कान्छो पुत्र सोध्छ, ‘तपाईको काशी’ कहिले जाने ?
ब्राम्हणपुत्र लकडाउन वृतान्त – १०
भरत शर्मा
न गंङ्गा न गया काशी पुष्करं न प्रयागकम् ।
शुकशास्त्रकथायाच्श्र फलेन समतां नयेत् ।।
श्रीमद्भागवतमहात्म्य अध्याय ३, श्लोक ३२
भागवत–कथा सुन्ना-पढ्नाले जस्तो फल पाइन्छ, त्यस्तो फल त गङ्गा, गया, पुष्कर, काशी, प्रयाग आदि तीर्थमा स्नान र दान गर्नाले पनि पाइन्न ।
लकडाउन डायरी यात्रामा आज ‘काशी’ यात्रा गर्ने निर्णयमा पुगेका थियौं । हिजो ‘पशुपतिनाथ कथा’ लेखेका थियौं ।
श्रीमद्भागवत महापुराणमा महापुराण पढ्यौं, सुन्यौं भने कुनै तीर्थ जानु पर्दैन । घरमै बसी तीर्थ गरे बराबरको फल मिल्छ भनेर महर्षि वेदव्यासले भनेको हामीले कसरी काट्न सक्छौं ।
कोरोनाकाल छ । घरभित्र परिवारसँग बसेका छौं । बाहिर निस्कनु नहुने सरकारी उर्दी छ । यस्तो समयमा गर्ने भनेको ‘शब्द यात्रा’ नै हो ।
सन् १९९९ मा पहिलो पटक मामाको कटु वचन सहन नसकेर भागेर बनारस गएको थिएँ । त्यसपछि हरेक बर्षजस्तो बनारसमा आउनेजाने क्रम जारी थियो । सन् २०१९ को जनवरीमा भारतको बनारस, प्रयाग र अयोध्याको यात्रापछि काशी यात्रा रोकिएको छ ।
त्यसपछि आकाशमार्गबाट उत्तर चीनको कैलाश पर्वत हुँदै चीनको हनान प्रान्तमा अवतरण गरेपछि दक्षिणतिर होइन, उत्तर देशतिरको बसाई बाक्लो भएको हो । दक्षिण भारतका यात्रीलाई नेपाल यात्रा गर्न प्रेरित गर्ने काममा लागेको दुई दशकको बीचमा भारतका २६ प्रान्तमा पाइला टेक्ने अवसर पाएँ । तर, मलाई भारतको सबैभन्दा मन पर्ने स्थान भनेको उत्तरप्रदेशको बनारसस्थित ‘काशी’ हो, जहाँ शिवको बासस्थान विश्वनाथ छ ।
पहिलेको कुरा हो, ‘न्याय नपाए गोर्खा जानु, विद्या हराए काशी जानु’ । काशीमा संस्कृत भाषाको अध्ययन, अनुसन्धानका लागि अहिले पनि संसारका अध्येताहरु काशी आउने–जाने गरेका छन् । त्यहाँका गल्लीहरु काशीका विशेषता हुन् । नयाँ मानिस ती गल्लीमा हराउने गछैन्… । म शुरुका दिनमा कयौं पटक ती गल्लीहरुमा फनफनी घुमेको छु ।
काशी जाने भनेको गंङ्गा स्नानका लागि हो । भारतबर्षभित्र उत्तर भएर बग्ने एकमात्र गंगा नदी काशीमा मात्र रहेको छ । त्यसैले काशीमा बग्ने नदीलाई उत्तरबाहिनी पनि भनिन्छ । त्यहाँको अर्को विशेषता भनेको ‘काशी’ गंगा नदीको घाट यात्रा हो । सन् २००५ सम्म काशीका घाटरु निकै सफा थिए । विस्तारै ती फोहोर हुन थाले । अहिले त अझै दुर्गन्धित हुँदैछन् तर पनि मानिसको आस्थालाई फोहोरले अलिकति पनि कम गरेको छैन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो ‘काशी’ । दुई पटकसम्म त्यहाँबाट निर्वाचित भएर दुई पटक प्रधानमन्त्री भए । पछिल्ला दुई बर्षदेखि गंङगा नदीदेखि सिधैं फराकिलो बाटोबाट ‘काशी विश्वनाथ मन्दिर’ जान सकिने बाटो बनाउने काम चलिरहेको छ ।
काशीमा नियमित पाँच बर्ष बिताएँ । काशी विचित्रको स्थान हो । त्यहाँका मानिस हरपल जागा भएजस्तो लाग्छ । त्यसको कारण भनेको काशी विश्वनाथ हो । काशी विश्वनाथ मन्दिरमा विहान ३ बजेदेखि राति ११ बजेसम्म नित्य पूजा अर्चना हुने गर्दछ । उनकै शक्ति र भक्तिले काशीबासी सधै जागा भएजस्तो लाग्छ ।
काशी विश्वनाथ मन्दिरमा हाम्रा दाजु बाग्लुङ जिल्ला निवासी टेकनारायण पौडेल उपाध्याय अर्चक छन् । वेद, न्याय, दर्शन, ब्याकरण, कर्मकाण्डमा निपूर्ण दाजु प्रतिस्पर्धाका आधारमा मन्दिरका अर्चक भएका हुन् । काशीमा पढेका भएका दाजु काशी नरेशका पुरोहित पनि हुन् ।
भारतीय प्रधानमन्त्री मोदी काशी यात्रा गर्दा काशी विश्वनाथ दर्शन गर्न जाने हो भने दाजुको खोजी हुन्छ । दाजुले वाचन गरेका वेदका ऋचाहरु सुनेर मोदी मन्त्रमुग्ध हुन्छन् । भारतीय सुपरस्टार अमिताभ बच्चनका बुहारी विश्व सुन्दरी ऐश्वर्या काशी विश्वनाथ दर्शन यात्रामा जाँदा पनि दाजुको खोजी हुन्छ । ऐश्वर्यालाई वेदका ऋचा र शान्तिपाठ सुनाएपछि दक्षिणामार्फत पाएकोे मोटरसाइकल चढेर दाजु काशीका गल्लीहरुमा कुद्थे ।
काशीमा मोटरको भन्दा साइकल र मोटरसाइकलको बढी महत्व छ । मैले छात्र हुँदा पनि साइकल किनेको थिएँ । साइकल चढेर काशीका गल्ली–गल्ली यात्रा निकै बहादुरी गरेजस्तो लाग्थ्यो ।
‘काशी’मा बस्दाको समयतालिका फरक थियो । बिहानको ब्रम्हमुहूर्त समय चार बजेभन्दा अघि उठिसक्नुपर्ने । त्यसपछि गंगा स्नान, जप, तप, सन्ध्याबन्दन, अध्ययन आवृत्ति । बिहानैदेखि पाठशालाको नियम अनुसार पठन–पाठन । मचाहिँ फूर्सद भयो कि गंगा घाटमा गएर घुम्न आएका तीर्थयात्रीलाई काशीको महत्व सुनाउदै घुमाउन खोज्थेँ ।
अङ्गेजी, हिन्दी र केही नेपाली मिसाएर भए पनि यात्री घुमाउने र खुसी बनाएर टिप्स पाएपछि आफू र सहपाठीहरुलाई मिठाई खुवाउने मेरो काइदा थियो ।
एक दिन मिठाई नपाएकोले छात्रावासमा सँगै बस्ने सहपाठीले छात्रावास प्रमुखलाई कुरा लगाएदिएछन् । भरतले विदेशी गोरालाई घाटमा घुमाउने काम गर्छ भनेर उल्टो कुरा लगाएपछि छात्रावासका व्यवस्थापक मदन शर्माले लौरीले पिटे । एकहप्ता विरामी परेको कहिल्यै भुल्न सक्दिनँ । त्यसबेला मैले दक्षिण भारतीयलाई घुमाएको थिएँ । जे जानेको थिएँ, त्यही अङ्गेजी भाषामा भनेको थिएँ ।
ती छात्र अल्छी थिए र खान चाहिँ घ्यू लगाएका २६ वटा रोटीसमेत खान सक्ने खन्चुवा थिए । ब्राम्हण भोजनको निम्तो आएर खबर आउने वित्तिकै पहिलो एक नम्बरमा धोती बोरेर दौड्ने ती सहपाठी अहिले कर्मकाण्डी काम गरेर काशी र विहार यात्रामा डुलिरहेका छन् भन्दै थिए अर्का मित्र मुकेश शर्माले ।
‘काशी’ जाने भनेको विश्वनाथ दर्शन गर्न पनि हो । हरेक दिन विहान र रात्रीको समयमा दर्शन गर्न जाने हाम्रो तालिका थियो । हामी छात्रहरुलाई मन्दिरका सुरक्षाकर्मीले रोक्ने कुरै भएन । हाम्रो लागि मन्दिर जाने बाटो फरक थियो । मन्दिर सुरक्षाकर्मीहरुले मन्दिर जाने बेलामा ‘पंण्डित जी रामराम’ भन्थे । फर्केने बेलामा ‘जी पंण्डितजी कुछ फल दिजिए’ भन्थे । मिठाईको आशा राख्ने सुरक्षाकर्मीको मित्रवत व्यबहारले मन्दिर यात्रा निकै सहज थियो ।
काशीमा पढ्ने छात्रहरुलाई त्यहाँका ब्यापारीहरुले माया गर्थे । पानको पसलेहरुले बोलाएर ‘एक ठो’ पान खानलाई अनुरोध नै गर्दथे । काशीको अर्को मिठास भनेको चिया हो । काशीमा सकेसम्म माटोको पुरियामा चिया खाने चलन छ । हामीलाई त उनीहरुले कहिल्यैं कपमा चिया खान दिएनन् । माटोको पुरियामा हालेको चियालाई शुद्व चिया मानिन्छ । जेरी, पुरी, लस्सी काशीको अरु विशेषता हुन् ।
यदि मसँग दुईवटा पंङ्ख भएको भए बिहान काशी स्नान गरेर जेरी पुरीको स्वाद लिएर काठमाडौं फर्कने थिएँ । अहिले त स्वाद सम्झेर बेलाबेलामा ‘काशी’को जेरी र मिठाइको कुरा गर्दा कान्छो पुत्रले ‘कति काशी काशी भनेको ‘तपाईको काशी’ कहिले जाने हो, म पनि जान्छु’ भन्छ ।
काशीबाट पढेर आएपछि मेरो मावलीतिरका तीनजना हजुरबाले मलाई निकै माया गर्नुभयो । तिनैजना हजुरबामध्ये जेठो भागवत वाचक, माइलो कर्मकाण्डी र कान्छो ज्योतिषी । काशीमा गएर मैले संस्कृतमा पूर्वमध्यमा र उत्तरमध्यमा अध्ययन गरेको खबरले तिनै जना हजुरबा खुसी भएर दिनुभएको आशीर्वाद नै अध्ययन यात्राको सबैभन्दा ठूलो उपहार भयो ।
अहिले पनि बेलाबेला सपनामा हजुबाहरुले सम्झनु हुन्छ । भनिन्छ नि, शरीर जले पनि आत्मा त कसैको पनि मरेको हुँदैन । उहाँहरुले आफ्ना सन्ततिले गरेको सत्कर्ममा स्यावास् र गलत काम गर्दा होसियार भन्नुहुन्छ भन्ने मान्यता राख्ने भएकाले होला, मलाई त हजुरबाहरुको पथमा हिँड्दा सबैभन्दा आनन्दको अनुभूति हुन्छ ।
आजलाई यति नै । भोलि फेरि आइहाल्छु ।