
छोरी भएर जन्मनु मेरो दोष हो र ?
सपना
नाम परिवर्तन
हाम्रो समाजमा अझै पनि हजारौ छोरीहरु यहाँ यो संसार देख्ने तयारीकै क्रमम गर्भबाट विदा हुन्छन् । छोरी भएर जन्मेकै कारण विभीन्न खाले भेदभाव र हिंसा सहन बाध्य छन् । मेरो जीवन पनि हाम्रा समाजका तिनै हजारौं छोरीजस्तो थियो जसले जन्मेदेखी हुर्कने अनेकौं हिंसालाई सामना गरेर बांच्नु पर्यो ।
माघ महिनाको समय थियो । चिसोले मन पनि कापि रहेको थियो । म सगै भाई कति मस्तले सुतीरहेको थियो । उस्लाई देखेर पनि चौपट्टै माया लागेर आउंथ्यो । तर आमा बुवाले उसलाई गर्ने माया एकदम भिन्दै थियो । उ ढिलो सम्म सुत्न पाउंथ्यो । तर म भने चिसै भएपनि बेलैमा उठ्नै पथ्र्यो । आमा बुवालाई उसलाई स्कुल पठाउन धेरै हतार हुने गर्दछ । मनमनै लाग्थ्यो भाईसग स्कुल जान पाए कस्तो हुन्थ्यो होला । म छोरा भएर जन्मेको भएपनि हुन्थ्यो नि । मलाई छोरी भएर किन जन्माएको होला । उठेर चिसाले कठ्यांग्रिएका हातहरुले बल्लबल्ल कुचो समाउंदै घर सफा गरें । काम सकिंदा नसकिंदा बुबाको आवाज सुनें । “सपना भाईलाई स्कुल जानुपर्छ । छिटो खाना पका है । तेरी आमा मेला गईसकी ।” बुवाको बोली सिधै मुटुमा सियोले घोचे जस्तो भयो । सायद म पनि छोरा भएको भए भाईसंगै स्कुल जान पाउथे । फेरी आफु छेोरी भएकोमा घृणा र छट्पटी हुन लाग्यो ।
घरपछाडि गोठमा थुपारीएका एक अंगालो दाउरा ल्याएं । दाउरालाई चुलोमा ठोस्दै आगो सल्काएं । चीसोले होला धुंवाले कोठा भरीईसक्यो । आगो बल्ने सुरसार नै गर्दैन । मन कमजोर भएको बेलामा अलिकति दुख पर्दा पनि झन पिडा बढ्ने रहेछ । यो सव दुख मैले म छोरी भएकै भएर पाएं जस्तो लाग्यो । झन झन आंखा भरीएर आए । एक दिन आमाले सुनाएको कुरा फेरी दिमागमा धुवां भरीएजस्तै भरीन लाग्यो । बुबाले आमासंग म जन्मीने वितिक्कै फालिदे भनेर आमालाई सराप्नु भएको थियो भनेर आमाले एकदिन खाना खांदै गर्दा मलाई सुनाउनु भएको थियो । आज फेरी भान्सामा त्यहि कुरा सम्झना आयो । जति यस्ता कुराहरु मनमा आउंथे, मलाई त्यति नै आफु कमजोर मात्र महशुस हुन्थ्यो । म झन झन एक्लो जस्तो महशुस हुन्थ्यो ।
खाना पकाएर भाईलाई खुवाएं । बुवालाई खाना दिएं । अनि लुगा धुन भनेर घर भन्दा अलि पर रहेको धारामा गएं । बाटो भरी पनि मना भरीएका कुराहरुलाई एक्लै गन्थन गर्दै गएं । “म त धेरै भएकी रहेछु यो घरमा । सबै अट्ने घरमा मेरो लागि कुनै ठाँउ रहेनछ । मैले मलाई याद भएदेखि नयाँ लुगा लगाउन कहिले पाईन । घरमा भएको मिठो कुरा जहिले भाईले खाएर बंचेपछि मेरो पालो आउथ्यो । मेरो जिम्मेवारी भनेको घरको काम गर्ने भाईलाई हेर्ने हो भने भाईको जिम्मेवारी पढ्ने मात्र हो । म कतै काम परेर गए भने पनि उज्यालो हुदै घर आउनुपर्छ तर भाई जति बेला आएपनि मतलव हुदैन । म कोहि दाईभाई सग बोले भने पनि परिवारको इज्जत जान्छ रे । तर भाईले जे गरेपनि उस्को इज्जत जादैन् ।” मनमा जति यस्ता कुर आउंथे आफुलाई त्यति नै महत्वहिन ब्यक्ति जस्तो लाग्थ्यो ।
जिन्दगीलाई यस्तै दुख अनि अन्यायको रथमै तान्दै तान्दै जव म सदरमुकाम स्थीत एक संस्थाको कार्यक्रममा आवाशिय तालीमको लागि आएं, म जस्तै अरु साथी पनि भेटें । त्यहां दुई चार वटा कुराहरु पनि सिकें । न त म छोरी हुनु दोष थियो । त न भाई छोरा हुनु भाईको दोष थियो । दोष त हाम्रो समाजको बुझाईको थियो । छोरीलाई एउटा मान्छेको रुपमा नहेर्ने समाजले जहिले हामी छोरी र छोराविच मा विभेद गरेको रहेछ । छोरा छोरीलाई सम्मान अवसर दिनुपर्छ भन्ने कुराको बुझाई हुनुको सट्टा सबै दोष छोरीले लिनु परेको छ । जव पढ्ने अवसर पाईदैन तव भविष्यमा धेरै नै अवसरबाट बञ्चित हुनु पर्ने रहेछ । पढाई भनेको त्यस्तो कुरा रहेछ जस्ले जीवन जिउने पाटो नै परिवर्तन गरिदिने रहेछ ।
आज पनि मैले जस्तै भेदभाव भोगेका धेरै छोरीहरु नेपालका कुना काप्चामा छन् । आमाबुवाको भेदभावको कारण, विद्यालय नपठाएको कारण र सानैमा विहे गरीदिने कारणले विभीन्न हिंसा भोग्न बाध्य छन् । त्यसैले म प्रत्येक आमाबुवालाई के भन्न चाहन्छु भने आफ्ना सन्तान लाई समान ब्यवहार गरौ, समान अवसर दिऊँ । उनीहरुलाई मायां गरौं र उनीहरुको भविष्य राम्रो बनाउने नबनाउने भन्ने कुरा तपाईंहरुकै हातमा भएकोले आफ्नो सन्तानको उज्वल भविष्य आफ्नै हातबाट कोरौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)