मदनमणि दीक्षितलाई हिमाल जिसीको पत्र

प्रिय ममदी !

आज बिहानै लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प आयो । तर, मलाई हजुरको याद आयो । त्यसैले यो पत्र लेख्दैछु ।

हजुरको बैकुण्ठ यात्रा र बसाई सहजै होला । केही दिन पहिले प्रा.राजेन्द्र सुवेदीले पनि बैकुण्ठ यात्रा तय गर्नु भयो । पक्कै भेट हुनेछ हजुरसँग अनि साहित्यिक गफ हुनेछन् । उहाँले देशमा कोरोनाको संक्रमणले सिर्जना गरेको भयावह अवस्था र देशका जिम्मेवार व्यक्तिले गैरजिम्मेवारपूर्ण काम गरेको जस्ता यावत विषयमा अवश्य हजुरलाई जानकारी गराउनु हुनेछ । तर, म छोटकरीमा केही अवगत गराउन चाहन्छु –

अस्पतालमा भ्यान्टिलेटर, आइसियु खाली छैन । अक्सिजनको चरम अभाव छ । कोरोनाका संक्रमितहरु छटपटाउँदै प्राण त्याग गरिरहेछन् । अब फेरि कोरोनाको तेस्रो लहर आउने र बालबालिका अति प्रभावित हुने कुरा बजारमा भइरहेछ । भयावह अवस्थामा पनि हरेक पार्टीका नेता सत्ता र शक्ति हत्याउने होडमा लिप्त छन् भने कोही भ्रष्टाचार गर्नमा ।

शपथ ग्रहणमा देशका प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्दैछन् । राष्ट्रपतिले ‘हिहि’ गर्दै पदीय गरिमाको धज्जी उडाइरहेका छन् । देश र जनताको नाममा ‘प्रतिज्ञा गर्दछु’ भन्न नसक्ने प्रधानमन्त्री र ‘हिहि’ गरेर मौन स्वीकृति दिने सम्माननीयबाट संविधान र देशको रक्षा कसरी सम्भव छ भनी कल्पना र विश्वास गरौँ ? यस्तै छ देशको हालखबर ।

आजको भूकम्प भने हजुरले अवश्य थाहा पाउनु भएन, न त कोरोना भन्ने नयाँ शब्द सुन्नु भयो । भूकम्प, कोरोना र देशका नेताले ताण्डव नृत्य गरिरहेछन् । एउटाले बाहिर जाऊ भन्छ, अर्कोले भित्रै बस भन्छ, तेस्रो पेटमा भोकमरी लागिरहेछ । थाहा पाउनु त्रास रहेछ र थाहा नपाउनु पनि एक किसिमको आनन्द रहेछ ।

२९ वैशाख ०७२ को भूकम्पमा त सँगै बसेर महसुस गरियो । त्यो दिन आमनेसामने बसेर हजुरको वाणीलाई कलमको सहायताले कपीमा उतार्दै थिएँ । भूकम्प आउनासाथ हाम्रो कार्य स्थगित गरेर नजिकैको सोफामा बस्यौँ । एकैछिनमा मामु आउनु भयो । मेरो अनुहारमा दृष्टि दिँदै, ‘आमोदले यो घर १० म्याग्नेच्युटको सम्म भूकम्प थाम्नसक्ने बनाएको छ, नआत्तिनुहोस् । भयावह स्थितिमा बालबालिका, वृद्ध र महिलाको सुरक्षा गर्नुपर्छ, उनीहरुलाई उत्साह दिनुपर्छ । म त आत्तिएको छैन’ भन्नुहुन्थ्यो । आज यही वाक्य मेरो कानमा गुन्जिरहेछ ।

आजलाई यति नै, मिल्छ भने बैकुण्ठबाट अलिकति शान्ति र मानवीय सद्भावना पठाइदिनु देशको लागि । हस्त धन्यवाद ।

उही सहयोगी हिमाल जि.सी. ।
५ जेठ, ०७८

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button