नाच्दानाच्दै रोएको त्यो दिन
श्रीरामसिंह बस्नेत
लाखौं नेपालीले जिन्दगीमा कहिल्यै पनि बिर्सिन नसक्ने एउटा मिति हो– २०७२ वैशाख १२ गते शनिवार । त्यो दिन काठमाडौं उपत्यकाको मौसमको मूड बिहानैदेखि अफ थियो, ठुस्किएकी प्रेमिकाजस्तै । दिन धुम्मिएको थियो, न त वैशाखी घाम लागेको थियो, न त पानी पर्न सकेको थियो ।
केही दिन अघिदेखिको पूर्व योजनाअनुसार राष्ट्रिय समाचार समिति (रासस) कर्मचारीहरुको वनभोज कार्यक्रम थियो काठमाडौंको उत्तर–पूर्वी दिशामा अवस्थित ऐतिहासिक जहरसिंहपौवामा । दिन धुम्मिए पनि पिकनिकको चहलपहलले सबैलाई उत्साहित बनाएको थियो । वरिष्ठदेखि कनिष्ठ सबै राससकर्मी जहरसिंहपौवामाथिको डाँडामा भेला भईसकेका थियौं, रिजर्भ बस र अफिसका साना गाडीहरुको माध्यमबाट । रासस कहिल्यै पनि बन्द गर्न नमिल्ने संस्था भएकोले केही साथीहरु पिकनिक नगई राससको समाचार सेवा सञ्चालनमा व्यस्त थिए भने पिकनिक गएकाहरु पनि कतिपय पिकनिक सकेर सोझै अफिस पुगी साँझ र रातिको समाचार सेवामा कार्यरत हुने मनस्थितिमा जहरसिंहपौवा पुगेका थिए ।
डाँडाको टहरा र खुला पातलो जँगलमा खाजा र नाचगानको दौर चलिरहेको थियो भने तास खेलेर मनोरञ्जन लिनेहरु आफ्नो हातमो तास सभाल्नमै मग्न थिए । विभिन्न परिकार पकाउने काम अर्को टहरामा चलिरहेको थियो । महिला सहकर्मीहरुको वैंसालु नाचगानले रनवन घन्किरहेको थियो । यसरी पिकनिकको रौनक आफ्नो पूर्ण जवानीमा फक्रिरहेको थियो । पिकनिकको रौनकमा मानिसले आफ्नो उमेर कम्तीमा पनि दश वर्ष घटेको महसुस गर्छ भन्छन् । हामी सबै त्यही महसुस गरिरहेका थियौं । त्यसैबेला अचानक डाँडा हल्लिएको अनुभव भयो । पहिला त के भएको हो मेसो पाइएन । एक क्षणमा थाहा भयो, भूकम्प पो गएको रहेछ ।
काठमाडौंमा पहिला पनि बेलाबेलामा भूकम्पको धक्का महसुस हुने गरेकोले मैले त्यस्तै मात्र होला भन्ने सोचें । एकक्षण पछि फेरि जोडले हल्लाएपछि सबैको सातो गयो । एकक्षण अघिसम्म पूरा जोशमा नाचिरहेका महिलाहरु रुवावासी गर्न थाले । विशेष गरी घर वा डेरामा साना केटाकेटीहरु छोडेर आएका आमाहरु धेरै चिन्तित भए, जो स्वभाविकै थियो । त्यसपछि मोबाइल फोनबाट आ–आफ्ना प्रियजनहरुसँग सम्पर्क गर्न खोज्दा लाइन नलागेर चिन्तामाथि चिन्ता थपिएको थियो ।
मलाई हामी जहाँ छौं, त्यो ठाउँ भूकम्पको दृष्टिले सुरक्षित लागिरहेको थियो । किनकि हामी बसेको टहरा भुईंतले र जस्ताले छाएको थियो, वरिपरि कुनै ठूला घर वा संरचना थिएनन् र डाँडाका रुखहरु पनि पातला र होचा किसिमका थिए । यसै आधारमा मैले सबै साथीहरुलाई नआत्तिकन त्यहि डाडाँमा बस्न आग्रह गरें । तर मलाई मनभित्र कता कता डाँडा नै फाट्यो वा पहिरो गयो भने चाँहि के होला भन्ने आशङ्काले पनि घोच्न थालेको थियो, त्यसैले धेरै बेर त्यही डाडाँमा बसिरहनु पनि उचित थिएन ।
पिकनिकको मूड पूरै बिथोलिसकेको थियो, कसैलाई केही परिकार खाने, नाचगान गर्ने मन थिएन । सबैजना यथासम्भव छिटो परिवारसँग भेट्न आतुर थिए । डाँडाबाट वरिपरि हेर्दा गाँउमा घर भत्किएर जताततै धुलाम्य भएको देखिन्थ्यो भने कोलाहल मच्चिरहेको सुनिन्थ्यो । पाक्दै गरेको पुलाउ, मासुलगायत खाना त्यहाँ आउने मानिसहरुलाई दिनु भनेर हामी गाडीमा अत्यन्त सावधानीसाथ काठमाडौं फर्कियौं । बिहान जाँदा सग्लो देखिएको साँखु बजार फर्कदा क्षतविक्षत भइसकेको थियो भने बाटोको किनारमा ठाउँठाउँमा तन्नाले छोपिएका लाशहरु हेर्दै फर्कन हामी बाध्य थियौं ।
हामी कतै नअलमलिकन सरासर रासस नै आयौं । किनकि राससको समाचार सेवा के भयो होला भन्ने चिन्ताले हामीलाई बाटोभरी सताएको थियो । नभन्दै भूकम्पपछि प्राविधिक समस्या आएर समाचार प्रवाह अवरुद्ध भएको रहेछ । समाचार सेवा सुचारु गरेपछि घर फर्कियौं । फर्किने क्रममा शहीद गेट आइपुगेपछि धरहराको अस्तित्व नदेख्दा मेरो मन कटक्क काटियो । त्यो दिनको भूकम्प त्यति भयानक रहेछ भन्ने कुराको महसुस मलाई धरहरा नष्ट भएको देखेपछि मात्र भयो र अनायास आँखा रसाएर आयो । मनमा प्रश्न आयो– अरु घरहरु त ढिलो चाँडो बन्लान् तर ऐतिहासिक धरोहर धरहरा फेरि ठडिएको देख्न पाइएला कि नपाइला ?
धन्य आज आफैंलाई सन्तोष लाग्छ, नवनिर्मित अत्याधुनिक घरहरा नयाँ शान, मान र आत्मविश्वाकासाथ फेरि सगर्व उभिएको छ । मानिसले इच्छाशक्ति र इमान्दारीलाई साच्चिकै आत्मसात् गरेमा गर्न नसकिने काम के छ र ?
(लेखक बस्नेत त्यतिखेर राससका महाप्रबन्धक थिए ।)