मोदीको सवारी, बुवाको शवयात्रा

स्मृतिका पानाभरि बुबा

तारा केसी

पिता ललितबहादुर केसी र माता सावित्री केसीको कोखबाट पहिलो सन्तानको रूपमा २००१ साल फागुन १ गते काभ्रे पनौती–५ मा जन्मनुभएको हो बुबा । बुबापछि चार जना भाइ जन्मेका थिए । घरको जेठो छोरा भएको कारणले जिम्मेवारी उहाँप्रति बढी नै थियो । पितालाई सघाएर घरपरिवार र भाइहरूको लालनपालनमा बुबाले ठुलो जिम्मेवारी बहन गर्नु भएको थियो ।

हँसमुख स्वभावको हुनुहुन्थ्यो बुबा । केहि न केही भनेर हसाईरहनु पर्ने । उहाँलाई केटाकेटीहरू असाध्यै मन पर्थ्यो । हप्तामा एकचोटी काठमाडौंबाट घर आउँदा झोलाभरि पापा बोकेर आउनुहुन्थ्यो । केटाकेटीहरू उहाँको बोली सुन्ने बितिकै झुमिन्थे पापा खान । पापा बाँडेर केटाकेटीसँग खुव खुशी हुनुहुन्थ्यो बुबा ।

कसैको दुख देख्न नसक्ने अर्को बानी थियो बुबाको । अरूको दुखमा अलिकति भए पनि मलमपट्टी लगाउन पाए हुन्थ्यो भनेर आफुले गर्न सक्ने सहयोग गर्न तयार हुनुहुन्थ्यो । मैले दुख पाका परिवारका २०० जनालाई नेपाली सेनामा लगेर भर्ती गराईदिएको थिएँ, ती ब्यक्तिहरू पछि उच्च पदमा पुग्न सफल भए भनेर खुशी प्रकट गर्नु भाको थियो बुबाले । आफुले सग्दा गरे आज आफ्ना छोराहरू कामको खोजिमा बेरोजगार भएर बिदेशीए, बुबाको दुखेसो थियो ।

२०१८ सालमा नेपाली सेनामा भर्ती भएर २७ बर्ष देशको लागि पसिना बगाउनु भयो बुबाले । आफ्नो उर्जाशील उमेर र समय खर्चिनु भयो देशको लागि । माटोको लागि । देशमा आपत्तबिपत्त आइपर्दा होस् या सिमाना रक्षाको लागि, या बाढी पैरोले नेपाली दाजुभाइ बिचलित परेको बेलामा जीउ ज्यान नभनी उद्दार गरेर होस्, या पुर्व पश्चिम जोड्ने बाटो निमार्णका कामहरूमा होस् या गौतम बुद्धको सन्देश बोकेर नेपालको प्रतिनिधित्व गर्दै युद्धरत देशहरूमा शान्ति स्थापना गर्न युद्धभूमिमा पुगेर नेपाली सेनाले गरेको यो गौरवमय कार्यले नेपाललाई विश्वभर चिनाएको छ । नेपाली सेनाले बगाएको त्यो पसिनाको समुन्द्रमा एक अन्जुली पसिना मेरो बुबाको पनि परेको छ ।

जागरिको सिलसिलामा बुबाले नेपालका अधिकांश जील्लाहरू, भारतका केही प्रान्तहरू र नेपाली सेनाबाट शान्ती स्थापना गर्ने क्रममा इजरायल , लेवलानको समेत भ्रमण गर्नुभएको छ । बुबाले सेवा अबधिभरि प्राप्त गर्नु भएको पदकहरूमा– सैनिक सेवा पदक, २०२३, श्री ५ महाराजधिराज महेन्द्र वीर विक्रम शाहदेव–२०२०) (यो पदकको एकापट्टिमात्र खिचेर पठाएको भएर मैले पूरा खुलाउन सकिन, यो चाँदीको पदक छ), सेवा पदक २०२८, दिर्घ सेवा पदक २०४२, परदेश सेवा पदक २०४५, हाल मैले यति मात्र प्राप्त गरेँ ।अरू केही भए बुबाको जीवनीमा लेख्ने छु ।

२०१८ सालबाट २०४५ सालसम्म २७ बर्ष सैनिक भएर सरकारी सेवाबाट उहाँ निवृत्त हुनुभएपछि कृषि कर्ममा रमाउन थाल्नुभयो बुबा । कहिले २८–३० ओटा बाख्रा छन् गोठालो जाँदैछु भन्नुहुन्थ्यो फोनमा । कहिले गोठमा गाईहरू टन्न हुन्थे । कुँडेभरि दूध तताउँदै भन्नुहुन्थ्यो, बाँकी भाको दूध डेरीमा पनि लान्छौ । कहिले तरकारी खेति गर्नुहुन्थ्यो । सागसब्वी, आलु, गोलभेडा, धनीयाँ, लसुन, प्याज, खोर्सानी टन्न हुन्थ्यो खेत बारीमा । घरको सरसफाईमा पनि बुबाको त्यतिकै ध्यान जान्थ्यो । एकछिन चुप लागेर बस्न नसक्ने बुबा ।

बिहान ५ बजे उठेर चिया बनाएर सबको कोठा कोठामा लगिदिनु हुन्थ्यो । छोरी, बुहारी घरमा हुदाहुँदै बुढो मान्छेले किन यस्तो दुख गरेको बुबा भनेर म कहिलेकाहीँ सोध्ने गर्थे ।

मलाई बिहान चाँडै निद्राले छोड्छ, के भो त मलाई बनाउँदा तिमीहरूलाई पनि बनाएँ, उहाँ आफुले बनाएको चिया खाएर दोस्रो कप चिया पिउन , भाईसाथीसँगको गफगाफमा पसल जानुहुन्थ्यो । ७ बजे पसलबाट फर्केपछि कोदालो लिएर बारीतिर के के काम गर्न थाल्नुहुन्थ्यो । मैले कति पटक भनेको थिएँ, बुबा किन यति चटारो ? चुप लागेर आराम गरेर बस्नुस् हजुरलाई पेन्सनले पनि खान पुग्छ ।

होइन छोरी, मलाई डाक्टरले जति पसिना बगाउनु हुन्छ, त्यति रोग लाग्दैन भनेका छन्, मलाई ग्याष्ट्रिकबाहेक अरू केहि रोग छैन, उहाँ रोग आफुलाई नभाकोमा गर्व महसुस गर्नुहुन्थ्यो ।

बिबाह गरेको दस बर्षसम्म सन्तान नजन्मिएपछि घरबाट दोस्रो बिबाह गर्ने दबाव आउँदा पनि उहाँले इन्कार गरेर आमाप्रति प्रेम दर्शाउनु भएबापत उहाँ नारीहरूप्रति उच्च सम्मान राख्नुहुन्छ भन्ने कुरा बुझे मैले । पास गरेर बिबाह गरेकी बुहारीलाई उच्च शिक्षा हासिल गर्नुपर्छ भनेर कलेज भर्ना गरेर पढ्ने बाताबरण मिलाईदिनु भएको थियो ।

गाउँमा छोरी नपढाउने ठाउँमा बुहारी पढाएर समाजमा संन्देश दिने काम गर्नुभयो बुबाले । बुहारीप्रति उहाँको माया र आशिर्वाद थियो ।

बुबालाई मन पर्ने ब्यक्ति नाति थियो । जुनबेला पनि नातिसँग रमाउनु हुन्थ्यो । जहाँ पुगे पनि नातिको लागि केहि न केही बोकेर आउनुहुन्थ्यो। आफ्नो पेन्सनबाट नातिको नाममा बैकमा जम्मा गरिदिनु भएको रकम बुबाको अवसानपछि बल्ल घरका परिवारले थाहा पाए ।

बुबाले आफ्नो बुबाको बारेमा धेरै कुरा गर्नुहुन्थ्यो । उहाँप्रति बुबाको उच्च सम्मान थियो । आमाले चहिँ आफुलाई पक्षपातपुर्ण व्यवहार गरेको र कहिले राम्रो नगरेको गुनासो पोख्नुहुन्थ्यो बुबा । भाइहरूप्रति उहाँको माया थियो । उनीहरूलाई अप्ठ्यारो पर्दा दुखी हुनुहुन्थ्यो । चिन्ता लिनु हुन्थ्यो ।

उहाँलाई मन पर्ने चाड दशैँ थियो । दशै आउँदा अति खुशी हुनुहुन्थ्यो । बुबा आमापछि आफ्नै घरमा सबैलाई टीका लगाउने र भाइ, बुहारी, छोरा, छोरी सबैलाई बोलाएर एकछाक खाना आफ्नो घरमा खुवाउनु हुन्थ्यो । टिकाको दिन ७०–८० जनाको हाराहारीमा जम्मा हुन्थे टीका लगाउन र खाना खान । एक महिनाअगाडि देखि नै खाममा पैसा राखेर ज्वाइँ छोरी, दिदी, भान्जा, भान्जीको लागि छुट्टाउनु हुन्थ्यो । बुबाले कहिले पक्षपात गर्नुभएन ।

बुबा सधै भादगाउँले कालो टोपी लगाउनु हुन्थ्यो । शर्ट पाएट उहाँलाई मन पर्ने पोशाक थियो । पछिल्लो समयमा कमिज सुरूवाल पनि मिलाएर लगाउँनु हुन्थ्यो । कतै जानू पर्यो भने धार बस्नेगरी आइरन लगाउनु पर्थ्यो कपडामा । देशको हालचाल बुझ्न रेडियोको समचार सुनिरहनुहुन्थ्यो । रेडियो प्राय उहाँको साथमै हुन्थ्यो ।

बुबा चुरोट र चिया पछिल्लो समयमा अत्याधिक पिउन थाल्नुभयो । उहाँलाई अलि तनाव थियो । बैंकको लोनको । बैकबाट लोन लिएर खोलेको पोल्ट्री फर्म बर्डफ्लुको कारणले घाटामा गएपछि निरास भएर भाइ जापान उड्यो । महिनामा कहिलेकाहिँ किस्ता हाल्न नस्कदा बैंकले टर्चर दिन्थ्यो फोन गरेर, कसैको गाली नखाएको इमान्दार ब्यक्तिलाई त्यो पाच्य हुँदैन्थ्यो । करौडौ पर्ने जग्गा राखेर लिएको ऋण तिर्दातिर्दै कुनै महिना किस्ता हाल्न नसक्दा बैकलेदिएको टर्चर कम्ता होइन । पछि एक रोपनी जग्गा बेचेर बैंकको ऋणबाट बुबा मुक्त हुनुभयो ।

छोराहरू कमाउन थाले । राम्रो हुँदै थियो । एकदिन बुबाको घाँटी अलिकति सुनिए झैँ लागेर हस्पिटल लाँदा क्यान्सरको लास्ट स्टेप भनेर ३ महिनाको समय दिएर पठायो डाक्टरले । पत्याउनै गाह्रो । बुबा पहिले जस्तै फुर्तिलो हुनुहुन्थ्यो । उस्तै जोस जाँगर थियो । थुप्रै हस्पिटलहरूमा लगेर बुबाको रिपार्ट देखायौँ । बुबालाई परिक्षण गरायौँ । यहाँ नभए इण्डिया लाने भनेर तयारी गर्दै पनि थियौँ । एकजना म्यामले ओम हस्पिटलमा बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ हुनुहुन्छ, उहाँ एशियाकै टप डाक्टर हो, एकचोटी देखाउनु भनेपछि लगेर देखायौँ । उहाँले ६ महिना अगाडि सुरू भएछ यो रोग, त्यतिखेर थाहा भाको भए पुर्ण निको पार्न सकिन्थ्यो, अहिले ब्रेनमा पुगेको रहेनछ, दस बर्ष केही हुँदैन, भर्ना गरेर किमो चलाउनु पर्छ भन्नुभयो ।

२०७५ साउन २७ गते बुबालाई पहिलो पटक किमो चढाइयो । एक हप्तापछि बुबालाई डिस्चार्ज गरेर घर लगियो । भाद्र १६ गते उहाँको दोस्रो पटक किमो चढाउन डेट थियो । भाद्र १२ गतेदेखि उहाँको स्वास्थ गडबड भयो । भाद्र १३ गते उहाँलाई ओम हस्पिटलमा फेरि भर्ना गरियो । डाक्टरले निमोनिया भएको र आईसियूमा राख्नुपर्छ भनेपछि हामीले आईसियुमा भर्ना गरेर उहाँको उपचार गर्दै थियौँ । २०७५ भाद्र १५ गते बुबाले सदाको लागि हामीलाई छोडेर जानू भयो ।

त्यो दिन सम्झिन्छु, भारतिय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण थियो । त्यहि दिन उनको पशुपतिनाथको दर्शन रहेछ । गौशाला एरियामा यातायात ठप्प पारेर मोदीको सवारी हुँदै थियो । त्यहि बेला बुबाको शवयात्रा थियो । पशुपतिनाथको आरतीमा भक्तजनहरू झुमिरहेका थिए पारीपट्टि । वारीपट्टि बुबाको शव जलिरहेको थियो ।

बुबा, हजुरको वास सधै बैकुण्ठमा होस् । हाम्रो मनमा सदा तपाईं रहिरहनु हुनेछ। आज हजुरको ६ बर्षको तिथि, यिनै शब्दहरूमार्फत हजुरलाई श्रद्धा सुमन अर्पण गरेँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button