशको माटोको वास्तविक सुगन्ध बोकेर अबको ११ दिनपछि राजधानी आइपुग्नेछन् ।
आगँनसँगैको सडकमा मोटरसाइकल गुडेको सुनेँ, जहाँ सुवास र दीपकका कोस्टर सडकमै पार्किङ छन् । त्यो मोटरसाइकल डुम्रे झर्दै हो कि माथितिर ठम्याउन सकिनँ । गाइले घाँस उग्राइरहकै ध्वनि प्रिय मलाई ।
‘यो सडक खनेको कहिले ?’, सोधेँ ।
‘खन्न सुरु गरेको त ०५८ सालमै हो’, अनिशले भने ।
तर, बल्ल पीच भइरहेको रहेछ । त्यो पनि अलि तलसम्ममात्र । अघि हामी त्यही बाटो भएर आएका थियौं ।
‘पहिलो चरणमा १ किलोमिटर पीच भयो । यही आर्थिक बर्षमा थप २ किलोमिटर पिच हुँदैछ । मेरो अघिल्तिर भर्खरै आइपुगेका पर्यटन व्यवसायी समेत रहेका अर्का स्थानीय हरि लामिछानेले भने, ‘र, पृथ्वी राजमार्गबाट यो बाटो हुँदै जम्मा ७ किलोमिटर बन्दीपुर पुग्न सकिन्छ ।’ पीच भएपछि यो बन्दीपुरसम्मको बैकल्पिक बाटो समेत हुनेछ ।
म यी अक्षरहरु लेख्दै गर्दा आमा गीता दुईटा खसी, एउटा बाख्रा, एउटा दुहुनु गाई र दुईटा बाच्छी भएको गोठको सबै काम सकाईवरी मेरो ल्यापटक नजिकै आइन् र आमाले झैं नियालिन् मलाई र मेरो ल्पापटपलाई ।
‘आमा ! यो गाउँ कस्तो थियो, तपाईंले थाहा पाउँदा ?’, एक छिन लेख्न छाडेर मैले सोधेँ ।
‘मैले चाल पाउँदा ?’, उनले प्रश्नलाई अझ प्रष्ट गरेर बुझ्न चाहिन् ।
‘हजुर !’
’मैले चाल पाउँदा यो फाँटैभरी जम्मा २–३ हलको गहुँ छर्थे’, उनले अध्याँरिइसकेको फाँटमाथि आँखा डुलाउँदै भनिन्, गाई चराउन, घाँस काट्न जाँदा यो कान्लामा अरेली र बंगेरको काँडा विझेर मलाई त बोकेरै ल्याएका ।’
‘अक्षर चिन्नुहन्छ ?’
‘चिन्दिन बाबु । ल्याप्चे हो’, मैले बिथोलको प्रसंगलाई ट्रयाकमा ल्याएर भनिन्, ‘अनि अर्को कुरा बाबु ! अमारो र बेल पनि प्रशस्त खाको गाई चराउँदा ।’
‘म नौ बर्षको थिएँ । मेरो दिदीसँग गा’को बाख्रा हेर्न भनेर । हनुमान चौतारो भन्ने ठाउँमा अहिले शिवजीको मन्दिर बनेको छ । त्यहाँबाट स्यालले बाख्रा तानेर लग्यो । अनि मचाहिँ कुकुरले बाख्रो लग्यो भनेर रोएँ’, उनले त्यसो भन्दा म हाँसे । उनको कुरा पत्याएन कि भन्ने ठानिछन् ।
‘हो के । सत्य हो’, उनले भनिन्, ‘अनि त्यहाँ वरिपरिका मान्छे जम्मा भए । खैलाबैला गरे । बोकाको पाठो रहेछ । समाएर हाम्रो घर ल्याइदिए । बाआमाले ध्वाँसो र चुक अमिलो लगाएर कपडाले बान्दिनु भयो । आखिरी ३ दिनमा मर्यो ।’
‘अनि अर्को कुरा । म अहिले बसिरहेको ठाउँमा । नयाँ कोठापट्टि होइन, पुरानो ढोकापट्टि (जहाँ अहिले रोड छ) जंगल थियो । अनि एक दिन चतुरमान गुरुङ दाईले ‘बाघ आयो, बाघ आयो’ भनेर खैलाबैला गर्नुभयो । अनि बाबा उठेर आउनुभयो । गाइको राम्रो रातो माली बाच्छी थियो । अनि बाआमाले त्यो बाच्छीलाई गोठबाट घरभित्र लग्नुभयो’, उनले सुनाइन् ।
‘बाच्छीको पुच्छरको डाँख्लामा प्वाल पारिदिएको रहेछ । त्यसलाई पनि सालको पातको सोली बनाइबनाई दुध ख्वाएर १ हप्ता स्याहार गर्नुभयो । तर, त्यो बाच्छी पनि मरी’, सुस्केरा हाल्दै उनले स्वर्गीय बाच्छीलाई सम्झिन् ।
‘बाबुु अर्को कुरा पनि ! एकदम नरमाइलो लाग्ने क्या ! एक दिन बाले खेताला बोलाउनुभयो । बन्दीपुरे सार्कीका बुढाबुढी गहुँ झार्न भनेर आए’, उनले सुनाइन्, ‘खेतका माझमा माटाको भोड्कामा खानेपानी राखेको थियो । म पनि बाआमालाई सहयोग गर्न त्यतै थिएँ । मैले भोड्काबाट पानी सारेर खाएँ । पानीमा गहुँको झुस तर परेर बसेको रहेछ । नहेरी खाँदा मेरो घाँटीमा गहुँको झुस एकमुठै अड्केर बाआमाको रुवाबासी नै पर्यो । बन्दीपुर सार्की दाईले कसोकसो गरी मेरो घाँटीसम्मै हात हालेर झुस निकाल्दिनु भयो । बाआमा खुशी भएर रुँदै त्यो दाईलाई धन्यवाद भन्नुभयो’, गीता आमाले कृतज्ञता व्यक्त गरिन्, ‘मेरो जीवन बचाइदिने बन्दीपुरे सार्की दाई म सधैं भन्ने छु, धन्यवाद !’
म यता गीता आमाको घरमा छु । कुरा गर्दागर्दै एक छिन है भन्दै गएकी आमाले एकै छिनमा ज्वानो र जडिबुटी मिसाएर एक स्टिल गिलासमा कप तातो पानी एक हातमा र अर्को हातमा स्टिल गिलासमै गाइको दुध लिएरै आइन् । म नतमस्तक । खानाको पनि सारै कर गरिन् ।
‘आमा अर्कोपटक । साथीहरु उता अम्बकुमारी आमाको घरमा छन् । सबैले त्यतै खानु पर्छ’, मैले भनेँ, ‘यात्रामा सँगै हिँडेपछि ‘गाँस छोड्नु, साथ नछोड्नु भन्छन् ।’ एक छिनमा एक्कासी खीर ल्याएरै छाडिन् । मैले नखाई सुखै पाइनँ । खीर मीठो थियो, त्योभन्दा बढी ममत्व ।
विश्व साइकलयात्री तर हाम्रा प्रिय ‘ठुल्दाई’ पुष्कर शाहसहित साइकल साथीहरु राजेन्द्र सापकोटा, मुक्ति पान्डे, सुभाष केसी, शंकर अधिकारी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, नीरा बराल सबै उता छन् ।
नेपालै साइकलमा सरर हिँडेको यो हाम्रो यात्राको १२ औं रात हो । र, काठमाडौं छाडेको १४ औं रात हो । कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला नेपाली पर्यटन व्युँझाउने उद्धेश्यले यो यात्रा जारी छ । तर, हामीले अम्बकुमारी र गीता ढकालजस्ता आमाहरु यो यात्रामा देशैभरि पाइरहेका छौं, जसले हामीभित्रकोे देशलाई व्युँझाइरहेको छ ।
एक पटक गीता आमासँगको अघिको प्रश्नोत्तर दाहोराउँछु ।
‘अक्षर चिन्नुहन्छ ?’
‘चिन्दिन बाबु । ल्याप्चे हो ।’,
तर, ल्याप्चे गीता आमाको छोरा अनिश सिभिल इन्जिनियर हो । आफ्ना अनेक दुखले यो देश गीता आमाहरुले अनिशमार्फत रुपान्तरण गरिरहेका छन् । देश अब अनिश र अनिशजस्ता युवाहरुले बनाउने हो ।
याम्पाफाँटलाई धन्यवाद ।
अन्तिममा भन्छु, मेरी आमा धनलक्ष्मी पनि ल्याप्चे हो ।
खुशी लाग्यो हामी छुट्टीएर टोली तनहुँ पुगेछन्,हामी पनि बस र साईकलको यात्रा गरि राती ७ बजे घर आईपुग्यौ।दुई दिन टिमसंग सहभागी हुन पाए,सबै मित्रहरूलाई धेरै आभार व्यक्त गर्दछु ।
यो लेख पढ्दा साच्चै नै मपनि त्यही भए जस्तो लाग्यो ।सिलवालजी लेख मार्फत जुन कुराहरूको वर्णन गर्नु भएको छ,ती सबै मिस गरि रहेता पनि तपाईको लेख मार्फत नौलो अनुभव महसुस गर्न पाए ।धेरै धेरै धन्यवाद ।दिनप्रति दिनको भोगाई,अनुभव र दृश्य अवस्य पढ्न र हेर्न पाउछु भन्ने आशा गर्दछु ।