
ऊबारे लेख्नु डल्लै छ
'नेपालनाम्चा'ले सुरु गरेको नयाँ स्तम्भ 'जन्मदिन विशेष'मा तपाईं प्रत्येकलाई स्वागत छ । आफ्नो परिवार, आफ्ना साथीभाई र आफ्नैबारे कुनै पनि प्रकारको लेख लेख्नुहोला र पठाउनुहोला 'नेपालनाम्चा'को इमेल nepalnamcha@gmail.com मा । 'नेपालनाम्चा' तपाईं, तपाईको परिवार र तपाईंका साथीभाईसँगै हुनेछ, स्तम्भ 'जन्मदिन विशेष'मार्फत ।
विशाल नाल्बो
कालिम्पोङ, भारत
बोल्नुअघि …
उनलाई मैले फेसबुकमा भेटेको हुँ, केही सालअगाडि । फेसबुकमा साथी बन्ने अनुमति उनले मागिन् वा मैले ? यसको ठ्याक्कै सम्झना भने छैन । तर, सम्झना छैन भनेर पछुतो पनि लागेको छैन ।
त्यो बेला साथी बन्ने आग्रह कस्ले पहिला पठाएको होला ? भनेर कहिलेकाँही गम्नु, गमिरहनु फरक कुरा हो ।
तपाईहरु पक्कै यस्तै केही सोचिरहनु भएको होला, हामी फेसबुकमा साथी बन्नेबितिकै बेधड्क हिसाबले बोल्न थाल्यौ, थालिहाल्यौं ।
तपाईहरु यस्तै केही सोचिरहनु भएको छ भने गलत सोचिरहनु भएको छ ।
हामी फेसबुकमा साथी बनेको निकै सम्बत्सम्म औपचारिकरुपमा बातै मारेन छौं । गफै गरेन छौं । कुरा यतिसम्म कि उनको पोष्टहरुलाई मैले र मेरो पोष्टहरुलाई उनले लाइक कमेन्टसम्म पनि गरेन छौं । एकअर्कालाई बेवास्ता गरी हिँडे छौं ।
किन यस्तो गरे छौं ? त्यो त्यही वक्तलाई मात्र थाहा छ ।
हामी स्वय चाहिँ अन्जान छौं । बेखबर छौं ।

म्यासेन्जरमा पहिलो चोटी उनलाई म्यासेज खसाल्ने मनुवा चाहिँ म हुँ । त्यो पहिलो म्यासेजको वाक्यमा उनलाई मैले के भनेर सम्बोधन गरेको थिएँ, ठ्याक्कै यकिन छैन । तर, उनले सोधेको जवाफमा मैले मेरो जन्मथलो कालिम्पोङ, भारत हो भनेर बताउदाँ उनले मानव बेचबिखन (बिषेश गरेर महिलाहरु) को प्रसंग झिकेकी थिइन् । म अचम्ममा परेको थिएँ ।
बोल्न थालेपछि …
अलिक पछाडि मात्रै थाहा भो मलाई । त्यस्तो प्रसङ्ग किन पनि उनले झिकेकी थिइन् भने नेपालको अधिकांश मानिसहरुको मस्तिष्कमा अझै पनि भारतमा मानव बेचबिखन हुन्छ भन्ने सोच बाँचेको रहेछ, बाँचिरहेको रहेछ ।
त्यसपछि मैले भनेँ, त्यो त तल दिल्ली, बुम्बुइतिरको कुरा हो । म त माथि दार्जीलिङ, कालिम्पोङको पो हुँ त ।
मैले त्यति भनिसकेपछि उनी ढुक्क भइन् । त्यसपछि उनी मेरो निर्धक्क साथी बनिन् ।
अबचाहिँ तपाईहरुले यो सोचिहाल्दा पनि भो ।
अनि त्यसपछि हामीले नम्बर साट्यौं । झन नजिकको साथी बन्यौं।

बोल्न थालेको महिना दिनपछि …
एक साँझ उनलाई मैले जीवनसँग सम्बन्धित प्रस्ताव राखें ।
उनले सोचिन्, सोचिरहिन् । सोचिसकेपछि पनि सोचिन् । त्यसपछि मात्रै उनले मेरो प्रस्ताव स्वीकार गरिन् ।
मैले दुनियाँ जितेको आभाष गरेँ । सीमाहीन खुसी भएँ ।
सायद त्यो आभाष त्यो खुसी प्रेमको पो थियो कि ?
ऊबारे लेख्नु डल्लै छ । हाम्रो सम्बन्धबारे लेख्नु डल्लै छ । हाम्रो सपनाहरुबारे लेख्नु डल्लै छ । हाम्रो संघर्षहरुबारे लेख्नु डल्लै छ । डल्लै छ जीवनबारे लेख्नु, प्रेमबारे लेख्नु । त्यो पनि म लेख्ने छु एक दिन ।
आज उनको जन्मदिन । मलाई मनपर्ने मान्छेको जन्मदिन । मैले माया गर्ने मान्छेको जन्मदिन । मलाई माया गर्ने मान्छेको जन्मदिन ।
आज उनको दिन हो । उनलाई उनको दिनमा एक जिन्दगी शुभकामना । एक जिन्दगी ।
