
सासै फेर्न नभ्याउने उनको एक दिन, जसले भन्नेछ देशकै साझा कथा
एक दिन
देवका पन्थी
उठ्न भनेपछी सारै पाटे अल्छी म सानैदेखी । नानीदेखिको बानी कसैगरी जादो रहेनछ ।
बिहान ओछ्यान छेवैको मोबाइलमा कानको किरा खाने गरि घण्टी बजेपछी मेरो निदरीले रक्सीको मात छोडे जस्तै छोडिदिन्छ । छातीमाथी सानेले खुट्टा फैलाएर सुतीरहेको हुन्छ म बिस्तारै उसको खुट्टा हटाइएर बाहिरिन्छु । छर्लङ्ग उज्ज्यालो भएको छ । पतिदेव बिहानै मिटिङ छ भनेर हिंड्न् तयार हुनुहुन्छ ।
“चिया खानुहुन्छ ?”, म सोध्छु ।
“पानी खाएँ म उतै खान्छु”, उहाँ भन्नुहुन्छ र निस्कनुहुन्छ पनि ।
म हतपत भान्सामा छिरेर एक गिलास पानी सास नफेरी पिउँछु .. मलाइ लाग्छ, यो पानी मेरो सवारीमा इन्धन हो । आफुलाइ यसो फ्रेस गरेर झाढु पोछा गर्छु .. मस्तिष्कमा कुरा खेल्छ.. “साच्चै मैले मेरो घर यसरी कहिले पोतुला ? साठी कटेपछि त अवस्य नै पोत्ने छु । बसुन्जेल यो पनि मेरै घर हो. “अब भान्सातिर छिर्छु । पुजा गर्नेतिर भाडाहरु मेरो पर्खाइमा छन्, पन्डितकी बुहारी म। घरमा पुजा गर्नेमा मधुरो दियो बलोस्, मन चङ्गा रहन्छ ।
ग्यासको एकातिर दाल र अर्कोतिर चिया बसालीदिन्छु । बाबुहरु उठे । साने उसको तोते बोलिमा “होमक गन्नपच्च मम्मी” भन्दै चिच्याइरहेछ, ठुले, “मम्मी चिया दिनु न !” एक चुस्की चियाको लगाएर तरकारी केलाउँछु । आजकलका सन्तानलाइ सहयोग के हो थाहा छैन । ठुलो त सघाउने भाको छ नि अहँ,नाइ । म एक्लै भान्सामा पुतली जस्तै नाचिरहन्छु ।घरी भान्सा घरी सानेको होमवर्क लेखाउँछु । बल्ल तल्ल चिसो कुरा तातो गराएर फटाफट बाबुहरुलाइ खुवाउँछु । उनिहरुलाइ तयार गर्दै बससम्म पुर्याउछु । भित्ताको टिकटिक आवाजतिर मेरा आँखा जान्छन् । ओहो ! घडी त कोल्टे परिसकेछ ।पसिनैसङ्ग दुई गाँस टिपेर असरल्ल जुठाभाडा चोख्याउनतिर लाग्छु, अफिसबाट फर्केपछी भाडामा हात राख्न पटक्कै मन जादैन । आफ्नो डेस भिर्छु । २ मिनेटमा तयार भएर अफिसको लागि निस्कन्छु ।
हामी दुई दिदिबहिनी एउटै स्कुटिमा अफिस जान्छौ. बाटोमा दुवैलाइ हतार भएका कुरा बेलीबिस्तार लगाउने एक अर्काको साथी हौ हामी । उहाँ मलाइ म्याम भन्नुहुन्छ म उहाँलाई म्याम । म्याम शिक्षण पेसामा हुनुहुन्छ ।म्यामको र मेरो कहानी उस्तै छ। म्याम मलाइ छोडेर आफ्नो स्कुल जानुहुन्छ । अफिस गेट नजिक पुग्दा मनमा ख्याल आउँछ कुन दिन कसैले प्रश्न गर्ने हुन् कि म समयमै आउपुगिन कि किनकीअफिस पुग्दा बिरामीआइसकेका हुन्छन् ।बिरामीलाइ समयको पावन्धी छैन । सहकर्मी सबै हाजिरी गर्दै हुनुहुन्छ, आफ्नो पनि उपस्थिति जनाइदिन्छु । आँखा दुख्ने समय छ, एक जना महिला भन्छिन् “बहिनी आँख उठाहै, डरप देइदो” .. यी र यस्तै बिरामीहरु करिब ४० जनाको सेवा गरेपछी मेरो दिन सकिन्छ । घर फर्कन्छु । बाटोमा आफुलाइ म्याराथुनको खेलाडीसङ्ग तुलना गर्छु.. कति हतार छ हो मलाइ ओहो!.. हरेक क्षण दगुरीरहेछु, कहाँ होला मेरो सिमारेखा।
बाबुहरु आइपुगेछ्न । साने कम्मरमा बेरिन आउछ । “मम्मी मैले डुट र अण्डा खाइसकेँ स्कुस्मा”साने भन्छ । “के खाजा खायौ त बाबू ?” म ठुलेसङ्ग सोध्छु । ” केही नाइ ” दिनभरीको थकानले होला झर्को मान्दै ठुले जवाफ दिन्छ । भान्सामा चिया बसालेर म कपडा फेर्न पस्छु । चिया र ब्रेड दुई भाइलाइ टक्र्याउछु । यतिकैमा श्रीमान आउनुहुन्छ, पसिनै पसिना भएर ।
“के खानुभो ?” मेरो प्रश्न ।
“खाना खाजा सबै खाएँ”, उहाँ भन्नुहुन्छ, “तिमीलाइ दुख भए होला !” यति बोलीले सारा थकाइ मर्छ मेरो ।
श्रीमानको साथ छ र त झिनामसिना कुरा यत्तिकै किनारा लाग्छन् तर सानो रोजगार हुनेहरु आफ्नो श्रम यत्तिकै बेच्नुपर्छ न त परिवारलाइ समय पुग्छ न त आफुलाइ आराम । म सोच्न थाल्छु, यो के को व्यस्त जिन्दगी होला.. हिजो म रोजगारका लागि लडेँ आज मलाइ त्यही रोजगारले लडाइरहेछ । न त पक्का आमा बनेकी छु न त जिम्मेवार पत्नी.. अझ ८४ वर्षको बुवालाइ सोध्नै भ्याएकी छैन । ७६ वर्षीय मेरी आमासङ्ग फेरहिस्त लाएकै छैन । दिदिबहिनीको भेटघाट हुदैन । कसैलाइ फोन गर्न भन्दा पनि कसैसङ्ग फोनमा कुरा गर्न पनि मलाइ रुचि लाग्न छोड्यो । त्यसैले आफन्त, साथी, सर्कल, समाजदेखि आफुलाइ अलि टाढा पाउँछु । यो मेरो रोजाइ हो.. कतै मेरो रोजाइले मेरा बालबच्चाको स्याहार खोसियो कि.. मेरो श्रीमानको चयन उड्यो कि मेरो परिवारकी आदर्श बुहारी हराइ कि ?? जे होस्, दोहोरो जिन्दगीसङ्ग पैठेजोरी खेल्न मलाइ पनि सास्ती नै छ । भान्सामा छिर्छु.. रातको आहार तयार गरेर सबैलाइ सन्तुष्ट पार्दै..जुठो भाडाे सकाएर आफ्नो सयन कक्षतिर छिर्छु.. बाउ छोराहरु टि.भी . हेर्न ।
आजकल ज्यान थकित भयो कि कुन्नि रस रङ्ग केहीमा मन जादैन, न समाचार न गित न त कुनै मनोरञ्जनात्मक श्रव्य दृश्य साधन । बस आफ्ना भोगाइलाइ शब्दमा उतार्ने जमर्को गर्दै आफ्नो एक दिनलाइ बिट मार्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)