भूकम्पले ब्राम्हणपुत्रको बिचल्ली

भरत शर्मा

दुई हजार एक सय ९० दिन पहिले अर्थात २०७२ साल बैशाख १२ गते शनिवार, गंगासप्तमी, अप्रिल महिनाको २५ तारिखलाई कयौं पटक भुल्न खोजे पनि नसक्ने दिन भयो इतिहासमा ।

मध्यान्ह्रको समय भन्दा अलिअघि केवल एक मिनेटभन्दा पनि कम समयमा प्रकृति रिसाउँदा भोग्नु परेको पीडा शब्द, लय, भाव र भङ्गीमा व्यक्त गर्न सकिन्न । तैपनि हरेक बर्षको बैशाख १२ को दिनलाई सम्झेर केही लेखौं–लेखौं जस्तो लाग्छ । होइन, यो दिनलाई भुलौं भनेर हजार प्रयास गर्दा पनि भुल्न कठिन ।

गत बर्ष पनि भुकम्प गएको दिन कोरोना महामारीको कारण घरभित्र बसेर घैदी जीवन विताउनु परेको थियो । यो बर्ष पनि उही चाल जस्तो कोरोना महामारीको दोस्रो चरणले फेरि घरभित्र बस्नु पर्ने आदेश पर्र्खेर बस्न बाध्य छौं । एक मनले भन्छ, सरकारले गर्ने लकडाउन घोषणा पर्खेर नबसौं । आफैं आफूलाई लकडाउन गरौं । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कनु नै भलो होला । आफ्ना भलो त जगत भला भनिन्छ ।

समय यस्तो आयो, आफूलाई सबै किसिमले सुरक्षित राख्नु पर्नेछ ।

कोरोना महामारीको असर निकै लामो हुने देखिन्छ । ग्रह, नक्षत्र, आकाशमण्डल र संवत्सरका असरहरु पनि छन् । ज्योतिषशास्त्रले भन्छ, ‘समय खराब छ, त्यसैले संयमित हुनुमा नै आफ्नो र जगतको भला हुनेछ ।’

आजको दिन २०७८ बैशाख १२ मा संसारका मानिसका मनमा चैन छैन । अर्थात शरीर बलियो भएजस्तो भए पनि मन कमजोर भएको अवस्था छ ।

गतबर्ष उत्तरछिमेकी चीनमा सुरुमा देखिएको कोरोना यस बर्ष फेरि दक्षिण छिमेकमा महामारीको रुपमा फैलिएको समाचारले हाम्रो मन खिन्न भएको अवस्था छ । उत्तरी छिमेकीका कोरोना कम र दक्षिणमा बढी भएको छ । अस्पतालमा उपचार र अक्सिजन नपाएर मानिसको मृत्यु भएको खबर सुनेर आत्माको शान्तिकामना बाहेक गर्न गर्न सक्ने अवस्था छैन ।

यस्तो विचल्लीको बेला हामीले १२ बैशाख २०७२ लाई पनि भुल्न सकेका छैनौं । त्यो दिन नेपाल भूखण्डमा आएको विनाशकारी भूकम्प र त्यसले सिर्जेको वेदनालाई कसरी बिर्सने ? सोही दिन नेपालको ऐतिहासिक धरहरा ढलेको थियो तर ६ बर्ष पछि ठीक भूकम्प गएको अघिल्लो दिनको शुभसाइतमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर अलिकति भए पनि भुकम्पको पीडालाई भुल्ने सन्देश दिन सफल भएका छन् । हिजो धरहरा उद्घाटन भएको खबरले भुकम्पका कारण विचल्लीमा परेका हामीजस्ता नागरिकले सन्तोषको अनुभव गर्न पाएका छौं ।

कोरोना महामारीको दोस्रो लहरसँगै विनाशकारी भूकम्पको बार्षिकी मनाउदैं गर्दा के लेख्ने होला भनेर सोच्दै थिएँ । तीन दिनअघि साँझ नेपालनाम्चाका सम्पादक अशोक सिलवालबाट फोनमार्फत विषयवस्तुको पृष्ठिभूमिसहित अनुरोध-आदेशजस्तै आयो, बैशाख १२ का दिन लेख्नुपर्ने विषय र शीर्षक ।

‘भूकम्पले ब्राम्हणपुत्रको विचल्ली’ यो शीर्षकमा केन्द्रित भएर हद्य छुने लेखन चाहियो, सम्पादक मित्रको आदेश आजसम्म मैले हुँदैन, सक्दिनँ, लेख्दिनँ भन्न सकेको छैन र भविष्यमा पनि सक्दिनँ । त्यसैले हुन्छ तर लेख बैशाख १२ गते विहान १० बजे लेख्न शुरु गर्ने १२ बजेभित्र पठाइसक्ने निधो भयो । सम्पादकको आदेश र मेरो शर्त अनुसार समयलाई मैले बुकिङग गरेर राखेको थिएँ ।

विगतलाई स्मरण गर्नु, इतिहास केलाउनु र सत्य कुरा लेख्नु लेखकको नैतिकता हो । तपाईंले आफनो धर्म नछाडी लेख्नुहोला । बीच–बीचमा सम्पादक सिलवालको निर्देश र लेखको पृष्ठभूमि सम्झँदै तीनदिन अघि तयार भएको लेखको ‘स्लट’ डायरीमा उतारेको थिएँ ।

२०७१ साल चैत २५ गतेबाट मेरो जीवनमा विचल्लीमा पर्ने दिन शु्रु भएको थियो । सोही दिनबाट मेरो साढे साती दशाको अन्तिम बर्ष थियो । शनि ग्रहले शाररीक र मानसिक कष्ट दिनेछ, होसियार भनेर पहिल्यै सचेत भएको थिएँ ।

दिनदिनको पत्रकारिता पेशाबाट सिफ्ट भएर पर्यटन सेवामा दिनरात खटिरहेको थिएँ । विमानस्थल, पशुपतिनाथ र दिनभर पाहुना घुमाउने काममा व्यस्त थिएँ । काम अनुसारको माम अर्थात अर्थोपार्जन पनि राम्रैं थियो । एउटा ट्राभल्स कम्पनीको मालिकको रुपमा बिहानदेखि रातिसम्म काम गर्दाको उर्जा थियो । भारत, मलेसिया, सिङ्गापुर, जर्मनबाट आएका पाहुना घुमाउने, विमानस्थलमा लिन जाने, एकसाता घुमाएर विमानस्थलमा विदाइ गर्ने काम राम्रो थियो । पाहुना खुसी भएर दिने ‘टिप्स’ रकम कार्यालयमा आएर खनखनी गन्दा एकप्रकारको रमाइलो लाग्थ्यो ।

२०७२ बैशाख लागेपछि जाँगर कम हुँदै थियो । शनिको प्रभाव होला भनेर शनिवार शनि साधना, जप र ध्यान थप हुँदै थियो । प्राकृतिक विपत्ति टारेर टार्न नसक्ने जस्तै भयो बैशाख १२ शनिवारको दिन ।

त्यस पनि दिन विहान नियमित भन्दा अलि बढी पूजापाठ गरेँ । काठमाडौं उपत्यकाको उपल्लो भक्तपुरको कौशलटारमा बसोबास थियो मेरो । विहान १०ः३० मा कार्यालय जाने र केही टिकट बनाउने भनेर घरबाट निस्केर मोटरसाइकल चलाउदै कोटेश्वर पुगेपछि शहर जान मन लागेन । पुनः बासस्थान फर्किएँ । मनमा चैन थिएन । सोच्न नसक्ने, रिगटा लागेजस्तो, फनफनी चक्कर लागेको, झनक्क रिस उठने, शरीरमा कमजोरीपन, टाउको दुखेको अनुभव र चक्कर लागेर भुँइमा लडौं जस्तो भएको थियो ।

शनिको प्रभाव होला । अबदेखि केही महिना शनिवारको दिन घरमैं बस्ने, जप, ध्यान, पाठ गर्नु नैं भलो होला भनेर सोच्दै थिएँ । एक्कासी पृथ्वी हल्लियो, भागाभाग भयो, मानिस घर छोडेर खाली जमिनतिर दौडन थाले । त्यतिबेला गोरखाको बारपाक केन्द्र भएर विनासकारी भूकम्प आएको रहेछ ।

टेलिफोन र विजुली बन्द हुन थाल्यो । मेरो मनमा चिसो पस्यो । मेरो घरमा के भयो होला ? गाउँमा आमा र मामालाई के भयो होला ? शहरमा दुई छोरा र श्रीमती साथ थिए ।

त्यतिबेला विकल्प भनेको भगवान नाम स्मरण थियो । नमः शिवाय, राम, कृष्ण, हुनमानको याद गरेँ । जे भयो, प्रकृति माता रिसाउनुभयो । विनाश हुने भयो । शहर र गाउँमा भएको विनाशको खबर विस्तारै एककान दुईकान हुँदै फैलदै थियो ।

भारत र चीनबाट मित्रहरुले मलाई सम्झँदै म्यासेज गरे । सबैलाई म काठमाडौंमा सुरक्षित छु भन्ने खबर दिएँ । तर गाउँ र आमाको खबर केही पाउँन नसक्दा मन बेचैन भयो ।

गरिखाने कार्यालय रहेको ठमेल क्षेत्रमा ठूलो क्षति भएको खबर, गाउँमा सबै घर ध्वस्त भएको खबर र आमा पनि गाउँघरमा नभेटिएको सूचनाले विचल्लीमा परेको अवस्था थियो ।

सम्पर्क गर्ने माध्यम मोवाइलमा चार्ज थिएन । भूकम्पको पराकम्पनले होला, शरीर शिथिल भएर सोच्ने र के गर्ने भन्ने निर्णय गर्न नसक्ने अवस्थामा पुगेको थिएँ । त्यतिबेला साथ दिने कोही मित्र, आफन्त भएनन् । साथमा थिए, दुई साना छोरा र श्रीमती ।

यस्तै हो, विपत्तिमा रामनाम जप लिनु नै राम्रो । जे भयो भयो । अब हामीले केही गर्न सक्दैनौं । प्रकृतिले दिएको दण्ड भोग्नुको विकल्प छैन भनेर मन द¥हो बनाउन खोजेँ । दुईदिनपछि आमाले धर्ती छोडेको सपनामा संकेत भयो । जहाँ जन्म भयो, जहाँ बालपन विताउनुभयो, आफूले बनाएको घरभित्र आमाले प्राण त्याग्नु भयो भन्ने निधो भएपछि गाउँतिर लागेँ । तर म कहाँ कसरी, किन हिँडेको छु, के खादै छु, किन जादै छु कोही सोच्न सक्ने अवस्थामा थिइनँ । अर्धमुर्छिच्त अवस्थामा थिएँ म ।

श्री पशुपतिनाथलाई सम्झँदै मनमा बचैन बोकेर गाउँयात्रा गर्दा मैले बाटोमा कसरी यात्रा गरेँ, ती कुरा भुलेँ । गाउँ पुगेर आमाको प्राकृतिक विपत्तिको मृत्यु नियम संस्कार अनुसार क्रिर्याकर्म गरे ।

२०७२ साल विचल्लीको बर्ष भयो । घर परिवारमा आमाको मृत्यु र बन्दव्यापार ठप्प भएको अवस्थामा आफन्त र मित्रहरुको सहयोग नपाउँदा खिन्न भएँ । आपतमा कमैैंमात्र साथ पाइँदोरहेछ । ज्योतिीषी आधारमा पनि साढे साती दसाको अन्तिमचरणका बेला आफन्त र मित्रको कमैमात्र साथ पाइन्छ । आर्थिक संकट, व्यबहार भताभुङ्ग, शिवको दरवार (पशुपतिनाथ) पनि जान नपाइने, मठ मन्दिरका ढोका बन्द, घरमा धुपबत्ती नहुने भएपछि कति उजाड भयो जिन्दगी ?

साथ र सहयोग नभएपछि कति कठिन हुने रहेछ जिन्दगी भोग्नेलाई थाहा हुन्छ । व्यापारिक ब्यबहार पनि भताभङ्ग भयो । काम केही नहुँदाको निरास अवस्थामा चलेको जिन्दगीमा कही कतैबाट सहायता नपाउँदा ‘यस्तै रहेछ जिन्दगी भोग्नु पर्दछ आफैले’ भन्ने गीतको भाका याद आउँथ्यो ।

२०७२ असाजपछि केही सान्त्वनाका खबर आए । भारतबाट मेरा सह्रदयी गुरु र मित्रहरुले तिमीलाई हामी सहयोग गर्छौं, तिमी चिन्ता नगर भन्ने शब्दको साथ पाएँ । चीनमा रहेका मेरा मित्रहरुले मेरो लागि भनेर केही रकम पनि पठाइदिएका रहेछन् । चीनबाट पाएको सहायताले ठमेलमा रहेको कार्यालयको भाडाको बाँकी रकम चुक्ता गरेँ । लगभग एक बर्ष व्यापारका कुनै काम भएन । कार्यालयको सामान आफू बस्ने डेरामा लिएर जान बाध्य भएँ । त्यसपछि कार्यालय झोलामा परिणत भयो । तैपनि हतास र हरेश नखाइकन पर्यटनका काम र पढ्नेलेख्ने काम निरन्तर जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button