यौनहिंसामा पर्नुमा मेरो के दोष थियो र ?

आशा
नाम परिवर्तन

अषाढको महिना । झमझम पानी परिरहेको थियो । विहान उठेदेखि बेलुकासम्म मेलापातको कामले थाकेको मेरो कलिलो शरिर मस्त निन्द्रामा सुतिरहेकी म अर्को दिनले उज्यालो ल्याइसकेको पतै पाईनँ । शरिरले ओछ्यान छोड्न मानेको थिएन । आँखाले उज्यालो हेर्न मन गरिरहेका थिएनन् । कानमा आमाको आवाज गुन्जिरहेको थियो, “उठ कान्छी, पल्लो घरकी साईलीले घाँसको भारी पुर्याउने बेला भईसक्यो । तिमी उठेर बस्तुभाउलाई खुवाएर घाँस काट । आजभोलि धेरै घाँस चाहिन्छ म चाहिं मेला तिर गएं ।”

आमाको एकपछिका अर्का आवाज कानबाट हुंदै दिमागसँग दौडिरह्यो । आफुले उठेर गर्नुपर्ने कामको दिमागले एकपछि अर्को लिस्ट बनाउँदै लग्यो । आमालाई कुनै जवाफ नदिई शरीरलाई ओछयानमै पल्टिन दिईराखेँ । आमाको सबै आवाजहरुलाई घरभित्रमात्रै गुन्जन दिएर चुपचाप सुतिराखेँ । एकछिनपछि आमाको स्वर सुनिन छोड्यो । घर पुरै चकमन्न भयो । अब नउठेर सुख छैन भनेर आँखा मिच्दै उठेँ । सबैभन्दा पहिले गोठतिर गएर भकारो सोर्ने, गाईबस्तुलाई घाँस दिने काम गरे । घाँस पाएर बस्तुुभाउहरु दंग परे ।

भान्सामा गएर केहि खाने कुरा छ कि भनेर हेरेको चुलोको छेउमा अघिल्लो दिनको कोदोको रोटी खरानी टाँस्सिएर काला तथा खैरा थिए । ति रंगहरुलाई पन्छाउँदै रोटीका टुक्रा भाँच्दै मुखमा हाल्दै घर सफा गर्नतिर लागेँ । नजिकैको कालो ठेकीमा भएको मोहिलाई कचौरामा राखेर ढोकानेर उभिएर पिएँ । ढोकाको नजिकै झुन्ड्यार राखेको नाम्लो र खुर्पेटोमा भएको हंसिया लिएर घाँस काट्न गएँ । बर्खामासको समय भएकोले घाँस काट्न टाढा जान मन नलागेर मकैबारीमा वरीपरी नै घाँस काट्न जान्छु भनेर योजना बनाएँ ।

मेरो घरमा म, मेरी आमा र बोल्न नसक्ने दाई गरी तिन जनाको परिवार छ । ठुलो भएका दिदी दाई सबै आफ्नो व्यवहारतिर थिए । मेरो दैनिकी सधै एउटै हुन्थ्यो । बिहान उठ्ने, घरको काम गर्ने, मेलापात जाने र घर फर्कने । पढाई त कुन चराको नाम हो भन्ने भईसकेको थियो । बल्लतल्ल आफ्नो नाम लेख्नचाहिँ जानेकी थिएँ ।

बर्षाको समय भएकोले मकैको बोटहरु र हरियो घाँसले गाउँ पनि जंगल जस्तो देखिएको थियो । नजिकैको घर पनि देख्न मुस्किल थियो । जंगल नजिकै घर भएको कारणले गर्दा बाघ, भालुको पनि त्यत्तिकै त्रास हुने गर्दथ्यो । मेरो घर नजिकै मेरो मामाको घर थियो । मामाको छोराले मलाई एक्लै भेट्दा अफ्टेरो तरीकाले बोल्ने, छुन खोज्ने र कान्छी संगै घाँस काट्न जाउँ भनेर भनेर जिस्काईरहन्थ्यो । त्यसैले त्यो दाईलाई सकेसम्म देख्न नपरोस् भन्ने लाग्थ्यो । तर घर नजिक भएपछि जति नभेटौं भने पनि बेलाबेलामा जम्काभेट भईरहन्थ्यो ।

त्यो दिन पनि अरु दिन जस्तै म बारीमा घाँस काट्न निस्केँ । आफ्नै सुरमा डोको नाम्लो भिरेर गीत गुनगुनाउँदै मकैबारीमा जाँदै थिएँ । त्यो दाई म आउने मौका छोपेर बसिरहेको रहेछ क्यारे । उ मेरो पछि पछि लागेर आईसकेको पत्तै भएन ।

“कान्छी आज त तिमीसँगै म पनि घाँस काट्छु । तिम्रो हंसिया देउ”, उ मेरो अगाडि एक्कासी झुल्कियो र बोल्ने तथा मलाई छुने बहाना खोज्न थाल्यो । त्यो सुनसान ठाउँमा उसलाई देख्दा मेरा हात खुट्टा अचानक काम्न थाले । हातको हंसिया पनि राम्ररी समाईएनछ । फुत्त भुईंमा खस्यो । मैले राम्ररी भुईंमा पनि टेक्न सकिरहेको थिईंन ।

“दाई मलाई काम गर्न दिनु । तपाई मलाई नजिस्काउनु है”, डराएकै स्वरमा भए पनि मैले उसलाई हप्काएँ ।

मेरा शब्द उसका कानमा पर्दा नपर्दा उसले मलाई हात समातेर आफुतिर तान्यो । बाघको अगाडि बाख्राको जोड नचलेझैं मैले जति बल गरे पनि उसको हातबाट मैले आफुलाई फुत्काउन सकिनँ । उसले आफ्नो खल्तीबाट रुमाल झिकेर मेरो मुखमा कोचिदियो । मेरा दुबै हातलाई बेस्सरी अंठ्यायो । मेरो केहि बोल्ने आवाज पनि हरायो भने आफुलाई सम्हाल्न हातगोडा पनि चल्न मिलेन । उसले आफ्नो ईच्छा अनुसार उसलाई लागेको ठाउँमा चलायो । उसलाई मन लागेको तरिकाले मलाई नाँगेझार पार्यो र मेरै आँखाअगाडि उसले जवर्जस्ती आफ्नो ईच्छा पुरा गर्यो । मलाई दाई नाता पर्ने त्यस पशु र जंगलमा दौडने ब्वाँसो केहि फरक लागेन । जंगलमा यदि ब्वाँसोले नै भेटेको भए शायद मेरो अस्मिता लुट्ने थिएन म मरे पनि आफुलाई गुमाउनुको पिडा सहन गर्नु नपरी मर्ने थिएँ । उसले त मलाई दिनदिनै र छिनछिनै मरेको जीवन बाँच्न बाध्य गरायो । मलाई नग्यांएर लडाईएको त्यो बारीको पाटा मेरो लागि एकैछिनमा मसानघाट बन्यो । मलाई ज्युँदो लाश बनाएर उ त्यहाँबाट उत्तिखेरै बेपत्ता भयो । मलाई न त माटोमा पल्टिएको त्यो नांगो शरीरलाई उठाउन न त शारीरीक रुपमा बल आईरहेको थियो न त भावनात्मक रुपमा आँट नै । शरीरभरी माटो टाँस्सिएर मरेको लाशलाई जमीनमा गाड्न ठिक पारेको जस्तो महसुस भईरहेको थियो । साँच्चै मरेको बेलामा त शायद धेरै मलामी वरिपरि हुन्थे होलान् । त्यसदिन त मलामी र लास पनि केवल स्वयं बनेँ । त्यहाँ कतिबेर सुतिरहेँ, कतिबेर पछि उठेर यौनीबाट बगिरहेको रगतलाई पुछेँ, आफ्नो शरीरलाई ढाकेँ र कति बेरपछि घरतिर लागेँ, मलाई राम्ररी सम्झना पनि छैन ।

“हैन तंलाई के भयो ? साँझमा किन सुतेको ?”, आमा कराउँदै ओछ्यानमै आउनु भयो ।

“आमा मलाई सन्चो छैन”, यति मात्र जवाफ दिएँ ।

आमाले पनि त्यसभन्दा बढि बुझ्ने प्रयास गर्नु भएन । दिनभरी काममा थाकेर आएकी आमालाई म सुतेको देख्दैमा छोरीलाई के भयो भनेर सोच्ने बुद्धि नै के आओस् ?

त्यो घटनाले मलाई मेरो जीवन मर्नु र बाँच्नुको अवस्थामा पुर्यायो । मैले विस्तारै मेरो परिवारलाई भनेँ तर सुरुमा त मलाई परिवारले पनि कुनै सहयोग गरेन । झन् म त्यस्तै भएर यस्तो गरेको भनेर दोष थुपारे । म १५ बर्षकी बालिकाले के नै गर्न सक्थेँ र ।

अहिले म २२ बर्षकी भएँ । यसबीचमा मैले धेरै कुरा सिकेँ । त्यतिखेर मलाई मद्धत गर्ने र नयाँ बाटो देखाउने कोहि कोहि विस्तारै निस्के र मलाई साहस पनि दिएपछि मैले मेले त्यो अपराधीलाई जेल चलान गरेरै छोडेँ । मैले जीवनमा अहिले हाँसिल गर्न सकेको महत्वपुर्ण कुरा भनेको मेरो आत्मविश्वास हो । हामी कुनै पनि दुब्र्यवहारमा पर्नु हाम्रो दोष होईन । अझै हामी बालिका हुँदै भोग्नुपरेको घटनामा त झन् हामी दोषी हुँदै हुदैनौँ । त्यसैले मजस्ता किशोरीहरुलाई म के भन्न चाहन्छु भने हामी जीवनको कुनै कालखण्डमा हिंसामा परेको कारणले गर्दा आफुलाई जीवनभरी दोषी नठानौँ । आफुलाई केहि गर्न नसक्ने पिडीत नठानौँ । हामी पहिलेजस्तै र अरु किशोरीहरुले जस्तै गरी स्वतन्त्र रुपमा र आत्मविश्वासका साथ बाँच्न सक्छौ र बाँच्न पाउनु पनि पर्छ । हामीलाई कुरा काट्ने, हेप्ने र होच्याउने तथा हामीलाई उल्टै दोष लगाउने ब्यक्तिहरुलाई जवाफ दिन आँट गरौं र कुनै पनि हिंसा सहेर नबसौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button