दुखको सामना गर्न नछोडौं
विनिता
नाम परिवर्तन
‘बिहानीको सुनौलो घामको किरणसँगै चराचुरुङ्गीको चिरबिर चिरबिर, सुनसान बातावरण र चिसो मौसमसँगै मेरा आँखा खुल्छन् । ओहो ! ६ पो बजिसकेछ’, मोवाइलको घडीमा आँखा दौडाउँदै हतारहतार ओछ्यानबाट उठेँ ।
माथि कोठाबाट तलतिर झरेँ । हजुरआमा चुलोमा आगो बाल्दै हुनुहुन्थ्यो । म चिया पकाईहाल्छु नि हजुरआमा भन्दै उहाँलाई सघाएँ । हजुरआमासँग मेरो यसरी मिल्ती हुन लागेको पनि धेरै भएको छैन । ममिलाई गुमाएदेखि र मेरो जीवन हजुरआमा र हजुरबुवाको साथमा बिताउन थालेदेखि जीवनले कैयौं दुखका मोडहरुको सामना गर्दै आएको थिएँ । न त हजुरबुवा हजुरआमाले मेरो कुरा बुझ्नु हुन्थ्यो न त मैले एक बच्चाले आमाबुबाबाट पाउनुपर्ने माया नै पाएको थिएँ । मेरी आमा बितेदेखि मेरो रेखदेखको जिम्मा हजुरबुबा र हजुरआमालाई दिएर बुवा अन्तै बस्नु हुन्थ्यो ।
प्रत्येक दिन बिहान उठ्नु, हजुरआमालाई घरधन्दामा सघाउनु, भैंसीको गोठमा गएर मन नपरीनपरी अनि नाक मुख खुम्च्याउँदै गोबर सोर्नु, बस्तुहरुको रेखदेख गर्नु म १४ बर्षकी किशोरीको दैनिकी नै थियो । साथीहरु स्कुल गएर पानीपुरीको स्वाद लिँदा म भने गोबरको छिटाहरुको स्वादमा जिन्दगी बिताइरहेको हुन्थेँ । स्कुललाई माया गर्ने र प्यारो लाग्नु पर्ने बेलामा मेरो माया त्यहि गोठसँग हुन्थ्योे । साथीहरु हाँस्ने, खेल्ने र जिन्दगीसँग रमाएको देख्दा आफु भने सधैं यो उमेरमा पनि भैंसीको गोठमै मात्र रुमल्लिएर बस्नु पर्दा जिन्दगीलाई धिक्कार्न मन लाग्थ्यो ।
एकदिन मलाई बाबाको साह्रै याद आईरहेको थियो । त्यसैले हजुरआमालाई ममिबाबाको बारेमा सोध्छु भनेर आँट गरेँ । उहाँ जहिल्यै झर्केर बोल्ने र गालीमात्र गर्ने भएकोले सोध्न पनि डर लाग्थ्यो । त्यो दिन भने मनलाई दह्रो बनाउंदै बोलेँ, “मेरो ममिबाबाले फोन गर्नु भएको छैन आमा ?”
बाबालाई मतलब नभए पनि मलाई बाबाको धेरै माया लाग्थ्यो । ममिको आवश्यकता जहिले पनि खड्किईरहन्थ्यो ।
“किन फोन गथ्र्यो ? गरेको छैन । न त फोन गर्छ न एक सुक्को पैसा पठाउँछ । सधैभरी त्यो भाईले मात्र कति गर्नु ? कति हेर्नु ? कुन दिन खानामा बिख राखेर सबैलाई टन्न खान दिन्छु । अनि कुरै सकिन्छ”, आमाले आफ्नो भएभरको रिस पोख्नुभयो । आमाको लागि म कति बोझ भएको रहेछु भन्ने जस्तो लागिरह्यो । यसरी अरुलाई बोझ हुनलाई म किन बाँचिरहे यो संसारमा ? आफैंसँग रिस र प्रश्नहरुले मलाई पुरै घेर्यो । कतिखेर आँखाबाट कति छिट्टै आँशु झरिसकेछ पतै पाएन ।
मैले गिलासमा भएको आधि चिया फ्यांकिदिए र त्यहाँबाट जुरुक्क उठेर झुन्डाएको नाम्लो झिकें र हँसिया बोकेर घाँस काट्न हिँडे । मलाई एकान्तमा गएर रुने बानी परेको थियो । अनि घाँस काट्न जाँदा नै आफुलाई पुग्नेगरी रोएर मनभरीको पिडा आँशुबाट झारेर आउथेँ । त्यसैले त्यस दिन पनि मेरो आँशुको मुल्य नबुझ्ने मान्छेहरुको अगाडि रुनुभन्दा जंगलमै जानु ठिक हो जस्तो लागेर घरबाट निस्केँ । बाटोमा पनि एक्लै भएकोले किन रोईस् भन्ने कोहि थिएनन् । त्यसैले आँशुसँगै आफ्ना ब्यथाहरु पखाल्दै माथिको जंगलमा पुगेँ ।
साथी भने पनि जे भने पनि मेरो लागि म आफैं मात्र थिएँ । त्यसैले जंगलमै बसेर आफैसँग गुनासो गर्न थालेँ, “जति दुःख गरे पनि मैले कहिले जस पाउँदिन । सायद मेरो भाग्यमा यस्तै लेखिएको होला । जति दुख भए पनि गर्थेँ तर मेरो आमाबुवा भईदिएको भए अरुको वचन सुन्न पर्ने थिएन ।” आफ्नै जिन्दगीलाई फर्केर हेर्न मन लाग्यो ।
हामी चार जना भाइबहिनी चारतिर बस्नुपरेको थियो । एक अर्काेको साथको पिडा सुनिदिने कोही थिएन । सबै कुरा सम्झिँदै जाँदा त झन जिन्दगीदेखि हारेको महशुस भईरह्यो । सधैभरि घरको कचकचले गर्दा मेरो दिमाग पनि बोधो भईसकेको भान हुन्थ्यो । जे काम गरे पनि टोलाईरहन्थेँ । एक्लै रुन्थेँ । छट्पटिट् हुन्थ्यो । कहिलेकाहिँ सास फेर्न पनि गाह्रो हुन्थ्यो । त्यस दिन पनि मलाई घरपरिवार र आफ्नो परिस्थीती सम्झिँदा सम्झिँदै अचानक सास फेर्न गाह्रो हुन थाल्यो ।
त्यति बेला म कस्को लागि बाँच्नु, किन बाँच्नु भन्ने सोच आयो । हातमा नाम्लो र डोरी थियो । त्यहि डोरीको पासो लगाएर आफ्नो जीवन नै सकिदिन्छु भन्ने सोचेँ । मेरो भाइबहिनी मेरा साथमा थिएनन् । म एकजना मरे पनि मेरा बाबाको ३ सन्तान छ भन्ने सोच्दै रुखमा डोरी बाँधेर ठिक्क टाउकोबाट डोरी घाँटीमा पुर्याएँ ।
दिदी घाँटी दुखिरहेछ, औषधि ल्याईदिनु न भनेर एकपटक भाइले रुँदै भन्दै गरेको दृष्य मेरो आँखाअगाडि आयो । भाइ सँगै हुँदाको त्यो दृश्यले म मरेँ भने भाइबहिनी झनै एक्लो हुन्छन् भन्ने महसुस गरायो । मैले यस्तो गलत कदम चाल्नु हुँदैन भनेर आफुले आफैलाई सम्झाएँ । त्यस दिन जंगलमा पनि धेरै नै समय बिताएँ । अलिअलि घाँस काटेर घर नै फर्केँ ।
मलाई पहिले पनि कहिलेकाहिँ मेटासिट खाएर आनन्दले सुतौं जस्तो लाग्थ्यो । काम गर्ने जोस जाँगर हराउँथ्यो । मेरा प्यारा भाइबहिनीहरुको मलिन मुहार देख्दा म मृत्युसँग पनि हार्दै आईरहेको थियो । त्यो दिनमा पनि भाइबहिनीहरुको मायाले गर्दा मैले आफ्नो जीवन टुंग्याउन सकिनँ । यसरी नै मेरा दिनहरु बित्दै थिए । एकदिन रेडियोबाट मनोविमर्शको बारेमा सुचना पाएपछि म मनोविमर्शको लागि सदरमुकाम गएँ । बिस्तारै बिस्तारै मनोविमर्शमा बस्न थालेपछि मनमा भएको पिडाहरु पोख्नको लागि ठाउँ पाएजस्तो अनुभव भयो । पहिला म बोल्न डराउने, रातमा निन्द्रा नलाग्ने, टोलाइरहने र मर्न मात्र मन लाग्ने हुन्थ्यो । जबदेखि मैले मनोविमर्श लिएँ त्यसपछि आफ्नो स्याहार गर्न थालेँ र मेरो पढाईलाई पनि निरन्तरता दिन थालेँ । अहिले आफैले पढेको र अरु स्कुलमा गएर अभिमुखिकरण, सचेतनाको कार्यक्रम गर्छु । मलाई गाह्रो भएको कुरा कपिमा लेख्दा मात्र पनि धेरै हल्का हुनेरहेछ भन्ने कुरा थाहा पाएँ । म जहिल्यै दैनिकी अनि आफुलाई गाह्रो भएको कुरा लेख्ने गर्दर्थेँ । मलाई महसुस हुँदै गयो कि अब मलाई अलि सहज हुन्छ ।
परिवारको जिम्मेवारी लिने सँगै आफुलाई माया गर्न सक्ने भएकी छु । आफुलाई हुने दुख पिडा लुकाएर राख्नु भन्दा पनि आफुलाई कसरी सहज हुन्छ, बाहिर ल्याउने कोशिस गर्नु पर्दछ र आत्मविश्वास बढाउनु पर्दछ । यदि हामी मानसिक, शारिरीक र भावनात्मक रुपमा बलियो हुन सकियो भने हामीलाई जस्तो दुःख पिडा पर्दा पनि त्यसलाई सामान गर्ने आँट आउने रहेछ । जिन्दगीमा सबैलाई केहि न केहिको दुख भईरहेकै हुन्छ । दुखलाई सामना गरेर अघि बढ्न सक्नुपर्ने रहेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)