सम्झना कसरी गरुँ त्यो भूईंचालोको

सुशीला शर्मा

सन् २०१५ अर्थात वि.स. २०७२ सालको बैशाख महिनामा गएको विनाशकारी महाभुकम्पले त्यो ‘धरहरा ढलेको, भक्तपुरमा मानिसहरु घरले पुरेको, बानेश्वरको सडकमा मानिसहरु चिच्याउँदै भागेको, गोँगबुमा कतितले घर ढलेको … ‘यस्तै यस्तै समाचारका दृष्य मानसपटलमा आइरहन्छ ।

२०७२ सालमा नेपालमा गएको भुकम्प पहिलो ७ दशमलव आठ म्याग्नीच्युड र तुरुन्तै १८ दिनपछिको अर्को भुकम्प ७ दशमलव ४ म्याग्नीच्युडको थियो भनिन्छ । आठ हजार छयालिस व्यक्तिको निधन तथा सत्र हजार आठ सय व्यक्ति घाइते भएको यस त्रासदीपूर्ण घटना सजिलै विर्सन कहाँ सकिन्छ र ? यो भुकम्पबाट संयोगवश बाँचेका हामी । जापानलाई भुकम्पको देश भन्थ्यौं हामी तर नेपाल पनि त भूकम्पकै देश रहेछ नि भन्ने पनि यही भुकम्पले महसुस गराइदियो । अझै पनि स साना भुकम्प गइरहेकै छन् र परकम्प नै भनेर हामी समाचार पढ्ने गछौं । भुकम्प र पृथ्वी चलायमानका कुरा अध्ययन अर्को पाटो हो । यहाँ मेरो भुुकम्पको नितान्त व्यक्तिगत अनुभव बाँड्दै छु । भुकम्प गएको हो या आएको हो या चलेको हो कि के हो तर पृथ्वी हल्लेको भने अवश्य हो र यो त प्रकृया नै पो रहेछ ।

हुन त मैले २०७२ सालको भूँईचालोको बारेमा त्यतिबेलै डायरीमा लेखेर राखेकी थिएँ । तर, त्यो डायरी डेरा सर्ने क्रममा कुन कुनामा पुग्यो खोजेको खोज्यै छु । तर ठीकै छ विस्मृति नै त भइसकेको छैन भनेर फेरि सम्झने प्रयास गर्दैछु ।
आज यो लेख्न बसिरँहदा पनि दिन कस्तो धुम्म छ न पानी पर्छ न घाम लाग्छ । दिक्क लाग्ने खालको । हो, २०७२ साल बैशाख १२ गते पनि दिन विहानदेखि नै अध्यारो थियो । कसै कसैले त यस्तो दिन भयो भने केही अनिष्ट हुन्छ भनेका पनि थिए रे । अनि त्यस्तो भन्ने व्यक्तिलाई अर्को व्यक्तिले पछि भूँईचालो आइसकेपछि यसको जिब्रो कालो छ कि क्या हो ? कालो जिब्रो हुने मान्छेले जे बोल्यो त्यही ठयाक्कै मिल्छ पनि भनेका थिए रे । किस्सा पनि सुनियो त्यतिबेला ।

हामी २०७२ साल बैशाख १२ गतेका दिन लगनखेलमा डेरामै थियौं । शनिबार थियो विस्तारै घरको काम र खाना पनि बनाउँदै थिए म । मेरोमा हेटौंडाबाट बुवा आउनु भएको थियो । छोरा मामाघर गएको भएर उसलाई पुर्याउन पनि र बुवालाई सन्चो नभएकोले फलोअप जाँच पनि गर्ने भनेर वहाँ आउनु भएको थियो । बुवाको विसन्चो बढ्दै गईरहेको थियो । शनिवार त विहानैदेखि बुवालाई काम ज्वरो आउला जस्तो भईरहेको थियो । नजिकैको मेडिकलमा नाम लेखाएर पालो पनि कुरिरहेका थियौ जाँचको लागि । मेरो श्रिमान कुनै काम विशेषले विहानै बाहिर निस्कनु भएको थियो त्यो दिन ।

बुवाले बिस्तारै गएर आफ्नो स्वास्थ्य जाँच गराउनु भयो । तर, क्लिनिकमा केहीबेर बसुन्जेलमा पनि वहाँलाई असह्य पीडा भईरहेको थियो । काम ज्वरो र शरीर दुखाई अनि रिंगटाले गर्दा । थुप्रै जाँच गर्नुपर्ने भएपछि बुवा फर्केर डेरामा आउनु भयो । हामी खाना साना खाएर आआफ्नो सुरमा म आफू मोबाइल हेर्दै थिएँ होला, सायद बुवा ओछ्यानमा पल्टिरहनु भएको थियो । छोरा अर्को कोठामा थियो भने श्रीमानजी बाहिरबाट आइपुग्नु नै भएको थिएन ।

अचानक हल्लिएको महसुस भयो । हामी बसेको घरमा हामी तेश्रो तलामा बस्थ्यौं । घर यस्तरी हल्लाइरह्यो कि हामी केही सोच्नै नसक्ने भयौं । हातमा बोकिरहेको मोबाइल फालिदिएँ मैले । सुनेथेँ, यस्तोमा ढोकामा कतै बस्नुपर्छ भनेको । छोरालाई बोलाएर बुवासँगै हामी तीनजना हातमा सिरानी लिएर टाउको माथि राख्दै ढोेकाको कुनामा गएर कोच्चियौं । (आखिर ढोकाको कुनामा कोच्चिने कुनै बैज्ञानिक आधार त होईन रहेछ) एकछिनसम्म भूँईचालोले हल्लाईरहेपछि छोरा धेरै नै आतिइसकेको थियो । ऊ भाग्न खोज्दै थियो । यता बुवा पनि आफ्नो बिमारीसँगै यो प्राकृतिक प्रकोपले के गर्ने हो भन्ने भयले चिन्तित हुनुहुन्थ्यो ।

म भान्साभरी बाल्टिन, जारमा राखिएका पानी, माथि छतबाट ट्यांकी छचल्किएर आएको पानीले कोठा जलमग्न भएकोतिर ध्यान पुर्याउँदा पुर्याउँदै छोरा त बाहिर निस्किसकेछ । छोरा निस्केको पत्तै थिएन । लगनखेलको सानो गल्ली पार गरेर हामी बसेको घर पुगिन्थ्यो । एकछिनपछि भूँईचालो मत्थर भएपछि थाहा भयो, हामी बाहिर निस्कने गल्लीमा अर्को अग्लो घरको छतबाट पानीको टयांकी खसेको रहेछ । ओहो ! अहिले पनि मुटु सिरिंग हुन्छ छोरो त्यो टयांकी खसिसकेपछि बाहिर निस्क्यो या ऊ बाहिर पुगिसकेपछि टायांकी खस्यो ? अब हल्लाखल्ला, रुवावासी, समाचारहरु व्यापक हुन थाले । कतिबेरसम्म मोबाइलको नेटवर्क पनि आएन् । बल्लबल्ल श्रीमानजीको फोन आयो, त्यता नबस्नू । मिडाट हस्पिटल निकै बलियो गरी बनेको छ यतै आउनु भनेर । हामी बसेको घर मिडाट हस्पिटलसँगै टाँसिएको थियो । हामीले हेर्दाहेर्दै त्यो प्राइभेट हस्पिटल त्यहाँ बनेको थियो । हामीलाई सजिलो पनि भएको थियो कि जे बिरामी भए पनि त्यहाँ जाने । छोराले बाहिर गएर बाबालाई भेटिसकेको थियो । म पनि बुवालाई लिएर बाहिर निस्केँ । बुवाको स्वास्थ्य अवस्था नाजुक नै भइसकेको थियो । साना साना परकम्पहरु गई नै रहेका थिए ।

मिडाट हस्पिटलका भित्ताहरु यसो चिहाएको त ठाउँठाउँमा चिरा परेको पो देखिन्छ । बेला बेला मोबाइलमा नेटवर्क देखिन्थ्यो र देशैभरी यस्तो भएको, उस्तो भएको, यो प्रलयले पृथ्वी नै कतै … मान्छेहरु निकै अतालिएका थिए । फेरि उता गाउँको (गोटिखेल) मा आमाबुवा मात्रै घरमा बस्नु हुने । त्यता त वरिपरि भएका आठ दशवटा घर त सबै नै बम पडिकएका जस्तो आवाज आएर भत्किए रे । धन्न आमाबुवाहरु बाहिर बारीमा काम गर्दै हुनुह्ुन्थ्यो र केही भएन । गाउँमा पनि मानवीय क्षति त नभएको तर बाख्रा, भैंसीलगायतलाई पनि चोटपटक लागेको भन्ने खबर आयो । हामी निशब्द भयौं ।

अन्यौल थियो, परकम्प गएको गयै थियो । बुवा बिरामी हुनुहुन्थ्यो । त्यतिबेलैदेखि त्यही मिडाट हस्पिटलमा पनि भूकम्पले घाइते भएका बिरामीहरु आउन थालिसकेका थिए । फेरि अस्पतालको चर्केको भित्ताहरु देखेपछि र घरी घरी थरर भवन हल्लाईरहेपछि त्यस सुरक्षित भनिएको स्थानमा बस्ने आँट पनि भएन् । हामी अब खुला चौरमा जाने भनेर लगनखेलमा अवस्थित नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको चौरमा गयौं । त्यही चौरमा चप्पल ओछ्याएर एक दुई घण्टै बस्यौं । परकम्पहरु आइरहेकै थिए । यतिकैमा धापाखेलमा बस्ने वैनी (देवरानी) ले फोन गरिन् । हामीलाई आउनुस् यस्तो आपत छ सबै परिवार संगै बसौं भनेर । हामी एकप्रकारले खुसी पनि भयौ कि यस्तो आपतमा एकै ठाउँमा बस्नु नै ठीक हुन्छ भनेर । तर मेरो बुवा निकै बिरामी हुनुहुन्थ्यो । हामीले यो कुरा गर्यौ र बुवालाई पनि लिएर आउनुस भनेपछि हामी धापाखेल गयौं । साँझ पर्दै गएपछि, बुवालाई त झन् झन् च्याप्न थाल्यो । श्रीमानजीलाई पनि उता गाउँको पीर एकठाउँमा थियो भने यता पनि के गर्ने भइरहेको थियो । विजुली थिएन् । चारैतिर अन्धकार थियो, घरभित्र नबस्ने भनेर सबैले खुल्ला ठाउँमा आआफ्नो टेन्ट पनि बनाइसकेका थिए । हामी भने बिरामी बुवालाई भित्रै राखेर घरी भित्र घरी बाहिर गरिरहेका थियौं । हेटौंडाबाट पनि फोन आइरहेको थियो । त्यहाँ पनि साना नानीहरु लिएर आमा, बुहारीहरु बसेका । आतिइरहेका । घरको चोटो भत्कियो भनिरहेका । ओहो ! कहाली लाग्छ अझै पनि । भाई त्यतिबेला नेपालगञ्जमा थियो । त्यो भूईचालोको पहिलो रात बुवा सिकिस्त भएर श्रीमान र कान्छो भाई (देवर) भएर नजिकैको सुमेरु अस्पताल लैजानुभयो । म भने घरी बाहिर र घरी भित्र गर्दै बुवालाई जाउलो बनाउनेतिर लागँे । हामी त्यस रात सुत्ने निदाउने गर्न सकेनौं । मेरो मनभित्र त आगो नै दन्किरहेको थियो, बुवाको स्वास्थ्य अवस्थाले ।

सुमेरु अस्पताल पनि चर्किएको थियो । घाउ चोटपटक लागेका घाइतेलाई प्राथमिकता दिने भनेर अरु बिरामीहरुलाई त्यति ध्यान पनि दिइएको थिएन । बुवाको सुगर, प्रेसर र किड्नीमा असर गरेको भन्ने पत्तासम्म लाग्यो र स्लाईन लगाएर औषधी दिदै अस्पतालमै राखियो ।

म त्यतिबेला महिला र बालबालिकासँग काम गर्ने गैरसरकारी संस्थामा काम गर्थें । शनिबार र आइतबार छुट्टि थियो । त्रासका बाबजुद पनि परिवार छोडेर कार्यालय जानुपरेको थिएन । तर, म अरु दुइ चार दिन नै म कार्यालय जान सकिनँ । आफ्नै हालत एकदम खराब भइरहेको थियो । श्रीमानजी पनि गाउँ जानु भयो । त्यता पनि आफूले सकेको गाउँमा सहयोग र बा आमाको हेरचाह गर्नुपर्ने थियो । हामी लगनखेल डेरामा फर्कन सकेका थिएनौं । माथ्लो तलामा बस्न जान हाम्रो आँटै आएको थिएन् । भूईचालो गएको चारदिनपछि हामी अफिस गयौं । बैठकमा सहभागी भयौं । साथै यस्तो अवस्थामा संस्थाका कर्मचारीले झन् सेवामा जुट्नुपर्नेमा हामी बेखबर भएकोमा निकै आलोचना पनि खेप्यौं । तर। हाम्रो पनि त जीवन जोखिममै थियो नि । अनेक पीडा पनि थियो । आफू रहे पो अरु सेवा गर्न पाईन्छ भन्ने सोच्दै पाँचौ दिनदेखि काममा फर्कियौं ।

गाउँमा हाम्रो गोठचाँहि नभत्किएकोले थुप्रै जना अटाएर संगै बसेर आमा बुबा र छरछिमेकीले पनि ओत लिनु भएछ । एकातिर भूँईचालोको त्रास र अर्कोतिर पानी परेको पर्यै । बैशाख भए पनि जाडोले थुर्थुर् काम्नुपर्ने थियो ।

भूँईचालो गएको सात दिनपछि भाईले आएर बुवालाई हेटौंडा लिएर गए । बुवालाई सन्चो भएकै थिएन तर विशेषज्ञ डाक्टरहरु पनि सबै व्यस्त भएको भएर बरु हेटौंडा नै गएर चेक जाँच गराउने सल्लाह बमोजिम बुवालाई हेटौंडा लगेर फेरि एकहप्ता अस्पताल नै भर्ना गरेपछि बल्ल बुवाको स्वास्थ्यमा सुधार आयो । हामी परिवारका मनमा अलिकति राहत महसुस भयो । आफ्नो स्वास्थ्यमा सकारात्मक बदलाव आएपछि बुवा आफ्नो नियमित योग, प्रातकालिन हिडाईं शुरु गर्नुभयो र सुगरको ईन्सुलिनलगायत अन्य औषधी पनि सेवन गर्दै नियमित दिनचर्यामा फर्कनु भयो । आफू बिरामी परेको एक महिनाकै अवधीमा बुवाले कोही एक आदरणीय व्यक्तिको जीवनी लेखिदिन मद्धत पनि गर्नूभएको थियो । बल्ल बुवाको स्वास्थ्यप्रति हामी आशावादी पनि भयौं ।

पहिलो भुकम्प गएको १८ दिनपछि पुःन अर्को भूईचालो गयो । यो त्यही पहिलो भुकम्पको परकम्प थियो तर निकै ठूलो नै थियो । म कार्यालयमै थिएँ, छोरो युसिमासको अन्तिम परीक्षा दिन गएको थियो । र उसले पढ्ने युसिमासको कक्षा ५ तला माथि थियो । यो कुमारीपाटीमा थियो । धन्न छोरो परीक्षा दिएर बाबासँग फर्किसकेको थियो । यो भूइचालोमा चाँहि बाबा छोरा त्यति आत्तिएका थिएनन् । बरु सँगै बस्ने छिमेकीहरुलाई नआतिन र बाहिर निस्कन सहयोग गरिरहेका थिए । म पनि यो दोश्रो भूँईचालोपछि हतासिदै अफिस छोडेर साथीसंगै डेरा फर्किएँ । प्रत्येक परकम्पमा पनि मेरो बानीचाँहि हतासिएर दौडिने नै भएछ ।

हामीले यस अवधिमा समुदायमा गएर आफूले जानेका बुझेका तालिमहरु सञ्चालन पनि गर्ने गर्यौ र कतैबाट आएका राहतहरुलाई व्यवस्थापन गर्ने काम पनि गरिरह्यौं ।

हामी डेढ महिनासम्म धापाखेलमै बस्यौं । बीचमा सातदोबाटोमै अर्को डेरा खोज्यौं, सामान सार्यौ एक महिनाको भाडा पनि तिर्यौ तर त्यस घरमा पनि हामी बस्न सकेनौं । त्यो घर बिना पिलरको रहेछ र पर्खाल भित्ता चर्किएका थिए । एकजना हितैषी साथीको मद्धतले हामीले फेरि सातदोबाटोमै अर्को डेरा खोज्यौं र २०७२ असारदेखि आजपर्यन्त हामी सातदोवाटोमै बसिरहेका छौं । भुकम्पसम्बन्धी कयौं लेखहरु खोज्यौ पढ्यौं । सामाजिक सञ्जालमा सेयर गर्यौ । प्राकृतिक विपत्ति र अझ यो जमिनमुनिका कुरा भविष्यवाणी गर्न नसकिने । सारै त्रासदीपूर्ण हुने रहेछ । आफ्नो एक्लो ज्यान बचाउने कि आफूसँग सम्बन्धित ज्यानभन्दा प्याराहरुलाई पनि संगै सुरक्षित राख्ने भन्ने दोधार जस्तोसुकै संकटमा पनि हुने रहेछ । जानेको बुझेको चाँहि आतिएर हाम फाल्ने, दौड्ने कतै कुनामा लुक्नेचाँहि गर्न नहुने रहेछ । हाम्रा शहरहरुमा भएका घरहरुको कल्पना गर्ने हो भने त कति जोखिम छ कति । यो त राज्यले नै पनि र घर बनाउनेले पनि सोचबिचार नगरी हुँदैन् । दुर्घटना र विपतिहरु संकेत गरेर आउने हैनन् । तैपनि होस पुर्याउँदा अप्ठयाराहरुबाट बच्न मद्धत नै पुग्दछ ।

गाउँमा पनि र मेरो बुवा आमाको घर हेटौंडामा पनि हाल पुरानो घर छैनन् । नयाँ भुकम्प प्रतिरोधी घर बनेको छ । हामी केही सहज महसुस गर्न सक्ने भएका छौं । हामी सबैले आफ्ना परिवार, साथीभाई, समुदायमा अन्य विषय जस्तै गरेर मानवलाई थाहै नदिई ठूलो नोक्सानी पुर्याउने भुकम्पजस्ता प्राकृतिक विपत्तिको विषयमा पनि उतिकै छलफल, सरसल्लाह र नियम बनाएर सोही अनुसार चल्नु समयको आवश्यकता हो । विपदहरुमा र हरेक दुःखहरुमा धैर्यता कायम गर्दै, सम्हालिदै अरु जोखिममा परेकालाई सहयोग गर्न भने छोड्नु हुन्न भन्ने पाठ भने मेरो जीवनमा भूँईचालोले अझ राम्ररी सिकाएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button