नेपाल फर्केपछि ‘त्यस्तो’सम्म भयो
प्रकाशप्रसाद उपाध्याय
सन् १९५८ का दिनहरुमा म एकजना विद्यार्थीको रुपमा दिल्ली पुगेको थिएँ । सन् १९६२ देखि अल इण्डिया रेडियोमा एकजना कर्मचारीको रुपमा काम गर्न पाएको अवसरले गर्दा मैले भारतीय राजधानीमा ४८ वर्षको सक्रिय जीवन बिताउन पाएँ । सेवाबाट अवकाश पाएको तीन महिनापछि सन् २००४ को डिसेम्बर महिनामा आइपुगें आफ्नो देशको राजधानीमा जीवनका शेष दिन बिताउन ।
आएपछि थाहा भयो, दिल्ली छाड्नुभन्दा एक साताअघि ट्रकद्धारा पठाइएको सामान आइपुगेको रहेनछ । जबकि यस अवधिमा ट्रक काठमाडौं पुगिसकेको हुनेछ भन्ने आश्वासन मलाई ट्रक चालकले दिएको थियो । ३–४ दिनको पर्खाइपछि ट्रक चालकको फोन आयो । बीरगंज भंसार कार्यालयले सामान जाँच नहुन्जेल ट्रक नछाड्ने भएको कुरा उसले बताएपछि माल छुटाउन बीरगंज जानु पर्ने स्थिति उत्पन्न भयो ।
ती दिनहरुमा माओवादी आन्दोलन चरमोत्कर्षमा थियो । माओवादी आन्दोलनका कारण विभिन्न जिल्लाहरु आकस्मिक
बन्दबाट प्रभावित भइरहेका थिए । आफूले बनाएको कार्यक्रम अनुसार सडक यातायातद्वारा वीरगञ्ज पुग्नु सहज थिएन त्यति बेला । अर्कोतिर गढीमाईको मेला चलिरहेकोले हवाई यातायातमाथि बढेको चापका कारण सिमराको हवाई टिकट पनि सुलभ थिएन । छिमेकमा बस्नु हुने ट्राभल एजेन्सीका प्रोपाइटर योगेश देवकोटाको सौजन्यबाट २–३ दिनको कुराइपछि टिकट पाउनमा भने सफलता पाइयो । वीरगञ्ज पुगेर थाहा पाइयो, सामान भोलिपल्टै छुटाउन नसके पर्सिदेखि सुरु हुने बारा बन्दका कारण काठमाडौं पुग्न कति दिन लाग्ने हो ठेकान हुन्न । किनभने काठमाडौं छिर्न बारापछि कुन–कुन जिल्लामा बन्दको पालो आउने हो कसैलाई थाहा थिएन । यस स्थितिमा कान्छा भाई शेखरकुमार दाहालले वीरगञ्जमा हुनुभएका मामा हरिकृष्ण पोख्रेल र हेटौंडामा भएका भान्दाई रमेशकुमार पोख्रेलको सहयोग लिन सुझाउ दिए । दुबैजना प्रभावशाली स्थानमा सेवारत रहेकाले उहाँहरुका फोनका कारण भन्सार कार्यालयमा धेरै सास्ती बेहोर्नु परेन । २–३ घण्टामै फुर्सत पाइयो ।
ट्रकले दिउँसो १२ बजेतिर भन्सार कार्यालय छाड्ने अनुमति पायो । यसपछि सम्झें, राति १० बजेपछि काठमाडौं छिर्न नमिल्ने कुरा । अब ट्रक चालकलाई अनुरोध गर्दै मैले भनें– ‘हेर भाई । अब हामी खानपट्टि लाग्यौं भने एक घण्टा जति खेर जानेछ । बाटाभरि कति ठाउँमा सुरक्षा जाँच हुने हो र कति समय लाग्ने हो थाहा छैन । यसर्थ हामी घर पुगेरै खाने गरी गाडी चलाई राखे कसो होला ? किनभने राति १० बजेभन्दा पहिले हामीले थानकोट नाका पार गरिसक्नु पर्छ । नत्र यस जाडोको अन्धकारपूर्ण रात त्यहीं भोकभोकै बिताउनु पर्नेछ । र, भोलिको सम्बन्धमा केही भन्न सक्दिनँ ।’
रक्सौल बसाईबाट हैरान भइसकेको र यस अवधिमा त्यहाँ लुटिएको घटनाबाट क्षुब्ध भएको ट्रक चालक यथासक्य चाँडो दिल्ली फर्कने हतारले होला‘ठीक है साहब’ भनेर ट्रक गुडाउन थाल्यो । बिहान ८ बजे भाइको घरमा खाएकै भरमा हाम्रो यात्रा सुरु भयो । तर, पथलैया नपुग्दै बाटोमा ट्रक रोक्ने, सोधपूछ गर्ने र सुरक्षा कर्मचारीहरुका तजबीज बमोजिम माल जाँच्ने प्रक्रिया सुरु भयो । एक ठाउँमा सोधपूछको क्रममा एकजना सुरक्षा कर्मचारीले म सेवारत भएको कार्यालय, मैले पाउने पेन्सनको राशि आदिका सम्बन्धमा पनि सोध्ने आवश्यकता ठाने । तर जब मैले म करारको सेवामा रहेकोले पेन्सन नपाउने कुरा बताएँ त उनले ‘तपाईं अल इण्डिया रेडियोमा समाचारवाचक हुनुहुँदो रहेछ । समाचार कसरी पढ्न हुन्छ बताउनुहोस् त’ भने ।
आफूलाई काठमाडौं पुग्ने हतार भएकोले मैले पनि घाँटी सफा गरें । देशको स्थितिलाई सम्झंदै, सुरक्षा जाँच गराइरहेको घटनालाई समाचारको प्रमुख शिर्षक बनाएँ । अनि सुरक्षा कर्मचारीको कार्यकुशलता र इमानदारिताको तारिफ गर्दै समाचार पढेको अभिनय गरेपछि उनले ट्रक चलाउने अनुमति दिए । काठमाडौं नपुगुन्जेल बाटोमा विभिन्न ठाउँहरुमा सोधपूछ र जाँचको प्रक्रियाको सामना गर्नुप¥यो । तर, समाचार पढेर सुनाउने आवश्यकता भने अन्यत्र उत्पन्न भएन । तर नागढुँगामा भने नयाँ अनुभव भयो ।
पथलैयामा एकजना भद्रसरह देखिने व्यक्तिले ट्रक रोक्न संकेत गरे । ती दिनहरुमा कसैलाई बेवास्ता गर्नु पनि आफ्ना लागि समस्या उत्पन्न गराउनु थियो । कुरा सोद्धा थाहा पाइयो, उनी हेटौंडा जाने हतारमा रहेछन् । तर गाडी नपाएर अलपत्र परेकोले हेटौंडासम्म लगिदिन सकिन्छ कि ? भन्ने उनको आग्रहले नाईनास्ति गर्न दिएन । पथलैया नाघेपछि ट्रक चालकले डिजेल सकिन लागेको कुरा भन्यो । ‘ल हिंड कतै पेट्रोलपम्प देखा परेमा रोक’ भनें । ट्रक आफ्नो गतिमा गुड्न थाल्यो । बाटामा २–४ ठाउँमा पेट्रोलपम्प देखा परे । गाडी रोकियो । तर डिजेल छैन भन्ने कुरा मात्र सुनियो । साथमा बसेका यात्रीले चालकसित भने, ‘हेटौंडासम्म पुग्न सकिन्छ भने डिजेलको व्यवस्था म त्यहाँ गराई दिनेछु ।’
मलाई देवदूत भेटिएसरह अनुभव भएर आयो । हेटौंडा पुगेपछि थाहा भयो, उनी स्वयम् पेट्रोल पम्पका प्रोपराइटर रहेछन् । उनले चाहिएजति डिजेल भरे हुन्छ भने पछि ट्रक चालकले आवश्यकताभन्दा बढी नै डिजेल भ¥यो । उनको सदासयताका लागि धन्यवाद दिंदै हामीले हेटौंडा छाड्यौं । बाटोमा सोच्न थालें, यिनीप्रति मनमा कुनै शंका पालेर ट्रकमा नबसालेको भए बाटोमा के गति हुने थियो ? यस्ता भद्र पुरुषको नाउँ आज यो लेख्न बस्दा बिर्सेंकोमा अलि खल्लो अनुभव भइरहेछ ।
ट्रक गुडी रहँदा चालकलाई उर्जाशील बनाइराख्नु आवश्यक थियो । उसको मनोबल पनि क्षीण हुन दिनु भएन । ठाउँ–ठाउँमा शीतल पेय र बिस्कुट सेवन गर्दै गराउँदै हामी आफ्नो लक्ष्यतर्फ अघि बढिरहेका थियौं । तर, नागढुँगामा आएपछि भने हाम्रो उत्साह सेलाएर आयो जब सुरक्षाकर्मीहरुले गाडी पूरा नजाँची नछाड्ने कुरा गर्न थाले । यसको कारण म बुझिरहेको थिएँ । मैले पनि उनीहरुको चाहना पूरा हुन नदिन ट्रक चालकलाई ट्रक ढाकिएको तिरपाल हटाउन भनें । चालकले तिरपाल हटाउन थालेपछि सादा पोसाकमा एक व्यक्ति आए र मैले यसरी सामान ल्याउनाको कारण सोध्न थाले । म एकजना सेवानिवृत्त कर्मचारी घर फर्कन थालेको र आफूले प्रयोग गर्दै ल्याइएका सामानहरु लिइ आएको बताएँ । उनलाई पनि मैले पाउने पेन्सनको राशिप्रति उत्सुकता थियो । करारको सेवामा काम गरी बसेकोले पेन्सन नपाउने कुरा बताए पछि उनले भने, ‘किन दुःख गर्नुहुन्छ ? यस्तो जाडो छ । यसो चुरोट खान दिनुभए, घर चाँडै पुग्न पाउनु हुन्छ । भोलि फेरि तीन दिनका लागि काठमाण्डौं बन्द छ ।’
म चुरोट नखाने परें । भाई शेखरको घरमा बिहानको खाजा खाएर निस्केपछि बिस्कुटकै भरमा यात्रा गर्दै आएकोले घर पुग्ने हतार थियो । यसर्थ चुरोट खान भनी कागजको एउटा नीलो टुक्रा झिकेर दिएपछि ट्रक अघाडि सार्ने अनुमति पाइयो ।
राति पौने दश बजेतिर हामी थानकोट पुग्यौं । त्यहाँ पनि सुरक्षा कर्मचारीहरुको चित्त बुझाउनुपर्ने थियो । मेरा कागतपत्रहरु हेर्दै सोधपूछ गरेपछि हामीलाई थानकोट छाड्ने आदेश दिइयो । ट्रक त्यहाँबाट हिँड्यो । सबैतिर अन्धकार थियो । यस्तोमा कतै अडेर चिया खान पनि नपाइने । चालकको सहयोग र साहसका लागि धन्यवाद दिंदेै मैले भनें, अब घर धेरै टाढा छैन । त्यहाँ गएरै खाना खाउँला । हुन्न ?’
उसले हुन्छ मात्र भनेन, समान उत्साहले गाडी कुदाउन थाल्यो । राति लगभग १२ बजेतिर हामी महाराजगञ्जस्थित निवासस्थलमा पुग्यौं । तर ट्रक चालक भन्न थाल्यो, ‘ल अब सामान ओराल्नोस् । म फर्की हाल्छु ।’ ल परेन समस्या । म बुढो एक्लैले त्यति भारी सामान ओराल्ने कुरै भएन । १२ बजेको चकमन्न रात । कसको सहायता माग्ने ? छोरीको घर पुगें र घरको कलबेल थिचें । म आइ हाल्छु कि भनेर मेरी धर्मपत्नी बत्ती बालेर बसेकी रहिछन् । कलबेलको आवाज सुनेर छोरी, ज्वाई र पत्नी बिनिता ढोका खोल्दै उपस्थित भए । ज्वाईंले यस मध्यरातमा एक त सामान ओराल्नमा सहयोग गर्ने मानिस नपाइने बताउनुभयो । मैले पनि ट्रक चालकसित भनें, ‘दिन भर के भुखे हैं । बिना खिलाए कैसे भेज सकते हैं ।’
ट्रक चालकले पनि कुरा बुझ्यो तर भन्न थाल्यो, ‘अब के बाद मैं काठमाण्डू कभी नही आऊँगा ।’ म घर पुग्न पाएकोमा खुसी थिएँ तर विचरा चालक अब काठमाडौंमा तीन दिनको बन्दका कारण बस्नुपर्ने वाध्यताले गर्दा खिस्रिक्क प-यो ।
रक्सौलमा पाएको सास्ती र अब काठमाडौंमा तीन दिन बस्नुपर्ने वाध्यताले गर्दा होला, उसले यस किसिमको प्रतिक्रिया जनाउनु स्वाभाविक नै थियो ।