एकजना हजुरआमाको मात्र कथा होइन यो

नारी दिवस विशेष

राधिका पन्त
मध्यपुर, ठिमी, भक्तपुर ।

‘उफ् ! यो जिउ पनि कति दुखेको । घाट्मा लगेर आगो लगाउन ढिलो भएको जस्तो’, थरर काँप्दै भएभरको बल लगाएर बलेनी खाबोको सहायतामा उठ्ने कोसिस गर्दै उहाँले भन्नुभयो ।

उहाको शरिरले भर पाइरहेको थिएन तर दिमाग पुरै होसमै थियो ।

मलाई नजिक देखेर हो वा उमेरले गलेर हो, आँखाभरी आँशु पारेर रुन थाल्नु भयो । म श्रमिक महिला दिवस मनाउन हतारिदै जाँदै थिएँ ।

बुढेसकालको सहाराको खाँचो उहाँलाई प्रस्टै देखिएको आभास भयो मलाई । भएको एउटा छोरा, त्यो पनि बरालिएर ढलेको सिन्को नटिप्ने भएपछि खेतबारीका गरा सबै बाँझो थिए ।

हजुरआमाका छोराले लाइन नलिएपछि बुहारीले पनि घर सम्हाल्ने आँट गरिनन् । हजुरआमाका घरमा नातिहरु पनि थिए । जेठो धुरन्धर पढ्न्ते । कान्छो पनि कम पढ्ने होइन । क्याम्पसमा बोर्ड फस्ट । बुवाले पढ्ने खर्चको जोहो नगरदिएपछि पढाइ छोडेर पाटीको झन्डा बोक्न तम्सिए । घरको लथालिङ्ग चाल देखेर पढ्नेको पनि मन मरेर गयो । तराइका बिगाहाका बिगाहा जमिलनखेती नलगाएर बाँझो भएपछि घरमा खानेकुराको अभाव ।

हजुरआमाको कथा सुनेर मलाई जति हतार भए पनि अडिन बाध्य भएँ ।

हजुरआमा निकै पिडामा हुनुहुन्थ्यो, आफुले आर्जन गरेको सम्पति सहि परिचालन गर्ने क्षमता छोरानातिमा नदेखिएकोमा ।

त्यस बर्षको स्लोगन थियो, ‘महिलाको सुरक्षा र सम्मान, रोजागार समृद्ध नेपालको आधार’ तर हजुरआमा सुरक्षा र सम्मानको अभावमा तड्पिएको देखेँ । उहाँको हेरविचार गर्ने कोहि थिएन । छोरानाति काम गर्ने बेला चोकचौतारो घुम्ने । हजुरआमा मेलापात गरेर जाउलोको जोहो गर्नु हुन्थ्यो । खाने बेला सबै जम्मा हुन्थे । बाँडिचुडी भाग लगाउनु हुन्थ्यो ।

एकदिनको कुरा हो, हजुरआमाले नातिहरुलाई बोलाएर भन्नुभयो, ‘तिम्रा बा लुखुरलुखुर गाउँ डुलेर दिन कटाउँछ ।परिवारको वस्ता गर्दैन । तिमीहरुले पनि पढाइ छोडेयौ । मेरा जग्गा जमिन सम्हालेर खेती लगाउ । बिहे गर । घरजम गर । म तिम्रो साथमा हुनेछु । तिम्रो बालाई होइन, म मेरो नामको जग्गा तिमीलाई र तिम्रो फुपुलाई बाँडिदिन्छु । तर, म बाँचुन्जेल राम्रोसँग लालनपालन गर्नुपर्छ ।’

नातिहरु टोलाउँदै थिए, ‘बालाई नदिएर किन हामीलाई सम्पति दिने ? फेरि बिहे गरेर गएकी फुपुलाई किन दिन पर्‍यो ? आदि इत्यादि ।’

हजुरआमा फेरि नातिलाई भन्नुहुन्छ, ‘फुपुको बुढाले अर्को श्रीमती ल्याए अलिकति जमिन दिन पाएपछि त्यही सम्पत्तिको आशले उसलाई संरक्षण गर्ला कि भनेर । यति सुनाएर हजुरआमाले मन हलुँगो पारे झै लाग्यो ।’

सबै घटनाको साक्षी बनेर म भने नारी दिवसको उपलक्ष्यमा हुन लागेको अन्तकृया कार्यक्रम स्थलतिर जान हतारिएँ ।

हजुर आमा अझै भन्दै हुनुहुन्थ्यो, ‘नानी दिनको एकपटक भए पनि मेरो दैलो टेकिदेउन । तिमी आए मरो घर पवित्र हुन्छ । आध्यात्मिक चिन्तन गर्न पाउँछु । आध्यात्मिक चिन्तनबाट भौतिक विकास हुन्छ । समाजलाई पुर्ण रुपमा परिवर्तन गर्न सकिन्छ । देश समृद्ध हुनको लागि आध्यात्मिक चिन्तन नै सर्वोपरी हुन्छ । विभिन्न उद्धेश्यले समय खर्चिरहेका आजको वैज्ञानिक युगमा वेदसापेक्ष कर्म गर्दै जानु । यसले मान्छेको आन्तरिक उन्नयन वृद्धि हुन्छ । यसले समाजलाई नयाँ धारबाट अघि बढाउन सकिन्छ ।’ हजुर आमाले धेरै कुरा गर्दै हुनुहुन्थ्यो ।

पछि भेटौला भन्दै म हतारिदै अगाडि बढेँ ।


(तपाईंसँग पनि यस्ता कथा-व्यथा र संस्मरण छन् भने कृपया नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button