कोरोना प्रेमकथाः स्पर्श

बबिता बस्नेत

बिरामी राखिएको आइसीयुको बाहिर सुनसान थियो । ऊ पुग्दा साँझको त्यस्तै सात बजेको हुँदो हो । डाक्टर, नर्स, बिरामी कुरुवा कोही पनि थिएनन् । बाहिरका मान्छेले अस्पतालको माथिल्लो तलामा रहेको आइसीयुसम्म पुग्न पाउने कुरा थिएन । तर, ऊ आँफै मेडिकल डाक्टर भएकाले कार्ड देखाएपछि पालेले माथि जान दियो ।

बिरामीमा कोरोना सङ्क्रमण देखिएकाले वरिपरि सुनसान थियो । अनपेक्षितरूपमा ब्लड प्रेसर बढेपछि सात दिनअघि अस्पताल पुगेका अनामलाई मुटुमा समस्या देखिएको रहेछ । मुटुको उपचार गर्दागर्दै कोरोना देखिएपछि आइसीयुमा उनी एक्लो बिरामी थिए । उनलाई अस्पताल भर्ना गरिएको कुरा थाहा पाउनासाथ उसले केही आफन्तहरूलाई फोन गरेर के भएको सोधेकी थिई । महिनौँ कुराकानी र भेटघाटन हुनु उनीहरूका लागि ठूलो कुरा थिएन तर सात दिनअघि दिउँसो ३ बजेतिर उनीहरूले भिडियोकलमा लामो कुरा गरेका थिए । एउटा आपतकालीन अप्रेशन सकेर आफ्नो कोठामा आएपछि उसैले फोन गरेकी थिई । व्यापारिक कम्पनीको म्यानेजर ऊ पनि बल्ल अलि फुर्सद भयो भन्दै आफ्नै कार्यकक्षमा ग्रिनटी पिइरहेको थियो ।

कुराकानीको क्रममा उसले ‘खै हेर न मलाई के भइराछ, बिहानैदेखि अलि अफ्ठ्यारोजस्तो भइरहेको छ’ भनेको थियो । लामो समयसम्म घर बसेकाले धेरैलाई त्यस्तै भएको भन्दै उसले सम्झाएकी थिई । सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वव्यापी हुँदै जाँदा नेपाल पनि त्यसबाट प्रभावित भएको थियो । सन् २०२० मार्चको अन्तिम सातादेखि लगाइएको ‘लकडाउन’८० दिनपछि खकुलो भएपछिको पहिलो दिन नै ऊ कार्यालय गएको थियो ।

‘लकडाउन’ मा स्त्रीरोग विशेषज्ञ डा. अर्चनाको ड्युटी थप बढेको थियो । व्यस्तताकै बीच पनि घरबाटै काम गरिरहेको अनामलाई के छ, कसो छ सोधिरहेकी हुन्थी । ठूलो व्यापारिक समूहको म्यानेजर भएकाले स्टाफ व्यवस्थापनलगायतका उसका आफ्नै प्रकारका तनावहरू थिए । अर्चनासँग कुरा गर्दा अस्पतालमा थप जोखिम भएकाले केयर गर्नका लागि ऊ सम्झाइरहेको हुन्थ्यो । तर ऊ आफै अहिले सङ्क्रमित भएर आइसीयुमा थियो । कोरोनाको बिरामी भनेपछि अस्पतालभरि सन्त्रास छाएको थियो । गेटबाहिरबाटै मानिसहरू भरखरकै छ रे, पुरुष हो रे भन्दै कुरा गरिरहेका थिए । कम्पाउन्डमा भेटिएको उसको भाइलाई अरू कोही आउनुभएको छ कि ? भनेर सोधी । जबाफमा उसले यस्तो बेलामा कोही आउने कुरै भएन नि, स९यो भने के गर्ने ? भन्दै जमिनको दूबोमा आँखा अड्याएको थियो । अस्पताल पुग्दै गर्दा उसकी पत्नी, छोराछोरी या नजिकका आफन्तहरूलाई कसरी पो सम्झाउने होला भनेर सोचिरहेकी उसलाई एउटा अप्ठ्यारो परिस्थितिबाट मुक्ति मिले पनि मन नरमाइलो भएर आयो । आफ्नै अस्पतालमा पनि उसले यसप्रकारका दृश्यहरू देखेकी थिई ।

कोरोना लागेको रिपोर्ट आएपछि सोधिखोजी गर्ने आफन्त र उपचार गर्ने डाक्टर नर्स सबै एकाएक गायब हुनेगर्थे । आइसीयुको बाहिर जुत्ता नदेखेर भित्र कोही छैन भन्ने प्रस्ट हुँदाहुँदै पनि कोही छ कि भन्ने ठान्दै पञ्जा लगाएका हातहरूले बिस्तारै धकेलेर ढोका खोली । वरिपरि खाली बेडहरूका बीच पर कुनाको भेन्टिलेटरमा अनाम मृत्युसँग सङ्घर्ष गरिरहेको थियो । केही दिन अघिसम्म त्यहाँ बिरामीहरू थिए भन्ने कुरा वरिपरिका बेडहरूको अवस्थाले बताउँथ्यो । केही बेडहरूलाई पार गर्दै ऊ सरासरअगाडि बढी । पश्चिमपट्टि सिरानी भएको बेडको पूर्वतर्फबाट जाँदै गर्दा ओछ्यानमा सिरकले नछोपिएका खुट्टाहरू देखिए । वर्षौंअघि देखेका खुट्टाका औँलाहरू उस्तै थिए । भेन्टिलेटरले उसको आधा अनुहार छोपेको थियो । हातका नाडीभरि स्लाइन पानी चढाउँदाका डोबहरू थिए । बेडसँगै अक्सिजन तथा अन्य स्वास्थ उपकरणहरू थिए ।
आँखा खोल्छ कि भनेर उसले केही क्षण अनुहारमा हेरी, अनाम‘ भनेर बोलाई तर आँखा खोल्ने अवस्था थिएन । मृत्युसँग सङ्घर्ष गर्दै गरेका धेरै मानिसहरू उसले देखेकी छ । आफूले बचाउन खोज्दाखोज्दै आँखैअगाडि कति मानिसहरूको मृत्यु भयो तर गाह्रो भए पनि त्यसरी सासै रोकिएलाजस्तो कहिल्यै भएको थिएन । पूर्णतः बेहोस उसलाई हेर्दैगर्दा आँखा आँसुले भरिए । दाहिने हात ओछ्यानमा थियो, देब्रे हात पेटभन्दा माथि छातीनजिक थियो । पञ्जा लगाएका औँलाहरूले बिस्तारै उसका हातहरू एकै ठाउँ ल्याई र च्याप्प समाई । वर्षौंअघिका स्पर्श ती औँलाहरूमा उस्तै थिए । आफ्नो हात र उसको हातलाई घरि तल घरि माथि गरेर छुँदैगर्दा बिस्तारै ती औँलाहरू चल्मलाए झैँ भए । उसले निधार छामी, औँलाहरूले निधारमाथिको कपाल मिलाई र फेरि दुवै हातले उसका हातहरू समाइरही । करिब २० मिनेटपछि उसका औँलाहरू चल्न थाले । हेर्दाहेर्दै उसले आँखा खोल्यो । तर ती आँखाहरू धेरै बेर खुल्ला रहन सकेनन् । करिब एक घन्टासम्म बस्दा त्यहाँ कोही पनि आएनन् । सायद तीन दिनदेखि नै उसको अवस्था त्यस्तै थियो । यस्तो पनि हुन्छ ?

बिरामीप्रति अस्पताल र डाक्टरहरूको दायित्वलाई लिएर पहिलोपल्ट उसलाई आक्रोश पैदा भयो । अब के गर्ने ? छोडेर घर जाऊँ, त्यस्तो अवस्थामा एक्लै कसरी छोडूँ ? नजाऊँ आफू बस्ने गरेर आएकै होइन । पञ्जा र माक्स लाए पनि पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) साथमा थिएन । त्यस अस्पतालका एक वरिष्ठ फिजिसियनसँग उसको राम्रो चिनजान थियो, बाहिर निस्किएर फोन गरी । उनलाई भेट्न ग्राउन्डफ्लोरतिर जाँदैगर्दा भाइले ‘दाइलाई कति बेला डिक्लियर गर्ने रहेछन् ?’ भनेर सोध्यो । जवाफमा उसले ‘डिक्लियर त मरेको मान्छेलाई पो गर्ने हो, उसलाई त केही दिनपछि डिस्चार्ज गर्नुपर्छ’ भनी । झनक्क रिस उठ्यो तर केही नभनी फटाफट चिनजानका डाक्टरको कोठातिर लागी ।

बिरामीलाई गरिएको बेवास्ताको बारेमा गुनासो गरेपछि एकजना नर्स राख्ने निश्चित भयो । अस्पतालको अनुमतिमा राती आफै बस्ने सोचेर कुरा गर्न गएकी थिई । तर भोलिपल्ट बिहानैदेखि उसको लगातारजस्तै अप्रेसनहरू थिए । आइसीयुमा डुयुटी बस्न खटाइएकी नर्सलाई एकजनाले नछोड्ने बाचा गराएर ऊघरतिर लागी । पार्किङ्स्थलमा साँचोले गाडी खोल्नुअघि पञ्जा खोली, हात सेनिटाइज गरी तर भरखरै उसलाई छोएका ती पञ्जाहरू फाल्न निकै गाह्रो भयो । उसको स्पर्शसहितका ती पञ्जालाई प्लाष्टिकमा बेरेर पाकिङ्स्थलमा राखिएको डस्टबिनमा फाल्दै गर्दा उसको स्पर्श नै फाल्न लागे झैँ गरी भावुक बनेकी थिई ।

गाडी स्टार्ट गर्नासाथ ठूलो पानी प९यो । दर्किएको पानीका बीच अँध्यारो बाटो छिचाल्दै घर पुग्दा रातीको ९ बजेको थियो । आफ्नो अस्पतालमा भर्ना भएकी एक बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि ऊ घरमा छुट्टै कोठामा बस्न थालेकी थिई । पति हाडजोर्नीका चर्चित डाक्टर थिए । दुवैजना अस्पतालमा काम गर्ने भएकाले घरमा सहयोगीले दिएको खाना आआफ्नै कोठामा खाएर सुरक्षित बस्ने गरेका थिए । छोराछोरी दुवै विदेशमा उच्चशिक्षा अध्ययन गरिरहेकाले आफ्ना कारणले उनीहरूलाई केही होला कि भन्ने डर थिएन । डा. साबले खानुभो ? सहयोगीलाई सोध्दै गर्दा डा. साबले आफ्नो ढोका खोलेर जँचाउन आउने मानिसहरूको भीड देखेर आफूलाई दिक्क लागेको र उनीहरू अलिकति पनि सचेत नभएको भन्दै केही छिन आफ्नो अस्पतालको फेहरिस्त बताए । आमुन्नेसामुन्ने उनीहरूको कोठा थियो । खाना खाँदै गर्दा अनामले केही खाएको छैन, म यसरी खाइरहेकी छु जस्तो लाग्यो तर भोक यति लागेको थियो कि उसले खाई । अस्पतालको सुनसान आइसीयु, भेन्टिलेटरमा रहेको उसको अवस्था, ओढ्नेले नछोपिएका ती खुट्टा (जो पछि उसले छोपिदिएकी थिई) आफूले छुँदाछुँदै चल्न थालेका ती औँलाहरू ‘जति बेला पनि आँखामा आएर झपक्कै सुत्न सकिनँ । राती नै डा. अमितालाई फोन गरेर आफूले असुरक्षित महसुस गरेकाले भोलिपल्टका अप्रेसनहरू गर्नका लागि अनुरोध गरी । डाक्टरहरूबीच यस प्रकारका पर्म चलिरहन्छन् । उसका लागि अनामका औँला भए पनि मेडिकल टर्ममा ती कोरोना सङ्क्रमितका हातहरू थिए ।आफूलाई कोरोना नसर्ने आत्मविश्वास हुँदाहुँदै पनि अरूलाई सुरक्षित बनाउनका लागि अस्पताल नजाने निर्णय गरेकी थिई ।

अनाम र अर्चना एउटै कलेजमा थिए । अर्चनाभन्दा ऊ केही वर्ष सिनियर थियो । दुवै बाहिरबाट आएर राजधानीमा बाँच्नलाई सङ्घर्ष गर्दैगर्दा साथीहरूसँगका भेटघाट र कुराकानीकै क्रममा एकार्कासँग नजिक भएका थिए ।३० वर्षअघि अहिलेजस्तो प्रेम व्यक्त गर्ने चलन र साधन दुवै थिएन । कि चिट्ठी लेख्नुपथ्र्यो कि भेट्नै जानुपथ्र्यो ।केटा पढ्दै काम पनि गर्ने भएकाले कलेजबाट चाँडै निस्किन्थ्यो ।निर्धक्क भेटेको सम्झना छैन तर भेट हुँदाको आफ्नोपन बिर्सिने खालको पनि छैन । कतै घुम्न गएको र एकान्तमा दुईजना मात्रै बसेको पनि होइन । साथीको कोठामा गएको बेला कहिलेकाहीँ दुईजना मात्रै हुँदा एकार्कालाई छोएको सम्झना छ ।केही वर्षको सङ्गतमा धेरै त होइन केही पटक विवाह भएर घरजम गरेको कल्पना पनि दुवैले नगरेका होइनन् । पछि खै के भयो ऊ मेडिकल पढ्न बाहिर गई ।अहिलेजस्तो इमेल, फेसबुक, मोबाइल केही थिएन । समयक्रममा करियर, विवाह, छोराछोरी उनीहरूको आआफ्नै संसार भयो । दुवै एउटै सहरमा थिए तर भेटघाट खासै हुँदैनथ्यो । साथीभाइसँगको सामूहिक भेटघाटमा एकार्कालाई देखेर खुसी लाग्थ्यो ।

पाँच वर्षअघि डाक्टरहरूको कार्यक्रममा भाग लिनका लागि ऊ धनगढी गएकी थिई ।ऊ पनि आफ्नो कामको सिलसिलामा त्यही पुगेको रहेछ । संयोगले उनीहरू एउटै होटलमा बसेका रहेछन् । साँझ डिनरमा भेट भयो, दुवैले एकार्काका व्यवसायका कुराहरू गरे ।अर्चनाको अस्पतालमा ड्युटीसँगै आफ्नै क्लिनिक थियो । डाक्टरहरू यति मरिहत्ते हालेर किन काम गर्छन् ? मुखमा आइसकेको प्रश्नलाई दबाउदै अनामले ‘तिमी अति व्यस्त छौ, फोन गर्न पनि अप्ठ्यारो लाग्छ’ भनेको थियो । भोलिपल्ट बिहान काठमाडौँ फर्किनलाई साथीहरूले लबीमा बिल तिर्दै गर्दा अनामसँग बिदा मागेर आऊँजस्तो लाग्यो र एक तलामाथि उसको कोठामा गई । ढोका खुल्लै राखेर ऊ आफ्नो कार्यक्रमका लागि प्रस्तुतिको तयारी गरिरहेको रहेछ । ढोकामै उभिएर उसले आफू फर्कन लागेको बताई ।

‘एक छिन बसन’ भन्दै कम्प्युटर अलि पर सारेर ऊ उठ्यो र ढोकाको भित्रपट्टि उभिएकी उसलाई दुवै हातले अँगालेर निधारमा चुम्बन गर्यो ।आफूले नसोचेको क्षण अनायसै आइपर्दा उसले न केही बोल्न सकी न केही गर्न नै ।

‘मेरो फ्लाइट छुट्छ’ यति भन्दै ऊ बाहिर निस्किई । कति बेला एयरपोर्ट पुगी, कति बेला घर पुगी केही सम्झना छैन । घर पुगेर कपडा पनि नफेरी ओछ्यानमा पल्टिएर आँखा चिम्लिई । २५ वर्षअघिको स्पर्श उस्तै थियो । जुन स्पर्शको महसुस उसले वर्षौंदेखि गर्दै आएकी थिई ।साँझमा पति र बच्चाहरू नबोली बसे पनि हुन्थ्यो नि जस्तो लाग्यो ।तर तीन दिनपछि भेट भएकाले उनीहरू तँछाडमँछाड गरिगरी बोलिरहेका थिए ।आफ्नो मनोदशा कसैलाई सेयर गर्न सक्ने प्रकारको थिएन । कति दिनसम्म त्यस घटनाले पिछा गरिरह्यो ।

डा. साबसँग घरमा झगडा पर्दा अनामलाई सम्झिएर उसलाई खुसी लाग्थ्यो ।कम्तीमा ऊसँग यसप्रकारका तनावहरू भोग्नुपरेन भन्ने कुराले उसलाई विवाह नभएको ठीक भयो जस्तो लाग्थ्यो । विवाहपछि धेरैका प्रेमहरू छरपस्ट भएको उसले देखेकी छ । अझ प्रेम–विवाह भएकाहरूको त समयक्रममा प्रेम हराएर विवाहमात्रै बाँकी रहेका घटना धेरै थिए । डा. साबसँगको सम्बन्ध त्यति नराम्रो थिएन तर सोचेजति राम्रो पनि थिएन ।विवाहलाई सम्झौताको रूपमा लिँदै दुवैजना सम्बन्ध धान्न सकेको कोशिस गरिरहेका थिए । धनगढीपछि धेरै लामो समय उनीहरूको भेट भएन । एकार्कालाई फोन गर्ने हिम्मत पनि गरेनन् । करिब छ महिनापछि उसैले तिमीलाई सञ्चो छैन कि जस्तो लाग्यो, हाउ आर यु ? भन्दै फोन गरेको थियो । त्यसपछि वेलावेलामा के छ कसो छ एकार्काको सोधिखोजी गर्थे । लकडाउनपछि उसैले भिडियो कल गरेकी थिई, जुन उनीहरूले गरेको पहिलो भिडियो कुराकानी थियो ।

अस्पतालमा उसलाई भेटेर फर्किएपछि ऊभित्र ठूलो छटपटीले ठाउँ लियो । ‘हे भगवान ऊ बाँचोस्’ मनमा जतिवेला पनि भगवान पुकार्थी । डाक्टर हुन् या वैज्ञानिक जीवनमा आपत्–विपद आइपर्दा पुकार्ने त आखिर भगवान नै हुन् । ऊ साथमा नभए पनि विगत ३० वर्षदेखि ऊ विनाको संसार बाँचेकै थिइन । त्यसैले ऊ नभएको संसार परिकल्पना गर्नु उसका लागि टाढाको कुरा थियो । अहिलेजस्तो जतिवेला पनि कुराकानी, भेटघाट हुँदै ओछ्यानमै पुग्ने सम्बन्ध हुँदो हो त अहिलेसम्म यो जीवित रहने थिएन कि जस्तो पनि लाग्छ । जीवनमा आउने–जाने मान्छेहरूको भीडमा खालिखाली धेरै मानिसहरू उसले देखेकी छ । उसकै कति साथीहरू त्यसप्रकारको जीवन बाँचिरहेका छन् । तर ऊ सधैँ प्रेमपूर्ण छ, सम्बन्धलाई लिएर उसलाई कुनै गुनासो छैन । ऊ कहिल्यै एक्लै भइन ।

बिहान अस्पताल पुग्दा सास बढेझैँ भएको थियो । अनामलाई देख्नर भेट्नका लागि आतुर ऊ ४९ वर्षको उमेरमा आफूलाई कलेज जीवनकी अर्चनाझैँ महसुस गरिरहेकी थिई । आइसीयुको दृश्य अघिल्लो दिनभन्दा फरक थियो । अनामको अनुहारमा भेन्टिलेटर थिएन ।स्लाइन फेरिरहेकी नर्सलाई आपफुलाई कोही भेट्न आए कि भनेर ऊ सोधिरहेको थियो । एक्कासि अगाडि अर्चनालाई देखेर उसको अनुहारमा चमक भरियो । नजिक पुग्न लाग्दा मलिन स्वरले ‘अलिपरै बस डा.साब’ भन्यो । नर्सले काम सकेर कुनाको कुर्सीमा बस्न गएपछि उसले भन्यो, ‘हेरन, कस्तो अचम्म भयो । मैले तिमीलाई सपनामा देखेको थिएँ, तिमी मलाई भेट्न आयौ ।’

‘हो र ?’ प्रश्नको जबाफमा भन्यो, ‘तिमीले मेरो हात समाएको, निधारमा छोएको र कपालहरू मिलाएको मलाई त सपनाभन्दा पनि साँच्चिकै हो जस्तो लागिरहेको छ ।म त मर्न लागेको रहेछु रे, कस्तो हेल्पलेस थिएँ ।तिमीले मेरो हात समाउँदा तिम्रो एनर्जी ममा ट्रान्सफर भएजस्तो भयो । तिमीले निधारमा छोएपछि मेरो मस्तिष्कले काम गर्न थाल्यो ।तर ब्यूँझिँदा तिमी थिइनौ । अनि मलाई नरमाइलो लाग्यो । देख्यौ, तिमी मेरा लागि कति महत्वपूर्ण छ्यौ ?’ चुपचाप सुनिरहेकी उसको एक्कासि फोन बज्यो । फोन हिजो भेटेका वरिष्ठफिजिसियनको थियो । टेलिफोनमा उनले तपाईंको बिरामीमा चमत्कारिक परिवर्तन आएको रिपोर्ट पाएको छु, बधाई छ भने । उसले धन्यवाद दिई तर आफू त्यहीँ छु भनिन ।

‘हेरन, आई रियल्ली वान्ट टु टच टु यु, आई वान्ट एनर्जी फ्रम यु बिपनामै, तर रोगै यस्तो लाग्यो !छुनै मिल्दैन’ भन्यो । ‘हो नि’ भन्दै जबाफमा उसले तिमी त पूरै ठीक भयौ, कस्तो राम्रो देखिएको छौ, अब केही दिन त हो सब ठीक हुन्छ भनी ।करिब दुई घन्टा बसेर बाहिर निस्कँदा उसका केही आफन्तहरू कम्पाउन्डमा थिए । ऊ नदेखेझैँ गरेर बाहिरिई ।

गाडी स्टार्ट गर्दैगर्दा परिचित पत्रकार कल्पनाको फोन आयो, अन्तर्वार्ताका लागिरहेछ । साँझ कुरा गरूँ भन्दै फोन राखेपछि ऊ धेरैपछि सङ्कटाको मन्दिरतिर लागी । साँझ फोनमा कल्पनाले डा. साब कति स्वास्थ्यको मात्र कुरा गर्नु ? आज अलि छुट्टै कुराकानी गरौँ कि भनेर भन्ने भूमिकासहित सोधी– ‘तपाईंको विचारमा प्रेम के हो ?’ अरू वेला भए हिजोआजका मिडियालाई प्रेम र सेक्सबाहेक त अरू प्रश्न गर्नै आउँदैन भन्दै ‘सरी नट इन्ट्रेस्टेट टु टक’ भन्ने थिई होला । तर त्यस्तो केही नभनी जबाफ दिँदै भनी– ‘प्रेम के हो त मलाई थाह छै न तर साँझको मधुरो प्रकाशमा, एक्लै बसेको बेला, आफूलाई मनपर्ने गीत सुनिरहँदा, ड्रिङ्क गरेका बेला, आकाशमा जून हेर्दा, राम्रो फूल देख्दा तपाईं कसैलाई सम्झिनुहुन्छ भने उही तपाईंले प्रेम गरेको मान्छे हो । तपाईं उसको साथमा हुनुहुन्छ या हुनुहुन्न भन्ने कुरासँग प्रेमको खासै सम्बन्ध छैन ।’

अन्त्यमा भन्दै पत्रकारले सातौँ प्रश्न गरी– तपाईंको व्यक्तिगत जीवनको सबैभन्दा ठूलो उपलब्धि के हो ? योचाहिँ अफ द रेकर्ड है’ भन्दै जवाफमा उसले भनी– मैले प्रेम गरेको मानिससँग मेरो विवाह भएन । आफ्नो प्रेमलाई जोगाएर राख्नु नै मेरो व्यक्तिगत जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।’ (अक्षरांशबाट)

(तपाईं पनि आफ्ना कथा नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button