सडक सुरक्षाः जिन्दगीको के छ भर !

कृष्णचन्द्र बञ्जारा

श्रमका लागि अरब छिरेपछि प्राय सबै नेपाल रहँदाका साथीहरुसँग सम्बन्ध घट्दै गएको थियो । दिनको १२ घण्टा भन्दा बढी डिउटीमा खटिन्थे । अनि महिनामा जति दिन हुन्छ, त्यति नै दिन डिउटी गर्थे । अर्थात् छुट्टी भन्ने कुरा पाउन मुिस्कल थियो । अधिकांश समय ३ कुरामा बित्थ्यो । काम काम र काम । बाँकी केहि समय बच्यो भने तिनै तिनवटा कुराको तयारीमा बितेर जान्थ्यो ।

राजकुमार गोले मेरो पत्रकारिताका सकृय दिनहरुका सहकर्मी हुन् । अमेरिकी चिठ्ठाले उनलाई अमेरिका पठायो । म आफ्नै बाध्यताले खाडी छिरे । उहाँ नेपाल हुँदा नै म खाडीमा पसिना बगाउन थालेको थिएँ । अमेरिका पुगेपछि पनि मेरो कर्म खाडीमै जारी थियो । जहाँ भए पनि मेरो म्यासेन्जरमा राजकुमार गोलेको म्यासेज आइरहेको हुन्थ्यो । म यसो खाजा खाने समय फुत्त ‘रिप्लाई’ दिन्थेँ । अथवा साँझ खाना–साना पकाइवरी, नुहाइधुवाई सकेर सुत्ने तयारीको क्रममा जवाफ फर्काउँथे ।

यसै क्रममा एउटा अपत्यारिलो घटना भयो । त्यो घटनाले राजकुमार गोलेलाई जति घायल बनाएको थियो, म आफैलाई पनि पिडाबोध गराएको थियो । फेसबुकभरी, अनलाइनभरी छाएको त्यो अपत्यारिलो घटनाले साँच्चै भन्ने हो भने आँसु पुछ्न बाध्य पारेको थियो । अर्काेतर्फ, सामाजिक सञ्जालमा त्यो घटनाप्रति भएका टिका टिप्पणी हेरिनसक्नु भएको थियो । जति धेरै त्यो घटनाबारे टिप्पणी हुन्थे वा टिप्पणीमुनि ‘रिप’ लेखिएको हेर्न नपाए पनि हुन्थ्यो नि भन्ने लागेर आउँथ्यो । जताततै त्यो घटनाको चर्चा देखेपछि मलाई फेसबुकप्रति निकै बितृष्णा पैदा भयो । मैले त्यसलाई मोवाइलबाटै उडाएँ र म्यासेन्जरमा मात्रै सिमित भएँ । त्यो अप्रत्यारिलो घटनाबारे नरमाईलो कुरा पोष्ट गरिसकेपछि अहिलेसम्म मेरो फेसबुकमा कुनै पनि पोष्ट आएको छैन । अझैसम्म त्यो बितृष्णा निमिट्यान्न भएको छैन । अनि थाहा छैन, कुन दिन त्यो वितृष्णा निमिट्यान्न हुन्छ र फेसबुकमा पहिले जस्तै क्षण क्षणमा विभिन्न पोष्टहरु गर्न थाल्ने छु । टिकाटिप्पणीमा भाग लिने छु ।

त्यो अपत्यारिलो घटनामा राजकुमार गोलेको बहिनी र भान्जीको एकै ठाउँमा मृत्यु भएको थियो । सानीभान्जी र बहिनीलाई एकै ठाउँमा टिपरले हानेर भएको त्यो मृत्यूको घटनाले राजकुमार गोले, उसको परिवार र तत्कालीन अवस्थामा परदेशमा रहेका बहिनीज्वाईंलाई कति पिडा भयो होला ? त्यसको अनुमान लगाउन पनि म सक्दिनँ ।

त्यो घटनाले म आफुलाई भने एउटा जीवनबोध गराएको छ । मान्छेको जिन्दगी हजारौ पटक कालसँग लुकाछिपी गर्दै बित्ने गर्छ । यो लुकाछिपीमा कुन दिन हामी हार्र्छाै ? हामी कसैलाई थाहा छैन । जुन दिन हामी हार्छाैं, त्यो दिन ढिलो चाँडो उसले लगेरै छाड्ने छ । संसारमा यति धेरै अपत्यारिला घटनाहरु भएका छन् कि भर्र्खरै भेटेको, देखेको, कुराकानी गरेको मान्छे एक क्षणपछि नभेटिन सक्छ । कालले टपक्कै पारेर लान सक्छ ।

कतिपय अवस्थामा हाम्रो असावधानी नै कालले जित्नुका कारण बन्न सक्छ । त्यसैले हामीले बाटो वारीबाट पारी पार गर्दा होस वा सडकमा हिँड्दा होस् या गाडी चलाउदा होस्, सधै सावधानी अपनाउनु आवश्यक छ । सडकमा दुर्घटना कम गराउन सवारी चालकहरुको पनि निकै ठूलो हात रहेको हुन्छ । साथै राज्यको पनि उत्तिकै भुमिका रहेको हुन्छ । सडकमा खाल्डो पर्नासाथ नपुर्नु, सडकमा ट्राफिक लाईट तथा चिन्हरु नराख्नु, जेब्राबmस तथा आकाशे पुलहरु नराख्नाले त्यस्ता अप्रत्यारिला घटनाहरु फेरि पनि नहोला भन्न सकिदैन ।

हामीले सडकमा हुने दुर्घटनाहरु जब न्यून बनाउन सक्दैनौ तबसम्म सडकमा मृत्यू हुनेहरुको आत्माले पनि शान्ति पाउँदैन । त्यसैले सडक बनाउने योजना बनाउँदै सडक बन्नु मात्रै ठूलो कुरा हैन, बरु सुरक्षित सडक बन्नुचाहिँ ठूलो कुरा हो भन्ने हेक्का राख्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button