वृद्दाश्रममा पनि त्यहाँ पु-याउने त्यही सन्तानको चिन्ता गर्छिन् आमा
अञ्जु आचार्य
उपाध्यक्ष, दुप्चेश्वर गाउँपालिका, नुवाकोट ।
आमा । एउटा ओजपूर्ण शब्द । प्राकृतिक पूर्णता । र, प्रत्यक्ष देवीको अवतार । शब्दभित्रको त्यो मीठास र अपनत्व सायदै अरु कुनै शब्दले प्रतिविम्बित गर्न सक्छ ।
गर्भदेखि चिहानसम्ममा कुनै एउटा पूर्ण सम्बन्ध छ भने त्यो हो, आमा । शब्दभित्रको गहिराइ एउटा अबोध बच्चाले निकाल्दै गरेको तोतेबोलीमा निहित हुन्छ । गर्भभित्रबाट शुरू हुने त्यो आभाषले त्यतिबेला सार्थकता पाउँछ, जतिबेला एउटा पूर्णतत्वबाट अर्को पूर्ण तत्वले यो धर्तीमा आफ्नो पहिलो नयन उघार्दछ, पहिलो पाइला राख्दछ र धर्तीमा आफ्नो अस्तित्वलाई अवतरण गरेको हुन्छ ।
एउटी नारी आमाको कोखबाट जन्म लिएर फेरि आमाकै रूपमा प्रस्तुत हुनुपर्दा उनले एउटा चक्र पूर्णचक्र पार गरेकी हुन्छिन् । अनेकौं शारीरिक तथा मानसिक परिवर्तनहरुलाई चिर्दै उनले गर्ने संघर्ष हेर्दा, देख्दा र सम्झिँदा जति कहालीलाग्दो देखिन्छ, त्यति नै सन्तुष्टी र आत्मसम्मानले भरिपूर्ण रहेको हुन्छ ।
आमा नै त्यो शब्द हो, जसले हरेक दुःख र पीडामा पर्दा आफूलाई सुरक्षित महसुस गराई आत्मबल बढाउनका लागि प्रकट गर्ने गरिन्छ । आमासँग गासिएका ती सम्बन्धहरु यति प्रिय र सौहार्दले भरिएका हुन्छन् कि ती अव्यक्त भावनाहरु व्यक्त गर्नका लागि कुनै शब्दहरु भेट्न सकिदैंन ।
संसारमा सबैभन्दा ठूलो सम्पत्ति नै आमा हुन् । कुनै पिढीले बुझ्ला नबुझ्ला तर नियतपूर्वक या बदनियतपूर्वक बृद्धाश्रममा पु-याइएकी एउटी आमाले उनको भन्दा पनि बढी चिन्ता उनलाई बृद्धाश्रम पु-याउने तिनै सन्ततिको लागिरहेको हुन्छ ।
बिनास्वार्थ माया, दया र करूणाकी खानी, साक्षात् देवीकी प्रतिमूर्ति आमाको गाथा अपरम्पार छ ।
सम्पूर्ण आमाहरुमा मेरो नमन !