परार: रत्नपर्क ‘टु’ शाली नदी
अशोक सिलवाल
रत्नपार्कबाट उत्तरपूर्वमा रहेको साँखुको शाली नदी जाँदैछु । पछिल्ला बर्षहरु प्राय माघ महिनामा म त्यहाँ पुग्ने गरेको छु । रत्नपार्कबाट सीधै साँखु पुग्ने बस पाइन्छ । भाडा ३५ रुपियाँ । यो हालसालैको भाडा मूल्य हो ।
दायाँबायाँ, यताउता र अगाडिपछाडि सबैतिर पत्रपत्रमा मिलाएर असंख्य यात्रुलाई ‘लोड’ गरेपछि पूरानो बसपार्कबाट बस अगाडि बढ्यो । चाबहिलमा यात्रुको ओभरडोज थप्नु त छँदै थियो । मजाले थपियो । घ्याम्पोमा कोचिएको गुन्द्रुक झैं परिस्थितिमा पनि मिलेका र नमिलेका दाँतहरु देखाएर यात्रुहरु हाँसिरहेको थिए ।
साँखु क्षेत्रलाई १२ वैशाखको भुकम्पले नराम्ररी हानेको थियो । सानो ठाउँमा ठूलो बज्रपात भएको थियो । तर, त्यहाँको सांस्कृतिक जीवनमा लय फर्किसकेको छ । साँखुस्थित प्रसिद्ध शाली नदी क्षेत्र यति बेला रंगीन छ । साँगीतिक छ । मोहक छ ।
बौद्ध, जोरपाटी, दक्षिणढोका, खुलालटार, डाँछी, थली आदि हुँदै हामी साँखु पुग्दा बिहानको नौ बजेको छ । पूजाको सामाग्री बेच्नेहरु भन्दै छन्, ‘आउनुहोस् । आउनु होस् । दश रुपियाँमा लैजानुहोस् ।’ नजिकिँदा थाहा हुन्छ, ऊ दश रुपियाँले तानेर कम्तीमा एक सय दश रुपियाँको जबरजस्त व्यापार गर्न पल्केको छ । फूलको दश । अबिरको दश । धुपको दश । बेलपत्रको दश । बत्तीको तीस वा त्यो भन्दा बढी । सौभाग्यको सामाग्रीको तीस । यस्तै यस्तै ।
यहाँ मात्र होइन, काठमाडौं उपत्यकाका प्राय मन्दिर प्रवेशनाकाहरुको यो साझा दृश्य हो । यी दृश्य मलाई सुन्दर लाग्दैनन् । मन्दिरको मुख्य प्रवेशद्धार क्षेत्रमा माग्ने–स्वरुपमा बसेकाहरुको लाइनले पनि मलाई आकर्षित गर्दैनन् ।
यो स्वस्थानी समय हो । स्वस्थानी कथामा शाली नदीको विशेष सन्दर्भ छ । त्यसैले स्वस्थानी अवधिमा शाली नदी ‘गुल्जार’ हुन्छ । खासगरी शनिवार असंख्य मान्छेहरुको रंगले शाली नदी क्षेत्र विशेष रंगको बन्छ । यो शनिवार पनि साँखु र अझ शाली नदी क्षेत्र त्यस्तै भएको छ ।
स्वस्थानीका नाममा त्यहाँ रमाइलो मेला नै छ । अनेक किसिमका खेलौनाहरु छन् । रोटेपीङ छ । भीडबीच शाली नदी सानोतिनो फनपार्कजस्तै भएको छ । साँखु बसपार्कदेखि नै शाली नदीको मुख्य क्षेत्रसम्म पुग्दा म्यादी होटलहरुको सेवाव्यापार चर्को देखिन्छ । अनेक रंग, भाषा र भुगोलका मान्छेहरुको संक्रिय संलग्नताले यो गज्जबकै म्यादी व्यापारिक केन्द्र भएको छ ।
नदीको वारिपट्टिको मन्दिर क्षेत्रमा माइक बजिरहेको छ, ‘होटलहरुमा मूल्य सूची हेरेर मात्र पैसा तिर्नु होला ।’ माइकको आवाज तल नदीसम्म फैलिएको छ । नदीमा खासगरी भक्तालु महिलाहरु स्नान गरिरहेका छन् । प्रहरी र स्वयमसेवकहरु मानवलाइनलाई छिटोछिटो क्रस गराइरहेका छन् । फाटो खिच्नेहरु त्यसैमा रमाइरहेका छन् ।
तर, योे भीडकै एउटा अंश भएर पनि म स्मृतिको सुदुरपूर्वमा पुगेको छु, जसको जगमा फेरि पनि स्वस्थानी कथा नै छ ।
म काठमाडौंमा पढ्थें । स्कुल बिदा हुँदा गाउँ जान्थे । र, स्वस्थानी सुन्ने समय सधैं स्कुल बिदा हुन्थ्यो । जाडो महिनाको बिदा । बर्षभरि काठमाडौमा पढेका किताबभन्दा स्वस्थानीको किताबले मलाई बढी प्रभाव पारेको थियो ।
स्वस्थानीको प्रत्येक पात्र र परिवेश मनमा गहिरोसित बसे । ऊ बेला सुनेका शिव पार्वतीको कथाको अनेक सन्दर्भहरु अहिले पनि उत्तिकै ताजा लाग्छन् । पशुपतिको मृगस्थली पुग्दा म स्वस्थानी कथाकै सन्दर्भ सम्झन्छु । सतीदेवी र महादेवका सन्दर्भ पनि उत्तिकै गहिरा लाग्छन् । पशुपतिकै गुहेश्वरी पुग्दा पनि म सतीदेवीका अनेक किस्साहरु सम्झन्छु ।
यम ब्रम्हा बरुणेन्द्र रुद्रैमर्तै … ।
संस्कृतको यो श्लोकबाट कथामय साँझ सुरु हुन्थ्यो । धुपदीप, नैवेद्यसहित स्वस्थानीको किताबालाई ढोगेर हामी कथा सुन्न बस्थ्यौं । त्यसपछि विचित्रको कथा म र मजस्ताहको बाल्य दिमागमा भरिदै जान्थ्यो । कथा अनुसारको दृश्य कल्पना गर्दै त्यसमा चुर्लुम्म डुब्नु प्रत्येक साँझका नियमितता हुन्थे ।
ती कथामा जीवन र जगतका नवरस थिए । तर, त्यति बेला ती कथामा के थिए वा थिएनन् ? त्यसको केही हेक्का राखिन्थेन । यति हो, ती यस्ता जादुगरी कथा थिए, जसले सम्पूर्ण ध्यान तान्थ्यो । प्रत्येक लाइनले सम्मोहन गरिरहेका हुन्थे ।
‘हजार जिब्रा भएका शेषनागले पनि वर्णन गर्न नसक्ने’, स्वस्थानीका यी हरफ सुन्दै गर्दा कानका रौं ठाडा हुन्थे । तर, त्यसताका कानमा रौं कहाँ हुन्थे र ! तर, त्यही वाक्यलाई जीवनका पछिल्ला खण्डमा व्यंग्यमाध्यम पनि बनाइयो । जस्तो कि ‘हजुरको गुणको बखान त हजार जिब्रा भएका शेषनागले पनि गर्न सक्दैन ।’ यी र यस्ता अनेक प्रसंग स्वस्थानीले दिएको छ । केही काम बिग्रियो भने साथीहरुले भन्ने गर्छन्, ‘तिमी त चन्द्रावती नै रहेछौ । तिमीले जे छोयो, त्यही बिग्रिन्छ ।’
‘यम ब्रम्हा बरुणेन्द्र रुद्रैमर्ते … ’ भनेर किताबलाई ढोगदर्शन गरेपछि कथा सुरु हुन्थ्यो, ‘कुमारजी आज्ञा गर्नु हुन्छ, हे अगत्स्यमुनि … ।’ ‘इतिश्री सम्वादे माघ महात्म्ये केदार खण्डे …’ भन्दै एक साँझको भाग सकिन्थ्यो । तर, त्यसलाई अफिसियली टुँग्याउने विधि थियो । संस्कृतमा ‘उपनयतु मंगल सकल …’ को श्लोकहरु वाचेर फूलफूलादी र धूपधूपादी गर्दै टिका र नैवेद्य ग्रहण गरेपछि मात्र साँझकालीन कथाक्रम त्यो दिनको लागि विसर्जन हुन्थ्यो ।
यसरी महिना दिनसम्म कथा–समय चल्थ्यो । कुनै दिन कथा निकै लामा हुन्थे त कुनै दिन निकै छोटा । कथा लामा परेका दिन खुशीको सीमै हुन्थेन । छोटा कथाले खल्लोपन मात्र दिन्थे । स्वस्थानी साँझ कुर्दै दिनहरु बित्थे । त्यसरी स्वस्थानीले जरा गाडेको थियो जीवनको जगमा । त्यसरी सुरु भयो मजस्ताहरुको कथा वा आख्यान सम्बन्ध । धेरै पछि मात्र हो, रामायण र महाभारतको कथा सुनेको ।
धेरै नेपालीको कथा–संस्कृति यसरी हुर्किएको छ ।
स्वस्थानी कथा धर्म विशेषसँग जोडिए पनि त्यो वैज्ञानिक कथा हो । त्यहाँ जीवनका सम्भावित अथाह अवस्थाहरुलाई चित्रण गरिएको छ । सुरुमा वास्तविक लागेका ती कथाहरुका कल्पनाका पुञ्ज हुन् भन्ने धेरै पछि मात्र थाहा भयो । कथा संरचना, दृष्टान्त र घटनाहरुको चमत्कारिक सन्दर्भहरुमाथि अनेक व्याख्या गरिन सक्छन् । तिनको दर्शनमा सहमत वा असहमत पनि हुन सकिएला । तर, तिनको सन्देश महत्वपूर्ण छ ।
स्वस्थानी ब्रतकथा पुष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म १ महिना चल्छ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी ब्रत बसेकोले चिताएको पुरा भएको विश्वासमा स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन चल्दै आएको विश्वास गरिन्छ । विशेष गरी महिलाहरु मात्र बस्ने यो ब्रतले कथामा वर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि प्राप्त हुनका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
यो अवधिमा कोठमान्डुको साँखुस्थित शाली नदी, पशुपति गौरीघाट, गुहेश्वरीलगायतका सतीदेवीका अङपतन भएका विभिन्न धार्मिकस्थल तथा शिव मन्दिरहरुमा श्रद्धालुहरुको घुईंचो लाग्ने गर्छ । त्यसलाई मेला नै भन्न सकिन्छ । त्यस्तै मेलाको एउटा साक्षीका रुपमा म यति बेला शाली नदीमा छु र बाल्यदिनका स्वस्थानी सन्दर्भ सम्झँदै छु ।
कथा सकिएपछि प्रसादीको रुपमा खाइने बदामको गेडा वा एक चिम्टी चिनी पनि बहुमुल्य लाग्थ्यो । एक प्रकारको विशेष संवेदनशीलतासहितको समय थियो त्यो । त्यो बाल्यकालीन समय थियो । विशेष समय थियो ।
स्वस्थानी कथामा भने झै स्वस्थानी ब्रत बसे महादेवजस्तो वर पाइन्छ भन्ने विश्वास एकातिर होला तर त्यो भन्दा महत्वपूर्ण कुरा यो कथाले कथा सुन्ने–सुनाउने परम्परालाई ज्युँदो राख्यो । अहिलेजस्तो किताब संस्कृति नझाँगिएको बेला यो स्वस्थानी कथा संस्कृतिले पठन–श्रवण संस्कृतिलाई मजाले संरक्षण र सक्रिय राखेको भने पक्कै हो । अहिलेजस्तो टिभी, रेडियो, पत्रपत्रिका र अनलाइन नभएको बेला मान्छेको कथा भोकलाई स्वस्थानीले प्रत्येक बर्ष आफ्नै ढंगले पुरा गर्दै आएको हो ।
यस्तै कुरा सम्झदै म शाली नदीमा बजिरहेको भंक्ति संगीत सुनिरहेको छु । मन्दिरमा बजिरहेको घन्टीको आवाज सुनिरहेको छु । यी आवाज एक प्रकारको उपचार प्रविधिी पनि हो रे । पाटनमा केही दिनअघि एकजना गुरु भन्दै थिए, ‘अनेक मानसिक तनावलाई कम गर्न घन्टी बजाएर साउन्ड थेरापी गर्न सकिन्छ ।’ उनी आरती थेरापीको पनि कुरा गर्दै थिए ।
म शाली नदी परिसरको भीडमा भीडभित्रका मान्छेलाई नियाल्दै छु । प्रत्येकको आफ्नो् जीवन दर्शन आफ्नै ढंगले प्रदर्शित भइरहेको छ । मेरो खुट्टै छेउमा लम्पसार परेर एकजना भन्दै थियो, ‘यो असहायलाई सहयोग गर्नुस् हजुर । तपाईंलाई पुण्य लाग्छ ।’ तर, उसले मात्र होइन, सायद त्यहाँ पुगेका सबैजसोले ‘भगवान’को अगाडि त्यस्तै पुकारा गर्दै थिए । तर, मैले भने पुकारा गर्नै बिर्सेछु ।