मनोपरामर्शका प्राथमिक पाटा
लोचना शर्मा
कुनै पनि विषम परिस्थितिका कारण कुनै पनि व्यक्ति डराउनु वा आत्तिनु स्वभाविकै हो । कोरोना भाइरसको कारण जुन अन्योल छ र थियो, त्यस अवस्थामा के होला वा कसो होला भनेर हामी आत्तियौँ, डरायौँ । कति मानिस दुखी छन् त कति मानिस चिन्तामा छन् । यो एउटा असामान्य अवस्थामा देखापर्ने प्रतिक्रिया हो । तर कहिलेकाहीँ यो प्रक्रिया अलि बढी भइदिन्छ । त्यस्तो अवस्थामा त्यो व्यक्तिले आफूले आफूलाई सम्हाल्न नसक्ने अवस्था पनि आउन सक्छ ।
त्यसकारण कुनै पनि समस्याका कारण तनावमा, दुःखमा, पीडामा रहेका व्यक्तिलाई उनको तनाव कम गर्नका लागि तत्कालै गरिने व्यवस्थित सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो । त्यो सहयोगले, तनावमा रहेका व्यक्तिलाई उनमा भएको तनाव घटाउन, संवेगात्मक हेरचाह गर्न र शान्त रहन मद्दत गर्दछ । जसरी शारीरिक रुपमा लागेको घाउ चोट निको पार्न हामी प्राथमिक उपचार गर्छाैँ । जसको कारण हामी भविष्यमा हुन सक्ने ठूलो खतराबाट बच्न सक्छौँ । प्राथमिक मनोवैज्ञानिक सहयोग पनि त्यस्तै अवधारणा हो । प्राथमिक मनोवैज्ञानिक सहयोगको आवश्यकता विषम परिस्थितिमा भएका बालबालिकादेखि वृद्धवृद्धा सबैलाई नै आवश्यक पर्दछ ।
प्राथमिक मनोवैज्ञानिक सहयोग के के हुन् ?
यो मानिसले मानिसलाई गर्ने मानवीय सहयोग हो । अर्काे शब्दमा भन्नु पर्दा व्यवहारिक सहयोग हो । समस्यामा परेको व्यक्तिको आवश्यकता र चासोको परिपूर्ति हो । उसको आधारभूत आवश्यकतालाई सम्बोधन गर्नका लागि गरिने सहयोग हो जस्तै ः खाना, पानी, कपडा, न्यानो आदि । उदाहरणका लागि बलात्कारमा परेर कपडा च्यातिएको एक किशोरीको लागि पहिलो आवश्यकता लाज ढाकिदिनु हुन सक्छ । त्यसपछि स्वास्थ्य तथा कानुनी उपचार आदि होला । अझ स्पष्ट पार्नुपर्दा समस्यामा परेका व्यक्तिको कुरा उसले सुनाउन खोजे जसरी नै सुनिदिनु वा सक्रिय सुनाइ हो । सञ्चार अर्थात् कुराकानीमा ५५ प्रतिशत शारीरिक हाउभाउ, ३८ प्रतिशत स्वर र ७ प्रतिशत मात्र शब्दले बुझिन्छ भन्ने भनाइ छ । त्यसकारण तपाईसँग जसले सहयोगको अपेक्षा राखेको छ, उसले तपाईले के भन्नुभयो भन्दा पनि तपाईले उसलाई कसरी महसुस गर्नुभयो भन्ने कुरा बढी सम्झने गर्छ । भविष्यमा हुन सक्ने हानीबाट बच्न सहयोग पुर्याउनु पनि प्राथमिक मनोवैज्ञानिक सहयोग हो ।
प्राथमिक मनोवैज्ञानिक सहयोग के के होइनन् ?
प्राथमिक मनोवैज्ञानिक सहयोग व्यसायिक परामर्श मात्र होइन । यो प्राथमिक मनोवैज्ञानिक सहयोगको तालिम लिएका जो सुकै व्यक्तिले पनि दिनसक्छ । त्यसकारण चिकित्सकीय र मनोवैज्ञानिक कार्य मात्र होइन । कुनै पनि समस्यामा परेका प्रभावित व्यक्तिलाई उसको विगतको कथा भन्न जोर जुलुम गर्नु हुन्न । जुनसुकै प्रभावितहरुलाई उनीहरुको विश्लेषण सिलसिलेबार ढंगले गर्न लगाउनु पनि हुन्न ।
प्राथमिक मनोवैज्ञानिक सहयोग किन दिने ?
तनावमा भएका व्यक्तिलाई तनाबबाट मुक्ति दिनको लागि । दुःखी भएका व्यक्ति जो आफ्नो हेरचाह आफैँ गर्न सक्दैनन्, उनीहरुलाई मनोवैज्ञानिक सहयोग गर्न र मानसिक चोट तथा पीडामा परेका व्यक्तिलाई त्यो पीडा तथा चोटसँग आफैँ समाना गर्न सक्ने बनाउन ।
प्राथमिक मनोवैज्ञानिक सहयोग कसलाई दिने ?
तनावमा रहेका जुनसुकै उमेर समूहका व्यक्ति (बालबालिका, महिला, किशोर किशोरी, बृद्धबृद्धा लगायत) लाई उनको तनाव घटाउन वा मुक्त गर्न मनोवैज्ञानिक सहयोग आवश्यक हुन्छ । जो कोही होस्, निजले सङ्कटपूर्ण घटनाको सामना गरिरहेको र सहयोगको आवश्यकता महसुुस गरेको व्यक्तिलाई यो सह योग आवश्यक हुन्छ । तर, सहयोगको आशा नराखेको व्यक्तिलाई प्राथमिक मनोवैज्ञानिक सहयोग दिन मिल्दैन, यो विश्वव्यापी मान्यता हो ।
प्राथमिक मनोवैज्ञानिक सहयोग कहाँ दिने ?
१. प्राथमिक मनोवैज्ञानिक सहयोग दिने र लिने दुवै व्यक्ति सुरक्षित भएको ठाउँमा ।
२. मानव निर्मित वा प्राकृतिक विपत्तिले मानिसको मनमा चोट पुर्याएको अवस्थामा ।
३. आफ्नो पेशागत मर्यादाको संरक्षण गर्न सकिने ठाउँमा मात्र ।
प्राथमिक मनोवैज्ञानिक सहयोगका मुख्य कार्य
हेर्नुहोस्
सुरक्षाको व्यवस्था, तत्कालको आवश्यकताको, गम्भीर आघातको प्रतिक्रियाको अवलोकन गरी अर्थात् हेरेर मात्र सहयोग गर्ने । कोरोनाको समयमा मैले के कति सावधानी अपनाउने अनि म सुरक्षित हुन्छु भनेर हेरी विचार गरी कोरोना संक्रमितलाई सहयोग गर्न तयार भए झै । पहिले समस्यामा परेको व्यक्तिको अवस्थालाई अवलोकन गर्नुपर्छ ।
सुन्नुहोस्
जसले प्राथमिक मनोवैज्ञानिक सहयोगको आवश्यकता भएको व्यक्तिलाई सुन्नुहोस । विषम परिस्थितिमा रहेको व्यक्तिको आवश्यकता र चाहनाको बारेमा ध्यानपूर्वक सन्न सक्नुपर्छ । विस्तारै त्यो व्यक्तिलाई शान्त रहन सहयोग गर्ने र उनका कुरा ध्यानपूर्वक सुन्नुपर्छ ।
जोड्नुहोस्
व्यक्तिको आवश्यकता र उपलब्धतालाई जोडिदिने जस्तै दुर्घटनामा परेको व्यक्तिलाई अस्पतालसम्म पुर्याउने प्रहरीलाई खबर गरिदिने कार्य गर्न सकिन्छ । त्यसैगरी समस्याबाट बाहिर आउन मद्दत गर्न सकिन्छ । जस्तै कोरोनाबाट आत्तिएको एउटा व्यक्तिाई अब खोप आउँदै छ । बाहिर हिंड्दा यस्ता सावधानी अपनाउन सकेमा कोरोना सर्दैन भनी सही सूचनाहरु दिएर । विषम परिस्थितिमा रहेका व्यक्तिका आप्mना आफन्त र सामाजिक सहयोगसँग जोडिदिन सक्छौँ ।
(शर्मा मनोपरामर्शदातृ हुन् ।)