
श्री-संस्कृतिः वाणी बनेर सरस्वती बाँड्दै वीणा
अशोक सिलवाल
‘पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको समुन्द्रमन्थनबाट अमृत, कामधेनु गाई, पारिजात, लक्ष्मी, कौस्तुभमणि, धन्वन्तरी, चन्द्रमा, अप्सरा, ऐरावत हात्ती, उच्चैस्रवा घोडा, सोमरस, पाञ्जजन्य शंख र कालकुट विष निस्कियो । देवता र राक्षस दुवैले उपयोगी र सुन्दर बस्तु बाँडे । कालकुट विष निस्किएपछि देवता, दानव र मानिसहरु प्राण रक्षाका लागि भागाभाग गर्न थाले । लोककल्याणका लागि सदाअग्रसर शिवले आफ्नो ज्यानको वास्ता नगरेर कालकुट विषपान गरे । उनको योगशक्तिले गर्दा विष घाँटीभन्दा तल जान सकेन । शिवलाई औडाहा हुनथाल्यो । पोलाइ कम गर्न यताउता भौंतारिन थाले । शीतल ठाउँको खोजी गर्दै हालको गोसाइँकुण्ड पुगे । हिमालमा त्रिशूलको तीन चुच्चो गाडे, तीन धाराबाट पानीको फोहरा छुट्यो । त्रिशूलको तीन धाराबाट छुटेको पानीको मुहान भएको नदीलाई नै त्रिशूली भनिन्छ । डाहा शान्त गराउन उनले पानी टन्न पिए र पानी जमेको खाल्डोमा उत्तानो परेर सुते । कालकुट विषको प्रवाहले घाँटी नीलो भयो र शिवलाई नीलकण्ठ भनेर सम्बोधन गरियो । पुराण, महाभारतमा वर्णित समुद्र मन्थनको घटनापछि परोपकारीको रुपमा शिव चर्चित भए । शिवको परोपकारी पक्षसँगै अर्को महत्वपूर्ण पक्ष पत्नीव्रत धर्मको सदैव निर्वाह पनि एक हो, जुन अनुकरणीय छ । रुद्र अर्थात दुःख हटाउने, महेश्वर अर्थात महान् ईश्वर र कालकाल अर्थात कालका पनि काल शिवलाई नमस्कार गर्दै परोपकारी भावनाको बीजारोपण आफ्नो मनमा आजैदेखि गरौं ।’
…
‘परोपकारी शिव उत्तिकै पत्नीव्रत पनि’ शीर्षकमा नेपालनाम्चामा उनले केही समयअगाडि शिवबारे माथिका पंक्तिहरु लेखेकी थिइन् । शिवका बहुआयामबारे मात्र होइन, संस्कृति, समाज र सम्भ्यताकेन्द्रीत अनेक लेख लेखिन् नेपालनाम्चामा । र, संयोग मेरो अहोभाग्य यी पंक्तिहरु लेख्दैगर्दा म पावन परिवेशमा छु । श्री पशुपतिनाथको पश्चिम ढोकाछेउको झा सत्तलमा छु ।
केही समयअघिको उनीसँगको त्यो भेट सम्झन्छु । र, त्यो पहिलो भेटबाट नै हाम्रो सहकार्य सुरु भएको थियो । त्यो त्यस्तो सहकार्य थियो, जहाँ हामीसँग कुनै व्यक्तिगत अपेक्षा थिएन । त्यो सहकार्य संस्कृतिका लागि थियो । नेपालको बहुआयामिक संस्कृतिलाई कसरी थप प्रकाश दिनसकिन्छ भन्नका लागि थियो ।
‘संस्कृतिलाई केन्द्रमा राखेर विविध विषयमा डेढ दर्जन गहकिला पुस्तक लेखेकी प्रा.डा. वीणा पौड्याल विश्वविद्यालयबाट रिटायर्ड भएर पनि अनरिटायर्ड लाइफ बिताइरहेकी वीणाको बोली उनको सतत् ज्ञान–साधनाले वाणीमा रुपान्तरण भइसकेको छ । ४० बर्षभन्दा बढी समय संस्कृति, पुरातत्व र इतिहास पढाएकी वीणाले हजारौंहजार काबिल विद्यार्थी उत्पादन गरिन् । त्यतिमात्र होइन, झन्डै दुई दर्जन विद्यार्थीले उनकै गाइडेन्समा विद्यावारिधी गरिसकेका छन्’, नेपालनाम्चामा मैले उनीबारे लेखेको थिएँ ।
सुखद कुरो, नेपालनाम्चासँग वीणाको सहकार्य सुरु भयो । र, उनी नेपालनाम्चाका अडियन्समाझ नियमित स्तम्भ श्री–संस्कृतिसाथ उपस्थित हुने भइन् । संस्कृति, सम्बन्ध, समाज र अरु थुप्रै विषयका आयाम र बहुआयाममा उनले नियमित् लेखिन् । दर्जनौं लेख लेखिन् ।
– किन नागपञ्चमी मनाइन्छ ? खास कारण बुझ्नलाई पढ्नुहोला
– साथी, गज्जबैको महिना रहेछ साउन
– शिवरात्रीको मुखैमा संस्कृतिविद्को आँखाबाट पशुपति परिसर
– परोपकारी शिव उत्तिकै पत्नीव्रत पनि
– कस्तो अवस्थामा मातृत्व आगोको भुङ्ग्रो र काँडाको विछ्यौना हुन्छ ?
– गर्भपतन वरदान वा अभिशाप ? वा, दुवै ?
– कस्तो परिस्थितिमा पति-पत्नी छुट्टिनु बुद्धिमानी हुन्छ ?
– शनिदेवः न्यायका त्यस्ता देवता जसलाई हनुमानले तेल मालिस गर्थे
– वसन्तपुर दरवारमा भेला भएर राष्ट्रिय अखण्डताको सपथ लिने बेला आएको छ
– सासू–बुहारी दुवैले बुझ्नैपर्ने खास कुरा
– नयाँ बर्ष मनाउने नयाँ काइदा, जसबाट हुन्छ फाइदैफाइदा
– पत्नीहरुद्वारा पिडित पतिहरु
– कस्तो परिस्थितिमा पति(पत्नी छुट्टिनु बुद्धिमानी हुन्छ ?
– जब बालकथाका पात्र बोल्ने संग्रहालय पुगेँ
– झरनाः नेपाली प्रोफेसरको नायगरा नोस्टाल्जिया
– कलापारखी डा. डिल्लीरमणबारे लेख्न बस्दा हात आफै जोडिएर अन्जली मुद्रामा परिणत हुन्छ
– समाधिमा शालिक बनेर कालु पाँडे हेर्दैछन्, धौलागिरी, अन्नपूर्णा, मनास्लु, लाङटाङ र गणेश हिमाल
यी र यस्ता गहन विषयमा तर आम मानिसले बुझ्ने भाषामा आफुलाई व्यक्त गरिन्, गरिहिन् । भाषा र विषयलाई सरल र जनभाषामा अभिव्यक्त गर्नसक्ने उनको खुवीका पछाडि उनको पारिवारिक पत्रकारिता इतिहासको आफ्नै महत्व छ । जिजुबुबा चिरञ्जीवी शर्मा पौडेल गोरखापत्रका प्रथम सम्पादक थिए । हजुरबा प्रेमराज र बुबा रामराज पौडेल पनि गोरखापत्रका सम्पादक भएका थिए ।
सायद त्यो पनि एउटा कारण हो, धर्म संस्कृतिबारे लेख्दा उनी समाज र मानिसलाई केन्द्रमा राखेर लेख्छिन् । इतिहास र परम्पराका कुराहरुलाई वर्तमान र भविष्यसंग जोडेर लेख्छिन् । त्यसैले उनका लेखहरु आम मान्छेले सजिलै बुझ्छन् । त्यही कारण मिडियाहरुमा उनी हरेक चाडवाड र संस्कृतिसँग सम्बन्धित अवसर र सन्दर्भमा खोजीको पात्र भइरहन्छिन् ।
झन्डै आधा शताब्दी उनी संस्कृति शिक्षा र ज्ञान परम्परासंग जोडिएर प्राज्ञिक कर्ममा सक्रिय रहिन् । रोचक र प्रेरणादायी कुरा के छ भने यति लामो समयको ज्ञान साधनामा रहेर पनि अझै उत्तिकै र अझ बढी अध्ययनशील र अनुसन्धानशील छिन् । उनीबाट सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण पक्ष यही हो ।
अहिले पनि प्राय उनी संगीत, अध्यात्म, कला, इतिहास, परम्परा, धर्मलगायत अनेक विषयका गम्भीर पुस्तकमाथि औपचारिक तथा अनौपचारिक सभासम्मेलनमा लेखेर-बोलेर गहिरा टिप्पणी गरिरहेकी भेटिन्छन् । यसरी अहिले पनि सरस्वतीलाई सतत् बाँडिरहेकी छिन् । यो सत्कर्मको निरन्तरता उनका लागि त महत्वपूर्ण छँदैछ, त्यसभन्दा बढी समाजका लागि छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)