थाइल्यान्डमा ‘जे’ भयो, पशुपतिमा पखाले
'पशुपतिनाथमा बसेर छली कुरा गरेकोले त्यसमा पनि क्षमा माग्नु प-यो' भन्दै मित्रले पशुपतिनाथको गजुरतर्फ फर्केर 'मेरो सबै गल्ती माफी दिनुहोला, अर्कोपटक थाइल्याण्ड पनि जान्न । पत्नीसँग छली कुरा पनि गर्दिन' भन्दै घरतिर लागे ।
ब्राम्हणपुत्रको ‘लकडाउन’ वृतान्त – ९
भरत शर्मा
‘संक्रमण र मृत्यु मात्रै होइन, उच्च मनोबल बढाउने समाचार पनि दिऔँ न साथीहरू हो !’, पत्रकारहरुको लेखनको लेखाजोखा गर्ने प्रेस काउन्सिल नेपालमा कार्यरत मित्र दीपक खनालले सामाजिक सञ्जालमा पोष्ट गरेपछि राष्ट्रिय समाचार समितिका अङग्रेजी शाखाका प्रमुख दीपराज सन्यालले कमेन्टमा लेखे, ‘तथ्यसँगै सकारात्मकता पनि पस्कनु पर्छ ।’
दीपक र दीपराज दुवै मेरो एमफिलका सहपाठी हुन् । दीपकको अनुरोध र दीपराजको तथ्यभित्र पनि सकारात्मकता दिने चाहनालाई मैले चाहिँ सलाम गरेँ ।
दुवै दीपहरु सवल र मिजासिला सत्पात्र हुन् । सरकारी सेवामा काम गर्ने दुवै पत्रकारको अनुरोधलाई मनमौजी निजी संस्थामा काम गर्ने पत्रकारहरुले पालना नगरेपछि उनीहले मनको बह पोखेका हुन् ।
कोरोना महामारी भाग–२ ले मुलुकको स्वास्थ्य सेवा प्रणाली नै काम गर्न नसक्ने अवस्थामा पुगेको खबर छ । सिंहदरवार र बालुवाटारमा बस्ने हुकुमी शासकहरु स्वास्थ्य संकटकाल घोषणा गर्ने कि नगर्ने अन्योलमा छन् ।
कोरोना सङ्कमण ‘ग्राफ’ उक्लदै छ । यस्तो बेला पत्रकारहरुले तथ्यसँगै सकारात्मकता पस्कनु पर्ने हो ।
संङ्क्रमित र मृतककको संख्या एकातिर होलान् । निको हुने विरामीलाई आत्मबल, मनोबल र रोगसँग लड्न सक्ने क्षमता बृद्धि हुने सामाग्री प्रस्तुत गर्दा सङ्क्रमित कम हुने र निको हुने दर पनि बढ्थ्यो थियो कि ?
सरकारले लकडाउन घोषणा गरेको दिनदेखि नेपालनाम्चामार्फत नियमित लकडाउन डायरीमा हामीले दिन खोजेको विषय भनेको ‘तथ्यभित्र सकारात्मकता’ नै हो । आत्मबल र मनोबल उच्च राख्ने सामग्री लेख्ने ध्येय हो हाम्रो । सम्पादक अशोक सिलवाल हरेक दिन नाम्चामार्फत ‘मनोबल’ उच्च हुने सामग्रीको खोजीको एकल यात्रामा घोत्लिरहने एकलकाँटे सम्पादक हुन् । उनी मर्दी हिमाल पुग्दा होस् वा लाङटाङको फेदी, ‘काखे कम्प्युटर’बाट हिमालका फोटाहरु पोष्ट गरेर शान्ति र सद्भावको खबर दिन पछि नपर्ने ‘मुसाफिर’ सम्पादक हुन् ।
राजनीतिक कुरा कम, जनजीवनको कुरा बढी सम्पादन गर्न रुचाउने सिलवालले शुक्रबारदेखि राजनीतिक विषय होइन, संस्कृति र सकारात्मकतामुखी लेखनका लागि उर्दी जारी गरे ।
राजनीतिका कुरा पाठकले पढ्न, सुन्न र हेर्न छोडिसके । यतिबेला मानिसहरु अध्यात्म, ज्ञान, शान्ति, सद्भाव, कला, साहित्य र स्वास्थ्यबर्धक कुरा पढ्न चाहन्छन्, त्यसैले हाम्रो लेखनमा आत्मा शान्ति हुने खुराक पस्कनु पर्छ ।
डायरी नियमित अध्ययन गर्ने प्यारा मित्रमण्डली, सबैमा नमस्कार र आरामको कामना गर्छु ।
सम्पादकको आदेशपछि आजदेखि ‘चार नाथ’को बारेमा लेखौं हैं त ।
श्री पशुपतिनाथ, श्री मुक्तिनाथ, श्री विश्वनाथ र श्री जगन्नाथ ।
भारतबर्षभित्रका नेपाल खण्डको दुई नाथ र हिन्दुस्तान क्षेत्रभित्र दुई गरी ‘चार नाथ’को बसोबास छ । आज पशुपतिनाथको बारेमा कुरा गरौं ।
हामी अहिले पशुपतिनाथको क्षेत्रभित्र बस्छौं । देशका विभिन्न शासकहरुले राज्य गरे पनि नेपालको प्रमुख शासक र संरक्षक भनेको श्री पशुपतिनाथ हुन् । हामी सबै उनकै छत्रछायाँमा छौं ।
२०४० बर्षको राजतन्त्रको आयु सकियो । लोकतन्त्रको जन्म भयो । यो पनि सकिएलाजस्तो छ । फेरि आउने शासनमा जो आए पनि पशुपतिनाथको शरणमा जानुको कुनै विकल्पै छैन ।
हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र पक्ष विपक्ष दलका नेताहरु पशुपतिनाथ पुगेका छन् । प्रचण्ड पनि कुनै दिन शनिको क्षमा पूजाका लागि पशुपति जाने भविष्यबाणी ज्योतिषीहरुले गरेका छन् ।
यसपटक त पशुपतिनाथको गर्भगृहमा सुनको जलहरि समेत राखिएको छ । नेपाली लोक समाजमा सुनपानीले मन-शरीर शुद्व हुने परम्परा छ । अब पशुपतिनाथ जाँदा सुनको जलले अभिषेक गर्न पाइन्छ ।
संसारका सनातनीहरु कमसेकम जीवनमा एकपटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् । भारत बर्षभित्रका सबै देवी, देवता, तीर्थ, धाम सबैको दर्शन गरे पनि पशुपतिनाथको दर्शन गरेको छैन भने यो अधुरो यात्रा हुने शास्त्रीय वचन छ ।
बागमती नदीको तट, श्लेश्मान्तक बन, रहेको पाशुपत क्षेत्रमा सनातनीका सबै देवीदेवताको वासस्थान रहेको छ । के छैन पशुपतिनाथ क्षेत्रमा ? दिनको एकपटक समय लगाएर पशुपतिनाथ घुम्ने हो भने थाहा लाग्छ, पशुपतिनाथमा के छ भन्ने कुरा । उद्योगी, व्यापारी, नेता, दुःखी र सुखी, भोगी सबैको आश्रय भनेको पशुपतिनाथ हो ।
जन्मदेखि मृत्युसम्मका १६ संस्कार गर्न सकिने त्यो स्थान । मुल थलो कैलाश भए पनि शिवको सबैभन्दा प्यारो ‘घर’ हो पशुपतिनाथ ।
पशुपतिनाथ पहिलोपटक २०५० साल जेठ ६ गते टेकेपछि अहिलेसम्म जारी छ । हजारौं यात्रीलाई पशुपतिनाथको महत्व जनाउँदै दर्शन, पूजन र क्षमायाचना गराउने काममा सहभागी भएको छु ।
पशुपतिनाथको ऐतिहासिकता र महत्वबारे हजारौं लेख प्रकाशित छन् । आज पशुपतिनाथको महत्वको बारेमा लेख्नु अक्षर खर्च मात्र हुनेछ । त्यसैले एउटा रोचक कथामार्फत पशुपतिलाई सम्झन्छु ।
केही बर्षअगाडि सरकारी तालिमको सिलसिलामा थाइल्याण्डको राजधानी ‘बैङ्कक’ पुगेको बेला साथीहरुको लहैलहैमा लागेर ‘एक नारी ब्रम्हचारी’ तप तोडेपछि मेरा एकजना सरकारी सेवामा कार्यरत मित्रको मनमा अनेक चिन्ता र भयले डेरा जमाएछ । उनले थाइल्याण्डबाट खबर गरे, ‘गल्ती गरेँ, यसको लागि क्षमा कहाँ, कसरी माग्ने ? लौ न उपाय चाहियो ।’
‘विमानस्थलबाट सिधै पशुपतिनाथ गएर क्षमापूजा गरेर मात्र घर जाने हो भने मन शान्त हुन्छ’, मैले जुक्ति निकालेँ, ‘अहिले तपाईंको मन मात्र विग्रेको हो नि ? तपाईलाई कसैले क्षमा दिन्छ भने त्यो पशुपतिनाथले मात्र हो ।’
साथी त, नेपाल फर्कदा विमानका परिचारिकाले दिएको भोजनसमेत नखाइकन ‘ब्रम्हचर्य क्षमापूजा’ गर्न विमानस्थलबाट सीधै पशुपतिनाथ हानिएछन् । विधिपूर्वक क्षमा पूजा गरेपछि घर गए । क्षमापूजाको आखिरीतिर घरबाट फोन आयो । ‘बाटोमा जाममा छु, ढिलो हुन्छ’ भनेर छली कुरा गरेछन् ।
‘पशुपतिनाथमा बसेर छली कुरा गरेकोले त्यसमा पनि क्षमा माग्नु प-यो’ भन्दै मित्रले पशुपतिनाथको गजुरतर्फ फर्केर ‘मेरो सबै गल्ती माफी दिनुहोला, अर्कोपटक थाइल्याण्ड पनि जान्न । पत्नीसँग छली कुरा पनि गर्दिन’ भन्दै घरतिर लागेछन् ।
मित्र ब्राम्हणकुलका सत्पात्र हुन् ‘तर ऋषिमुनीहरुले सहन गर्न नसकेको गल्ती मबाट पनि भयो’ भन्दै उनले जीवनमा पहिलोपटक अक्षभ्य अपराध गरेको महुसुस गरे र पशुपतिनाथको शरणमा पुगेर माफी मागे ।
सत्य कथाले यही भन्छ, हामी सबैको गल्तीको क्षमा माग्न जाने स्थान ‘पशुपतिनाथ’ नै हो ।
मित्रले पशुपतिनाथसँग क्षमा मागेर गएपछि घरमा र मनमा शान्ति भएको अनुभव अहिले पनि बेलाबेलाका भेटमा सुनाउने गर्छन् ।
पशुपतिनाथ दर्शन र पूजनको लागि जानेहरु सबैजसो ‘समस्या’ मात्र लिएर जाने गर्छन् । हर्ष, खुसी, उन्नति र प्रगति भएको खबर लिएर जानेहरु निकै कम हुन्छन् ।
नेपालमा आउने भारतीय पर्यटकको पहिलो गन्तव्य नै पशुपतिनाथ हो । तीर्थयात्रा सेवामा लागेको दुई दशकको बीचमा कुनै भारतीय पर्यटकले पशुपतिनाथसँग सुख साटेको अनुभव छैन । सबै दुःखको पोको लिएर पशुपतिनाथसँग प्राथना गर्छन् ।
तीर्थयात्रीहरु पशुपतिनाथको दर्शन गरेपछि गुहेश्वरी, बौद्धनाथ, बुढानिलकण्ठ र स्वयम्भुनाथको दर्शनपछि एक दिनको यात्रा समाप्त हुन्छ । सनातनीहरुलाई मात्र मन्दिर प्रवेश अनुमति भएकाले विदेशीहरु मुलमन्दिरको बाहिरी क्षेत्रको अवलोकन गरी रमाउने गर्दछन् ।
पशुपतिनाथमा बागमती तटमा विगत केही बर्षदेखि साँझ नियमित गंगा आरती हुने गरेको छ । आरतीमा सहभागी हुन युवा, बयस्क र बृद्धहरुको सोमवार र शनिवार ठूलै भीड हुने गर्छ भने अन्य बार पनि संख्या बाक्लो नै हुने गरेको छ । लकडाउनमा दर्शनार्थी नहुँदा पनि आरती नियमित चलिरहेको छ ।
अहिले पशुपतिनाथ दर्शनार्थीलाई प्रवेशमा रोक लगाए पनि नित्यपूजा चलिरहेको छ । चारै ऋतु ३६५ दिन पशुपतिनाथमा नित्यपूजा र आरती हुने यो पावन क्षेत्रमा अध्यात्म शक्ति उर्वर छ ।
पशुपतिनाथको दर्शन विधि छ । मूल ढोकामा प्रवेश गर्नुभन्दा पहिले गणेशको दर्शन गरी आफ्नो नाम, गोत्र उच्चारण गर्ने, मुल ढोकाबाट प्रवेश गरेपछि शिवका रक्षक ‘बासुकीनाग’को दर्शन गरी श्रीयन्त्र, बागमति र सूर्यको दर्शनपछि मात्र मन्दिरको गर्भगृहमा दर्शन गर्न सकिन्छ ।
दर्शन–विधि निकै महत्वपूर्ण हुन्छ तर अधिकाँश दर्शनार्थीहरुलाई दर्शन विधि थाहै छैन । दर्शनार्थी सीधा मुल मन्दिरमा प्रवेश गर्छन् । पशुपतिनाथ मात्र होइन, सनातनी मठ–मन्दिरमा दर्शन विधि बुझेर दर्शन गर्दा निकै आनन्ददायक हुन्छ । हाम्रा सबै ३३ कोटी देवीदेवताहरु विराजमान भएको एकमात्र पवित्रस्थल पशुपतिनाथ हामी कति पटक पुगेका छौं ?
शिवको प्रिय नाम ‘राम’ भएको शास्त्रीय प्रमाण पेश गर्दा महेश आश्रम देवघाटका स्वामी रमणानन्द गिरीले शुक्रबार अध्यात्म रामायणको दार्शनिक चिन्तन प्रवचनमा भन्नुभयो, ‘शिवजीभित्र राम तत्व र रामभित्र शिव तत्व रहेको छ ।’ हामी दुःख पर्दा राम–राम भन्छौ । जीवनको इहलीला समाप्त हुँदा शिवको घरमा गएर ‘रामराम सत्य’ भन्ने गर्छौं ।
कोरोना महामारीले आज पनि ५० आत्माहरुलाई पशुपतिनाथ नजिकै पु-याएको छ । सबैको आत्माको शान्तिको लागि ‘रामराम सत्य’ भन्नुपर्ने भएको छ ।
मृत्यु शास्वत सत्य हो, हिजो, आज वा भोलि । मृत्युसँग भन्दा पनि अहिले मानिस–मानिस बीच डर हुन थालेको छ । हरेक मानिसले आफूले आफैलाई सोध्न थालेका छन्, ‘मलाई किन मानिसको डर लागेको ?
मनोबल उच्च बनाउनु । श्री पशुपतिनाले हामी सबैलाई कल्याण गर्नुहुनेछ ।