मरिचमानले मातातीर्थ औंशीका दिन सार्वजनिक विदा दिने व्यवस्था गरेका थिए

श्रीरामसिंह बस्नेत

आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली जनमानसमा यो दिनको विशेष महत्व छ, साथै गोकर्णे औंशी अर्थात् बाबुको मुख हेर्ने दिनको पनि । संसारमा व्याख्या गर्न वा परिभाषाभित्र बाँध्न नसकिने केही विषयहरु मध्ये आमा र सन्तानबीचको सम्बन्ध पनि हो ।

विश्व साहित्यलाई नियाल्ने हो भने प्रेमिकापछि सर्वाधिक वर्णित पात्र आमा नै रहेको पाइन्छ । आमाको दाँजोमा बाबुको स्थान साहित्यमा निकै सिमित छ, सायद त्यसो हुनुको कारण यथार्थमा पनि सन्तानसँगको सम्बन्धमा बाबुभन्दा आमा धेरै घनिष्ठ हुनुले हो । यो संसारभरकै परिदृष्य हो र मानिसमा मात्र नभई सबै प्राणी जातिमा व्याप्त यथार्थ । आमाले कष्टसहेर आफूभित्रैबाट सन्तानको सृष्टि गर्ने भएकोले आमाको भूमिका अवर्णनीय र दीर्घकालीन हुन्छ भने बाबुको भूमिका निर्णायक भएपनि क्षणिक र पीडारहित ।

वर्षमा एक दिन आमाप्रति समर्पित गर्ने संस्कार विश्वका अन्य समाजमा पनि पाइन्छ, ‘मदर्श डे’ वा त्यही अर्थ दिने अन्य भाषाका शब्दमा । आजको दिनको महत्व बुझेर नै होला तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले आफ्नो पालामा मातातीर्थ औंशीका दिन सार्वजनिक विदा दिने समेत व्यवस्था गरेका थिए । त्यस्तो चलन अन्य केही देशहरुमा पनि पाइन्छ ।

यो दिन कसरी मनाउने भन्ने कुरा आमा र सन्तानको अवस्थामा भरपर्दछ । साना केटाकेटीहरुले आमाको मुख हेर्ने दिनलाई एउटा बेग्लै रमाइलोको रुपमा मनाउँछन् । बाबुको सहयोगबाट उनीहरुले आमाका लागि उपहार र मीठो खानेकुराको जोहो गर्छन्, बाबु यदि समझदार छ भने । बाबुको साथ नपाएका दुई बालकले दुई थुङ्गा फूल आमालाई दिएर मुख हेरेको र आमा त्यसमै गद्गद् भई लालाबालालाई अँगालोमा कसेको कारुणिक दृष्य पनि यस पँक्तिकारले देखेको छ । हुर्किसकेका सन्तान्ले भने जसोतसो जोहो गरेर आमाको मुख हेरेका हुन्छन्, आखिर यो पनि आर्थिक पक्षसँग सम्बन्धित विषय हो, तर आर्थिक मात्र भने होइन ।

यहाँनिर बुझ्नु पर्ने कुरा के छ भने सन्तानले आमासँग कस्तो सम्बन्ध राखेका छन् त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । वर्षको एक दिन मेवामिष्ठान्न र उपहार चढाउने तर बाँकी दिन उपेक्षा गर्ने हो भने त्यो एक दिन पनि आमाको मुख हेर्ने औपचारिकता पूरा गर्नुको कुनै औचित्य छैन । प्रत्येक आमाले आफ्ना सन्तानबाट अपेक्षा गर्ने पहिलो कुरा सान्निध्यता हो । अरुका लागि समय दिन सक्ने तर आमाका लागि समय दिन नसक्ने, आमासँग बसेर कुराकानी गर्न नरुचाउने, सधैं व्यस्त रहेको देखाउने सन्तानहरुको कमी छैन जुनसुकै समाजमा पनि । बिहान काममा हिंडेको छोरो साँझ कतिबेला घर फर्केला भनेर आमाका आँखा प्रतीक्षा गरिरहेका हुन्छन् तर छोरो घर फर्केर पनि आमाको सामु नगई अरुसँगै अल्मलिएर बस्छ भने त्यस्तो छोराले बर्षको एक पटक आमालाई दिने उपहारको के महत्व ?

मातृ दिवसको महत्व विवाहित छोरीहरुका लागि निकै ठूलो हुन्छ । आमालाई भेट्न घरबाट माइती जान पाइने र आमा– छोरी मनभरिका भलाकुसारी गर्न पाइने यो अवसरको महत्व विवाह भएर पतिको घर पुगेकी छोरीहरुले मात्र बुझ्न सक्छन् । हाम्रो पहाडी गाउँघरमा महिनौं अघिदेखि आमा– छोरी यो औंशीको दिन कहिले आउला भनी औंला भाँच्दै बसेका हुन्छन् ।

आमा नहुनेहरुले ठूलीआमा,सानीआमा, मितिनी आमा आदिलाई पनि आमै मानेर मुख हेर्ने गरेको पाइन्छ । यो भावनात्मक सम्बन्धको कुरा हो, जसको कुनै सीमा हुँदैन । भावनाकै कारण आफ्नो घरबेटी आमालाई आजको दिन उपहार दिएर आशिर्वाद लिने डेरावाल छोराहरु पनि यदाकदा समाजमा भेटिन्छन् ।

सूचना प्रविधिले समाजमा निकै परिवर्तन ल्याईदिएको छ । फोन, भाइबर, भिजुअल, स्काइप आदि प्रविधिले गर्दा भौगोलिक दुरीमा रहेकी आमाको ‘मुख हेर्न’ आज सन्तानहरुलाई निकै सजिलो भएको छ ।

आजको दिन बृद्धाश्रममा आश्रय लिएर बसेका आमाहरुका लागि निकै कष्टपूर्ण हुन्छ, आफ्ना सन्तानको यादले । सन्तानको सम्झना त अघिपछि पनि आउँदो हो तर आजको दिनको कुरो बेग्लै हुन्छ । कतिपय सहृदयी मानिसहरु आजको दिन बृद्धाश्रम पुगी आमाहरुलाई उपहार बाँढछन् । तर आफ्नै सन्तानको झझल्कोले भने ती आमाहरुलाई सताउन छोड्दैन आज । त्यस्तै अल्पायुमै सन्तान गुमाउन पुगेका आमाहरुका पनि आज आँखा ओभानो हुँदैन ।

भनिन्छ, भगवानले आफू सबैतिर पुग्न नसक्ने भएकाले आफ्नो प्रतिनिधिका रुपमा आमाहरु बनाएका हुन् । यो मान्यतालाई संसारका सबै समाजमा स्वीकारिएको छ । आफु आमा–बाबु भईसक्दा पनि आफुलाई जन्मदिने आमा–बुबाको साथ पाउने व्यक्ति साच्चिकै भाग्यमानी हुन् । तर कतिपयले समयमै त्यो भाग्यको महत्व बुझ्न सक्दैनन् र जतिखेर बुझ्छन् त्यतिखेर धेरै ढिलो भईसकेको हुन्छ । (यस दृष्टिले पंक्तिकार आफूलाई अभागी ठान्दछ, जसले १३ वर्षको उमेरमा ४६ वर्षकी आमालाई क्यान्सरका कारण गुमाएको थियो) । जन्मदिने बाबुआमालाई सम्पतिका लागि मुद्धा हालेर धुरुधुरु रुवाएका उदाहरणहरु पनि यही समाजमा देखिएको छ । बाबुआमा बाचुञ्जेल वास्ता नगर्ने मरेपछि काजक्रिया, दानपुण्य धुमधामसँग गर्ने ढोंगीहरु पनि यत्रतत्र भेटिन्छन् ।

आमाको मन साह्रै कोमल हुन्छ । वास्तवमा आमालाई के चाहिन्छ होला ? जीवनको उकाली ओराली भ्याइसकेर अनन्त विश्रामको नजिक पुगेकी आमालाई मिष्ठान्न र उपहारका चाङको के अर्थ ? आमालाई चाहिएको छ सन्तानको अलिकति समय, कुरा सुनिदिने कानहरु, झर्कोफर्को नगरिकन बोलिदिने मुख, दैनिक जीवनलाई सहज बनाइदिने हातहरु अनि औपचारिकता र लोकाचारका लागि होइन हृदय देखि नै श्रद्धा राख्ने मनहरु । के तपाईले आफ्नी आमालाई यी सब दिनु भएको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button