‘नेपालनाम्चा’को नयाँ स्तम्भ ‘प्रधानमन्त्री’मा प्रम केपी ओली, हरि अधिकारीको खरो टिप्पणी

नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘प्रधानमन्त्री‘को पहिलो अंक हो यो । यस स्तम्भमा नेपालमा अहिलेसम्मका प्रधानमन्त्रीहरुमाथि अनेक कोणबाट टिप्पणी, विश्लेषण र अन्र्तवार्ताहरु समेटिनेछन् ।

बहुचर्चामा रहेका प्रधानमन्त्री केपी ओलीलाई अनेक आयामबाट खोतल्ने प्रयत्न गरिएको छ, यस पटक यहाँ । सिर्जनात्मकसाथै आलोचनात्मक चेतले प्रखर भनिएर चिनिएका हरि अधिकारीसँगको वार्ता प्रस्तुत छ ।

प्रधानमन्त्री केपी ओली । तर, उनी पूर्व प्रधानमन्त्री पनि । प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री ओलीबीच के फरक पाउनुहुन्छ ? कि केही फरक पाउनु हुन्न ?
पहिलो पटक प्रधानमन्त्री हुँदा खड्गप्रसाद शर्मा ओलीले केपी कामरेडको सम्मानित स्थानबाट च्युत हुने काम गर्न भ्याएका थिएनन् । बिचौलियाहरूको चङ्गुलमा पूरै फसिसकेका पनि थिएनन् । त्यसैले दोस्रो पटक प्रधानमन्त्री हुनुभन्दा पहिलेका भूपू प्रम ओली ठीकै जस्ता लाग्दथे । अहिले त पूरै बेकम्मा साबित भएका छन् । फरक आफैँ पत्ता लगाउनोस् ।

प्रधानमन्त्री नहुँदाका केपी ओलीलाई कसरी व्याख्या गर्नु हुन्छ ?
प्रधानमन्त्री नहुँदाका खड्गप्रसाद ओली प्रमको पद प्राप्त गर्ने एक मात्र एजेण्डा बोकेर हरेक प्रकारका षडयन्त्रका तानाबाना बुनिरहेका सत्ताखोर व्यक्ति थिए जस्तो लाग्छ ।

एमाले अध्यक्ष केपी ओली । र, एमालेमै पनि प्रतिपक्ष ओली हुँदाका उनलाई कसरी सम्झनु हुन्छ ?
उनले जुन हैसियतमा भए पनि आफू र आफ्नो महत्वाकांक्षालाई केन्द्रमा राख्ने गरेका छन् । उनी यो एकसूत्रीय एजेण्डामा सफल पनि हुँदै आएका छन् ।

व्यक्ति केपी ओलीलाई त ?
केपी ओली व्यक्तिका रूपमा निकृष्ट लाग्छन् । चरम् स्वार्थी, षडयन्त्रकारी, अहंकारी, बैगुनी र आफूलाई लाभ मिल्दैन भने देश नै भड्खालोमा परे पनि परोस् भन्ने ध्वंशवादी ।

उनी कम्युनिस्ट पार्टीका नेता । तर, उनमा अग्रगामी चेतना ज्यादा पाउनुहन्छ कि यथास्थितिवादी वा प्रतिगामी चेतना ?
केपी ओलीलाई उनको सोच, बोलीवचन, रहनसहन र सामाजिक व्यबहार कुनै हिसाबले पनि कम्युनिस्ट भन्न मिल्दैन । यिनी घोर दक्षिणपन्थी हुन् ।

केपी ओलीको राजनीतिक जीवनलार्ई कसरी हेर्नु हुन्छ ?
केपी ओली लहैलहैमा झापा विद्रोहमा लागेका र त्यो मुद्दा सङ्गीन भएकोले लामो कारावासको सजाय भोग्न बाध्य सामान्य व्यक्ति हुन् । मेहेनती र उग्रमहत्वाकांक्षी भएकोले यिनले जेलमा रहँदा धेरै पढे, बुझे र तत्कालीन मालेको राजनीतिमा आफ्नो स्थान सुरक्षित गर्दै अघि बढ्दै गए । त्यति हो ।

उनको राष्ट्रवादलाई पनि धेरैले धेरै तरिकाले व्याख्या गर्छन् । तपाईंको बुझाई के हो ?
केपी ओली जस्ता चरम् दक्षिणपन्थी सत्ताखोर व्यक्तिहरूका लागि राष्ट्रवाद जनतालाई झुक्याउने एउटा बलियो उपकरण हो ।

केपी ओलीको वाककला वा वाक’कड्क’प्रति तपाईंको के टिप्पणी छ ?
कुरा गर्न जान्दछन् । अरूलाई उडाउन, होच्याउन, विषय-वस्तुलाई मूल मुद्दाबाट भड्काउन र फटाहा कुरालाई साँचो जस्तो पारेर प्रस्तुत गर्ने कला विकसित गरेका छन् यिनले । तर, ढाँटेको कुरो काटे मिल्दैन भनेझैँ यिनको फट्याइँको पोल खुल्न थालेको छ आजभोलि ।

अहिले उनी ‘केपी बा’ का रुपमा प्रचारित छन् । त्यसबारे केही भन्नु हुन्छ कि ?
उनले सत्ताको दुरुपयोग गरेर पालेका भत्खौरेहरूले गर्ने सम्बोधन हो त्यो ‘बा’ भन्ने ।

यता काठमाडौंमा ‘केपी! आइ लभ यु’ एकातिर र अर्कोतिर ‘केपी! आइ हेट यु’ को नारा चलिरहेको छ । तपाई कतातिर ?
म कुनै नेतालाई लभ यु वा हेट यु भन्दै हिंड्ने व्यक्ति नभएकोले तपाइँको प्रश्नको उत्तर दिइरहन परेन मलाई । तर केपी ओलीले जसरी यो पूरा पद्धतिलाई जडमूलदेखि उखेल्ने उपद्रो गरिरहेका छन्, त्यसको आलोकमा हेर्दा यी समसामयिक नेपाली राजनीतिका सबैभन्दा भयानक खलनायक हुन् त्यसैले हेटफुल, घृणायोग्य छन् ।

नेपालमा गणतन्त्रको आन्दोलन चलिरहँदा ‘बयलगाडामा चढेर अमेरिका पुगिदैन’ उनले भने भन्ने कुरा अहिले पनि बेलाबेला उठ्छ । तपाई अहिले अमेकिामै हुनुहुन्छ । के अमेरिका बयलगाडा चढेर पुगिदैन ?
निश्चय नै हो, अमेरिका बयलगाडाको सवारी गरेर पुग्न सकिंदैन । यसलाई यसरी पनि भन्न सकिन्छ: तीन त्रिलोक चौध भुवनका गफ हाँकेर, ठग बिचौलियाहरूको सल्लाहमा चलेर र भ्रष्टाचारीहरूको संरक्षण गरेर देशको विकास गर्न सकिंदैन ।

र, अन्त्यमा, उनको एक सबैभन्दा असल र खराब पक्ष ?
केपी ओलीका खराब पक्ष यति धेरै उजागर भएका छन्, अब त तिनको चरित्रमा कुनै असल पक्ष पनि छ र ? भन्नू पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button