हामी जाग्राम थियौँ, आमा सदाका लागि निदाउनुभयो

मातृ-स्मृति
अरविन्द रिमाल

आमाः शाश्वत, सनातन एवं नित्यनवीन मातृत्त्व ।

आमाको मुख हेर्ने दिनको प्राचीन परन्तु सधैँ नवीन चाडका दिन ट्विटरमा एकजनाले ३ सय ६४ दिन बिर्सेर १ दिन मात्र नमनाइयोस् यो दिवस भनेर लेखेको पढेँ । प्रेषकको नाम उल्लेख गर्न नपाउँदा खेद छ । त्यही चाडको बेला फेसबुकमा मित्र रिचा कोइरालाले ‘या देवी सर्व भूतेषु मातृ रूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:’ को मन्त्रद्वारा मातृवन्दना गरिन् । त्यसको भोलिपल्ट कवि श्यामलले जिन्दगानी अनलाइनमा आफ्नो आमाको कहानी बताए- मार्मिक एवम् भावविह्वलकारी । मलाई पनि आफूले अफ्नोा राजनीतिको तूफानी वर्षहरुमा र लामो १० वर्षको भारत बसाईपछि पनि आमाको प्रमुख निजी सचिवको भूमिका निर्वाह गरेको लेख ‘१९९७ सालदेखि २०१७ साल – एक अवलोकन’को उपसंहार ३ मा समावेश भएको सम्झना भयो र त्यसको छोटकरी रूप प्रस्तुत गरिएको छ ।

भनाईको तात्पर्य के भने, आफ्नी स्वप्नदर्शी आमाको सपना कोर्ने हाम्रा कालजयी क्रान्तिकारी कवि, जय नेपालको नारा वा ध्येय उद्धेश्यको उपहार राष्ट्रलाई अर्पण गर्ने समग्र नेपाली साहित्यजगतका तूफानी पक्षी गोपालप्रसाद रिमाल हुन् वा आमाको यशोगानद्वारा अन्तर्राष्ट्रिय वागी चेत जगाइदिने साहित्यिक मनीषी गोर्की हुन् वा कवि श्यामल हुन् वा अरु जो जो भाइबहिनी, बन्धुबान्धव, ईष्टमित्र हुन्, ती सबौमा यथोचित नमन गर्दै मेरो यो आमा कथाको थालनी गरिन्छ ।

आमाको प्रमुख निजी सचिव !

मेरो आमा शेषमञ्जरी देवी गौतम रिमाल अफ्नो विशाल परिवारकी एकछत्र साम्राज्ञी हुनुहुन्थ्यो । बुबा योगी सम्राट । आमा बुबालाई आरोग्य भवन वर्क्स औषधालय र अड्डाअदालतका कामबाहेक अन्य कुनै काममा झन्झट नै गर्न नपर्ने गरी घरव्यवहार चलाउनुहुन्थ्यो भने बुबा आफ्नो जीवनभर दाल, चामल, तेल, घ्यू, तरकारी सुनचाँदी इत्यादिकोे बजारभाउ कहिल्यै थाहा नपाई आफ्नो सम्पूर्ण आयस्ता आमाको जिम्मामा सुम्पनुहन्थ्यो । मैले बुबा र आमाका बीच कुनै दिन मनमुटाव भएको र आपसी विश्वासमा हनन भएको देखिनँ । उहाँहरुको दाम्पत्य जीवन आदर्शमय थियो ।

आमालाई पित्तको थैलीमा ढुङ्गा जमेर चिरफार गर्दा क्यान्सर भइसकेको रहेछ र वीर अस्पतालका डाक्टरे गङ्गोलले आमाको शरीर तीन महिनाभन्दा बढी नरहने जनाउ दिइसक्नुभएको थियो । तेस्रो महिनाको अन्तिम साता चलिरहेको थियो । दिन त मानिसहरुको आऊजाऊ र शिष्टाचार व्यवहारले जसोतसो कट्दथ्यो तर रातको समय भयावह हुन्थ्यो ।

बुबा बुद्धि र व्यवहारमा सधैंँ सबल र सुदृढ व्यक्ति हुनुहुन्थ्यो । तर आमाको अवस्था देखेर उहाँलाई असह्य वेदना भइरहेको थियो । एक चिकित्सकको नाताले उहाँलाई क्यान्सर रोगले गराउने पीडाबारे थाहा थियो । तर आमा कुनै आवाज ननिकाली त्यो कल्पनातीत पीडालाई सहिरनुभएको थियो र यता बुबा आफ्नो असह्य दमको रोगसँग कसरी जुधिरहनुभएको थियो, त्यो अर्को आश्चर्य थियो ।

२०३४ सालको बालाचतुर्दशीको अघिल्लो रात हामी सबै जाग्राम बसेका थियौँ । आमा शरीरको तल्लो भागकाट रक्तस्राव हुँदा पनि सामान्य अवस्थामा झैँ कुनै आफन्तसँग बोल्ने वा हरिनाम लिने गरिरहनुभएको थियो । मध्यरातपछि घाटेवैद्यलाई बोलाइयो । आमाको अवस्था देखेपछि उनले आफ्नो विचार बुबालाई बताएर हिँडे । बिहान ५ बजेतिर बुबाले आमालाई अन्तिम विश्रामस्थल पशुपति आर्यघाट पुर्‍याउने बेला आयो भन्नुभयो । हामी त्यसको तयारीमा लाग्यौँ । यत्तिकैमा आमाले आफ्नो यस शरीरको अन्तिम यात्राको लागि आफ्ना पतिपरमेश्वर, आफ्नो स्वामी नारायणसँग बिदा माग्नुभएको र बुबाले आफ्नो दाहिने शिर घुमाएर बिदा दिनुभएको मार्मिक दृश्य हेर्न पुगेको रहेछु म । ओहो ! कस्तो प्रेम, कस्तो त्याग, कस्तो विश्रान्ति र कस्तो सहानुभूति थियो, आमा र बुबाका आँखामा !

उहाँहरुको वैवाहिक जीवनका ६० वर्षभन्दा पनि बढीको अवधिमा उहाँहरुबीच कुल ६० घण्टा पनि कुराकानी भएनन् होला ! त्यस्तो अल्पभाषी हुनुहुन्थ्यो मेरो बुबा । आमालाई कुरा गरिरहन मनलाग्ने तर बुबा प्रायः मौन रहन रुचाउने वा यसो गुनगुनाइरहने, मधुर मुस्कानले । तर पनि कस्तो तादात्म्य, कस्तो समझदारी थियो, यी दुई जीवात्मामा, कस्तो सन्तोष एकअर्कालाई दिएका थिए ! आहो ! यस्तो बिछोडको अन्तर्पीडाले उहाँहरुको आँशुलाई भित्रभित्रै सुकाइदिएर बाहिर निस्कन दिएका थिएनन् । त्यसमाथि आँशु बहाएर उहाँहरु आफ्ना सन्तानहरुको अघिल्तिर कमजोर र असहाय भएको देखाउन चाहनुहुन्नथ्यो ।

यसबीच हामीले आमाको अन्तिमयात्रा चलायौँ र बुबा कहाँ हुनुहुन्छ भन्ने ख्याल गर्न पनि बिर्सियौँ । मेरो ठूलो दिदी आमाकै इच्छा पालन गर्न भनेर नै बुबाको साथ हुनुहुँदोरहेछ । हामीले पछि थाहा पायौँ ।

त्यसदिनको त्यत्रो भीड छिछोल्दै आमालाई आर्यघाटको ब्रह्मनालमा लेटाएर उहाँका मुखमा गङ्गाजल र तुलसीदल राख्नासाथ आमा पञ्चतत्त्वबाट बनेको शरीरलाई तिनै पञ्चतत्त्वमा विलीन हुन दिई परमेश्वरसँग सायुज्य प्राप्त गर्न पुग्नुभयो ।

जाडोको त्यो कठोर प्रभातकालमा बुबा आफूलाई सम्हाल्दै मेरो ठूलो दिदीसँग आर्यघाट आइपुग्नुभयो । आमाको भाग्यको प्रशंसा नगर्ने त्यसदिन कोही भएनन् जबकि बाँचुन्जेल उहाँ सर्वत्र प्रशंसाकै पात्र हुनुहुन्थ्यो । ‘कान्छी कविराजनी बज्यै’- यो नाम नै काफी थियो आमाको बहुमुखी, सीप, जाँगर एवम् प्रतिभाको परिचय गराउन ।

आमाको देहावसानपछि बुबाले र ठूलो मैञाँले लगभग एकै समयमा आमामा श्रद्धाञ्जलीस्वरूप कविता लेख्नुभएको रहेछ । बुबाको कविता उहाँको सानो डायरीमा लेखिएको मैले पाएँ, बुबाको शेखपछि । दिदीको कविता भाइ कुमार, कवि निर्मलकुमार रिमालले फेला पारेर छपाएको रहेछ । दुवै रचना मेरो ‘अवलोकन’मा छापिएका छन् ।

सम्झना

थियौ तिमी गौतमकी सुपुत्री
पाएर सौभाग्य रिमालकी बनी ।
गर्‍यौ तिमीले कुलदीप उज्ज्वल
बढाई पतिव्रत धर्म निर्मल ।

नरेन्द्रनाथ रिमाल,२०३४ मंसीर ।


आमा

बैशाख शुक्ल तिथि द्वादसी शुक्रलाई पाई
आयौ पवित्र धरतीमा उदाइ
सद्बुद्धिकी खानी थियौ तिमी ता
अदृश्य भै, त्यही भाव ली आज गयौ कता ।

पवित्र गौतम कुलबाट पैदा
भएकी थियौ उत्तम रूप ली सदा
माता पिता धन्य पनि गरायौ
पतिव्रता धर्म पनि बढायौ ।

यस वंशलाई निर्मल पारी
नाता सबैमा समभाव राखी
रिमाल कुललाई उज्ज्वल गरायौ
तर आज तिमी कहाँ हरायौ ।

श्रीकृष्णको पाऊ भनिरहन्थ्यौ
संसारका कष्ट अति नै सहन्थ्यौ
दिनरात गर्थ्यौ सबको भलाई
देउ न दर्शन अब लौ मलाई ।

चार पुत्रको बीचमा बसेर
रोगव्याधिको कष्ट सहेर
बधु चारबाट लिई सुसार
विपदाहरुबाट न मानी हार ।

भन्थ्यौ पतिमा बिन्ति छ धेर
म जान्छु पहिले यो धरा छोडेर
यो विश्वमा अरु कोही छैन मेरो
श्रीराम नामको चिन्तन सिवाय मेरो ।

खाली पसारी दुई हात आमा
छाडी गयौ, थाहा छ कोही रहन्नन् यहाँ
रोइरहेछन् परिवार सबजन
तिमी गयौ कुन धाममा भन ।

बालख स्वभावकी तिमी थियौ नि आमा
बाला चतुर्दशीको पवित्र दिनैमा
चटक्क छाडी हामीलाई टुुहुरो गरायौ
यो विश्व रङ्गमञ्चबाट तिमी कहाँ हरायौ ।

शेषबाट सब सृष्टि हुन्छ
शेषैमहा विलीन हुन्छ
त्यै शेष कन्या लिई एक भेष
रिमालकी थियौ बधु एक बेस ।

ती अग्निहोत्रीहरुकी सुपुत्री
संसार अनित्य छ भनी दुःखबाट उत्री
मेरी सपुत्री भनी अग्निले यहाँ
लिई गइगए जानु सबको छ जहाँ
त्यो ज्योतिमा ज्योति मिलेर गइगयो
द्वैतबाट अद्वैत परं पदमा आसीन हुन पुग्यो ।

श्रीमञ्जरी (सत्यवती), २०३४ मंसीर ।

श्रीबुबाआमाबाट हामी ६ भाइछोरा र दुई दिदीबहिनी भएका हौँ । माहिला दाजु योगेन्द्रनाथ अल्पायुमै बित्नुभयो, माहिली भाउज्यू बितेको केही महिनापछि नै। काहिँला दाजु भूपेन्द्रनाथ हाम्रा साहिँला काका सुब्बा जगन्नाथले धर्मपुत्र लिनुभयो । त्यसैले दिदीको माथिको रचनामा चार छोराबुहारीको उल्लेख हुनपुगेको हो ।े

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button