बुटवलबाट बुद्धलाई चिठी

कविता पन्थी

भगवान बुद्ध ! हार्दिक नमन

आज हजुरको २५६५ औं जन्मजयन्ती । आफ्ना विचार र सन्देशहरूबाट हजुर सबैको आदरणीय, स्मरणीय हुनुहुन्छ । हजुरका जीवनदर्शन, शान्ति र मानवताका स्वरहरु मानवमात्रका मार्गदर्शन बनेका छन् ।

हजुरको जन्म लुम्बिनी भएकोमा हामी गर्व गर्छौ । लुम्बिनी अहिले विश्वको चासोको केन्द्र बनेको छ । हजुरलाई आफ्नो देशको गौरव मान्छौ । हजुरको नाममा धेरै संघसंस्थाहरु खुलेका छन्, विश्वविद्यालय खुलेका छन् । श्रुति स्मृति परम्परा, विभिन्न सङगायना हुँदै हजुरका सन्देशहरू संग्रहित छन् । आजको मल्टिमिडियाको युगमा ती दिव्य सन्देशहरु सबैको पहुँचमा छन् । मुर्ति पूजा मन नपराउने हजुरका नै सबैभन्दा धेरै मुर्ति बनेका छन् । आजसम्म पनि हजुरका सन्देशहरू सार्वजनिन र सान्दर्भिक मानिएका छन् ।

हजुरले जस्तो विचार राख्नुभयो, त्यस्तै आचार गर्नुभयो । सम्पूर्ण ‌मानवमात्रको सुखको लागि सारा सुखसयल, राजगद्दी समेत त्यागिदिनुभयो । जीवनभर सत्य, प्रेम, अहिंसा र मानवताको अमृतवर्षा गरिरहनुभयो । मनलाई सर्वोपरी मान्नुभयो, मैत्री,करुणा, उपेक्षा र समताभावको शिक्षा दिनुभयो । शिक्षा, स्वास्थ्य, राजनीति, सामाजिक व्यवस्था, आर्थिक व्यवस्था, मनोविज्ञान, जीवनदर्शन, न्याय सबै क्षेत्रमा हजुरका सन्देशहरू प्रभावकारी लाग्छन् । वुद्ध सम्झदैमा आनन्द आउँछ,मनमा एक किसिमको शान्ति छाउँछ ।

भगवान आज मानिस स्वार्थी बनेका छन् । कुनै कुरामा पनि अनुशासन छैन । ठूलाले सानालाई दबाउँछन् । धन,पद, प्रतिष्ठा, भोगविलासको पछाडि मान्छे लागेको छ । मान्छे मारेर आफुलाई शान्तिकामी ठान्छ । निर्बल प्राणीको हत्यामा खुशी हुन्छ । शस्त्रअस्त्रको होडबाजी चलेको छ ‌। आफु जसरी पनि अगाडि बढ्ने, आफ्नो मात्र भलो सोच्ने र आफुले गरेका गल्ती पनि राम्रो भन्दै अहंकार गर्नु मानवीय प्रवृत्ति बनेको छ । केही राम्रो गर्न खोज्नेहरु पनि समर्थन पाउदैनन् । भ्रष्टाचार , कालाबजारी त्यस्तै बढेको छ । विभिन्न आधारमा मान्छे मान्छे बिच भेदभाव हुन्छ । हजुरले दुःखको महत्वपूर्ण कारण तृष्णालाई मान्नुभएको छ । तृष्णा बढ्दो छ, दुःख पनि त्यही गतिमा बढ्दो छ । महामारी, भुकम्प, जस्ता प्रकृतिक प्रकोप, त्यसमा पनि अवसर खोज्ने दुष्ट प्रवृत्तिले दुःख बढाएको छ । शान्ति कायम हुन राजनीतिक स्थायित्व हुनुपर्ने हो,त्यो हुन सकेको छैन । हजुरले नेतृत्वमा हुनुपर्ने गुणको बारेमा बताउनुभएको छ । शासक, नेतृत्ववर्ग सदाचारी हुनुपर्ने, नैतिकवान बन्नुपर्ने, जनमतको कदर गर्नसक्ने त्यागी हुनुपर्छ भन्नुभएको छ । सत्ता र शक्तिको उन्मादले शासकमा विलासी प्रवृति बढ्दो रहेछ । सम्पत्ति सङ्ग्रहको भोक बढ्दो रहेछ । त्याग र समर्पणको सट्टा देखावटीपन बढ्दा कामभन्दा कुरा धेरै हुने र जनताले दुःख पाउने वातावरण सृजना भएको छ । सत्ता प्राप्त गर्न मानवले मानवकै हत्या पनि गरे । भौतिक संरचना नाशिए । देश विदेशमा यस्ता काम धेरै भएका छन् । पंचशील मात्रै पनि सुशासनको आधार बन्न सक्छ । हिंसा नगर्नू, चोरी नगर्नु, झुटो नबोल्नु, व्यभिचार नगर्नु, मादकपदार्थ को सेवन नगर्नु आदिले पनि धेरै हदसम्म मानवलाई सुखी र खुसी राख्न मद्दत गर्छन् ।

भगवान, अहिले हाम्रो देश कोरोना नामको भाइरसको संक्रमणका कारण आक्रान्त छ । औषधि उपचारको राम्रो प्रबन्ध नहुँदा धेरै सर्वसाधारणहरुले दुस्ख पाएका छन्, मृत्युदर बढिरहेछ । शव व्यवस्थापन गर्न समेत गार्हो परेको अवस्था छ । निषेधाज्ञा लागेका कारण श्रमजीवीहरु काम र मामको संकट व्यहोरिरहेका छन् । अर्कोतिर सरकार यहि निरीहपनाबीच आफु सफल भएको नाटक गरिरहेछ । आफ्नो कमजोरी कोही स्वीकार्न चाहदैन । यही अनावश्यक दम्भले दुःख निम्त्याइरहेको छ । भगवान हाम्रो देश प्राकृतिक रुपमा पनि साधन सम्पन्न छ, जनता पनि मेहनती छन्, तर शासनव्यवस्था कहिले राम्रो हुन सकेन । यो त हजुर जन्मिएको देश हो नि । हजुरको नाम जस्ले पनि लिन्छ तर हजुरको जस्तो आचरण कसैले गर्न सक्दैन । केही राम्रो गर्न खोज्नेले समर्थन पाउदैन । जनताको खुशी सर्वोपरी हो भन्ने हाम्रा नेताहरुलाई भाषण गर्ने बेलामा मात्र थाहा हुन्छ । देशका युवाहरु काम, माम र सुरक्षित भविष्यको खोजीमा विदेशिने क्रम जारी छ । घोर निराशाको कालो बादलले देश र जनतालाई घेरेको छ । अब त केही होला, राम्रो होला भन्यो कहिले सुव्यवस्था हुन सकेन ।सानो सानो कुरामा पनि कमिशनको खेल हुन्छ, जालझेल हुन्छ । यस्तै राजनीतिले देशका सबै क्षेत्रमा कब्जा जमाइरहेछ । शिक्षा, स्वास्थ्य, संचार, उद्योगजस्ता क्षेत्रमा समेत राजनीति घुसेको छ ।

भगवान आफ्नो देशको समस्याले आफुलाई प्रभावित पार्नेरहेछ, विश्व मानव समुदायको चिन्तन गर्ने समयमा म आज आफ्नो देशको विवशता सुनाइरहेछु । हजुरको जन्मस्थल, हजुर भनेर नाम सुन्दै खुशी हने मानिसहरूको स्थल नेपालको यो समस्या सुनिदिनुहोला । हजुर नै भन्नुहुन्छ। सबै मानिसभित्र बुद्धगुण हुन्छ भनेर, हाम्रा सम्माननीय नेताहरुमा भएको बुद्धगुण प्रबल बनाइदिएर हाम्रो कल्याण गर्नुहोस् । जनताको खुशीमै शासक खुशी हुनुपर्छ भन्ने बोध गराइदिनुहोस्, कसरी हुन्छ जीवन बुझाइदिनुहोस्, त्यति बुझे भने हामीलाई आशा छ, हामी त्यागी र सन्त नेता पाउनेछौ, जसको लागि सत्ता र शक्तिको दाउपेचभन्दा जनकल्याण महत्वपूर्ण हनेछ ।

बुद्धम् शरणम् गच्छामि
धम्म शरणम् गच्छामि
संघम् शरणम् गच्छामि ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा,मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button