ब्राम्हणपुत्रले आलु खायो

भरत शर्मा

चिनियाँ भाषामा आलुलाई ‘थुतो’ भनिन्छ । चीनमा करिव १८ महिनाको बसाईमा सबैभन्दा बढी मैले खाएको थुतो नै हो । ‘आफ्नै हात जगन्नाथ !’ आफैले किनेर ल्याउने, आफै पकाउने र आफै खाने भएपछि के चाहियो ! मजैले खाइयो चीनमा बस्दा थुतो ।

पाकिस्तानी अन्ना, किर्जिस्थानी लिना, कोरियन साउले, थाइ मेरीला, मलेसियन पियना, लाओसकी स्याओलीसँग शनिवार–आइतवार घुम्न जाँदा चिनियाँ बजारमा खान बस्दा मैले अडर गर्ने पहिलो मेनु नै थुतो थियो ।

लाओसकी लाउना मोरीले मलाई जिस्काउदै ‘निपोअर लाउसी थुतो’ भनेर बेला–बेला जिस्काउने गर्थी । ऊ बौद्धमार्गी र म हिन्दू भएर होला, हामीमा धार्मिक एकताको सम्बन्ध थियो । हामी दुवैलाई आलु मन पर्ने भएकाले हरेक सप्ताहन्तको शहर घुमाइँपछि खाजा खाने बेला पहिलो रोजाइमा थियो चिनियाँ ‘आलु परिकार’ ।

लाओसका लाउना पिरो–अमिलो खान मन पराउने । मचाहिँ आलु्चिप्स मात्र । चिनियाँ भाषामा समेत पोख्त लाओसकी लाउनाको रोजाइमा चीनमा बस्दा सयौं आलु परिकार खाए पनि नाम चाहिँ के–के हो भुलें ।

नाम भुले पनि आलुका स्वाद सम्झनाले अहिले पनि बेला–बेलामा जिब्रो रसाउँछ । चीनबाट नेपाल आएको एक महिनाको छुटी कटाएर चीन फर्कने योजना कोरोना महामारीले १४ महिना भयो । कहिले चीन जाने हो अझै पत्तो छैन ।

नेपालमा बसाइँमा पनि ‘आलु’ दिनजसो खाएकै छु ।

चीन जान जान नपाएपछि चीनमा आलु खाएर आर्जन गरेको रकमलाई काठमाडौंका खाल्डोमा लगानी गरी आलु फलाउने धोको बोकेर थानकोटको पाखादेखि बुढानिलकण्ठको टारसम्म करिव ६ महिना दौडेँ । साउन महिनाको १५ गते तारकेश्वर नगरपालिकाको गोलढुङ्गाको फेदीको खेतको मोटो परीक्षण गर्दा अब्बल पाएँ । त्यही मोटोमा आलु फलाउने निधो गरेँ ।

केही बर्षमा त्यो घडेरीमा ब्राम्हण कुटी बनाउने योजना छ । तर, अहिलेलाई त्यसलाई घडेरीभन्दा पनि आलु खेत बनाएको छु । खेत भए पनि बाँझो थियो जमिन । माटोको स्वाद चाहिँ अब्बल थियो । मेसिन चलाएर खनजोतपछि बल्ल माटोको उर्वरा अझ उर्वर भयो । झण्डै आधा दशकदेखि नै जमिनले खानजोत, मल, वीउ केही नभएको रहेछ ।

आलु खेती गर्नुभन्दा पहिले जमिन शुद्विकरणका लागि दामोदरकुण्ड र गोसाइँकुण्डबाट बगेर आएको देवघाटको जल लगेर जमिन पवित्र बनाएँ । पशुपतिनाथ र नजिकै रहेको गौशालाबाट गौं माताको विष्ट मल फिजाएँ । कालिमाटीमा पुगेर जमिन र माटोमा भएका साना–साना किरा मार्ने रसायन औषधि राखेपछि खेतीलाई लागि जमिन सम्याउने काम गरेँ ।

आलु लगाउनुभन्दा अघि ड्याङ बनाउन छिमेकको एक दिदीको सहयोगबाट आलुबारी तयार भयो । कालिमाटीको आलु बजारबाट आलुको विउ ल्याएर फिस्स जमिनमा लगाइदिएको हो । आलुको टुसा पलाएपछि छाएको हरियालीले मन नै उमंग भयो ।

अहिले आलुको दाना लाग्न थालेको छ । आलुखेत चारै कुनामा झ्याङहरु् देख्दा लाग्छ, आलुबाली सोचेभन्दा बढी उत्पादनमूलक भयो । माटो, मल, विउ र कृषकको चाहना भयो भने खेती गर्नुको मज्जा नै बेग्लै हुँदो रहेछ । विद्यालय जीवनमा हामी छात्रको कृषि कर्म नै मुख्य काम थियो । शहर पसेपछि कृषिकर्म हरायो ।

जतिसुकै शहरबासी भए पनि ‘किसान’ हाम्रो परिचय हो । कृषिप्रधान देशको नागरिक हुँ । गाउँ छोडेर शहर पसेको २५ बर्ष भए पनि कृषिमोह घटेको छैन । जन्मस्थान धादिङको सल्यानटारको सम्म बारी र ठुलीबेसीमा धानखेतमा गरेको कृषिकर्म भुलेको छैन ।

पण्डित बन्न भारतको काशीमा बसेर पढ्दा आलुको चोखासँग रोटी खाएको यादगर दिनहरु भुल्नै खोजे पनि सकिन्न । काशीको खानाको स्वाद बेग्लै ! विहान ४ बजेदेखि रात्री १० बजेसम्मको कार्यतालिकामा चल्ने जिन्दगीको बैग्लै आनन्द ! रोटी र आलुको चोखा तन्नेरी खाँदाको मन र शरीर अहिले कतै उमेर ढल्कदै गर्दा आफू बुढौलीतिर लागेको हो कि भन्ने भान हु्न्छ ।

आलु नेपालीको राष्ट्रिय खाना हो । मुक्तिनाथ यात्रामा जाँदा जोमसोमको थकाली भान्सामा खाएको आलु्को स्वाद कस्ले भु्ल्न सक्छ । केही दिनअघि राष्ट्रिय धर्मसभा नेपालको अधिवेशनमा सिन्धुलीको कुशेश्वर पुग्दा त्यहाँ आलु र रोटी खाएपछि आलुको स्वाद मन परेर फर्कंदा दुई धार्नी आलु कोसेली लिएर फर्के ।

‘आफ्नै खेतमा आलु फल्दै छ, किन आलु ल्याउनु प¥यो नि ?’, घरकी बुढियाको आलु–गाली खाएँ । घर छोडेर नयाँ ठाउँमा घुम्न जाँदा हात खाली आउनु हुँदैन भनेर मेरो हजुरबाले सिकाउनु भएको संस्कार बेला–बेलामा सम्झेर नयाँ ठाउँबाट घर फर्कदा कोसेली ल्याउँछु । यसपटक कालिन्चोक यात्रामा जाँदा मुडेको कालो आलु ल्याउने भनेको तर हतारमा भुलिएछ । अलि वर आएपछि ड्राइभरले सम्झाए, ‘सर ! मुडेको आलु त छुट्यो नि ।’ लौ, यस पटकलाई माफ !

मेरो परिचय थप हुँदैछ । पण्डित, पत्रकार, पर्यटन व्यवसायी, र अध्यापक मात्र होइन ‘आलु’ किसानको दर्जा थपिएकोमा हर्षित छु । यसकारण कि गाउँबाट विद्यालय शिक्षा पुरा गरी शहर पसेपछि गुमेको मेरो कृषिकर्मलाई २५ बर्षपछि फर्काउन पाएको छु ।

काशीमा पढेर पण्डित पद लिएँ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा एमफिल गरेँ । पत्रकार भएँ । स्प्रिच्युल ट्राल्भल्स एण्ड टूर कम्पनी खडा गरेर पर्यटन व्यवसायी भएँ । काठमाडौंका कलेज र चीनका विश्वविद्यालयमा पढाएर अध्यापक बनेँ ।

चीनमा मैले एउटा अनौठो कृषि कर्म देखेँ । चीन गएको एक महिना भएपछि शनिवारको दिन मेरा मित्र प्राध्यापक वाङचुङले ‘प्राध्यापकको तरकारी खेती’ निरीक्षण गर्न जाने अनुरोध गरे । मलाई अचम्म लाग्यो, ‘ प्राध्यापकको तरकारी खेती कस्तो होला ? यो कस्तो चलन होला ?’ हामी साइकल चढेर प्राध्यापकको तरकारी खेती निरीक्षण गर्न पुग्यौं ।

विश्वविद्यालयले आफ्ना प्राध्यापकहरुलाई नियमित तरकारी खेती गर्न जमिन छुट्टाएर दिएको रहेछ । चारकुना मिलेको चारजनाको परिवारलाई मौसरी ताजा तरकारी खानका लागि पुग्ने गरी दिएको टुक्रा जमिनमा अनेक प्रकारका तरकारी देखेँ । प्राध्यापक वाङले आफ्नो र मैले चिनेका अन्य प्राध्यापकको जमिनको टुक्रा देखाए ।

हरिया साग, खुर्सानी, काँक्रो, मुला, आलु र धनियाँ देखेपछि मलाई अनौठो लाग्यो । आ–आफ्नो तरकारी बारीमा सबैजना गोडमेल गरिरहेका बेला सबैले मलाई स्वागत गरेर आ–आफ्नो तरकारी बारी देखाउन थाले । नेपालबाट आएको पाहुना भएकाले आफ्नो तरकारी खेतीमा स्वागत छ भन्दै चिनियाँ भाषामा उनीहरुले स्वागत गरेको कुरा वाङले अनुवाद गरेर मलाई नेपालीमा सुनाउँदै थिए ।

‘यो ताजा तरकारी खाने काइदा हो । हामी हरेक दिन विहान र साँझ तरकारी बारीमा गएर काम गर्छौं’, विश्वविद्यालयबाट अवकास लिएका चिनियाँ प्राध्यापकले आफ्नो अनुभव सुनाए ।

चिनियाँहरुको काम गर्ने काइदा देखेर मनमनै सोचेँ, ‘यो राम्रो कुराको बारेमा कसरी लेख्ने होला ?’ चीनबाट फर्केपछि मैले पनि शहरमा चिनियाँ शैलीमा आलु खेती शुरु गरेपछि मैले मैले चीनबाट राम्रो कुरा सिकेँ भन्ने लाग्यो ।

कोरोना महामारीपछि भएको लकडाउन र काठमाडौं शहरमा कौशी खेतीको व्यवसायिकता बढ्दै गएको छ । यो निकै राम्रो काम हो । जल, जमिन र जंगलको संरक्षण भयो भने मात्र वातावरण शुद्धिकरण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।


(प्रिय पाठक । तपाईं पनि भरतजीले जस्तै नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पनि आफ्ना अनुभव लेखेर पठाउनु होला । तपाईंका अक्षर नेपालनाम्चाको आत्मा हो । सं)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button