मेरो सारा समय सुतेरै बित्ने त होइन ?
अवकाशपछिको जीवन
प्रकाशप्रसाद उपाध्याय
जेनुअरी १, २००० । २१ औं शताब्दीको पहिलो वर्ष, पहिलो महिना, पहिलो दिन । बीसौं शताब्दीको मध्यका बुढाबुढीहरु र उत्तराद्र्धका युवायुवती एवम् बालकबालिकाका लागि नयाँ उत्साह, उल्लास र आशाका किरणहरु बोक्दै आएको पहिलो दिन थियो त्यो । बीसौं शताब्दीको चौथो दशकमा जन्मेको म सेवाबाट अवकाश पाउने खुड्किलो उक्लँदै थिएँ । तर २१औं शताब्दीको पहिलो शीतकालीन सूर्य विशेष सन्देश लिएर आएको थियो । यसको लालिमा अभिनन्दनीय थियो । मैले यसलाई अभिवादन गरें । आफ्नो आवासका छरछिमेकीहरुसित नयाँ वर्षको शुभकामना आदानप्रदान गरे पछि म कार्यालय पुगें । त्यहाँ पनि सहयोगीहरुसित नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै कोठाभित्र पसें ।
नयाँ दिल्लीबाट प्रसारित हुने अल इण्डिया रेडियोको नेपाली कार्यक्रममा म अनुवादक–प्रसारकका रुपमा काम गर्दै थिएँ । बीसौं शताब्दीको अन्तिम चार दशकदेखि कार्यरत थिएँ । यसो हुँदा नयाँ शताब्दीमा पनि काम गर्न पाउनु मेरो निम्ति हर्षको कुरा थियो । नयाँ वर्षको शुभकामना साटासाट गर्न हिँडेका केही अन्य साथीहरु ‘हैप्पी न्यू इयर’को उद्घोष गर्दै कोठामा भेटन आए । नयाँ वर्षको पहिलो दिन पनि यसरी काम गर्ने हो भन्दै एकजना साथीले कानमा बिस्तारै भने – ‘अब त तिमी रिटायर हुँदैछौ, यति विघ्न काम नगर ।’
हुन पनि मैले उमेरको हदबन्दी पुरा गर्न लागेकोले सेवाबाट अनिवार्य अवकाश पाउने समय नगिंचिदै थियो । हुन त सरकारी सेवामा प्रवेश गरेका हरेक कर्मचारीले उमेरको हदबन्दी पूरा गरेपछि सामना गर्नुपर्ने स्थिति हो यो । यसै कारण यो एउटा टीठलाग्दो शब्द हुन्छ सेवाबाट निवृत्त हुने समय नगिचिंदै जाने अधिकांश सरकारी कर्मचारीहरुका लागि । सरकारी सेवामा प्रवेश गर्ने हरेक व्यक्तिलाई उमेरको हदबन्दी पार गरेपछि सेवानिवृत्त हुनुपर्ने कुरा थाहा हुन्छ । तापनि ओहदाको गरिमा, प्रभाव र सुखसुविधाका कारण अधिकांश पदासीनहरु सेवाकाल टुँगिन लाग्दा यस कुरालाई सम्झेर विरक्तिने गर्दछन् । उनीहरुको व्यवहार पनि असामान्य देखा पर्न थाल्दछ । हुन त सेवाकालमा पनि अनेक व्यक्तिहरुको कार्यशैली रुचिकर हुँदैनन् । त्यसैले धेरै मानिसले त्यस्ता व्यक्ति वा पदाधिकारीका लागि भन्ने गरेका हुन्छन्– द चियर ह्याज मेड हिम ब्लाइन्ड या द चियर ह्याज मेड हिम करप्ट अर्थात कुर्सीले उसलाई अन्धो बनाएको छ वा पदले उसलाई भ्रष्ट पारेको छ ।
तर, जब सेवाबाट अवकाशप्राप्त गर्ने दिन आइ पुग्दछ अनि यस्ता पदांध र अन्य सामान्य व्यक्तिहरुसमेत विभिन्न रुपमा विचलित हुन थाल्छन् । कसैको ब्लडप्रेशर बढ्न थाल्छ त कसैलाई चीनीको रोगले समात्छ । मेरो दृष्टिमा यसको मुख्य कारण एकातिर ओहदाको गरिमा र प्रभाव घटनु या सामाजिक प्रतिष्ठामा ह्रास भएको अनुभव हुनु, मासिक आयमा कमी हुनु, सरकारी सुखसुविधा समाप्त हुनु, वृद्धावस्था प्राप्त गरेको अनुभव हुन थाल्नु र अर्कोतिर अब दिन कसरी बिताउनु भन्ने हुन्छ । तर मैले आफ्नो सेवानिवृत्तिलाई सहज रुपमा लिएँ । कारण थियो ४२ वर्षसम्म करारमा काम गर्न पाउनु । अनि सेवानिवृत्तिको ६० वर्षको उमेरको हदबन्दी पार गर्न लाग्दा एक वर्षको सेवाविस्तार, जसले मलाई यसका लागि मानसिक रुपमा तयार पार्नमा मद्दत पु¥याईरहेको थियो । सन्तोषको भाव पनि उत्पन्न गराइरहेको थियो ।
मेरो जीवनमा सरकारी सेवाले खोलेको महत्वपूर्ण अध्याय समाप्त भएको थियो ३० सेप्टेम्बर सन् २००४ मा । त्यस महिनाको अन्तिम बृहस्पतिवारको दिन थियो त्यो । हाम्रो पात्रो अनुसार त्यो २०६१ साल आश्विनको महिना १४ गतेको दिन थियो । ४२ वर्ष अघि आश्विन महिनामै नयाँ दिल्लीस्थित अल इण्डिया रेडियोको जागिर सुरु भएको थियो । सेवानिवृत्ति चाहिँ २१ औं शताब्दीको सुरुको चौथो वर्षको घटना हो ।
अल इण्डिया रेडियो नयाँ दिल्ली, भारतबाट सञ्चालित विश्वका प्रमुखतम प्रसारण संस्थानहरुमध्ये एक मानिन्छ । यसो हुँदा यस निकायबाट प्रसारण हुने नेपाली कार्यक्रममा सहभागी हुन पाउनु मेरो निम्ति एउटा सौभाग्यको कुरा थियो । तर, सेवानिवृत्तिले गर्दा ४२ वर्षदेखिको नियमित चटारोपूर्ण दिनचर्याले विश्राम पाएको थियो १ अक्टोबर सन् २००४ देखि । समय आवद्ध प्रसारणको ड्यूटीबाट मुक्त भएको थिएँ । जाडो होस् कि गर्मी कि वर्षातको मौसम, प्रसारण ड्युटीको सिलसिलामा समय अघि नै पुग्न अब हतारिनु परेन । अब बिहानै बिहान उठने, सरकारी पिकअपको लागि कुर्ने, कहिले सरकारी पिकअप छुट्दा हस्याँगफस्याँग गर्दै ट्याक्सी चढी अफिस पुगी हाल्ने, मे जून महिनाको अपरान्हको चर्को घाममा तातो हावाबाट सेकिंदै बसस्टपमा बसका लागि कुर्ने, अषाढ साउनको झरीमा कहिले भिज्दै अफिस पुगेपछि प्रसारण सामग्रीहरु बोक्दै कार्यक्रम प्रस्तुत गर्न स्टूडियोमा पस्ने, कहिले अफसरहरुसित मीटिंगमा भाग लिन जाने, कार्यक्रमका लागि अग्रिम योजना बनाउने र लेखक एवम् कलाकारहरुसित कार्यक्रमका सम्बन्धमा छलफल गर्ने कहिले टेपरेकर्डर झुण्ड्याउँदै अति विशिष्ट व्यक्तिहरुसित भेंटवार्ताको रेकर्डिंग गर्न घटनास्थलमा पुग्नेजस्ता विभिन्न दायित्वहरुबाट फुर्सत पाइएको अनुभव गराएको थियो मलाई मेरो सेवानिवृत्तिले ।
यसका साथै जीवनलाई तनाउपूर्ण बनाउने सेवाविस्तारको तनाउबाट पनि मुक्त भएको थिएँ । सेवाकालमा करारको नवीकरणको प्रश्न नै तनाउको महत्वपूर्ण कारण हुने गर्दथ्यो । हरेक ५ वर्षमा उत्पन्न हुने यस प्रश्नले अब उप्रान्त पिरोल्ने छैन भन्ने भावबाट पनि ढुक्क भएको थियो मन ।
१ अक्टोबर बिहान चिया खाने वातावरणलाई चराहरुको चिरबिरले संगीतमय बनाइरहेको थियो । एउटा हलुँगोपनको अनुभव भइरहेको थियो त्यस दिन । पछाडि फर्केर हेर्दा सेवाकाल विभिन्न रुपले उपलब्धिमूलक भएको महसुस गर्न पाइरहेको थिएँ । यस अनुभूतिले एउटा सन्तोषको भाव पनि उत्पन्न गर्दै थियो त्यस दिनले । करारको सेवाकालमा स्थानीय, राजनीतिक र सरकारी स्तरबाट उत्पन्न हुने अनेक खालका तनाउका बीच काम गर्नुपरेको थियो । तर यतिका वर्षसम्म निरन्तर सेवारत भई काम गर्न पाइएला भन्ने नचिताएकोले पनि होला ४२ वर्षसम्म काम गरी सेवानिवृत्त हुन पाएकोमा सन्तोषको भाव बेग्लै थियो । विभिन्न पारिवारिक दायित्वबाट मुक्त भईसकेको थिएँ । यसैले ढुक्क थियो मन । तर पनि सेवानिवृत्तिले उत्पन्न गर्दै थियो विस्थापन र पुनस्र्थापनको जटिलता । यसको अतिरिक्त आफिसको कामले व्यस्त रहेको जीवन सेवानिवृत्त भएपछि कसरी बित्ला भन्ने प्रश्न पनि थियो । यसो हुँदा सारा दिन र समय कसरी बित्ला भन्ने प्रश्नले गर्दा कहिलेसम्म कोही तनाउमुक्त भएर बस्न सक्तछ र ? धेरै दिन यसो हुन सक्तैन । म पनि हुन सकिनँ ।
बस्दै आएको सरकारी क्वार्टर सेवानिवृत्त भएको ६ महिना भित्रै खाली गर्नुपर्ने थियो । यसर्थ हाम्रो अर्थात हामी पतिपत्नीको सबैभन्दा ठूलो चिन्ता थियो–बसाई सराईको । हुन त नेपाली नागरिकका लागि भारतीय भूमिमा स्थायी रुपमा बस्न त्यति विघ्न समस्या हुँदैन जत्ति विदेशका अन्य नागरिकहरुका लागि हुने गर्दछ । तर स्वदेशमा भएका आफ्ना नातागोता, करकुटुम्ब र भाईबहिनीहरुको सान्निध्यमा जीवन बिताउनाको आफ्नै आनन्द हुन्छ । त्यति रमाइलो हुँदैन विदेशी भूमिमा परचक्रीहरुका बीच सेवानिवृत्त जीवन बिताउनु । यसर्थ मैले पत्नीको चाहनानुरुप सेवानिवृत्त भएपछि स्वदेश नै फर्कने योजना बनाएँ । स्वदेश फर्कन थाल्दा हवाई टिकट र सामान ओसार्न पाउने सुविधाका कारण अफिसलाई सेवानिवृत्त हुनुअघि फर्कनुपर्ने ठाउँकोे जानकारी दिनु आवश्यक थियो । तर कहाँ जाने ?
दिल्लीबाट आफ्नो गृहनगर सप्तरी जिल्लाको सदरमुकाम राजबिराजमा रहेको पैतृक घरमा फर्कने कि काठमाडौं ? यस प्रश्नमाथिको छलफलले परिवारभित्र हाम्रो अधिकांश समय लिइसकेको थियो । आफ्ना अधिकांश नातागोता, भाईबहिनी र माइतसमेत काठमाडौंमा रहेकाले पत्नीको प्राथमिकतामा काठमाडौं थियो । छोराछोरीहरुले पनि सम्झाए गृहनगर राजविराजको दाँजोमा राजधानीको राम्रो मौसम, औेषधि उपचारका लागि उपलब्ध तुलनात्मक उत्कृष्ट सुविधा र देशविदेशसित रहेको यसको सोझो हवाईसम्पर्क हजुरका लागि उपयुक्त हुनेछन् भनी । झन् छोरा प्रभातले गृह निर्माणको दायित्व सम्हालेर आवासप्रतिको चिन्ताबाट मुक्त पारी दिएकाले बसाइको प्रश्न मेरा लागि तनाउको कुरा भएन । यसरी बसाईसराईका लागि राजधानी काठमाडौंले प्राथमिकता पायो ।
काठमाडौं आउने पक्कापक्की भएपछि डिसेम्बर सन् २००४ को दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा म पत्नीसहित ओर्लें । साथमा ल्याएको थिएँ घरपालुवा जर्मन शेफर्ड कान्छी । आफुसित रहेका सुटकेसहरुका अतिरिक्त उसलाई राखेर ल्याइएको बाकस काठमाडौंका साना टैक्सीमा अटाउने सम्भावना थिएन । यसर्थ यसको अग्रिम सूचना काहिंला भाई उमेशप्रसाद दाहाललाई दिएको थिएँ । विमानस्थलमा उनी उपस्थित थिए एउटा ठूलो गाडीका साथ । उनको मधुर मुस्कान र न्यानो अभिवादनले विमानस्थल बाहिरको चीसो वातावरणको अनुभव हुन दिएन । मालसामानहरु टैक्सीमा राखेर हामी हिड्यौं महाराजगंजतिर, जहाँ ठूली छोरी ज्योति र ज्वाईं डा. भूपेन्द्र देवकोटाको घर थियो । छोरी एवम् ज्वाईंद्वारा मालसामानहरु राख्न छिमेकमै हाम्रालागि एउटा डेराको व्यवस्था मिलाई राखिएको थियो । चियाचमेना खाएर हामी गयौं डेरा हेर्न । हाल प्रोफेसर रहेकी डा. ज्योति त्यतिबेला काठमाडौं यूनिभर्सिटीमा लेक्चररको पदमा कार्यरत थिईन । ज्वाई एउटा कन्सलटेन्सीमा हुनुहुन्थ्यो । हाम्रा केही महिना छोरी ज्वाईसँगै बिते ।
सेवाकालसरहको दिनचर्या सेवानिवृत्त भएपछि जारी रहने त प्रश्न नै रहेन । यस्तोमा कहिलेकाहिँ सोच्दथें – कहीँ मेरो व्यस्त जीवन उराठलाग्दो वा आलस्यको वशीभूत त हुने होइन ? मेरो सारा समय सुतेरै वा झाेंक्रिएरै त बित्ने होइन ? यस्ता अनेक प्रश्न बेला– बेलामा उत्पन्न हुने गर्दथे । तर, काठमाडौंमा केही दिनको विश्रामपछि चित्र छर्लंग हुन थाल्यो । मेरो मनमा उत्पन्न नकारात्मक विचार विलीन हुँदै गए ।