
बालबालिकालाई बुझौं, कुरा सुनौ र कुलतको सिकार हुनबाट बेलैमै बचाऔं
मिरा दाहाल
कुमारीकी आमा आज बिहानै कोदाली बोकेर बारीतिर लागिन् ।
“मकै रोप्नु छ, बारीमा माटाको डल्ला ढुंगा जस्तै साहे भै सक्यो, कहिले फुटाइ सकेर मकै रोप्नु हो खै”, कुमारीकी आमा निकै चिन्तित मुन्द्रामा देखिन्थिन् ।
आमाको चिन्तित अनुहार देखेर कुमारी पनि आमाको नजिकै गएर भन्छिन्, “आमा म पनि डल्ला फोरौंं ?”
उनको कुरा सक्न नपाउदै आमा रिसले मुरमुरिदै “किन स्कुल नगएर बारीमा आको ? पर्दैन फोर्नु, खुरुक्क स्कुल जा, सबैका छोराछोरी स्कुल गै सके” भन्दै झपारिन् ।
उनी धेरै दिन अगाडिदेखि आमाको सामिप्यमा गएर केहि भन्न खोजिरहेकी, केहि सहयोगको अपेक्षा गरेकी थिईन् ।
आज पनि डराई डराई आफ्नो दबेको आवाज निकाल्दै भन्छिन्, “आमा म आज स्कुल जाँदिन नि है ।” उनको आवाजमा केहि कुराहरु लुकेको जस्तो देथिन्थ्यो । तर आमा उनलाई सुन्ने अवस्थामा नै थिइनन् । आमाले नमानेपछि निराश हुँदै मन नलागी नलागी आफु सुत्नेकोठाको भित्ताको काँटीमा झुण्डाइएको युनिफर्म झिकेर लगाइ ओछ्यानमा फिजाइएको किताब कापी समेटी स्कुलतिर लाग्छिन् ।
अगाडिका दिनजस्तै आज पनि उनी स्कुलको गेट पुग्नुभन्दा ५० मिटर जति अगाडि नै उनीसंग पढ्ने २ जना केटी साथी र अरु केटाहरुको ग्यांग देख्छिन् । सबैका हातका औलाले चुरोटको ठुटो च्यापेका र मुखबाट फु–फु गर्दै आकाशतिर फुक्दै चुरोटको धुवाँमा लठ्ठ अवस्थामा देखिन्थे ।
कुलतमा फसेका आफ्नै साथीसहित त्यो झुण्ड देखेर परैबाट उनको मुटुको धड्कन बढ्न थाल्छ, “कसरी त्यो झुण्डलाई पार गरी स्कुलको गेटबाट छिर्नेहोला ?”
उनका खुट्टा जति जति अगाडि बढ्छ, उति अनुहार पसिनाले छपक्कै झिज्छ, खुट्टाको फर्डकोलाई तिव्र पार्छिन् । आफ्नो अनुहार उनीहरुले नदेखुन भनेर आफुसंग रहेको छाता उघारी मुख छोप्दै उनीहरुलाई पार गर्न खोज्छिन् ।

उनीहरु सुन्नै नसकीने अपशब्दहरु बोल्दै गललल हाँस्दै थिए ।
कुमारी कसैलाई नहेरी फटाफट स्कुलको गेटतिर लम्किन्छन् ।
“कुमारी यता आइज”, त्यहि ग्रुपबाट उनलाई बोलाएको आवाज आउँछ ।
उनी आत्तिदै अझ छिटो छिटो स्कुलको गेटभित्र आफ्ना पाइलाहरु सार्दै भन्छिन्, “मलाई भित्रबाट रमेश सरले बोलाउनु भएको छ म आउँदिन ।” तर फेरि अर्की साथी बोलिहाल्छे “यता आइज भनेको सुनिनस् ? म त्यहि आउनु पर्ने हो ? भेट्लिस नि फेरि” त्यो ग्यांग कुमारीकै पछि लाग्छ ।
कुमारी निस्सासिदै आफ्नो कक्षा कोठा भित्रको पहिलो बेन्चमा गएर टक्क अडिन् र लामो सास फेर्दै मनमनै सोचिन्, “अब त पक्कै बचिन्छ होला नि ।”
अघि बाटोमा बाटो छेकेर उनलाई सताउने साथीमध्ये उनीसँग पढ्ने २ जना केटीसाथी पनि उनी संगसंगै कक्षा कोठामा छिर्छन् ।
पहिलो घण्टी सुरु हुन अझै ५ मिनेट बांँकी छ, कुमारीका ति साथीले उनको सामुनेबाट राताराता आँखा पार्दै उनीतिर अनौठो तरिकाले डर देखाउदै हेर्छन् ।
“म निर्दोस थिएँ, मैले कुनै अपराध गरेर झै किन आफ्नै साथीहरुले यति दुःख दिन खोजेका होलान् ?”, उनी चिन्ता, डर र दुःखको भावमा मनमनै भन्छिन् ।
गणित पढाउने सरले आफ्नो कक्षा सकेर जानु भयो तर उनलाई सरले के पढाए, कुन पाठ पढाए केहि थाहा नै हुँदैन । उनी आफैमा हराइरहेकी थिईन् ।
कक्षा सकेपछि अरु सबैजना कक्षा कोठाबाट बाहिर निस्कन्छन् । कक्षामा कुमारी र उनका त्यहि ग्यांगका साथीहरुमात्र बाँकी रहन्छन् ।
ग्यांगको भिडबाट एउटा साथी बोल्छिन्, “अस्ति यसैले होइन, हाम्रो बारेमा सरलाई कुरा लगाएर हामीलाई कुटाइ खुवाएकी । यसैले कुरा लगाएर पहिला पनि २ जना साथीलाई रेस्टिकेट गरिदिएका थिए । अब त यसलाई छोड्नु हुँदैन ।” अर्की साथीले कुमारीले झोलामा राख्नै लागेको नोटकापी तानेर च्यातिदिई ।
कुमारीका ति साथीहरु हरेक दिन स्कुलको छेउछाउमा बसेर ड्रग्स प्रयोग गर्नेे, चुरोट खाने गर्थे । उनलाई पनि जबजस्ती चुरोट खुवाउन खोजेको, उनले नमानेपछि उनीमाथी कुटपिट गरेको कुराहरु अति भएर सहन गाहे भएपछि उनले सरलाई भनिदिएकी थिइन् ।
सरलाई भनेका दिनदेखि उनीहरुले कुमारीलाई दुव्र्यवहार गर्ने, चुरोटको ठुटाले कुमारीको हातमा पोलिदिने, तलाई बर्वाद पारिदिन्छौं भनेर धम्की दिन थालेका थिए । साथीहरुले उनलाई जसरी भए पनि लागु तथा दुव्र्यसनको कुलतमा फंसाउन चाहन्थे । तर उनी त्यस ग्यांगबाट बंचेर एउटा असल विद्यार्थी भै पढ्न चाहन्थिन् ।
अर्को दिन पनि कुमारी स्कुल सकेर घर जांदैथिइन, त्यस दिन पनि सल्किरहेको चुरोट अनि उनीहरुको मुखबाट निस्किएको धुवाले उनलाई सास फेर्न गाहे भै रहेको थियो । एउटी साथीले चुरोट सल्काउदै “यो चुरोट खा ? यो नखाएसम्म तलाई घर जानै दिदैनौं” भन्दै चुरोटको ठुटो उनीमाथी तेर्साइ ।
कुमारीले इन्कार गरिन् । उनले इन्कार गरेपछि उनीमाथी अपशब्दहरु बोल्दै सबै मिलेर उनलाई लछारपछार पारेर त्यहि अलपत्र पारेर छोडेर हिडें ।
त्यसपछिका दिनमा कुमारी स्कुल जान छोडिन् । उनको पढाई दिनप्रतिदिन खस्किदै गयो । उनले आफ्नो परिवारमा पनि धेरैपटक कुरा गर्न खोजिन् तर उनलाई सुन्ने कोहि भएनन् । उल्टै उनी फेल भएको कुराले गर्दा गाली तथा परिवारबाट पनि यातना खेप्नु पर्यो । उनलाई के भइरहेको छ भन्ने कुरा परिवारमा पनि उनलाई कसैले बुझ्न खोजेनन् ।
“मलाई कसैले नबुझेपछि म बाँच्नुको कुनै अर्थ नै छैन” भन्दै कुमारीले बारम्बार आत्महत्या गर्ने प्रयास पनि गरिन् । एक्लै कोठामा बस्ने, रुने र कोहिसँग नबोल्ने गर्न थालिन् । उनी दिनप्रतिदिन समस्यामा पर्दै गएपछि उनकै नजिकैको एकजना दिदीको सहयोगमा उनी संस्थामा आइपुगिन् । बारम्बार काउन्सेलिङ तथा औषधी उपचारपछि हाल सामान्य अवस्थामा फर्की पुनः नयाँ स्कुलमा आफ्नो पढाई सुचारु गर्दैछिन् ।
कुमारी जस्तै अहिले धेरै बालबालिका लागु पदार्थ तथा दुव्र्यसनको सिकार भएर आफ्नो जिन्दगी बर्वाद पारीरहेछन् । अभिभावकले उनीहरुसंग बसेर कुराकानी नगर्दा, समय दिन नसक्दा, स्कुलमा के भै रहेको छ ? उनीहरुको साथीहरु कस्ता छ बुझ्न नसक्दा उनीहरुमा झन् बढी असर पर्दै जान सक्छ ।
हरेक बालबालिकाले आफुलाई माया गर्ने, आफुलाई बुझ्ने र आफ्नो मनका कुरा गर्ने विश्वासिलो व्यक्ति खोजिरहेका हुन्छन् । अभिभावक तथा विद्यालयका शिक्षक तथा शिक्षिकाले उनीहरुको विश्वासिलो व्यक्ति बनी उनीहरुलाई परेको समस्याबाट बाहिर निकाल्न मद्धत गर्नुपर्छ । बालबालिकालाई जोगाउनु हामी सबैको दायित्व हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)