आमाको प्रवृत्ति सन्तानको गल्ती ढाकछोप गर्ने हुन्छ

योगेन्द्र तिमिल्सिना

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औंशी अथवा माता सम्मान दिवस हो । आजकै दिन छोराछोरीले जीवित आमालाई ससम्मान फलफूल, मिठाई, विविध पकवान्न र मनपर्ने बस्त्रहरु दिई श्रद्धा गर्दछन् । आमाले पनि सन्तानलाई सुखद भविष्यको कामना सहित आशिर्वाद दिने चलन छ । आमा नभएका सन्तानले तिर्थमा गई आमालाई स्मरण गरी श्राद्ध तर्पण गरी दान पुण्य गर्ने प्रचलन रहेको छ । नेपालबाहेक भारत, चिन र विश्वका धेरै देशमा आमाको सम्मान गर्ने गरिछ ।

आफ्ना सन्तानलाई स्नेहसाथ हुर्काउन, शिक्षा दिन र अनेक व्यवधानबाट सुरक्षित राखी विविध प्रकारले बाटो देखाउन दुःख र परिश्रम गर्ने आमालाई सम्मान गर्नु सबै छोराछोरीको कर्तव्य हो । स्वनिर्णय गर्नसक्ने उमेर नहुञ्जेल म पनि आमाको निर्देशन अनुसार नै हिँडडुल, खानपान र व्यवहार गर्ने गर्थें । उमेर, अध्ययन र व्यवहार बढ्दै गएपछि आमाप्रति अगाध सम्मान हुँदाहुँदै पनि कतिपय कामहरु स्वनिर्णयबाट गर्नुपर्ने भयो ।

एक दिन खेतमा भैँसी चराउँदै गर्दा कुरैकुरामा एउटा गोठालाले मेरो गालामा कसेर चड्कन हान्यो । म रुँदै घर आएँ र आमालाई लिएर त्यो गोठाला भए ठाउँ गएँ । त्यहाँ पुगेपछि आमाले पनि त्यसलाई त्यसरी नै चड्कन हान्नु भयो । त्यो पनि त्यहाँबाट रुँदै भाग्यो । त्यसपछि त्यो कहिल्यै मेरा अगाडि देखा परेन । मैले आफ्नो विजय महसुस गरेँ ।

सखुवाको खाँवा गाडेर निदालमाथि दलिन हाली त्यसमा राखिएको चिर्पटमाथि गिलो माटो भरेर लिपपोत गरेको हाम्रो घर थियो । घरको छानो खरको थियो । घर ओरिपरि गन्धेको टाटीले घेरेको थियो । एक दिन हाम्रो गाउँ घोपामा (हाल धरान नगरपालिका) ठुलो आँधीबेहरी सहित पानी प¥यो । आँधी आउँदा त्यो घर पिङ् खेले जस्तो हल्लन्थ्यो । म त्यसबेला सात वर्षको थिएँ । आमाले दिदी र मलाई आफ्ना दुई काखमा राख्नु भयो र च्याप्नु भयो । आँधीले आगो उडाउँछ भनेर आमाले आगोमा पानी खन्याउनु भयो । भर्खरै भात अधकल्चो पाकेको थियो । गुन्द्रुकको तरकारी थियो । आँधीले टाटी हल्लँदा गुन्द्रुकको झोलमा सुकेका गन्धेका पात र फूल मिसिएका थिए । त्यो रात त्यही गन्हाउने झोलसँग हामीले भात खायौँ ।

दिदी र म गोठालो गएका वेला एउटी गोठाल्नी केटी पनि साथी थिई । हामी तीनजना खेल्दाखेल्दै झुक्किएर दिदीले हानेको एउटा सानो मट्याङ्रो जत्रो ढुङ्गो त्यस केटीको टाउकोमा लाग्यो । केटी रुँदै घरतिर लागी । हामी पनि वस्तुभाउ छाडेर घरतिर भाग्यौँ । घरमा आमा खाटमाथि निदाउनु भएको थियो । हामी दुबैजना आमा सुतेको खाट पछाडि लुक्यौँ । हामी लुकेको कुरा आमालाई थाहा भएन । केटीको बाबु आएर कराउन थाल्यो, ‘तिम्रा छोराछोरीले मेरी छोरीलाई ढुङ्गाले हानेर भागेर आएका छन् ।’ आमा बिउँझनु भयो र ‘खोइ कहाँ छन् मेरा छोराछोरी ?’ भनेपछि उसले भन्यो, ‘ऊ तिम्रा खाटमुनि लुकेका छन् ।’ निकैवेर वादविवाद भएपछि ऊ फक्र्यो ।

यस्ता अनेकन सम्झना छन् । एउटा लेखमा बाल्यकाल र आमाको सम्झना लेखेर सकिँदैन । हरेक आमाको प्रवृत्ति प्रायः आफ्ना सन्तानको गल्ती ढाकछोप गर्ने हुन्छ । मेरी आमाले पनि कहिलेकाहीँ स्नेहवस् त्यसो गर्नु भयो होला । आज हामीबिच आमा हुनुहुन्न, तर मैले आफ्नी आमाबाट सिकेका यी कुराहरु अनुकरणीय छन्:

१. नियमित स्नान गरी सफा सुग्घर बस्नु र भगवानलाई सम्झनु । सफा कपडा लगाउनु ।

२. सरसामान सुरक्षित र व्यवस्थित राख्नु ।

३. ढाँट्नु हुँदैन ।

४. लेनदेनमा बेइमानी गर्नु हुँदैन ।

५. गुरु र ज्ञानीहरुको कहिल्यै अनादर नगर्नु ।

६. कसैले विश्वासघात गर्छ भने त्यसतिर कहिल्यै फर्केर नहेर्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button