कहिलेसम्म ? ‘गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ’
अशोक सिलवाल
तस्विरः नेपालनाम्चा फोटोपत्रकार
‘गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ
हातमा कलम हुनेहरू, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ …’
गीतकार हुन् श्याम तमोट । झन्डै डेढ दर्जन भाषामा अनुवाद भइसकेको यो जनगीत जागरण गीत हो । यो गीत पञ्चायतदेखि संसदीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दा र आइसकेपछि पनि उत्तिकै प्रिय । र, उत्तिकै उर्जा भरिरहेछ यो गीतले यो देश र जनतालाई ।
गीतका सर्जक तमोट केही वर्षअघिसम्म भोजपुरको दाँवाँमा एक साधारण शिक्षकका रुपमा जीवन व्यतीत गरिरहेका थिए । पछिल्ला बर्षहरु उनी काठमाडौंमा छन् ।
… र, यो काठमाडौं र देशकै कुरा हो, अस्ति भर्खर नेकपा (केपी)को काठमाडौं जनसभामा देशका विभिन्न भागबाट कति मान्छे आए, सत्ताधारी नेकपाले हिसाबकिताब राखेकै होला । र, आज फेरि नेकपा (प्रचन्ड-माधव)को काठमाडौं जनसभामा कति मान्छे आए, प्रतिपक्षी नेकपाले हिसाबकिताब राख्दै होला । यी दुवै दिन राजधानीका ठाउँ-ठाउँ देशका विभिन्न जिल्लाका सदरमुकाम जस्ता देखिए । गाउँ-गाउँ र बस्ती-बस्तीबाट अनेक उमेर समुहका मानिस आए । बाजा लिएर आए । आफ्ना स्थानीय भेषभुषामा आए ।
तर, के यो गीतले यसरी मानिसलाई व्युँझाउन खोजेको हो ?
यी जनप्रदर्शनहरु गीतमाथिको सम्मान हो ? वा हो व्यङ्य हो ?
गीतले भनेजस्तो कहिलेसम्म यसरी नै गाउँ-गाउँबाट बस्ती-बस्तीबाट उठिरहने ? किन उठिरहने ? दुईतिहाई, एकतिहाई र झन्डै दुईतिहाइपछि पनि सधैं यसरी नै गाउँ-गाउँबाट, बस्ती-बस्तीबाट उठिरहनुपर्ने ?
यी दृश्यहरु कति सुन्दर ? कति कर्कश ?
जनमतको यो सम्मान वा अपमान हो ?
शहरभरी प्रश्नहरु ती प्रत्येक नारासँगसँगै नाराको अन्त्र्यमा र झन्डाहरुसँगै झन्डाको अन्त्र्यमा । र, ती प्रश्नहरु फ्रस्र्ट आवरमा मानिसलाई ओरालेर साँझ फेरि तिनलाई तिनको गाउँ-गाउँ र बस्ती-बस्ती पुर्याउन शहरका ठाउँठाउँमा तयार लामालामा बसहरुका खाली सीटहरुमा ।
र, हाम्रा सपना देशको राजधानीमा अडिइरहेका ती बसहरुका खाली सीटहरुजस्तै रित्ता रित्ता रित्ता … सधैं सधैं ।