को हुन् मंगलमान र किन भनियो ‘व्याक टु मंगलमान’ ?
चन्द्रमान प्रधान
मेरो माइला दाजु मङ्गलमानले आफ्नो थर ‘नेपाली’ लेख्नु हुन्थ्यो । प्रजातन्त्र आएपछि उहाँले हरिजन (दलित) समुदायको बीचमा काम गर्न थाल्नुभयो । दलित समुदायको उत्थानको निम्ति उहाँले आफ्नो जीवन सुम्पन थाल्नुभयो ।
२००७ सालअघि जेलमा रहँदा सबै राजनीतिक बन्दीलाई एउटा–एउटा जिम्मेवारी दिइएको रहेछ । मङ्गलमानलाई चाहिँ दलित समुदायको जिम्मेवारी सुम्पिएको रहेछ । मङ्गलमानसँगै युगकवि सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, चन्द्रमान मास्के पनि जेल पर्नुभएको थियो । सिद्धिचरण, गोविन्दबहादुर र विजय मल्ल साहित्य लेखनमा लाग्नुभयो, चन्द्रमान मास्केले चित्रकारिता अपनाउनु भयो । जेलभित्र रहँदा उहाँहरूबीच के सल्लाह भएको रहेछ भने, जेलमुक्त भएपछि प्रत्येकले आफ्नो–आफ्नो क्षेत्रमा काम गर्नुपर्छ ।
जेलबाट मुक्त भएपछि मङ्गलमानले नेपाल समाज सुधार संघ, नेपाल–पाकिस्तान मैत्री संघ नामक संस्थाहरू खोलेर सामाजिक गतिविधिहरूमै आफूलाई क्रियाशील तुल्याउनुभयो । काठमाडौँभित्र हरिजन भनेर चिनिनेहरूमा पोडे, च्यामे, कुसुले, नाईलगायतका जातहरू पर्दथे । उनीहरू नेवारभित्रका दलित हुन् । त्यो समय शौचालयको व्यवस्था हुँदैनथ्यो । घर–घरमा मट्टितेलका टिनहरू राखिएका हुन्थे र मानिसहरूले त्यसमै दिसा–पिसाब गर्थे । त्यो दिसा–पिसाबलाई उठाउने काम तिनै दलितहरूले गर्थे । त्यसरी उठाइएको दिसा–पिसाब उनीहरूले खेत–खेतमा लगेर मलको रुपमा बेच्थे । कुसुलेहरूले सडक सफा गर्थे भने नाई (कपाली) ले कपाल काट्थे । कपाली समुदायमा पनि पुरुष र महिलाबीच कामको बाँडफाँट गरिएको हुन्थ्यो । पुरुषले अरूका कपाल काट्थे भने महिलाले नङ काट्ने काम गर्थिन् । कुनै घरमा मानिस मर्दा सातौं दिनमा चामललगायत दक्षिणाहरू लिने काम गर्थे, कुसुलेहरूले । धोवीले लुगा धुन्थे । तर, दलितमध्ये सबभन्दा हेपिएका जातिचाहिँ च्यामे र पोडे नै थिए । उनीहरू पानी नचल्ने र समाजको सबैभन्दा तल्लो वर्गका मानिसमा गनिन्थे । यो तत्कालीन समाजमा छुवाछुतको निकृष्ट रुप थियो ।
मेरा दाजु मङ्गलमान तिनै समुदायको उत्थानमा लाग्नुभएको थियो । उहाँले ‘नेपाली’ थर राख्नुको पछाडि जातीय विभेद, छुवाछुतजस्ता कुप्रथाहरूको अन्त्यको चाहना स्पष्ट रुपमा जोडिएको थियो । उहाँमा कस्तो भावना थियो भने, ‘हामी सबै नेपाली हौं, कुनै उँचनिच छैनौं । किन वर्ण चाहियो, किन जातसात चाहियो ?’
एक पटक मैले सूर्यबहादुर भारद्वाजसँग सोधेको थिएँ, ‘मेरो दाजु हरिजनको उत्थानमा किन लाग्नुभयो ? के कारणले उहाँले यो वर्गको उत्थानमा आफूलाई समर्पित तुल्याउनुभयो ?’
उहाँले भन्नुभएको थियो, ‘मङ्गलमानले बाहुन र अरू उच्च जातलाई जहिल्यै पनि घृणा गर्नु हुन्थ्यो । उहाँले दलित समुदायको उत्थानमा लाग्नुपर्छ भन्ने कुरामा आफूलाई दह्रो रुपमा उभ्याउनुभएको थियो ।’
मङ्गलमान ब्राह्मण जाति र उच्च भनाउँदा वर्गको संस्कारलाई अत्यन्तै घृणा गर्नु हुन्थ्यो । एक पटक, मेरो काकाले आफ्नै घरमा पुरेतलाई निम्त्याएर आमाको श्राद्ध गरिरहनुभएको थियो । त्यो घरको एउटा कोठा हरिजन स्कुल सञ्चालन गर्नका लागि मङ्गलमानले लिनुभएको थियो । त्यो स्कुलमा दलित समुदायका केही विद्यार्थी आएर पढ्ने गर्दथे ।
काकाले पुरेतलाई त्यही स्कुलको कोठामा बोलाएर श्राद्ध गर्ने तर्खर गर्नुभएको रहेछ । त्यो श्राद्धमा परिवारका सबै सदस्यको उपस्थिति रहेको थियो । श्राद्धको कार्य सम्पन्न भएपछि त्यो कोठामा श्राद्ध गर्न आउने पुरोहित मात्र भएको समयमा मङ्गलमान दाइले त्यो कोठामा ताल्चा लगाइदिनु भयो ।
पुरोहितलाई ताल्चा लगाइदिनुको अरू कुनै कारण थिएन, पुरेत्याइँप्रति उहाँको विमत र विद्रोह थियो । जातीय विभेदलाई इंगित गर्ने कुनै पनि सामाजिक, धार्मिक कार्यहरू देख्दा उहाँ क्षुब्ध भइहाल्नु हुन्थ्यो र त्यसमा विद्रोह गरिहाल्नु हुन्थ्यो । एक हिसाबले आफ्नो उग्र स्वभावलाई प्रत्यक्ष रुपमा व्यवहारमा उतारिहाल्नु हुन्थ्यो ।
त्यो समय परोपकार अनाथालयका आफ्नो वास्तविक थर थाहा नपाउने अनाथ बालकहरूले ‘नेपाली’ लेख्ने गर्थे । डम्बरबहादुर नेपालीले पनि परोपकार स्कुलमै पढी–हुर्केका हुन् । अरूले पनि ‘नेपाली’ थर लेखेका छन् । केही नाम लिन सकिन्छ– चित्तरञ्जन नेपाली, उत्तम नेपाली, कृष्णचन्द्र नेपाली, देवेन्द्र नेपाली ।
मङ्गलमान भारतको प्रखर विरोधी हुनुहुन्थ्यो । भारतले नेपालमाथि थिचोमिचो गरेको उहाँ सहन सक्नु हुन्नथ्यो र भारतको विरोधमा उभिनु हुन्थ्यो, जहिल्यै । भारतको विरोधी भएकै कारण उहाँले नेपाल–पाकिस्तान मैत्री संघ नामक संस्था नै खोल्नुभएको थियो । त्यो संस्था भारतलाई ‘काउन्टर’ दिनका निम्ति खोल्नुभएको थियो । त्यो संघको संस्थापक अध्यक्ष उहाँ नै हुनुहुन्थ्यो भने लक्ष्मण राजवंशी, कमल चित्रकार, माणिकलाल श्रेष्ठ र हिरण्यलाल श्रेष्ठ आदि पनि सामेल हुनुहुन्थ्यो । त्यसरी नेपाल–पाक मैत्री संघको स्थापनापश्चात् पाकिस्तानसँग मैत्री सम्बन्ध कायम भयो ।
नेपाल–पाकिस्तान मैत्री संघ स्थापना गरिसकेपछि त्यसबारे पत्रकारहरूलाई जानकारी दिने क्रममा उहाँले भन्नुभएको थियो, ‘हामीकहाँ भारतको प्रभुत्व झन्झन् बढ्दै छ । नेपालको मन्त्रिपरिषद्को बैठकमा भारतकै राजदूत बस्ने गर्छन् । उनीहरूले जे भन्छन्, त्यही निर्णय हुन्छ । हामीले भारतलाई काउन्टर दिनसक्ने पाकिस्तानसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेर अगाडि बढ्नुपर्छ ।’
सोही पत्रकार सम्मेलनमा एकजना पत्रकारले सोधेका थिए, ‘पाकिस्तान त मुस्लिम देश हो । हामी पञ्चशीलको सिद्धान्त मान्छौं । पाकिस्तानसँग हाम्रो सम्बन्ध हुनसक्छ र ?’
त्यो बेला मङ्गलमानले प्रत्युत्तरमा भन्नुभएको थियो, ‘सवाल, पञ्चशील र दसशीलको होइन । पाकिस्तानले पञ्चशीलको सिद्धान्त नमानेर के भो त ? उसले मान्ने शर्तमा हामी सम्बन्ध कायम राख्न सक्छौं । उनीहरूसँग हामी मित्रता कायम राख्न चाहन्छौं । मित्रता कायम राख्नका लागि कुनै शीलले व्यवधान खडा गर्छजस्तो मलाई लाग्दैन । के भारतसँग हाम्रो सम्बन्ध पञ्चशीलको सिद्धान्तअनुरुप हुँदै आएको छ त ? भारतले पञ्चशीलको सिद्धान्तलाई अंगिकार गरेको छ भने हामीसँग उसले त्यही सिद्धान्तअनुरुप व्यवहार गर्नु पर्दैन ?’
त्यसपछि पाकिस्तानसँग नेपालको सम्बन्ध सुमधुर हुँदै गयो । राजा महेन्द्रको राज्याभिषेकको बेला पाकिस्तानको प्रतिनिधिलाई पनि नेपालमा बोलाइएको थियो ।
राजनीतिक रुपमा सचेत मङ्गलमानले दुइटा निर्वाचनमा भाग लिनुभएको थियो । एउटा, २००९ सालमा भएको काठमाडौँ नगरपालिकाको निर्वाचनमा वडाको अध्यक्षमा प्रत्यासी हुनुभएको थियो । अर्को, २०१५ सालको संसद्को निर्वाचनमा पनि उहाँ प्रत्यासी हुनुहुन्थ्यो । २००९ सालको वडाको निर्वाचनमा भने साधना प्रधान (अधिकारी) ले जित्नुभयो । नगरपालिकाको निर्वाचनमा हरिजनको प्रतिनिधित्व गर्दै मङ्गलमान उठ्नुभएको थियो । तर, दलित समुदायबाट कति नै मत आउँथ्यो र ? उहाँले दलित समुदायको प्रतिनिधित्व गरेर चुनावमा उठ्नु भए पनि दलित समुदायले नै उहाँलाई विश्वास गरेनन् । टोलमा रहेका दुई–चार जना पोडेहरूले पनि उहाँलाई पत्याएनन् ।
आफूले जुन समुदायको प्रतिनिधित्व गरेर चुनावमा भाग लिनुभएको थियो, त्यही समुदायले नै विश्वास नगरेपछि चुनावको दिन उहाँले एउटा तरिका अपनाउनुभयो । आफूलाई खासै मत आउने नदेखेपछि उहाँले आफ्नो ढ्वाङ घोप्ट्याइदिनु भयो । त्यो बेलाको चुनावमा हरेक उम्मेदवारका निम्ति एउटा–एउटा ब्यालेट बक्स राखिएको हुन्थ्यो । त्यही बक्समा नै मतदाताहरूले मत खसाल्थे । कुन बक्समा कति भोट खस्यो, पहिला नै थाहा हुन्थ्यो ।
२०१५ सालको आमनिर्वाचनमा भने उहाँले काठमाडौँ क्षेत्र नं. १ बाट चुनावमा भाग लिनुभयो । तर, त्यो चुनावमा पनि उहाँले आफ्नो बक्स घोप्ट्याइदिनु भयो । चुनावमा बेइज्जत भएर हार्नुभन्दा फिर्ता लिनु नै उचित ठानेर हुनुपर्छ, उहाँले आफ्नो बक्स घोप्ट्याइदिनुभएको थियो ।
२०१५ सालको आमनिर्वाचनमा भने मैले युवा अवस्थामा टेकिसकेको थिएँ । कलेजमा अध्ययन गर्न थालिसकेको थिएँ र राजनीतिक चेतना बढ्दै थियो ममा । त्यो समय हामीले आफ्नो टोलमा एउटा संगठन खोलेका थियौं । खासगरी, केटाकेटीहरू गुच्चा खेल्दै बराल्लिन थालेको देखेपछि उनीहरूलाई सुमार्गतिर डो¥याउने उद्देश्यले त्यो संगठन खोलेका थियौं, हामीले । त्यो संगठनको नाम राख्यौं– ‘वादविवाद गोष्ठी ।’
वादविवाद गोष्ठी मेरै घरको एउटा कोठामा हुन्थ्यो । टोलका १०–१२ जना मानिसहरूलाई निम्त्याएर कुनै विषयमा हामी वादविवाद गथ्र्यौं । त्यही समय २०१५ सालको आमनिर्वाचन नजिकिँदै थियो । आमनिर्वाचन नजिकिँदै गएको हुँदा एकदिन हामीले मङ्गलमान दाइसँग सल्लाह ग¥यौं, ‘चुनावमा हामीले कस्तो भूमिका निर्वाह गर्दा हुन्छ ? कि हामीले तपाईँलाई बोलाएर तपार्इँको विचार सुन्ने कार्यक्रम राखौं ?’
उहाँले भन्नुभयो, ‘त्यसो नगर । मलाई मात्र बोलाएर तिमीहरूले के कुरा बुझ्छौ र ? कांग्रेसले गणेशमानलाई बोलाउँछन्, कम्युनिष्ट पार्टीले पुष्पलाललाई बोलाउँछन् । त्यसले के अर्थ दिन्छ र ? तिमीहरूले सक्छौ भने सबै उम्मेदवारलाई बोलाएर एउटा अन्तक्र्रिया कार्यक्रम राख ।’
त्यो आमनिर्वाचनमा काठमाडौँको क्षेत्र नं. १ र २ बाट गरी १७ जना उम्मेदवार चुनावी मैदानमा उभिएका थिए । पार्टीगत र स्वतन्त्र तरिकाले त्यति उम्मेदवार मैदानमा खडा थिए । हामीले सबै उम्मेदवारलाई बोलाएर अन्तक्र्रिया गर्ने तयारी ग¥यौं । हामीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सबै उम्मेदवार आए । तर, के.आई. सिंहले नेतृत्व गर्नुभएको संयुक्त प्रजातन्त्र पार्टीको तर्फबाट उठेका प्रेमबहादुर शाक्य भने अनुपस्थित हुनुभयो । उहाँमा एउटा कमजोरी के थियो भने, सार्वजनिक रुपमा भाषण गर्न सक्नु हुन्नथ्यो । शाक्य प्राध्यापक पनि हुनुहुन्थ्यो र उहाँले सञ्चालन गर्नुभएको कोचिङ क्लास निकै चर्चित थियो । तर, सार्वजनिक रुपमा भाषण गर्न भने उहाँ सक्नु हुन्नथ्यो ।
गणेशमान सिंह, पुष्पलाललगायतको उपस्थिति रहने कार्यक्रमको सभापतित्व गर्ने मानिस त तगडा नै चाहिन्थ्यो । कसलाई सभापति बनाउने ? हामी समस्यामा प¥यौं । तर, हामीले प्रोफेसर माणिकलाल श्रेष्ठलाई सभापति बनाएर कार्यक्रम चलायौं । त्यो कार्यक्रम हामीले दुई दिनसम्म सञ्चालन ग¥यौं । किनभने, एकै दिन १६ जना उम्मेदवारले भाषण गर्दा त्यो दिन सबैको भाषण सकिँदैनथ्यो । त्यो कार्यक्रम हामीले ढोकाबहालमा राखेका थियौं । कार्यक्रम निकै भव्य रुपमा आयोजना गरेका थियौं । मञ्च बनाएर र माइकको व्यवस्था गरेर नै कार्यक्रम गरेका थियौं ।
चुनावको पूर्वसन्ध्यामा पुष्पलालको पक्षमा काठमाडौँमा विशाल ¥याली निस्किएको थियो । पुष्पलालको पक्षमा विशाल ¥याली निस्किएपछि गणेशमान सिंहको त होसहवासै उडेको थियो । कम्युनिष्ट पार्टीले जित्ने अनुमान सबैले गरेका थिए । गणेशमानले आफ्नो पराजय स्वीकार गरिसक्नुभएको थियो र चुनावपछि मतगणना भएको दिन उहाँ बनेपा पुग्नुभएको थियो । पछि आफूले विजय हासिल गरेको थाहा पाएपछि उहाँ काठमाडौँ फर्किनुभएको थियो ।
मङ्गलमान आजीवन अविवाहित नै बस्नुभयो । उहाँको जुन युवतीसँग प्रेम थियो, ती पोडे जातकी थिइन् । ती युवती ढल्कोपाखाकी थिइन् । दलित समुदायमाझ काम गर्ने सन्दर्भमा ती युवती र उहाँबीच प्रेम अंकुराउन पुगेको रहेछ ।
मङ्गलमान दाइ दलितको घरमा जानुहुन्थ्यो, त्यही बस्नुहुन्थ्यो र त्यही नै खानुहुन्थ्यो । त्यतिबेला कथित उच्च जातका मानिस दलितको घरमा पस्ने, बस्ने र खाने विषय वर्जित नै थियो । अझ, दलित युवतीसँग विवाह गर्ने कुरा त तत्कालीन समाजमा सोच्नै नसकिने विषय थियो ।
एकदिन भने आफ्नो प्रेम बसेको युवतीसँग उहाँले विवाहको लागि प्रस्ताव राख्नु भएछ । तर, ती युवतीले के जवाफ दिइछन् भने, ‘काजी, तपाईँले मलाई विवाह गरेर मलाई कसरी पाल्नु हुन्छ ? तपार्इँले मलाई विवाह गर्नु भए पनि तपाईँको घरपरिवार र समाजले मलाई स्वीकार्दैनन्, मलाई तपाईँको घरभित्र छिर्ने अनुमति मिल्दैन । मेरो काम त फोहोर संकलन गर्दै हिँड्ने हो । यदि तपाईँ मसँगै बस्नु हुन्छ, यही टोलमा बस्नु हुन्छ भने म तपाईँसँग विवाह गर्न तयार छु ।’
त्यसपछि उहाँले ती युवतीसँग विवाह गर्ने मनसाय त्यागिदिनु भएछ ।
२००९ सालतिर कर्मचारीहरूको तलब वृद्धि हुनुपर्छ भनेर मङ्गलमान दाइले आवाज उठाउनुभयो । तर, सरकारले कर्मचारीहरूको आवाज सुनेन । त्यसपछि मङ्गलमान दाइले दलित समुदायका मानिसहरूलाई संगठित तुल्याउनुभयो र सरसफाई गर्ने काम ठप्प पार्नुभयो । काठमाडौँमा फोहोर थुप्रिदै गएपछि पूरै दुर्गन्ध फैलिन थाल्यो । अन्ततः सरकार कर्मचारीहरूको आवाज सुन्न बाध्य भयो र उनीहरूका तलब वृद्धि हुनुका साथै अरू सुविधाहरू पनि थपिए ।
मङ्गलमान दाइ पहिलो पटक २००४ सालमा जेल पर्नुभयो । त्यसपछि २०१८ सालसम्म लगातार उहाँ १८ पटक जेल पर्नुभयो । हरेक पटकका आन्दोलनमा उहाँ समातिनु हुन्थ्यो र जेल चलान गरिन्थ्यो । कहिले खुर्सानी काण्ड, कहिले भेंडा काण्डलगायत अनेक काण्ड घट्न पुगेका थिए, त्यो समयमा । हरेक काण्डपिच्छे उहाँ आन्दोलनको नेतृत्व गर्नुहुन्थ्यो र जेल पर्नुहुन्थ्यो ।
एक पटकको घटना हो । काठमाडौँस्थित एउटा मारवाडी (भारतीय मुलका व्यापारी) को पसलमा बनेपातिरका कुनै साहुले कारोबार गर्दा रहेछन् । ती मारवाडीको पसलबाट कपडा किनेर बनेपामा लगी बेच्दारहेछन् उनले । तर, उनीहरूबीच के हिसाबकिताब मिलेन कुन्नी, मारवाडीले बनेपाको ती साहुको हत्या गरिदिए । ती मारवाडीले व्यापारीको हत्या गरिसकेपछि लासलाई बोरामा राखेर रानीपोखरीमा फ्याँकिदिएछन् ।
उक्त मुद्दाले ठूलै आन्दोलनको रुप लियो । त्यो आन्दोलनको नेतृत्व मङ्गलमानले नै गर्नुभएको थियो । बनेपाको व्यापारीको लास रानीपोखरीबाट झिकियो र ती मारवाडीलाई घरबाटै समातियो । त्यो बेला कानुन–व्यवसायी कृष्णप्रसाद भण्डारीले भर्खरै वकालत पेशा अपनाउनुभएको थियो । उहाँले पनि त्यो आन्दोलनको नेतृत्व मङ्गलमानले गरेको कुरा बताउनुभएको थियो । कानुन–व्यवसायी भण्डारीले नै त्यो मुद्दा लड्नुभएको थियो र उहाँले मुद्दा जित्नुभएको थियो । मारवाडीले मुद्दा हारे र उनले सजायसमेत पाए ।
मङ्गलमान दाइले हरेक आन्दोलन गर्दा दलित वर्गका मानिसहरूलाई सडकमा उतार्नु हुन्थ्यो । आफूलाई कुनै विषयमा चित्त बुझेन भने उहाँ आन्दोलन गर्न अग्रसर भइहाल्नु हुन्थ्यो ।
किन भनियो ‘ब्याक टु मङ्गलमान’ ?
हरेक सानातिना मुद्दाहरू भेट्टाउनुभयो कि विद्रोह र आन्दोलन गरिहाल्ने स्वभाव थियो, मङ्गलमानमा । आफ्ना कार्यकर्ताहरूलाई बटुलेर आन्दोलन गरिहाल्नु हुन्थ्यो । र, काठमाडौँ सहरलाई आन्दोलनले तताई हाल्नुहुन्थ्यो ।
हरेकजसो आन्दोलनमा अग्रपंक्तिमा रहने स्वभाव भए पनि मङ्गलमान दाइले कुनै पार्टीको सदस्यता भने लिनुभएको थिएन । तर, उहाँको निकटता भने डा. डिल्लीरमण रेग्मीसँग थियो ।
एक दिनको घटना हो, मङ्गलमान दाइ गृहसचिवकहाँ जानुभएको रहेछ । त्यो बेला उहाँ कुनै आन्दोलनको विषयमा छलफल गर्न गृहसचिवकहाँ जानुभएको हुनुपर्छ । गृहसचिवसँग केही सवालजवाफ भएपछि उहाँले झोक्किँदै भन्नुभएछ, ‘यो आन्दोलनलाई सामान्य नठान्नुस् । यो मङ्गलमानले ब्याक गरेको आन्दोलन हो ।’
अर्को कहानी पनि छ । सधैँ आन्दोलन गरिरहने मङ्गलमानको बानीबेहोरालाई लिएर एक पटक डिल्लीरमण रेग्मीले भन्नुभएछ, ‘इट इज ब्याक्ड बाई मङ्गलमान ।’ तर, कतिपयले भने त्यसलाई शुद्ध उच्चारण गर्न नजानेर ‘ब्याक टु मङ्गलमान’ भन्न थालेछन् । पछि त नेपालको राजनीतिकलगायत अरू क्षेत्रमा समेत ‘ब्याक टु मङ्गलमान’ वाक्यांशले चर्चा पाउन थाल्यो । अहिले पनि यो वाक्यांश प्रयोग हुन छाडेको छैन ।
कतिपयलाई लाग्न सक्छ, मङ्गलमान केवल विद्रोही स्वभाव र चरित्रका व्यक्ति मात्रै हुन् । तर, यो उहाँको परिचयको एउटा पाटो मात्रै हो । उहाँले तत्कालीन समाजमा आफ्नो बौद्धिक छविसमेत निर्माण गर्नुभएको थियो । त्यसको प्रमाणका रुपमा पत्रकारिता क्षेत्रमा उहाँको सम्बद्धतालाई लिन सकिन्छ ।
समाजमा ‘आन्दोलनकारी’ को छवि बनाए पनि मङ्गलमान दाइले नेपाली पत्रकारिताको विकासमा पनि उत्तिकै योगदान दिनुभयो । उहाँले तीन वटा पत्रिका नै प्रकाशन गर्नुभएको थियो । लक्ष्मण राजवंशी, कमल चित्रकार, नूतन थपलियालगायत बौद्धिक व्यक्तिहरूसँग संगत र उठबस भएको हुँदा उहाँको झुकाव पत्रपत्रिका प्रकाशनतिर पनि गएको थियो । त्यो समय राजनीतिक, सामाजिकलगायत आन्दोलनलाई उठाउने एउटा आधार पत्रपत्रिकाहरू पनि थिए । समाजका शिक्षित तप्कालाई राजनीतिकलगायत विषयमा सचेत तुल्याउने आधार नै पत्रपत्रिकाहरू हुन्थे र मङ्गलमान दाइले पत्रिका प्रकाशनमा आफूलाई संलग्न तुल्याउनुभएको थियो । उहाँले ‘भूगोलपार्क’, ‘ममता’ र ‘नेपाली’ नाम गरेका तीन वटा दैनिक पत्रिकाको सम्पादन गर्नुभएको थियो । उहाँ आफ्नो सम्पादनमा निस्किने पत्रिकालाई सरकारले बन्द गरेपछि फेरि अर्को पत्रिका दर्ता गरी चलाउनु हुन्थ्यो ।
२०१७ सालको काण्डपछि अधिकांश आन्दोलनकारीहरू गिरफ्तारीमा परे । नेपाली कांग्रेसका नेताहरूलाई राम्रो ठाउँमा राखियो । तर, मङ्गलमान दाइलाई भने कठोर सजायसहित कारागारमा राखियो । उहाँले चरम याताना पनि झेल्नुभयो । त्यही चरम यातनाकै कारण जेलमुक्त भएपछि २०१८ सालको पुस महिनामा उहाँको देहान्त भयो । देहान्त हुनुअघि उहाँलाई रिहाइ त गरिएको थियो । तर, रिहाइ गरे पनि उहाँ निकै थलिइसक्नुभएको थियो । त्यही थलाइकै कारण उहाँले मृत्युवरण गर्नुभयो ।
मङ्गलमानको स्मरणमा मैले र मेरा दाइ हिरण्यमानले ढल्कोस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पुरस्कारको व्यवस्था गरिदिएका छौं । हरेक वर्ष जेहेनदार विद्यार्थीहरूले १० हजार बरावरको पुरस्कार पाउँदै आएका छन् । त्यस्तै, परोपकार अनाथालयमा पनि हामीले अनाथहरूलाई सहयोग गर्ने कार्य गर्दै आएका छौं । जसमा हरेक वर्ष ६ हजार प्रदान गर्दै आएका छौं ।
(अग्रज बैंकर्स प्रधानको हालै प्रकाशित आत्मकथन ‘चन्द्रकमल : एक थुँगा’बाट । यो पुस्तकको सम्पादन विवश वस्तीले गरेका हुन् ।)