८३ वर्षअघिको सरस्वती पूजा, स्वयम्भू र ॐ मणि पद्मे हूँ

पावन वसन्त पञ्चमीको सम्झनामा ।

अरविन्द रिमाल

सबैतिर मङ्गलमय वातावरण छाइने शुभदिवस । वसन्त पञ्चमीको पावन दिवस । अक्षर ज्ञान आरम्भ गर्ने दिवस । यस्तो ज्ञानको प्रकाश न्योछावर गर्ने गुरुजनका परम पावन चरणकमलमा नतमस्तक हुने पावन दिवस ।

आजकै दिन ८३ वर्षअघि पिताजीले तिनताक सनसाइन भनिने आफ्नो मोटरबाइकमा यो बालखलाई बसाएर ठमेलको त्यो पावन गृहमा लैजानुभएको हिजो जस्तै लाग्दछ, जुन गृह मेरा लागि सदा स्मरणीय, सदा आदरणीय छ । स्वनामधन्य प्रातःस्मरणीय श्रीपद्मराज पाठकको त्यो घर आवासगृहमात्र नभएर कतिकतिका लागि तपोभूभिसमान थियो । अनन्तश्री विभूषित स्वर्गद्वारी महाप्रभुका प्रथम गृहस्थ शिष्य, महाप्रभुको इच्छाद्वारा नै मेरा पिताजीका सद्गुरु अनि मेरा परम वन्दनीय अक्षरगुरुका श्रीचरणमा शतशत नमन गर्दै आजको दिनको महिमा गर्ने सौभाग्यका लागि धन्य सम्झेको निवेदन सबैमा गर्दछु ।

अनि सम्झना हुन्छ, ८२ वर्षअघि आजकै दिनबाट अनेक वर्षसम्म टोले बालसङ्गाती चन्द्रधर उप्रेती, धनमानसिँह बस्न्यात, नृपेन्द्रनाथ रिमालसँगसँगै स्वयम्भूनाथको पावन डाँडाको दक्षिणीभागमा अवस्थित हुनुभएकी माता सरस्वतीको शालीनमूर्तिले शोभनीय चिटिक्क परेको सुन्दर मन्दिरको दर्शन गर्न वसन्त पञ्चमीको उपलक्ष्यमा जाँदाको बालसुलभ आनन्दै आनन्द । दर्शनपछि डाँडा उक्लेर बयानै गर्न शब्द नपाइने शालीन परिसर र आफ्नै इच्छाशक्तिले उत्पन्न हुनुभइ विराजमान गर्नुहुने साह्रा नेपालीजनका आराध्य स्वयम्भूनाथको अति भव्य आराधनास्थलको कति पटक हो कति पटक परिक्रमा गर्ने गरिएको, पाली अक्षरमाू ॐ मणि पद्मे हूँ अङ्कित यन्त्र घुमाउँदै, रमाउँदै । आहा ! अपवादविना विश्वका सबै देश र जातियताका कति कति कविहरुले गान गरेका यी आनन्दका बाल दिनहरु । आहा, क्या दिन थिए ।

केही वर्षअघिसम्म पनि आफ्नो डिल्लीबजार कालीकास्थानको घरको कौशीबाट छर्लङ्ग दर्शन पाइने यो स्थल, अहिले विकासको मूल फुटाएका घरका कंक्रीटहरुले छेकिए पनि यो स्थलले, यो परिशरले आज पनि भित्री हृदयमा न्यानो ठाउँ ओगटेकै छ,, बाँचुञ्जेल ओगटिरहने छ । यो यसकारणले गर्दा पनि कि, यही डाँडाको पश्चिमपट्टिको भिरालोमा २००८ सालमा नेपाल प्रजा परिषद तथा नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक सम्युक्त मोर्चा गठन सम्मेलनको सम्पन्नताको खुशीयालीमा सामूहिक फोटोको भव्य सेशन आयोजना भएको थियो । विश्वको राजनीतिक इतिहासमै अनुपम त्यो संयुक्त मोर्चा २००७ को प्रजातान्त्रिक क्रान्ति अपूरो भएको नारा दिँइदादिँइदा पनि प्रकारन्तरबाट त्यही क्रान्तिले मुलुकमा ल्याएको युगान्तकारी परिवर्तनको रक्षा गर्नमा, नेपालभरि देशप्रेम, राष्ट्रियता जागरण, जनताका मङ्गलकल्याणका विषयहरु उठाउने र पूरा गराउने ध्येयका अनेकानेक आन्दोलन तथा संघर्ष गर्नमा लक्ष्यित भएका थिए । यी सबै गौरवशाली राष्ट्रिय कर्तव्यकर्मको विशेषगरी श्रेय १९९७ सालको पहिलो राणा जहानीया शासनविरुद्ध पर्चा क्रान्तिको आयोजक दल प्रजा परिषदका संस्थापक नेता अध्यक्ष टङ्कप्रसाद आचार्य एवम् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई छ ।

आज राजनीतिक निहितस्वार्थका कारण ओझेलमा पारिएका नेपालका यी दुई महान विभूतिहरुलाई (त्यसमा पनि पुष्षलाललाई त उनको सम्रग उत्तरदान योगदानसहित अवसरवादी राजनीतिकबाजहरुले अपहरण गरिरहेको दारुण समयमा) पनि सम्झना गर्ने सुअवसर आजकै तीन दिनपछि ७० वर्षको हीरक जयन्ती पर्ने २००७ सालको प्रजातन्त्र दिवसले दिएको हो । आज यस पावन नाम प्रजातन्त्र दिवसलाई धूलोपीठो पार्ने अनेक शब्दाडम्बरी नामधारी तन्त्रहरु मलुकमा रचिएता पनि यो दिवस, मेरा सद्गुरु स्वामी सत्यदेवज्यूका शब्दमा भनिएजस्त‌ै त्यत्ति नै पावन एवम् उज्ज्वल छ, जत्ति बिहानीपखको सूर्य ।

२००७ साल फागुन ७ लाई जय नेपालको सम्बोधनले अग्रिम अभिवादनबाट आजको यस वसन्त पञ्चमी निवन्धमा बीट मार्ने अनुमति चाहन्छु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button