कालोपाटीमा पढियो, सेतोपाटीमा पढाउँदै छु
उनी जनसेवा माध्यमिक विद्यालय र उज्ज्वल शिशु निकेतन एकेडमी कीर्तिपुरका शिक्षक हुन् । नेपालनाम्चाले सुरु गरेको स्तम्भ ‘शिक्षकलाई सलाम’को पहिलो अंकमा धर्मराज न्यौपाने ।
विद्यार्थी छँदा बेन्चमा बसेर कालोपाटी अगाडि उभिएर तपाईंलाई पढाउने शिक्षकहरुबारे के सोच्नु हुन्थ्यो ?
जब म सानो थिएँ र दस कक्षासम्म पढुन्जेल कालोपाटीमै पढियो। सरहरूले अगाडिबाट पढाइरहँदा मनमा लाग्थ्यो कि मैले पनि त्यही स्थानमा गएर केही ज्ञान दिन पाउँ । समयले यही नै गरिदियो । उतिबेला कालोपाटीमा पढियो र अहिले सेतोपाटीमा पढाउँदै छु ।
भविष्यमा शिक्षक हुन्छु भन्ने त्यति बेलै तपाईंको सपना थियो ?
त्यतिबेला भविष्यमा के बन्ने र कसरी जिन्दगी गुजार्ने भन्ने सवाल खासै मनमा आएन । र, पछिल्लो चरणमा आएर चै पढाउन पाए भन्ने कूरा मनमा अड्किएको थियो । त्यसलाई सपना नैं नभनी हालौं ।
शिक्षक भएर पहिलो पटक कक्षा छिर्दाको क्षण सम्झनु हुन्छ ? कस्तो लागेको थियो त्यो क्षण ?
म एम ए सकेर नै शिक्षण पेशामा आवद्ध भएको हुँ । त्यति पढेर पनि पहिलो कक्षा फेस गर्दा सार्है अप्ठेरो महसुस भयो ।
विद्यार्थी हुन सजिलो कि शिक्षक ? र, उस्तै प्रश्न विद्यार्थी हुन गाह्रो कि शिक्षक ?
एकर्थामा भन्नु पर्दा विद्यार्थी बन्न नै सजिलो नि, हरेक समस्याको समाधान सरले नै गर्दिनु हून्छ भन्ने मानसिकता हुन्थ्यो । शुरुवाती चरणमा त शिक्षक बन्न नै गार्हो लाग्यो । तर, वास्तवमा विद्यार्थी बन्न नै गार्हो ।
शिक्षकभित्र विद्यार्थी कत्तिको हुन्छ ? के विद्यार्थीभित्र पनि शिक्षक हुन्छ ?
शिक्षक नै सर्वेसर्वा होईन । ऊ आफै अनेक खोज र नयाँ नयाँ अनुभव संगाल्नुपर्ने भएकाले शिक्षक एक विद्यार्थी पनि हो । हून्छ, विद्यार्थीभित्र पनि शिक्षक हुन्छ ।
शिक्षकका सपना र विद्यार्थीका सपनाहरु कति फरक र समान हुन्छन् ?
नेपालको परिपरेक्ष्यमा शिक्षण पेशालाई विकल्पको पेशाको रूपमा हेरिन्छ । त्यो दुःखद पक्ष हो । तर, एउटा कुशल शिक्षकको सपना चै स्वच्छ, पारिश्रमी र देशभक्त विद्यार्थीको उत्पादन गर्नु नै हो र हुनुपर्छ । हरेकका सपना फरक फरक नै हुने गर्छन् ।
शिक्षक जहाँको तहीँ रहन्छ तर विद्यार्थी पर, शिक्षकभन्दा पर निकै उपल्लो दर्जामा पुगेको देख्दा कस्तो लाग्छ ?
त्यो त गर्वको कुरा हो नि । आफैले पढाएको एकजना कर्मनिष्ट विद्यार्थी उपल्लो दर्जामा पुगेको देख्दा हर कोही शिक्षक खुसी नै हुन्छन् । मानौं, कुनै एकजना विद्यार्थी अधिकृत स्तरमा पुग्यो र त्यो विद्यार्थीको कार्यालयमा पुग्दा उसले आदर गर्दा गर्व नै अनुभूति हुन्छ ।
कति विद्यार्थी कहिं पुग्दैनन् । न त पढाई न त पद । त्यस्तो अवस्थामा रहेका भूतपूर्व विद्यार्थी देख्दा, भेट्दा कस्तो लाग्छ ?
त्यस्तो अवस्थामा रहेको विद्यार्थी देख्दा कहिलेकाहीं खिन्न त भइन्छ तर मैले भने उत्प्रेरणात्मक बाटो रोज्छु ।
शिक्षक कस्तो हुन्छ ? र, असल शिक्षक भनेको के हो ?
निश्चय पनि एउटा शिक्षक निस्वार्थी नै हुन्छ, जस्ले आफूले पढाएको विद्यार्थी सधैं सफल होस् चाहन्छ । र, अर्को कुरा असल शिक्षक जहिले पनि रचनात्मक र सकारात्मक नै हुनुपर्छ । खोज र अनुसन्धान गर्नु एउटा असल शिक्षकको कर्तव्य पनि हो । म चाहन्छु असल शिक्षक सदैव सेवाभावको हुनुपर्छ ।
विद्यार्थी कस्तो हुन्छ ? र, असल विद्यार्थी भनेको के हो ?
विद्यार्थी लगभग टिनएजर्स् भएको कारण उनीहरू चुलबुले नै हुन्छन् । भर्खर जवानी अवस्थामा रहेको कारण पनि हरेक क्षेत्रमा चकचके हुन्छन् । तर, असल विद्यार्थी सधैँ अध्ययनशील हुन्छ । हरेक दिन हरेक समस्यासहित शिक्षक सामु आउने गर्दछ ।
शिक्षकको दुख के हो ? सुख के हो ?
समाजले शिक्षण पेशालाई अझैसम्म बुझ्न नसक्नु शिक्षकको पहिलो दुःख हो भने हजारौँ बिद्यार्थीलाई सही बाटोमा सुरक्षित अवतरण गर्दिनु सुख र खुसीको कूरा हो ।
अरु पनि धेरै प्रश्नहरु छन् । उत्तरहरु पनि । अहिलेलाई यत्ति सोध्छु, जाँदाजाँदै अरु केही भन्नु छ ?
हुन्छ, नेपालनाम्चालाई पनि धन्यवाद । केही अनुभूति सेयरिंगको लागि प्लेटफार्म दिनु भयो ।